प्रिमियर लिग फुटबलका पाँच रोचक तथ्य | Khabarhub Khabarhub

प्रिमियर लिग फुटबलका पाँच रोचक तथ्य

कुन टिमले जित्ला उपाधि, के गर्लान रोनाल्डो ?



काठमाडौँ : विश्वकै लोकप्रिय इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन शुक्रबार रातीदेखि सुरु हुँदैछ । प्रि–सिजन अन्तर्गत विभिन्न टोलीले विभिन्न देशको भ्रमण गरेर मैत्रीपूर्ण खेल पनि खेलेका छन् । जसलाई टूर–भ्याच भन्ने गरिन्छ ।

प्रिमियर लिगको एउटा नयाँ अध्यायको फेरि सुरुवात हुँदैछ । जो वर्षेनी चलिरहन्छ । पहिलो खेल इङ्ल्याण्डको लन्डनस्थित क्रिस्टल प्यालेसको सेलहस्र्ट पार्क स्टेडियममा घरेलु टोली र आर्सनल आमने सामने हुनेछन् ।

यो खेल शुक्रबार राती र शनिबार बिहान अर्थात राती पौने १ बजे हुनेछ । यसपटक आर्सनल बलियो टिमका रुपमा देखिनेछ । त्यसका लागि म्यान्चेष्टर सिटीबाट गाब्रियल जिससलाई महंगो मूल्यमा आर्सनलले भित्र्याएको छ ।

प्रिमियर लिगको यो ३१ औँ संस्करण हो । विगतका तीन दशकमा यो लिग विश्वको सबैभन्दा लोकप्रिय र महंगो लिगको रुपमा स्थापित छ । त्यसमाथि म्यान्चेष्टर सिटीजस्ता टिमले लगातार उपाधि रक्षा गर्दा सामना गरेका कडा चुनौतिहरुले प्रिमियर लिग विश्वको सबैभन्दा कडा प्रतिष्पर्धा हुने लिग पनि हो ।

३० वर्षअघि सुरु भएको दौड
सन् १९९० को दशकमा इङ्ल्याण्डमा फुटबल र फुटबल क्लबको विकासको लागि एक परिवर्तनको आवश्यकता महशुस भएको थियो । सन् १९९१ जुलाई १७ मा इंग्लिस फर्सट डिभिजन क्लबहरुले स्थापक सदस्य सम्झौतामा हस्ताक्षर गरे । यसपश्चात प्रिमियर लिगको जगको स्थापना भएको इतिहास छ । सन् १९९२ अगस्ट १५ मा लिगको उद्घाटन भयो । २२ क्लबको सहभागितामा प्रिमियर लिगको भव्य सुरवात भएको मानिन्छ ।

त्यतिबेला आर्सनल, एस्टन भिल्ला, ब्ल्याकबर्न रोभर्स, चेल्सी, कभेन्ट्री सिटी, क्रिस्टल प्यालेस, एभर्टन लगायत टिम थिए । यस्तै इप्सविच टाउन, लीड्स युनाइटेड, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, मिडल्सब्रग, नर्विच सिटी, नटिंघम फरेस्ट, ओल्डहम एथ्लेटिक, क्वीन्स पार्क रेंजर्स, शेफिल्ड युनाइटेड, शेफिल्ड, साउथह्याम्प्टन, टोटेनहम र विम्बल्डनले पहिलो संस्करणमा भाग लिएका थिए ।

सुरुवातदेखि नै आर्सनल, चेल्सी, एभर्टन, लिभरपुल, म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीले बलियो टिमका रुपमा हरेक सिजन खेल्दै आएका छन् । प्रिमियर लिगका सबैभन्दा बलिया क्लबका रुपमा स्थापित यी क्लबले अरु टिमभन्दा सर्वाधिक उपाधि जितेको इतिहास पनि छ । त्यसमा सबैभन्दा सफल टिममा म्यान्चेष्टर युनाईटेड छ । पछिल्लो समय यो लगातार सफलता हात पार्ने टिममा म्यान्चेष्टर सिटी छ ।

सन् १९९४–९५ सिजनदेखि फुटबललाई विश्वमा परिचित गर्न क्लब संख्यालाई २० मा पु¥याउने योजना पनि कार्यान्वयन भयो । सो सिजनमा चार क्लब रेलिगेसन र दुई क्लबको बढुवासँगै नयाँ प्रावधान लागू गरिएको थियो ।

प्रिमियर लिगका ५ रोचक तथ्य

१. पहिलो लिग विजेता ब्लाकबर्न रोभर्स
सन् १९९४–९५ को प्रिमियर लिग ब्लाकबर्नको लागि यादगार रह्यो । पहिलो पटक प्रिमियर लिगको उपाधी म्यान्चेष्टर युनाइटेड बाहेक अर्को टोलीले जितेको थियो । यस जितसँगै ब्लाकबर्नले ८१ वर्ष लामो उपाधीको खडेरीको अन्त्य गरेको थियो ।
ब्लाकबर्नका ‘गोल मेसिन’ भनेर चिनिने एलन शियररले सो उपाधीको लागि महत्वपूर्ण भूमिका खेलेका थिए । उनले त्यस सिजन ३४ गोल गरेका थिए । केवल १ अंकले म्यान्चेष्टर युनाइटेडलाई पछि पार्दैै ब्लाकबर्नले उपाधि जितेको थियो ।

२. दर्शकलाई कुटेका क्यान्टोनाको खराब रेकर्ड
सन् १९९४–९५ को सिजनमा घटेको अर्को घटना यादगार बन्यो । सन् १९९५ जनवरी १ मा भएको खेलमा एरिक क्यान्टोनाले क्रिस्टल प्यालेसका एक खेलाडीलाई लात हान्दा रेड कार्ड प्राप्त गरेका थिए ।

मैदान छोड्दै गर्दा प्यालेसको एक समर्थकले गाली गरेसँगै क्यान्टोनाले भिडमा गएर ‘फ्लाइङ किक’ प्रहार गरे । प्रिमियर लिगमा घटेको यो आश्चर्यजनक घटनाको लागि क्यान्टोनालाई ९ महिनाको लागि निलम्बन गरिएको थियो । जुन प्रियिर लिगमा कुनै टिमका खेलाडीलाई गरिएको अहिलेसम्मकै ठूलो सजाय थियो ।

३. डेभिड बेकह्यामको आकर्षक गोल
प्रिमियर लिगका सफल र उत्कृष्ट खेलाडीमा डेभिड बेकह्याम पनि पर्छन् । सन् १९९६–९७ सिजनमा २१ वर्षीय बेकहमले आफ्नो नाम स्थापित गर्न लागि एक अनौठो गोल गरेका थिए । विम्बेल्डनविरुद्धको खेलमा गोलकिपर निल सुलिभान कमजोर पोजिसनमा बस्दै गर्दा बेकहमले मौकाको सदुपयोग गर्दै गोल गरेका थिए ।

सोहि निर्णयले बेकहमलाई प्रिमियर लिगको इतिहासमा मात्र नभई फुटबलमा नै यादगार बनाउन मद्दत पु¥यायो । मैदानको बीच भागबाट हानेको बेकह्यामको प्रहार ऐतिहासिक गोलमा परिणत भयो ।

४. सबै खेल जितेर आर्सनलले कब्जा गरेको उपाधि
प्रतियोगिताको कुनै पनि खेल नहारी उपाधी जित्नु लगभग असम्भवजस्तो हो । तर यो पनि प्रिमियर लिगमा सम्भव बनेको छ । जुन कीर्तिमान आर्सनलको नाममा छ ।

सन् २००३–२००४ मा आर्सनलले कुनै पनि खेल नहार्दै उपाधी उचालेको थियो । सन् १८८९ मा प्रेस्टनले देखाएको यस्तो प्रदर्शनपश्चात फुटबल इतिहासमा यो पहिलो प्रदर्शन थियो ।

५. अविश्वसनीय प्रदर्शन गर्दै लेस्टर सिटीले उचालेको उपाधि
सन् २०१५–२०१६ को प्रिमियर लिगमा लेस्टर सिटीको जित निकै नै प्रेरणादायी रह्यो । यस अघिको सिजनमा रेलिगेसनबाट बल्लतल्ल जोगिने गरेको लेस्टर सिटी त्यो सिजन च्याम्पिय बनेको थियो । जुन धेरैले सोचेकै थिएनन् ।

लिगमा केवल तीन खेल हार्दा १३२ वर्षको इतिहासमा लेस्टरले पहिलो उपाधी जितेको थियो । धेरै बलिया टोलीलाई पन्छाउँदै लेस्टरले उपाधि जित्दा हजारौँ फूटबलप्रेमी खुशी भएका थिए । कहिलेकाँही मेहनत गरेका टोलीले पनि बलिया टोली उपविजेतामा सीमित गरिदिने तथ्य लेस्टरले स्थापित गरेको थियो ।

अब शुक्रबार रातीदेखि सुरु हुने ३१ औँ सिजनमा कुन क्लबले कस्तो प्रदर्शन गर्छ ? फूटबलप्रेमीमा चाँसो बढेको छ ? त्यसमाथि यसपटक उपाधि कसले जित्छ, त्यो झन् रोचक छ ? यसपटक प्रिमियर लिग क्लबले च्याम्पियन्स लिग जित्छ वा फेरि हार्छ ? त्यो पनि प्रतिक्षाको विषय छ ।

के गर्लान रोनाल्डो ?

यसपटक खेलाडी किनबेच बजार प्रिमियर लिगमै तातेका बेला सिटी, चेल्सी, आर्सनल र लिभरपुलबीच फेरि एकपटक कडा प्रतिष्पर्धा हुने अनुमान छ । सबैभन्दा ठूलो कुरा क्रिष्टियानो रोनाल्डोजस्ता सुपरस्टार प्रिमियर लिगमा फर्किदा उनले कति गोल गर्छन् वा टिमलाई कहाँ पुर्याउँछन् भन्ने अनुमान पनि बढ्दै गएको छ ।

त्यो भन्दा ठूलो कुरा रोनाल्डो स्वयंम च्याम्पियन्स लिग खेल्न म्यान्युबाट बाहिरिन चाहेका छन् । उनले परेको खण्डमा प्रिमियर लिग पनि छाड्न तयार छन् । तर त्यो उनका लागि क्लबले सम्भव गरिदिएको छैन । यस्तोमा रोनाल्डो के गर्छन् ? त्यो पनि चाँसोको विषय छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ८ : १२ बजे

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा

टुँडिखेलमा बेरोजगारलाई थरीथरीका ‘अफर’

काठमाडौं– टन्टलापुर घाममा काठमाडौंको टुँडिखेलमा हातमा कागजको टुक्रा बोकेर लाइनमा

काठमाडौं उपत्यकासहितमा चर्को हावाहुरी, केही स्थानमा पानी पर्ने

काठमाडौं – काठमाडौं उपत्यकासहितका जिल्लाहरूमा चर्को हावाहुरी चलिरहेको छ ।

बाग्मती प्रदेशसभाका विषयगत समितिहरू सभापतिविहीन

बाग्मती– बाग्मती प्रदेशसभाअन्तर्गतको पाँचवटै विषयगत समिति लामो समयदेखि नेतृत्वविहीन छ