जसपाको प्रतिबद्धतापत्र : प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री | Khabarhub Khabarhub

जसपाको प्रतिबद्धतापत्र : प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रपति र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने शासकीय स्वरूपको अवधारणासहित पार्टीको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि पार्टीको प्रतिबद्धतापत्र सार्वजनिक गर्दै पार्टी अध्यक्ष उपेन्द्र यादवले जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी सरकार प्रमुख वा राष्ट्रप्रमुख हुनुपर्ने बताए । उनले भने, ‘समानुपातिक प्रतिनिधित्व हुने संसद् र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखसहितको शासकीय स्वरुपमार्फत राजनीतिक स्थायित्व कायम गर्ने पार्टीको एजेण्डा छ ।’

अध्यक्ष यादवले लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्दै तीव्ररूपले आर्थिक विकास र समृद्धिको दिशातर्फ अघि बढ्नका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्ने पार्टीको नीति रहेको बताए । जसपाले संविधानमा रहेका त्रुटि र अपूर्णतालाई संविधान संशोधनमार्फत पूरा गर्दै सर्वस्वीकार्य बनाउँदै राष्ट्रको उत्थानमा केन्द्रित हुने जनाएको छ । ‘नेपालमा बहुमतको सरकार र अल्पमतको विपक्षको परम्परागत लोकतन्त्रको मान्यता असफल भइसकेको परिप्रेक्ष्यमा समानुपातिक प्रतिनिधित्व हुने संसद् र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखसहितको शासकीय स्वरुपमार्फत राजनीतिक स्थायित्व कायम गर्न सकिन्छ’, जसपाको प्रतिबद्धतापत्रमा भनिएको छ ।

पाँच भागमा केन्द्रित जसपाको प्रतिबद्धतापत्रमा राजनीतिक, आर्थिक विकास, सामाजिक रुपान्तरण र औद्योगिकीकरणको विषयलाई प्राथमिकताका साथ उल्लेख गरिएको छ । सबै तहको व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका र संवैधानिक अङ्ग सञ्चालन गर्ने, सङ्घमा दुई सदनात्मक तथा प्रदेश र विशेष संरचना एक सदनात्मक व्यवस्थापिका सभा हुने राज्य व्यवस्था अवलम्बन गरिनुपर्ने जसपाको नीति छ ।

अध्यक्ष यादवले राजनीतिकरूपमा विगतमा भएका विभिन्न आन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रही बाँकी मुद्दालाई सम्बोधन गर्नका लागि संसद्बाट प्रयास गरिने बताए ।

जसपाले स्वतन्त्र र निष्पक्ष न्यायालय संघीय संरचनाअनुरुप हुनुपर्ने, विद्यमान निर्वाचन प्रणाली महँगो र भड्किलो भएकाले आर्थिकरूपले सरल र सस्तो समानुपातिक निर्वाचन प्रणाली अपनाइनुपर्नेमा जोड दिएको छ ।

राष्ट्रिय एकतालाई बलियो बनाउँदै सबै समुदायको समानुपातिक प्रतिनिधित्व र पहुँच हुने गरी संवैधानिक र कानुनी व्यवस्था गरिनुपर्ने नीति लिएको जसपलाले समावेशी लोकतन्त्र, आदिवासी, जनजाति, मधेसी, थारू, मुस्लिम, अप्पसङ्ख्या एवं पिछडिएका र बहिष्करणमा परेका समुदायको हक अधिकार सुनिश्चित हुने, महिला र फरक क्षमता भएकाहरूको सामाजिक सुरक्षाको सुनिश्चिततालगायत विषयलाई प्रतिबद्धतापत्रमा समेटेको छ ।

शिक्षा र स्वास्थ्यको दायित्व राज्यले लिनुपर्ने, देशभित्र रोजगारी सिर्जना गरी युवा पलायन रोक्दै आर्थिक समृद्धिको यात्रामा ऊर्जा, पर्यटन कृषि, औद्योगिकीकरणलाई प्राथमिकता दिएर अघि बढ्नुपर्ने जसपाले एजेण्डा अघि सारेको छ । त्यसैगरी राष्ट्रिय हित अनुकूल विदेश नीति अवलम्बन गर्दै सुशासन प्रवद्र्धनमा ध्यान दिने प्रतिबद्धतापत्रमा भनिएको छ । जसपाका कार्यकारिणी सदस्य प्रकाश अधिकारीले संघीयतालाई थप सुदृढ गर्दै संविधानको संशोधनमार्फत समेट्न बाँकी रहेका विषयलाई प्राथमिकता दिएर पार्टीले चुनावी प्रतिबद्धतापत्र ल्याएको बताउनुभयो ।

जसपाले मधेसी समुदायको राष्ट्रिय पहिचान र अधिकारको प्रत्याभूति गर्ने गरी नागरिकता समस्याको समाधान गर्ने नीति लिएको छ । मधेसी समुदायलाई राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका निम्ति संयुक्त राष्ट्रसङ्घको घोषणाअनुरुपको आत्मनिर्णयको अधिकार हुने व्यवस्था हुनुपर्ने अवधारणा जसपाले अघि सारेको छ ।

जसपाले पाँच वर्षभित्र ऊर्जा शक्तिमा आत्मनिर्भर हुने नीति अवलम्बन गरी आगामी पाँच वर्षमा १० हजार मेगावट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, बीमा कम्पनी आदिमा रहेको कोषलाई विद्युत् उत्पादनमा लगाउन प्रेरित गर्ने जसपाले जनाएको छ । हाल विद्यमान स्थायी लेखा (प्यान) मा आधारित कारोबारको थ्रेसहोल्ड २० लाखबाट रु ५० लाख बनाउने र साना व्यावसायीको लेखाप्रणाली तथा व्यवसाय नवीकरणलाई सहज र सरल बनाउने नीति लिइएको छ ।

त्यसैगरी जसपाले ज्येष्ठ नागरिकलाई यातायातमा ५० प्रतिशत छुटको व्यवस्था गर्नुपर्ने अवधारणा ल्याएको छ । नेपाललाई पर्यटकीय दृष्टिकोणले अन्तर्राष्ट्रिय गन्तव्य केन्द्रका रूपमा विकसित गर्दै यस क्षेत्रलाई रोजगारी र विदेशी मुद्रा आर्जनको स्रोतका रूपमा विकास गर्ने प्रतिबद्धतपत्रमा भनिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ६ : १५ बजे

उद्योगमन्त्री भण्डारी र रोमानियाका राजदूत तानेबीच भेट

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र भारतको नयाँ

साउन १८ गतेलाई तोकियो ‘मोदीबेनी’ को प्रदर्शन मिति

काठमाडौं– शंकर कोइरालाको डेब्यु निर्देशन रहेको फिल्म  ‘मोदीबेनी’ आगामी साउन

कांग्रेसले गृहमन्त्रीलाई कम्तीमा एक पटक संसद्‍मा बोल्न दिनुपर्छ : सन्तोष परियार

काठमाडौं– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेपाली

१० महिनामा ६० प्रतिशत बजेट खर्च

काठमाडौं– चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट खर्च ६०

रमेश लेखक भन्छन् : संसद्‍मा राष्ट्रपतिको सम्बोधन सुन्छौँ, अरु विषयमा प्रवेश गर्न दिँदैनौँ

काठमाडौं- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आगामी राष्ट्रपति रामचन्द्र