खसीबोका बिक्री नहुँदा किसानको चाडबाड खल्लो « Khabarhub

खसीबोका बिक्री नहुँदा किसानको चाडबाड खल्लो


१९ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बेदकोट – कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजारमा नजिकै अहिले खसी बोकाको बथान छ। त्यही बथानमा खसी बोकाको रेखदेख गरिरहेका भेटिन्छन्– ६९ वर्षीय वृद्ध मानसिंह बोहरा।

शिरमा नेपाली ढाका टोपीले सजिएका उनी हातमा लौरो लिएर खसी बोकालाई यत्रतत्र हुनबाट रोकिरहेका छन्। उनीसँगैका कोही खसी बोका किन्न आएका ग्राहकलाई खसी–बोका देखाउँदै छन् कोही भने ग्राहकसँग मोलमोलाइ गरिरहेका छन्।

विसं २०५४ देखि खसी बोका बिक्री गर्दै घरखर्च चलाउँदै आउनु भएका डडेल्धुराको परशुराम नगरपालिका–८ जमरानीका मानसिंह खसी बोका बिक्री नहुँदा चिन्तित छन्। ‘केही वर्षयता खसीबोकाको व्यापार हुन सकेको छैन, विगतका दसैँमा सजिलै खसीबोका बिक्री गरेर घरखर्च चलाउथ्यौँ’, उनी भन्छन्, ‘हाम्रो आम्दानीको स्रोत नै खसीबोकाको व्यापार हो तर खसीबोकका बिक्री नहुँदा यस वर्ष घरखर्च चलाउनै मुस्किल होला जस्तो छ।’

बाख्रा पालनमा लाग्ने किसान खसीबोका बेचेरै दसैँ तिहारजस्ता चाडपर्व टार्ने ध्याउन्नमा हुन्छन् तर यो वर्ष बिक्रीमा समस्या अनि बिक्री भइहाले पनि उचित मूल्य नपाउँदा किसान समस्यामा परेका छन्। दसैँ तिहारको समयमा खसीबोकाको कारोबार बढी हुने भए पनि केही वर्षयता कारोबार घटेको मानसिंह बताउँछन्। ‘बजारको उचित व्यवस्थापन नहुँदा खसीबोका बेच्न सकस छ, कोही किन्न आइहाले पनि मोलतोल बढी गर्छन्, मोल नै पाउँदैनौँ।’ उनको गुनासो छ।

दसैँ–तिहारलगायत वर्ष भरीको खर्च जुटाउन डडेल्धुराको भित्री मधेसका किसान प्रत्येक वर्ष खसी बोका बेच्न तराई झर्ने गर्दछन्। पर्शुराम नगरपालिका–८ स्थित जमरानी, कुरेनी, गत्तेगडा, सानखोलाका किसान खसी बोका बेच्न दुई दिनको बाटो हिँडेर महेन्द्रनगर पुगेका छन्।

दसैँ खर्च जोहो गर्न मलासबाट तराई झरेका किसान यस वर्ष भने खसीबोका बिक्री नहुँदा निराश बनेका छन्। चवन्नवटा खसीबोका लिएर मलासबाट महेन्द्रनगर झरेका कुरेनीका गोरे धामी आउने ग्राहकलाई खसी बोका देखाइरहनुभएको छ तर मूल्य सोधेर ग्राहक खसीबोका नकिनेरै फर्किरहेका उनको गुनासो छ।

‘थोरै मात्र बिक्री भएका छन्, बिक्री नहुँदा त्यसै घर फर्काउने पर्ने अवस्था छ’, उनी भन्छन्, ‘कोरोना पछि खसी बोका बिक्री नै भइरहेका छैनन्, चार-पाँच वर्ष अगाडिसम्म ल्याएका सबै खसी बोका बिक्री हुन्थ्यो, त्यसले वर्षभरिको खर्च धानेको थियो।’ गाउँबाट उधारोमा सङ्कलन गरेर ल्याएका खसी बोका बिक्री नहुँदा ऋण काढेर पैसा तिर्नुपर्ने अवस्था आएको अर्का किसान जीतबहादुर धामी बताउँछन्।

‘खसी बोका केही हामीले पालेका छौँ, केही उधारोमा बिक्री गरेपछि दिने गरेर गाउँलेहरूबाट सङ्कलन गरेर ल्याएका छौँ’, उनी भन्छन्, ‘केही पैसा आउँला भनेर गरियो, ऋण लाग्ने अवस्था छ, बिक्री नहुँदा ऋण काढेर पनि गाउँलेको पैसा तिर्नुपर्छ।’ भारतबाट आयात हुने खसी बोकाका कारण नेपाली उत्पादन बिक्री हुन नसकेको उनको भनाइ छ। ‘भारतबाट सहजै आउने हुनाले त्यस्ता खसी बोकाले बजार बिगारेको छ, चाडबाडले धेरै यताउता गएकाले पनि यसपटक बिक्री हुन सकेन।’ धामी भन्छन्।

महेन्द्रनगरमा बस्ने व्यवस्था नहुँदा आफूहरूलाई समस्या भएको मलासबाट झरेका किसानहरूको गुनासो छ। ‘अहिले भिनपा–४ को वडा कार्यालयमा आश्रय लिएर बसेका छौँ, बस्ने र खसी बोका राख्ने ठाउँ छैन’, करे धामी भन्छन्, ‘त्यसले समस्या छ, ठाउँ उपलब्ध गराए त्यस बापतको पैसा तिर्न पनि तयार थियौँ।’

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  १२ : ४४ बजे

मकवानपुरमा १३० विघा क्षेत्रमा लगाइएको अफिमखेती नष्ट

हेटौंडा – मकवानपुरमा १३० विघा अफिम र २८ विघा गाँजा

अरुण तेस्रोमा कार्यरत एक मजदुरको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत्

दैलेखमा गाडी दुर्घटना हुँदा १३ जना घाइते

काठमाडौँ- सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको फोर्स गाडी दैलेखको रामघाटमा दुर्घटना

चोरीका सामग्रीसहित प्युठानबाट दुई युवा पक्राउ

काठमाडौँ- चोरीका सामग्रीसहित प्युठानबाट दुई जना युवा पक्राउ परेका छन्

चालु आर्थिक वर्षमा भारतको अर्थतन्त्र ६.१ प्रतिशतले बढ्ने आईएमएफको प्रक्षेपण

काठमाडौँ- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चालु आर्थिक वर्षमा भारतको