आगामी निर्वाचन : डुबान र कटान समाधान गर्नेलाई भोट « Khabarhub

आगामी निर्वाचन : डुबान र कटान समाधान गर्नेलाई भोट


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

राँझा– बाँकेको राप्ती तटीय क्षेत्रका बासिन्दाले डुबान र कटान समस्या समाधान गर्ने उम्मेदवारलाई भोट दिने बताएका छन् । बर्सेनि डुबान र कटानको समस्या झेल्दै आएका उनीहरुले भोट माग्न आउने राजनीतिक दलका नेता तथा उम्मेदवारलाई जमिन कटान र बस्ती डुबानमा पर्ने समस्याको दिगो समाधानका लागि तटबन्धको व्यवस्था गरिदिन माग गर्दै आएका छन् । 

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको लागि भोट माग्न गाउँबस्ती पुग्ने राजनीतिक दलका उम्मेदवारबाट चुनावको बेला आश्वासन पाउने गरे पनि समस्या समाधान नभएको उनीहरुको गुनासो छ । ‘बर्सेनि हुने डुबान र कटानको समस्या समाधानका लागि काम गर्न सक्नेलाई भोट दिने विचार गरेका छौँ’, डुडुवा गाउँपालिका-१ होलिया निवासी राजकुमार शुक्लाले भने , ‘हामी राप्ती नदीबाट हुने डुबान र कटानबाट धेरै पीडित छौँ तर अहिलेसम्म सरकारले समस्याको समाधानका लागि पहल गरेको छैन ।’

लक्ष्मणपुर बाढीपीडित सङ्घर्ष समितिका सचिवसमेत रहनुभएका शुक्लाले अहिले चुनावको बेला घरघरमा आएर भोट मागे पनि चुनाव जितेपछि सांसदहरू फर्केर गाउँ नजाने गरेको गुनासो गरे ।

बाँकेको नेपाल-भारत सीमा क्षेत्र नजिक भारतले अन्तर्राष्ट्रिय नियम विपरीत बनाएको लक्ष्मणपुर बाँधका कारण बाँकेको राप्ती तटीय क्षेत्रका बासिन्दा बर्सेनि बाढी र डुबानको पीडा झेल्दै आएका छन् । लक्ष्मणपुर बाढीपीडित सङ्घर्ष समितिका सचिव शुक्लाका अनुसार बाँकेका होलिया, बेतहनी, फत्तेपुर, टेपरी, घोडियनपुर गाउँ क्षेत्रका झन्डै पाँच हजार घरधुरीका करिब २४ हजार नागरिक बाढीबाट प्रभावित हुने गरेका छन् ।

निर्वाचनमा सबैजसो दलले आफ्नो प्रतिबद्धता पत्रमा राप्ती तटीय क्षेत्रमा हुँदै आएको डुबान तथा कटान नियन्त्रण गर्ने उल्लेख गरेका छन् । तर कार्यान्वयनमा भने चुनौती देखिँदै आएको छ । राप्ती नदी र डुडुवा खोलाले डुडुवा गाउँपालिकाका विभिन्न वडामा खेतीयोग्य जमिन कटान र बस्ती बर्सेनि डुबान हुने समस्याको दिगो समाधान गर्ने गरी आफूले योजना बनाएको बाँके क्षेत्र नं १ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सूर्य ढकालले बताए। उनले थोरै बजेटबाट तटबन्ध कार्य सम्भव नहुने भएकाले प्रदेश र केन्द्रीय सरकारसँग समन्वयका आधारमा काम गर्न सके डुबान र कटानबाट हुने क्षति न्यून गर्न सकिने दाबी गरे ।

 सत्तारूढ गठबन्धनबाट बाँके क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य उम्मेदवार माओवादी केन्द्रका  नेता एवम् युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले जनतालाई डुबान र कटानको समस्याबाट जोगाउन तटबन्ध गरिने प्रतिबद्धता जनाएका छन् ।  राप्ती नदीमा आउने बाढीका कारण राप्तीसोनारी र नरैनापुर गाउँपालिकाको तटीय क्षेत्रका बासिन्दासमेत पीडित हुँदै आएका छन् ।

राप्तीसोनारी गाउँपालिका-६ फत्तेपुरका लालबहादुर थापाले बितेको ५ वर्षमा यो क्षेत्रबाट जितेका जनप्रतिनिधिले बाढीपीडितको समस्या समाधानका लागि काम गर्न नसकेकाले यो निर्वाचनमा जनताको काम गर्ने व्यक्तिलाई मतदान गर्ने बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  १ : ४७ बजे

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’

पर्यटन प्रवर्द्धन गर्न सातबुँदे घोषणापत्र जारी

बाँके– पर्यटन व्यवसायीले नेपालगन्ज–पोखरा, नेपालगन्ज–जनकपुरलगायत सम्भावित नयाँ हवाई गन्तव्यलाई जोडेर

तनहुँको छिर्कनेमा पहिरो, यातायात सेवा प्रभावित

तनहुँ– तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१, ‘सिए टिएस’ प्रमाणीकरण सुरु

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय