थारु गाउँमा दसैँको रौनक | Khabarhub Khabarhub

थारु गाउँमा दसैँको रौनक


१९ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पश्चिम नेपालका थारु गाउँमा दसैँको छुट्टै रौनकता रहेको छ । सखिया, झुम्रा, छोेक्रा, मुङ्ग्रहवालगायतका नृत्य र लोकभाकाले थारु गाउँ गुञ्जायमान भइरहेको छ ।

कोरोनाको सङ्क्रमण घटेसँगै विदेश गएका यस पटकको दसैँ मनाउन स्वदेश फर्केका छन् । विदेशबाट फर्केका परिवारसँग भलाकुसारी गर्दै दसैँ मनाइरहेको बाँके राप्तीसोनारी ९ का रामदास चौधरीले बताए ।

“यस पटकको दसैँ निकै रमाइलो गरी मनाइँदै छ”, उनले भने, “विदेश गएका, कामका लागि बाहिर गएका, पढाइका लागि बाह्य क्षेत्रमा गएका छोरा र भाइ सबै एक ठाउँमा जम्मा भएका छौँ, निकै रमाइलो छ”

उनका अनुसार दसैँका बेला थारु बस्तीमा नाचगान परम्परागत रुपमा चल्दै आएको छ । “महिला पुरुष, युवायुवती सबैको सामूहिकरूपमा नाचगानमा सहभागिता रहेको छ, यसबेला कुनै प्रकारको भेदभाव गरिँदैन, सबै समान हुन्छन्”, उनले भने ।

नवमीको दिन थारु समुदायले मुर्गा पुज्नाका रुपमा मनाएका थिए । बिहानै नदी तलाउमा नुहाएर शुद्ध भई थारु समुदायले पितृको सम्झना गर्दै देउथानमा बत्ती बालेर मुर्गा पुजेका छन् । मुर्गा पुज्नुअघि देउथानमा रहेका देवताको अगाडि भात, तरकारी, घरैया रक्सी घरमै बनेको मदिरा, पानी राख्नुपर्ने शम्भु थारुले बताए ।

उहाँका अनुसार टपरीमाथि बह्रनी, जमरा, बेवरी, आदि चढाइएको हुन्छ । चढाइएका खाद्य पदार्थ पितृले आएर ग्रहण गर्ने विश्वास थारु समुदायमा रहेको छ । सिन्दूरले देवतालाई टीका लगाई जल, दूध, मदिराको धार देवतामा चढाउनुपर्दछ ।

त्यसपछि मात्रै मुर्गा पुज्ने क्रम सुरु हुन्छ । “दुई वटा कुखुराको भाले दुई अलग अलग देवतालाई बलि चढाउनुपर्छ”, स्थानीयवासी सीताशरण थारुले भने, “बलि चढाएपछि धुप, बेवरी, जमरा चढाई दूध, पानी, घरैया दारुको धार चढाई मुर्गा पुज्ने क्रम सकिन्छ ।”

मुर्गा पुज्ने कार्य सकिएपछि घरका सबैसँगै सबेर सामूहिकरूपमा भोजन ग्रहण गर्दछन् । पितृलाई चढाइएका सामग्री नजिकको नदी, तलाउमा विसर्जन गर्न नृत्य टोलीसहित थारु समुदायका व्यक्ति जाने गर्दछन् । यसमा महिलाको सक्रियता बढी रहने गर्दछ । यस क्रममा नाचगान गरी रमाइलो गर्ने चलन रहेको छ ।

सामूहिकरूपमा आयोजना हुने नृत्यले सामूहिक भावनाको विकासमा यसले मद्दत पु¥याउने उनको भनाइ छ । दसैँका बेला नाच १० देखि १५ दिनसम्म आयोजना गरिन्छ । अरु बेला जे जस्तो तरिकाले परिवारको भरणपोषण गरिँदै आए पनि दसैँका बेला थारु समुदायमा मीठो मसिनो खाने, नयाँ लुगा लगाउने चलन रहेको छ ।

दसैँका बेला थारु समुदायका घरमा ढिक्री, सुँगुर, कुखुरा, खसी, बोकाको मासु, घोँघी, पोइक साग, फुलौरी, ठेक्वा, माछाका परिकार बनाइने गरिन्छ । यी परिकार घरमै बनाइएको अन्ती धानको गुरी जाँड र दारु (मदिरा) सँग खाने गरिन्छ । घरमा आएका पाहुनालाई यिनै परिकारले स्वागत गरिन्छ ।

थारु समुदायले असोजको शुक्ल पक्षको घटस्थापनाको दिन जमरा राखी सप्तमीदेखि दशमीसम्म दसैँ पर्व मनाउने गर्छन् । अष्टमीको दिनसम्म रातिका बेला मात्रै नृत्य देखाउने गरिन्छ । नवमीको दिनदेखि दसैँसम्म दिउँसोपख नृत्य देखाइने गरिन्छ ।

नृत्य गर्न अगाडि गुरुवाले पूजा पाठ गरी नृत्य टोलीका सदस्यलाई दैवीय विपत्तिबाट जोगाउनका लागि तन्त्रमन्त्र गर्ने गरेको अर्का स्थानीयवासी प्रतापशील थारुले बताए । उनका अनुसार नाचमा सबैभन्दा बढी बाजामा मादल, झाली, मजैरा, घुँघरुलगायतको प्रयोग बढी हुने गर्छ ।

दसैँका दिन बाजागाजा र नृत्यसहित कोसेली बोकेर गाउँका मुखिया वडघरबाट टीका थाप्ने चलन थारु समुदायमा रहेको छ । थारु समुदायमा अरु समुदायको जस्तो दसैँदेखि कोजाग्रत पूर्णिमासम्म टीका थाप्ने चलन भने छैन ।

थारु समुदायले दसैँको दिनमा मात्रै टीका थाप्ने गरेका छन् । पहिला चामलको पिठोको सेतो टीका दसैँका अवसरमा थारु समुदायले लगाउने गरेका थिए । हाल सेतो टीकासँगै रातो टीकासमेत लगाउने चलन चलेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ९ : ४० बजे

फर्पिङ–हेटौँडा सडकको दुरावस्था  (तस्बिरहरू)

काठमाडौं– मुलुकको केन्द्रीय राजधानी काठमाडौंबाट बागमती प्रदेशको राजधानी हेटौँडा पुग्ने

दमौलीमा पानीको हाहाकार, एक गाग्रीका लागि घण्टौँ लाइन बस्नुपर्ने

तनहुँ–  तनहुँको व्यास नगरपालिका– २  र ३ वडामा खानेपानीको हाहाकार

पाल्पाको रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनको तयारी

पाल्पा– ज्येष्ठ नागरिकलाई लक्षित गर्दै पाल्पाको रामघाटमा ज्येष्ठ नागरिक स्कुल

११ महिनामा ९२ करोड राजस्व सङ्कलन

नवलपरासी– बर्दघाट सुस्ता पश्चिम नवलपरासी करदाता सेवा कार्यालय नवलपरासीले चालु

मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न वन मन्त्रालयको पहल

काठमाडौं– वन तथा वातावरण मन्त्रालयले पूर्वी तराई क्षेत्रमा बढ्दो मानव–हात्ती