काठमाडौं – पछिल्लो समय भारतमा फैलिइरहेको ‘टोमाटो फ्लू’ को जोखिम नेपालमा बढ्न सक्ने विज्ञले बताउँदै आएका छन्। उच्च संक्रामक मानिएको ‘टोमाटो फ्लू’ खास गरेर पाँच वर्षभन्दा कम उमेरका बालबालिकासँगको प्रत्यक्ष सम्पर्कका कारण सर्ने गर्छ।
यसको संक्रमणले बालबालिकाको शरीरमा टमाटरजस्तै टल्किने रातो फोका देखिने भएकाले यसलाई ‘टोमाटो फ्लू’ नाम दिइएको हो। यसै विषयमा आधारित रहेर जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनीसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः
यो ‘टोमाटो फ्लू’ कस्तो समस्या हो ?
यसको पूर्ण रूपमा जानकारी आएको छैन यो पहिला दक्षिण भारतमा केही महिना देखि देखिएको केरला राज्यको कोल्लम जिल्लाबाट फैलिएको रहेछ। यो अहिले दक्षिण भारतका केही जिल्लाहरूमा फैलिएको छ। यो हल्का रुघाखोकी लागेको जस्तो हुने अनि शरीरमा टमाटर जस्तो फोकाहरू मुख वरिपरि भित्र हातमा मलद्वारमा देखिने भएकोले ‘टोमाटो फ्लू’ भनिएको हो। यस्तो लक्षण देखिएका बच्चाहरूलाई अत्यधिक ज्वरो, आउने वान्त हुने, पातलो दिसा हुने, जोर्नीहरू दुख्ने समस्या हुन्छ।
यो एक प्रकारको भाइरल रोग हो। यो ह्याण्ड फुट एन्ड माउथ डिजिज भन्ने बिरामीहरू नेपालमा साना बच्चाहरूमा देखिन्छ। त्यसमा मुखको वरिपरि फोकाहरू आउने हात खुट्टा पैतालामा फोकाहरू आउने हुन्छ। यो एउटा कोक्सस्याकी भाइरसको समूहभित्र पर्ने रोग हो। तर, अहिले आएको ‘टोमाटो फ्लू’ भनिएको छ। यो त्यही कोक्सस्याकी भाइरसको कुनै नयाँ भेरिएन्ट हो कि भन्ने आशङ्का रहेको छ।
हामीले अब यसलाई नयाँ प्रजाति भनेर बुझ्ने कि पुरानै उपप्रजाति हो भनेर बुझ्ने ?
विभिन्न शोधमा छापिएका अनुसन्धानलाई हेर्दा ह्याण्ड फुट एन्ड माउथ डिजिजका बिरामी नेपालमा नै छन्। तर, त्यसको उपजाति जुन केरलामा छ। त्यसको नयाँ प्रजातिले रोग गराएको हो।
यो एउटा बच्चामा भएपछि अर्को बच्चामा कसरी सर्छ ?
यो भाइरस नर्सरीहरूमा वा अन्य स्कूलहरूमा सँगै खेल्ने बच्चाहरूमा सर्छ। श्वास प्रश्वासबाट पनि सर्न सक्ने र यो फोकाबाट निस्किएको पानी अर्कोमा लाग्दा सर्ने हो कि भन्ने अनुमान गरिएको छ।
जुनसुकै बालबालिकामा देखिने हो कि केही बालबालिकामा मात्र यो समस्या देखिन्छ ?
धेरै जसो पाँच वर्ष मुनिका बालबालिकामा यो भाइरस देखिएको पाइएको छ। रिपोर्टमा नौ वर्षसम्म हुन्छ भनेको छ। यो ठूलो मान्छेलाई पनि हुन्छ। ३० देखि ३२ वर्षको मान्छेमा पनि हुन सक्छ। तर, सामान्यतया यो साना दुधे बालकमा हुने गरेको छ।
यो भाइरसको संक्रमण भएपछि अस्पताल नजाँदा बालबालिकामा कस्तो जोखिम हुन सक्छ ?
बालबालिकामा सामान्य ज्वरो आउँछ। त्यसको लागि सिटामोलहरू खुवाउने मुखमा घाउ भएको कारणले सामान्य नुन धेरै नभएको धेरै तातो र चिसो नभएको खाना नरम खुवाउने, जाउलोमा नुन कम गरेर खुवाउने गर्नुपर्छ। सरसफाइको कमीले यस्तो समस्या देखिन्छ। स्कुल पढ्ने साना बालबालिकालाई स्कुल पठाउनु हुँदैन।
यो भाइरसको संक्रमण भइसकेपछि हामीले के गर्न सकिन्छ ?
यो भाइरसको संक्रमणबाट मृत्यु हुँदैन भनिएको छ। यसको खोप र उपचार छैन र घातक पनि मानिएको छैन। केही दिन गाह्रो भए पनि पछि आफै निको हुन्छ। सिटामोलहरू खुवाउने, पानी धेरै खुवाउने गर्दा चाँडो निको हुन सक्छ।
जति पनि भारतमा फैलिएका रोगहरू नेपालमा आएका छन्, त्यसका आधारमा तपाईं यो ‘टोमाटो फ्लू’ पनि नेपालमा आउन सक्ने सम्भावना कतिको देख्नुहुन्छ ?
आउन त सक्छ। किनभने नेपाल र भारतको खुला सिमाना छ। भारत र चीनमा आएका रोग नेपालमा देखिन्छन्। नेपाल, बङ्गलादेश र भुटानमा आएका रोग नेपालमा आउने सम्भावना प्रवल हुन्छ।
यसको लागि आधिकारिक निकायले के गर्नुपर्ला ?
यस्तो सिमानामा बच्चाहरू आए भने क्वारेनटाइनमा राख्नुपर्छ। साथै सीमा नाकाहरूमा अलि चनाखो भएर ख्याल गर्नुपर्छ। मुख वरिपरि फोकाहरू आएको बच्चाले र्याल काढेको देखिन्छ। त्यस्तो देखिए १० दिन क्वारेनटाइन बस्नुभयो भने रोग अरूलाई सर्नबाट रोक्न सकिन्छ।
रोग पहिचान गर्नका लागि पहिला हामीलाई थाहा दिनुपर्छ। यो खालको बिरामी आउने बित्तिकै हामीलाई खबर गर्न आह्वान गरेका छौँ। सम्बन्धित व्यक्ति गएर के गर्ने भनेर त्यसको निदानका उपाय खोज्छौँ। भरतबाट आएका आमा र बच्चालाई क्यारेन्टाइन्मा राख्ने गर्नुपर्छ। गाह्रो नै भएको छ भने आइसलेसनमा राख्नुपर्छ। समुदायहरूले पनि यसको नियन्त्रण गर्नु पर्दछ। यसको प्रचारप्रसार धेरै गर्नु पर्दछ।
यस्तो समस्या देखियो भने घरपरिवारले के गर्ने ?
उहाँहरूले जसलाई भएको छ, त्यसले अरूलाई सार्न दिनु हुँदैन। बच्चालाई त त्यो थाहा हुँदैन। आइसोलेसनमा बस्ने सिटामोल खुवाउने सामान्य खाना खुवाउने र छुट्टै ८ देखि १० दिन आइसोलेसनमा बस्नुपर्छ। त्यसपछि यो आफै निको हुँदै जान्छ ।
एकपटक यो समस्या देखा पर्यो र निको भएपछि दोहोरिन्छ कि ?
यो पछि दोहोरिँदैन। हामीले अहिलेसम्म यो दोहोरिएको पाएका छैनौँ। कुनै पनि भाइरस जटिल नै हुन्छ। तर, यसका लागि अन्तर्राष्ट्रिय स्तरका प्रयोगशालामा यो परीक्षण गरिएको छैन। यो भाइरस हो र यसको कारक तत्त्व यो हो भन्नेसम्म धेरै कुरा थाहा हुँदैन। यसका लागि जनतालाई प्रचारप्रसार धेरै गर्दा धेरै जनाले आफै यो नियन्त्रण गर्न सक्छन्। यो भाइरसको संक्रमण देखियो भने आत्तिनु पर्दैन। स्वास्थ्य संस्थामा गएर जाँच र उचित परामर्श लिने, पर्याप्त मात्रामा पानी खुवाउनु पर्दछ। अरू बालबालिकासँग संक्रमित बालबालिका लिएर जानु हुँदैन। प्रस्तुति : पुष्पाञ्जली बस्नेत
प्रतिक्रिया