आजभोलि धेरै जना फेसबुक, इन्टाग्राम र टिकटक हेरेकै भरमा आफूलाई अरूको जीवनसँग तुलना गरिदिन्छन्। यो सबैलाई आवश्यक नलाग्ला। महसुस पनि नहुन सक्ला। तर, भर्चुअल दुनियाँमा रमाइरहेका मान्छेको संसार हिजोआज सामाजिक सञ्जालमा मात्रै जीवित देखिन्छ।
व्यक्तिगत कुरा गर्दा म गाउँघरमै जन्मे हुर्केकी हुँ। सानैमा जीवनमा दुःख भनेको के हो र संघर्षसँग कसरी जुध्ने भनेर थोरै भए पनि आफ्नै जीवनका चोट तथा भोगाईबाट सिक्ने मौका पाएकी छु।
भर्चुअल दुनियाँमा रमाइरहेका मान्छेको संसार हिजोआज सामाजिक सञ्जालमा मात्रै जीवित देखिन्छ।
त्यसैले त अहिले पनि पीर व्यथालाई ओठभित्रै लुकाएर आँखाको डिलमा भएका आँसुलाई पनि मुस्कानले पखाल्ने कोसिस गर्ने गर्छु। हिजो आज जता गए पनि सबैको पहिला सोध्ने प्रश्न हुन्छ, नानी कति पढ्यौँ ? जवाफ फर्काउन एकछिन अलमल नै पर्छु।
किनकी मास्टर्स पासको प्रमाणपत्रले मलाई सन्तुष्टि दिन सकेको छैन। साँच्चै तपाईंलाई पनि तपाईंको मास्टर्स पासको प्रमाणपत्रले खुशी र सन्तुष्टि दिएको छ ? कतिपयलाई सन्तुष्टि मिले पनि सायदै धेरै जना सन्तुष्ट हुनुहुन्न होला।
समाजले सोध्ने प्रश्न र नेपालीको प्रवृत्ति हेर्दा कहिलेँकाही साथीभाइसँग यही कुरा हुन्छ। ‘बेलैमा विदेश नपसेर ठूलो गल्ती गरिएछ’, कहिलेकाही भन्छु। तर, म अलमलिएको मन लिएरै भए पनि सान्तवनाका शब्दहरु निकाल्छु।
अनि अर्काको देशमा त घुम्न पो जाने हो। काम त आफ्नै देशमा गर्ने हो भन्दै मनलाई ओठे जवाफ फर्काउने गरेकी छु। एकछिन आदर्शका कुरा गरे पनि वास्तविकता भने सजिलो छैन।
सायद अरुको देशमा गएर जुठा भाँडा माझ्दा महान सम्झिने हामी आफ्नै घरमा भने खाएको थाल उठाउदा पनि इज्जत घटेको सम्झिन्छौं। अर्काको देशमा गएर ट्वाइलेट नै सफा गर्ने काम किन नहोस्, त्यो काम अरुले देख्दैनन्। अनि त्यो काम हाम्रो लागि महान् बन्छ।
सायद अरुको देशमा गएर जुठा भाँडा माझ्दा महान सम्झिने हामी आफ्नै घरमा भने खाएको थाल उठाउदा पनि इज्जत घटेको सम्झिन्छौं।
अरुलाई देखाउन एकदिन बिदा मिलाएर समुन्द्रको छालसँगको लडिबुढी गरेको तस्बिर सामाजिक संजालमा देखेपछि हामीलाई त्यही विदेश गएको नेपाली धनाढ्य लाग्छ। संसारका सारा खुशी उसैले निलिसकेको जिकिर गर्छौ।
त्यति मात्रै हो र ? उसैको कमेन्ट बक्समा गएर ‘वाउ, कति आनन्दको जिन्दगी, त्यस्तो पो लाइफ’ भनेर उसको देखावटी खुशीमा फुर्का जोडिहाल्छौँ। तर, त्यो व्यक्तिको एक दिनको खुसी भित्र हप्ताभरीको बन्देज र पीडा अरुले देख्नै सक्दैनन्।
विडम्बना जति नै आदर्शका गफ छाँटे पनि आजको वास्तविकता हाम्रो पीएचडीको उपाधिले दिन सकेको छैन। किनकी यहाँ शिक्षाको गुणस्तरमा होइन, कमिसनमा चासो छ। शिक्षामा राजनीति होइन, शिक्षाको राजनीति गरौँ। जुन देशमा शिक्षा र स्वास्थ्यमा राजनीति हुन्छ नि, त्यो देशमा कहिल्यै प्रगति हुन सक्दैन। यसको उदाहरण अहिले हाम्रै देश बनिरहेको छ।
विदेश पुगेका व्यक्तिको एक दिनको खुसी भित्र हप्ताभरीको बन्देज र पीडा अरुले देख्नै सक्दैनन्।
यहाँ हरेक क्षेत्रमा राम्रो होइन, हाम्रोको मूल्यांकन गरिन्छ । अनि कसरी हुन्छ विकास ? शिक्षाको अर्थ के ? टेक्निकल लाइन भन्दा बाहिरका जुनसुकै विषय पढेको भए पनि कुनै सरकारी जागिर खान मन लाग्यो भने यहाँ आफूले पढे, गरेको किताब छोडेर अर्को किताबको फेददेखि टुप्पोसम्म रटान लगाउनु पर्ने हुन्छ।
यदि यसो हो भने हामीले पढेको विषय अनि त्यो पीएचडीको के काम त ? यो किताब चाहिँ किन पढ्नु पर्ने हो ? यस्ता प्रश्न त धेरै तपाईलाई आउँछन् होला। तर, उत्तर भने आउँदैन।
यदि हामी युवाको मूल्य र पसिना किन्न सक्ने किताब बन्न सक्दैन भने एउटा राहदानी सम्बन्धी किताब विद्यालयदेखि नै बनाइदिँदा कस्तो होला सरकार ? कमसेकम अरुको देशमा गएर दास बन्नु पर्ने अवस्था त आँउदैनथ्यो कि ?
शिक्षा यस्तो होस्। जहाँ हातमा शिक्षाको मूल्यांकन नपाउँदै भविष्यको योजना पूरा गर्न सक्ने क्षमता होस्। शिक्षा यस्तो होस्। जहाँ घरमा नसिकाएको संस्कार र संस्कृति विद्यालयमा सिक्न पाइयोस्।
होइन भने हाम्रो हातमा भएको डिग्रीको प्रमाणपत्रले दिन नसकेको सुख, सन्तुष्टि र सफलता त्यो विदेशी भूमिको दासत्वले कसरी देला ? अनि कहिलेसम्म दिइरहन सक्ला ? एकपटक गम्भीर भएर सोच्नुपर्छ ।
प्रतिक्रिया