इमरान खानमाथि भएको गोली प्रहारले उब्जिएको प्रश्न | Khabarhub Khabarhub

इमरान खानमाथि भएको गोली प्रहारले उब्जिएको प्रश्न

तत्कालीन प्रधानमन्त्री भुट्टोको जस्तै हत्या श्रृंखला दोहोरिने चिन्ता



काठमाडौँ – पूर्वप्रधानमन्त्री इमरान खानमाथिको हत्या प्रयासले पाकिस्तानसँगै पूरै विश्वलाई नै तरंगित बनाइदिएको छ। पाकिस्तानको पूर्वी सहर वजिरावादमा आयोजना गर्न लागिएको राजनीतिक सभाका लागि त्यसतर्फ जानेक्रममा खानमाथि बुधबार गोली प्रहार गरेर हत्या प्रयास भएको हो।

बन्दुकधारीले उनी चढेको सवारी लस्करमाथि गोली प्रहार गरेका थिए। आक्रमणमा एक जनाको मृत्यु भएको छ भने अरु १० जना घाइते भएका छन्। उनको खुट्टामा गोली लागेको बताइएको छ। केही दिनपछि उनी निको भएर घर फर्किने अपेक्षा गरिएको छ।

गत अप्रिल महिनामा नाटकीय रुपमा प्रधानमन्त्रीबाट पदमुक्त हुन पुगेका उनले त्यसयता तत्काल निर्वाचनको माग गर्दै विशाल विरोध र्‍यालीहरुको आयोजना गर्दै आएका थिए। पूर्वक्रिकेटर समेत रहेका उनको हत्या प्रयासलाई प्रहरीले सार्वजनिक गरेको भिडियोमा संदिग्ध आक्रमणकारीले जनतालाई ‘भड्काएका कारण’ खानलाई ‘मार्न चाहेको’ बयान दिएका छन्।

यद्यपि आक्रमणको खास उद्देश्य अझै सार्वजनिक भइसकेको छैन। यसबाहेक आक्रमणलाई लिएर उनका केही साझेदारहरुले सेना र शहबाज शरिफ नेतृत्वको सरकारमाथि पनि प्रश्न उठाएका छन्। उनी उसै पनि पाकिस्तानी संस्थापन र सैनिक नेतृत्वको निकै प्रखर आलोचक मानिन्छन्। खानको पाकिस्तान तहरिक ए इन्साफ पीटीआई पार्टीका प्रवक्ता रउफ हसनले पाकिस्तान सरकारमाथि आक्रमणको दोष लगाएका छन्।

उनलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार इमरान खानलाई भौतिक रुपमै समाप्त पार्ने सरकारको प्रयास अनुसार उनीमाथि आक्रमण भएको हो। पाकिस्तानी संस्थापन नेतृत्वले यस्तो आरोपबारे केही टिप्पणी गरिसकेका छैनन्।

यता इमरान खान र पीटीआईका समर्थकहरुले उनको हत्याप्रयासको विरोधमा शुक्रबार राष्ट्रव्यापी विरोध प्रदर्शनको आयोजना गरेका छन्। खानका समर्थकहरुले पाकिस्तानका मुख्य राजमार्ग बन्द गराएका छन् भने राजधानी इस्लामावाद, लाहोर, पेशावर कराँचीलगायतका मुख्य सहरहरुमा सुरक्षाकर्मी र खान समर्थकबीच झडप समेत भएको छ।

खानको पार्टीले आफ्ना राजनीतिक माग पूरा नभएसम्मका लागि आन्दोलनलाई निरन्तरता दिने जनाएको छ। खानको नजिकका साझेदार मानिने असद उमरले शुक्रबारको प्रार्थानासँगै प्रदर्शनको आयोजना गरिने र खानको माग पूरा नभएसम्म जारी रहने बताएका छन्। यद्यपि उनले खानको माग तत्काल निर्वाचन या शरिफको राजीनामा दुईमध्ये के हो भन्ने नखुलाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

खानमाथिको हत्याप्रयासले पाकिस्तानी राजनीतिलाई अझ साम्प्रदायिक बनाएर सामाजिक बन्धनमा नै क्षति गर्न सक्छ।

हुन त अशान्ति र विभिन्न आक्रमणका कारण समाचारको शीर्षक बन्ने पाकिस्तानमा राजनीतिक हिंसा पहिलोपटक भएको होइन। यसअघि सन् २००७ मा पनि रावलपिण्डी सहरमा तत्कालीन प्रधानमन्त्री बेनजिर भुट्टोको हत्या भएको थियो। यद्यपि पछिल्लो पटक उसै पनि अत्यन्त धुमिल राजनीतिलाई खानको हत्या प्रयासले अझ विषाक्त बनाउने आकलन गरिएको छ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको विश्लेषणअनुसार खानमाथिको हत्याप्रयासले पाकिस्तानी राजनीतिलाई अझ साम्प्रदायिक बनाएर सामाजिक बन्धनमा नै क्षति गर्न सक्छ। यता अमेरिकाको एटलान्टिक काउन्सिलमा साउथ एसिया सेन्टरमा आबद्ध सुजा नवाज भने अहिलेको परिस्थितीमा पाकिस्तानमा कुनै राजनीतिक बहस नै अस्तित्वमा नरहेको टिप्पणी गर्छन्।

यस घटनाले अवस्थालाई अझ खराब बनाउने उनको तर्क छ। अवस्थालाई शान्त बनाउन पीटीआईको नेतृत्वमा रहेको पञ्जाबको प्रान्तीय सरकार र मुलुकको गृहमन्त्रालयले निष्पक्ष छानबिन गर्नुपर्ने उनको धारणा छ।

पाकिस्तान सेराइकी पार्टीकी अध्यक्ष नुख्बा ताज लङ्घा पनि सुजा नवाजले उठाएको विषयमै जोड दिन्छिन्। पाकिस्तानमा घृणाको राजनीति बढ्दै गएको उनको पनि तर्क छ। डनलाई दिएको अन्तरवार्तामा उनी भन्छिन्, ‘अवस्था निकै जटिल छ किनभने यो अवस्थामा विश्वले बुझेको राजनीतिक तर्क र दृष्टिकोण (पाकिस्तानी राजनीतिमा) नै लागू भएको छैन।’ मुलुकमा राष्ट्रिय राजनीतिक बहस नगण्य मात्रामा रहेको उनको टिप्पणी छ।

पाकिस्तान अहिले पनि आतंकवादी र अतिवादी व्यक्ति तथा गिरोहको आश्रयस्थल रहेको प्रमाण इमरानमाथिको गोली प्रहारले पुनर्पुष्टि गरिदिएको छ।

उनी भन्छिन्, ‘असहिष्णुता र घृणाले अहिलेको राजनीतिलाई परिभाषित गरिरहेको छ, जुन बढ्दै जानेछ।’ गत महिना दुई पत्रकारले ज्यान गुमाएको स्मरण गर्दै लाङ्घाले पाकिस्तानमा मानिसको जीवन सस्तो बन्दै गएको र अवस्था नसुध्रेमा झन् सस्तो हुने उनले बताइन्।

हत्याप्रयासका बेला इमारन खानसँगै रहेका पीटीआईका प्रभावशाली नेता एवम् पूर्वसूचनामन्त्री फवाद चौधरीले घटनालाई नियोजित हत्याको प्रयास भन्दै कार्यकर्ताहरु सडकमा आएर बदला लिनुपर्ने घोषणा गरेका थिए। तर यसबारे इमरानले भने संयमित प्रतिक्रिया मात्रै दिएका छन्।

तर विश्वकप क्रिकेट विजेता कप्तान र पाकिस्तानका पूर्व राजनीतिक कप्तानका रुपमा प्रधानमन्त्री बनिसकेका इमरानमाथि जसरी गोली प्रहार गरेर हत्या प्रयास भएको छ, त्यो भोलिका दिनमा फेरि बेनिजर भुट्टोको जस्तो नियति नदोहोरिएला भन्न सकिन्न। किनकी इमरानमाथिको गोली प्रहार कुनै दुर्घटना मात्रै होइन।

भारत तथा अमेरिकी गुप्तचर संस्थाहरुकै शब्दमा पाकिस्तान अहिले पनि आतंकवादी र अतिवादी व्यक्ति तथा गिरोहको आश्रयस्थल रहेको प्रमाण इमरानमाथिको गोली प्रहारले पुनर्पुष्टि गरिदिएको छ।

(बीबीसी, रोयटर्स र पाकिस्तानी अखबार डनको सहयोगमा)

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ८ : ५९ बजे

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको