काठमाडौँमा दोहोरिएला त ‘नानीमैया’ को इतिहास ? | Khabarhub Khabarhub

काठमाडौँमा दोहोरिएला त ‘नानीमैया’ को इतिहास ?



काठमाडौँ महानगरपालिकाको मेयर पदका लागि अहिलेसम्म प्रमुख दलका उम्मेदवारहरुको टुंगो छैन, तर सम्भावित स्वतन्त्र उम्मेदवारहरुको अनुहार भने भटाभट प्रकट भइरहेका छन् । नायकदेखि गायकसम्म पूर्व प्रहरीदेखि पूर्व प्रधानमन्त्रीसम्मको नाम मेयरका रुपमा चर्चामा छ ।

२०३८ सालको राष्ट्रिय पञ्चायत निर्वाचनमा काठमाडौँका जनताले जोगमेहर श्रेष्ठलाई हराएर नानीमैया दाहाललाई जिताए झैं, यसपालि कुनै नपत्याउँदो स्वतन्त्र उम्मेदवारले त मेयरमा जित्ने हैन ? भन्ने चर्चा पनि चल्न थालेको छ । काठमाडौँ बासीको मुड न हो, जे पनि हुनसक्छ ।पक्कै यो कुनै फिल्मी स्टन्टबाजी नहुनसक्छ । आगामी नयाँ वर्ष २०७९ वैशाख १ मा पुत्र अभिनेता अनमोल केसीको चलचित्र ‘ए मेरो हजूर–४’ प्रदर्शनमा आउँदै गर्दा पिता अभिनेता भुवन केसी भने राजनीतिमा होमिएका छन् ।

वैशाख ३० मा हुने स्थानिय निर्वाचनमा अभिनेता केसी काठमाडौँ महानगरपालिकामा मेयर पदमा खडा हुँदैछन् । स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टीका तर्फबाट मेयर पदमा खडा हुने घोषणा गरेका नायक केसीलाई पार्टीको परराष्ट्र विभागको अध्यक्ष समेत बनाइएको छ ।

काठमाडौँ महानगरपालिकाको मेयरमा उठन चाहनेहरुको पङ्क्तिमा अभिनेता केसी मात्र छैनन् । यसअघि चर्चित र्‍यापर बालेन शाहले काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

काठमाडौँ महानगरपालिकाको मेयर पदको क्रेज बढाउन अभिनेता राजेश हमालको एउटा भिडियोले भूमिका निर्वाह गरेको थियो ।भिडियोमा उनले भनेका थिए, ‘म पनि काठमाडौँको मेयर बनौं कि क्या हो ?’ अनि त ‘अभिनेता हमाल काठमाडौँको मेयरमा उठने’ भन्ने खबर भाइरल नै भयो । हमालले पछि स्पष्टोक्ती दिएर यो सम्भावनालाई नकारे पनि अभिनेता केसी भने मैदानमा उत्रदैछन् ।

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले आफू काठमाडौँको मेयरमा उठ्न मिल्ने जिकिर गरेपछि उनले पनि मेयर नै ताकेको हल्ला चारैतिर फैलियो ।

ट्वीटर प्रयोगकर्ता ‘सम्झना’ ले लेखेकी थिइन्, ‘बाबुराम भट्टराईलाई काठमाडौँ महानगरको मेयर बनाउँदा कसो होला ? कहिलेकाहीँ म सडकमा हिँड्दा बाबुरामलाई सम्झिँन्छु, यदि उनले यो बाटो विस्तार गर्ने आँट नगरेको भए के हुन्थ्यो ? प्रधानमन्त्री बनेको मान्छे मेयरको कुरा गर्न नमिल्ला तर यो काठमाडौँ बाबुरामजस्ता आँट भएका मान्छे नआइ बन्दै बन्दैन ।’

जवाफमा पूर्वप्रधानमन्त्री भट्टराईले विश्वका विभिन्न देशमा प्रधानमन्त्री भइसकेका व्यक्तिहरू आफ्नो नगरको मेयर बनेका उदाहरण दिएका थिए । राष्ट्रपति, प्रधानमन्त्री भएर पनि अन्ततः मेयर भएका ज्याक्स रेने चिराग र फ्रान्सका अर्का प्रधानमन्त्री एडवार्ड चार्ल्स फिलिप्सको सन्दर्भ उल्लेख गर्दै भट्टराईले आवश्यक परेको खण्डमा आफू मेयरमा उठनसक्ने दलिल पेश गरेका थिए ।

पूर्वनायब महानिरीक्षक (डीआईजी) रमेश खरेल पनि काठमाडौँको मेयर पदमा उठने भएका छन् । प्रहरी सेवाबाट अवकाशपछि भ्रष्टाचारविरोधी अभियान चलाउँदै आएका खरेल नेपाल सुशासन पार्टीको अध्यक्ष समेत हुन् । यसैगरी मिस नेवाः सुनिता डंगोलले पनि काठमाडौँको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरिसकेकी छिन् ।

देशमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७८ नगरपालिका र ४६० गाउँपालिका भए पनि आसन्न स्थानिय निर्वाचनमा काठमाडौँ महानगरपालिका सबैको आकर्षणको केन्द्र बन्नुको कारण के हो ?

किन नेतादेखि अभिनेतासम्म, गायकदेखि सुन्दरीसम्म काठमाडौंका मेयर बन्न चाहन्छन् ?

काठमाडौँको क्रेज

मुलुकमा संघीय शासन प्रणाली लागू भए पनि केन्द्रमुखी मानसिकता अझै हट्न नसकेको ज्वलन्त उदाहरण हो, काठमाडौँको मेयर पदको क्रेज । देशको राजधानी, करीब १९ अर्बको बजेट, देशका हरेक क्षेत्रका अगुवा, हुनेखाने, कुलीनको निवास, अन्तर्राष्ट्रिय चलखेल, आर्थिक, राजनीतिक र बहु आयामिक पहुँचको केन्द्र भएकाले काठमाडौँको मेयर हुुनु आफैँमा गौरवको विषय मान्ने गरिएको छ ।

पहिलो त काठमाडौँ प्रति आर्थिक रुपमै आकर्षण हुने नै भयो, किनकी काठमाडौँ महानगरपालिकाको बजेट अन्य महानगरपालिकाको दाँजोमा करीब तिन गुना ठूलो छ । काठमाडौँ महानगरपालिकामा २०७८ असारमा सम्पन्न नगरसभा अधिवेशनमा उपमेयर हरिप्रभा खडगीले आर्थिक वर्ष २०७८/७९ का लागि कुल १८ अर्ब ९५ करोड ७७ लाख १२ हनार रुपैयाँको बजेट प्रस्तुत गरेकी थिइन् ।

काठमाडौँ महानगरपालिकाको करीब १९ अर्बको बजेट तर्जुमा हुँदा देशका बाँकी महानगरपालिकाको कुल बजेट काठमाडौँको तुलनामा निकै कम छ । दोश्रो ठूलो शहर पोखरा महानगरपालिकाले आर्थिक २०७८/७९ का लागि जम्मा ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको बजेट ल्याएको छ ।

यसैगरी तेश्रो नम्बरमा ललितपुर महानगरपालिकाले यसै आर्थिक वर्षका लागि ५ अर्ब ५५ करोड रुपैयाँको बजेट ल्याएको छ । चौंथोमा भरतपुर नगरपालिका, जसको बजेट ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार छ । विराटनगर महानगरपालिकाको बजेट ४ अर्ब १० करोड ३ लाख ३८ रुपैयाँ छ । यसैगरी वीरगंज महानगरपालिको बजेट ३ अर्ब ५५ करोड ३९ लाख ३७ हजार रुपैयाँ छ ।

आर्थिक पक्ष त भइहाल्यो । काठमाडौँमा मेयर या सांसद पदमा उठ्नेको राष्ट्रिय ख्याती हुने गरेको छ । संघीयता लागू भइसकेपछि हरेक महानगरपालिका आफैँमा केन्द्र हुनुपर्ने हो, तर देशको शक्ति स्वामित्व भावनात्मक रुपमा अहिले पनि काठमाडौँमै केन्द्रित भएकाले ‘मोफसल र राजधानी’ को भेद कायमै छ र यहाँ ‘सियो खस्यो भने पनि त्यसले राष्ट्रिय कोलाहल सिर्जना गर्छ’ भन्ने मानसिकता छ ।

२०४८ सालको निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर एकबाट एमाले महासचिव मदन भण्डारीले जसै तत्कालीन अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराए, त्यसपछि नै मदनको चर्चा देश विदेशमा हवात्तै बढयो । ‘दुलोबाट फुत्त निस्किएको मान्छेले भट्टराईजस्ता भेटरान नेतालाई हरायो’ भन्नेहरु पनि देखिए ।

काठमाडौँ बासीका लागि नौला मानिएका मदन भण्डारीले मात्र चुनाव जितेका हैनन्, त्यसको दश वर्षअघि पनि यस्तै नपत्याएकी भनिएकी उम्मेदवार नानीमैया दाहालले काठमाडौँबाट चुनाव जितेर तहल्का मच्चाएकी थिइन् ।

२०३८ वैशाख २० मा सम्पन्न राष्ट्रिय पंचायत निर्वाचनमा ६५ हजार ७ सय ७७ मत ल्याएर दाहालले जितेकी मात्र थिइनन्, उनले त्यो बेलाका दिग्गज पंच जोगमेहर श्रेष्ठलाई हराएकी थिइन् । अनि त नानीमैया राष्ट्रिय व्यक्तित्व नै बनिन् । बहुदलबादीहरुले पनि उनलाई निकै उचालेका थिए ।

एमालेमा १५ वर्षसम्म महासचिव रहेका माधवकुमार नेपाललाई हराएर काठमाडौँबाटै रोल्पाका माओवादी नेता झक्कु सुवेदी राष्ट्रिय रुपमा चर्चामा आए । आखिर रौतहटका नेपाललाई काठमाडौँबाटै खडा हुनुपर्ने कारण के थियो ? किनकी, हरेकलाई ‘मदन भण्डारी’ जस्तै चर्चित हुनु थियो ।

पहिलो संविधानसभा निर्वाचनमा माओवादी अध्यक्ष प्रचण्ड पनि किर्तिपुर निर्वाचन क्षेत्रबाट खडा भएर जिते । तर, दोश्रो संविधानसभा निर्वाचनमा भने उनी माओवादी बाट हारे । दाहाल ‘काठमाडौँबाटै हारेको’ ले पनि राष्ट्रिय राजनीतिमा माओवादीको क्षयीकरणको सन्देश दिएको थियो । सिरहाबाट बल्ल बल्ल उनलाई अनेक प्रपंच गरेर जिताइएको चर्चा नचलेको हैन ।

संसदीय निर्वाचनमा त काठमाडौँको यत्रो महत्व हुन्छ भने झन मेयर पदमा आकर्षण किन नहोस् । २०७४ सालको स्थानिय निर्वाचन अघिसम्म रन्जु दर्शनालाई सायद कमैले चिन्थे । काठमाडौँको मेयर पदमा विवेकशील नेपालीका तर्फबाट खडा भएर जसै रन्जुले २३ हजार ४६९ मत प्राप्त गरी तेश्रो स्थान हासिल गरिन्, उनको चर्चाले शिखर चुम्यो ।

मेयरमा निर्वाचित एमालेका विद्यासुन्दर शाक्यले ६४ हजार ९१३ मत ल्याएका थिए भने नेपाली कांग्रेसका राजुराज जोशीले ४५ हजार २५९ मत ल्याएका थिए । तर, विवेकशीलकी रन्जुले २३ हजार बढी र साझा पार्टीका किशोर थापाले १८ हजार बढी मत ल्याएपछि जनताले प्रमुख दलको विकल्प खोजी रहेको सन्देश गएको थियो ।

रन्जु र किशोरले काठमाडौँ मेयरमा उठदा पाएको मतलाई आधार मानेरै शसक्त वैकल्पीक शक्ति बन्न विवेकशील नेपाली र साझा पार्टीबिच एकता भएर ‘विवेकशील साझा पार्टी’ नै बनेको थियो । तर, यसबिचमा विवेकशील साझा फेरी फुटेको छ । पार्टी कार्यालयमै तालाबन्दी र लफडाको उखरमाउलो छ । रन्जु दर्शना हालै विवाह बन्धनमा बाँधिएर घर गृहस्थीमै छिन् भने किशोर थापाले यसपाली काठमाडौँको मेयरमा नउठने घोषणा गरिसकेका छन् ।

‘केजरीवाल’ बन्ने अवसर

भारतको राजनीतिमा पहिलेदेखिकै घागडान कांग्रेस र भारतीय जनता पार्टीलाई हराउँदै आम आदमी पार्टीले दिल्लीमा कब्जा जमायो ।

अरविन्द केजरीवाल मुख्यमन्त्री निर्वाचित भएपछि नेपालमा पनि आम आदमी पार्टीजस्तै वैकल्पिक शक्तिको सम्भावनाबारे अनेक बहस भए । रन्जु दर्शना र किशोर थापाले काठमाडौँको मेयरमा पाएको मतले वैकल्पिक शक्तिको सम्भावनाको बहसलाई झन तीव्र बनायो ।

केजरीवालको उदयको पृष्ठभूमि अन्ना हजारेको भ्रष्टाचार विरोधी अभियान र अनसन नै थियो । सोही आन्दोलनको ख्याती भजाउँदै दिल्लीको राजनीतिमा हाम फालेका केजरीवालले जुन सफलता पाए, त्यसले नेपालका कतिपय मानिसलाई हौस्याएकै हो ।

विवेकशील साझा पार्टी मात्र हैन, भ्रष्टाचार विरोधी आन्दोलनका नाममा विभिन्न समूहले माइतीघर मण्डलामा ‘अन्ना आन्दोलन’ चलाएकै हुन्, ‘केजरीवाल’ भइन्छ कि भन्ने धुनमा । भ्रष्टाचारको विरोध आफैँमा सुन्दर नारा भए पनि केजरीवालको जस्तो भिजन, तयारी र इमानदारीता नेपालमा भने कसैमा देखिएन ।

काठमाडौँमा यसपालि पनि स्वतन्त्र अनुहारहरुको चर्चा काठमाडौँको मेयरका रुपमा जसरी भइरहेको छ, त्यसका पछाडि दिल्लीमा झैं ‘केजरीवाल चमत्कार’ को अपेक्षा हुन सक्छ । किनकी, माथि उल्लेख गरिएझैं जोगमेहर श्रेष्ठलाई हराएर नानीमैया दाहाल र कृष्णप्रसाद भट्टराईलाई हराएर मदन भण्डारीलाई जिताउने ‘काठमाडौँका मतदाताको कुनै टुँगो हुन्न, यीनले चाहे भने मै हुँ भन्नेलाई पनि हराइदिन सक्छन् र नपत्याउँदा अनुहारलाई जिताइ दिन सक्छन्’ भन्ने विगतमा प्रमाणित भएकै हो ।

काठमाडौँ भनेको कुलीन, शहरीया, सभ्रान्त र हुने खाने मानिस बस्ने ठाउँ पनि हो । यहाँका अधिकांश मतदाता मुलुकका अन्य मतदाताको दाँजोमा स्वतन्त्र, हकी र केही हदसम्म आवेगी छन् । तत्काल कुनै मुद्दा उठ्न सक्ने र त्यसले चुनावी लहर नै एकातिरबाट अर्कोतिर मोडनसक्ने खतरा काठमाडौँमा सदा रहन्छ ।

निकै तरल, आवेगी र एक हिसाबले मनमौजी स्वभावका मतदाता भएको काठमाडौँमा जसरी विगतमा नानीमैया दाहाल, मदन भण्डारी, ईश्वर पोखरेल, प्रदिप नेपाल, पुष्पकमल दाहाल आदिले जितेका थिए, यसैगरी यसपालि कुनै आवेगपूर्ण एजेण्डा अघि सारेको खण्डमा नपत्याउँदो मानिसले पनि जित्न के बेर ? भन्ने मानसिकता हुनसक्छ ।

प्रमुख राजनीतिक दलहरुप्रति त्यसै पनि आम जनतामा वितृष्णा छ । एमालेबाट जितेका मेयर विद्यासुन्दर शाक्यप्रति जनतामा तीव्र आक्रोश छ । मेयर निर्वाचित भएपछि आफैँले घोषणा गरेको ‘१०१ प्रतिबद्धता’ का अधिकांश बाचा पुरा गर्न नसकेका मेयर शाक्यको कार्यकाल सफल भएन ।

हुन पनि आफ्ना बाचा पुरा गर्नुको साटो मेयर शाक्यले सुरैमै महंगो मोबाइल सेट र गाडी खरिदमै ध्यान लगाए ।

झण्डै १ करोड २० लाख मूल्यको टोयोटाको ‘फर्च्यूनर’ गाडी किनेर विवादमा आए । काठमाडौँमा ढलमा डुबेर एक बालिकाको मृत्यु भएपछि प्रधानमन्त्री केपी ओलीले सडकको खाल्डाखुल्डी पुर्न निर्देशन दिँदा मेयर शाक्यले ‘खाल्डा खुल्डी पुर्दा जनताको करबाट तिरेको रकम खेर जाने’ भनेका थिए ।

मितव्ययिताको चर्को दुहाइ दिने मेयरले महानगरसँग कन्डीसनको गाडी हुँदा हुँदै करीब डेढ करोडको नयाँ गाडी मगाएका थिए । उनको मेट्रो रेल र मोनो रेलको सपना पनि हावादारी भयो । ‘स्मार्ट सिटी’ को गफ पनि फोहरमै बिलायो ।

मौजुदा मेयर शाक्यप्रति जनतामा निराशा र नयाँ आशलाग्दो अनुहार दलहरुसँग नभइरहेको अवस्थामा मेयरमा खडा हुन स्वतन्त्र अनुहारहरुको बाढी आउनु स्वाभाविकै हो । चुनावको दिन नजिकिदै जाँदा संभवतः दलभित्रैबाट मास अपील भएका नेताहरु पनि केजरीवाल या ब्रिटेनका प्रधानमन्त्री बोरिस जोन्सन झैँ बन्ने सपना बोकेर काठमाडौँको मेयरमा खडा हुनसक्ने सम्भावना छ । बोरिस जोन्सन पहिला लण्डनका मेयर थिए । लण्डनमा गरेको कार्यको ख्यातीबाटै उनी प्रधानमन्त्रीसम्म बन्न पुगे ।

कांग्रेसभित्र एकथरीले महामन्त्री गगन थापालाई काठमाडौँको मेयरमा खडा हुन सल्लाह दिइरहेका छन् । हुनसक्छ, मेयर बनेर एक कार्यकाल चामत्कारीक काम गर्ने र यसकै जगमा टेकेर प्रधानमन्त्री बन्ने सपना पनि कतिपयको हुनसक्छ ।

भारतमा पनि गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदीको विकास मोडल हेरेरै त्यहाँका जनताले उनलाई प्रधानमन्त्री बनाएका हुन् । दोश्रो पटक उत्तर प्रदेशको मुख्यमन्त्री भएका योगी आदित्यनाथलाई भारतको भावी प्रधानमन्त्रीका रुपमा हेरिंदै । तेश्रो पटक दिल्लीका मुख्यमख्न्त्री भइसकेका अरविन्द केजरीवाललाई पनि भारतमा प्रधानमन्त्री बन्नसक्ने स्तरको नेताका रुपमा लिन थालि सकिएको छ ।

अतः काठमाडौँको मेयर भएर चमत्कार गर्दै भोली राष्ट्रिय राजनीतिको शिखरमै पुग्नसक्ने अवसर चाहिँ छ । जसले काठमाडौँको कायापलट गर्नसक्यो, उसले भोली काठमाडौँको विकासको मोडल देशव्यापी बनाउँछु भनेर जनताको विश्वास जित्नसक्छ । दिल्लीमा पानी र बिजुली निशुल्क गरेर केजरीवालले हालैको विधानसभा चुनावमा पजाबमा पनि बाजी मारिसके ।

नेपालमा पनि यस्तो सम्भावना छ । भारतसँग किनेको बिजुलीले लोडसेडीङ हटाउन सफल कुलमान घिसिङ, मेडिकल माफीयाविरुद्ध अनसन बस्ने डा. गोविन्द केसीदेखि संचारकर्मी रवि लामिछानेसम्मलाई राष्ट्रपति बनाउनुपर्छ भन्ने चेतको नेपाली मतदाता सामु काठमाडौँको आमुल परिवर्तन गर्नसक्ने कुनै मेयर पायो भने उसलाई प्रधानमन्त्री नै नबनाउलान् भन्न पनि सकिन्न ।

यो सम्भावना पक्कै छ, तर त्यस्तो आशलाग्दो अनुहार चाहिँ कतै देखिँदैन । धरातलीय यथार्थ आङ्कलन गर्दा काठमाडौँका जनताले अहिले नै कसैलाई ‘केजरीवाल’ बनाइदिने सम्भावना देखिँदैन । चर्चामा आउन या ‘पब्लीसीटी स्टन्ट’ कै उद्देश्यले स्वतन्त्र उम्मेदवार बन्न अगाडि देखा परेकाहरुले चुनावी लहर नै सिर्जना गर्ने अवस्था पनि छैन ।

संगठनमा प्रतिबद्ध नेता–कार्यकर्ता र वडासम्म फैलिएको संगठनका कारण दल बाहेकको उम्मेदवारले चमत्कार नै गर्लान् भन्ने अवस्था छैन । नायक भुवन केसीले सायद काभ्रेबाट कुनैबेला चुनाव लडेर हारेका नायक रविन्द्र खडकाकै नियती भोग्ने हो । रमेश खरेलले कांग्रेस र एमालेको संगठन भत्काउनु चानचुने कुरा हैन । र्‍यापरको त कुरै नगरौँ, उनले मतदातालाई गाएर मनोरंजन दिने मात्र हुन् ।

कांग्रेस र एमालेकै प्रतिश्पर्धा

मुख्य प्रतिश्पर्धा हुने भनेको काँग्रेस र एमालेकै हो । एमालेबाट मौजुदा मेयर विद्यासुन्दर शाक्य खडा हुने माथापिच्चीमा जुटेका छन् । शाक्यको कार्यकाल सफल नभएको भन्दै जनमानसमा तीव्र गुनासा आइरहेका कारण एमालेले यसपालि उनको विकल्प खोज्नसक्ने सम्भावना पनि देखिंदैछ ।

शाक्यको साटो संघीय सरकारको सहरी विकास राज्यमन्त्री भइसकेका रामवीर मानन्धरको नाम पनि मेयरमा चर्चामा छ । अर्का सम्भावित उम्मेदवार काठमाडौँ महानगरका पूर्वमेयर तथा बाग्मती प्रदेशका पूर्वभौतिक पूर्वाधारमन्त्री केशव स्थापितले पनि एमाले अध्यक्ष केपी ओलीलाई आफ्नो पक्षमा मनाउन बारम्बार कोशिस गरिरहेकै छन् ।

सत्तारुढ दल नेपाली कांग्रेसमा मेयर पदका दावेदारको संख्या धेरै छ । पूर्व मेयर तिर्थमान डंगोल र वर्तमान उपप्रमुख हरिप्रभा खड्गी मेयरका मुख्य दावेदार हुन् । यसमा महानगरपालिकाकी मौजुदा उपप्रमुख हरिप्रभा खड्गीको दाबी मेयरका लागि बलियो देखिन्छ । २०७४ सालको चुनावमा कांग्रेस मेयर पदमा पराजित हुँदा उनले जितेकाले यसपालि मेयरमा उनको स्वभाजिक दाबी तर्कसँगत पनि छ ।

यसैगरी कांग्रेसको काठमाडौँ महानगरका सभापति निलकाजी शाक्य, प्रगतिमान रञ्जित, अघिल्लो चुनावमा मेयरका उम्मेदवार रहि सकेका राजुराज जोशी, १६ नम्बर वडाका अध्यक्ष तथा क्षेत्र नम्बर ६ का कांग्रेस सभापति मुकुन्द रिजाल र कांग्रेसको काठमाडौँ महानगरपालिका समितिका पूर्व सभापति सुरेन्द्रप्रसाद मिश्र आदि मेयरका आंकाक्षी हुन् ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ४ : ४५ बजे

पर्यटन प्रवर्द्धन गर्न भेडेटारमा खाना महोत्सव हुने

सुनसरी– आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले यही पुस १६

नेपाल स्वास्थ्य सम्मेलन सुरु

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजनामा नेपाल स्वास्थ्य सम्मेलन आजदेखि

‘एआई’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने

ललितपुर– ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने

मङ्कीपक्स सङ्क्रमित युवकको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकूमा उपचाररत मङ्कीपक्स

‘पौवादुङमा गोल्ड कप फुटबल’ माघ १ गतेदेखि

भोजपुर– भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकामा कोशी प्रदेशस्तरीय ‘पौवादुङमा गोल्ड कप