आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

‘सुरक्षा परिषद् बैठकको माइनुट खै ?’– पाकिस्तानी प्रधानन्यायाधीश

पाकिस्तानी सर्वोच्च अदालतले राष्ट्रिय सुरक्षा परिषद् बैठकको माइनुट खोजेका छन् । प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव खारेज गर्ने उपसभामुखको निर्णयविरुद्ध सुनुवाइका क्रममा प्रधानन्यायाधीश उमर अता बन्दियालले सुरक्षा परिषद् बैठकको माइनुट खोजेका हुन् ।

उनले पाकिस्तान तहरिकइन्सफ पार्टी नेतृत्वको सरकारका वकिल बाबर अवानसँग सुरक्षा परिषद्को बैठकको माइनुट मागेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

पाकिस्तानमा उत्पन्न राजनीतिक संकटबारे फैसला गर्न अदालतमा जारी सुनुवाइका क्रममा प्रधानन्यायाधीशले तथ्यका आधारमा भन्दा पनि आरोपका आधारमा उपसभामुखले अविश्वासको प्रस्ताव खारेज गरेकोजस्तो देखिएको टिप्पणी गरे ।

‘के सभामुखले तथ्य पेश नगरी यस्तो रुलिङको घोषणा गर्न सक्छन् ?’ प्रधानन्यायाधीशले प्रश्न गरेको डनले जनाएको छ ।

प्रधानमन्त्री इमरान खानले गोप्य रुपमा फेला पारिएको कूटनीतिक सूचनामा ‘पाकिस्तानमा अमेरिकाले सत्ता परिवर्तन चाहेको’ प्रमाण रहेको दाबी गर्दै आएका थिए । आफूमाथि अविश्वासको प्रस्ताव दर्ता भएपछि खानले यही दाबीलाई दोहोर्‍याउँदै आफूविरुद्ध विदेशी षड्यन्त्र रचिएको बताउँदै आएका थिए ।

सोही कूटनीतिक सूचनाबारे छलफल गर्न अघिल्लो साताको आइतबार अर्थात् मार्च २७ मा पाकिस्तानी राष्ट्रिय सुरक्षा परिषद्को बैठक डाकिएको थियो ।

उक्त बैठकपछि सुरक्षा परिषद्ले कूटनीतिक सूचनामा गैर कूटनीतिक भाषाको प्रयोग भएको र पाकिस्तानको आन्तरिक मामिलामा यस्तो हस्तक्षेप अस्वीकार्य रहेको जनाएको थियो ।

सुरक्षा परिषद्को सोही निर्णयका आधारमा संसद्का उपसभामुख कसिम खान सुरीले पाकिस्तानी संविधानको धारा ५ अनुसार अविश्वासको प्रस्ताव खारेज गरेको घोषणा गरेका थिए ।

पाकिस्तानी संविधानको धारा ५ मा हरेक नागरिक राज्यप्रति वफादार रहनुपर्ने तथा विश्वको जुनसुकै ठाउँमा रहेको पाकिस्तानी नागरिक वा पाकिस्तानमा रहने जो कोहीले पनि पाकिस्तानी संविधान एवम् कानून मान्नुपर्ने उल्लेख छ ।

यद्यपि सोमबार पाकिस्तानको अंग्रेजी अखबार द एक्सप्रेस ट्रिब्युनले भने सुरक्षा परिषद्को उक्त बैठकमा पाकिस्तानको सैनिक नेतृत्वले प्रधानमन्त्रीविरुद्ध कुनै विदेशी षड्यन्त्र फेला नपरेको भन्ने जानकारी दिएको खुलासा गरेको थियो । उक्त बैठकको माइनुटमा सैनिक नेतृत्वको हस्ताक्षर समेत नभएको देखिएको उक्त अखबारले जनाएको छ ।

राजपाक्षेका निकटस्थ भन्छन्– राष्ट्रपतिले कुनै हालतमा राजीनामा दिनुहुन्न

तीव्र जनअसन्तुष्टि एवम् हिंसात्मक प्रदर्शनको सामना गरिरहेका श्रीलंकाली राष्ट्रपति गोताबाया राजपाक्षेले कुनै हालतमा राजीनामा नदिने उनको निकटस्थले बताएका छन् ।

श्रीलंकाली संसद्मा सम्बोधन गर्दै सरकारका प्रमुख सचेतक जोन्स्टन फर्नाण्डोले राष्ट्रपतिले राजीनामा नदिने बताएका हुन् ।

उनले ६९ लाख जनताको मतबाट राष्ट्रपतिले जनादेश प्राप्त गरेको भन्दै राजीनामा नदिने अडान लिएको श्रीलंकाबाट प्रकाशित हुने अंग्रेजी अखबार डेली मिररको अनलाइन संस्करणले जनाएको छ ।

‘जिम्मेवार सरकारका नाताले राष्ट्रपति गोताबाया राजपाक्षेले कुनै हालतमा पनि राजीनामा दिनुहुनेछैन ।’ फर्नाण्डोलाई उद्धृत गर्दै डेली मिररले जनाएको छ ।

सरकारको समर्थन गर्ने ४१ जना सांसदले सत्तारुढ गठबन्धन परित्याग गरेपछि राजनीतिक संकट झेलिरहेका श्रीलंकाली राष्ट्रपति भने कुर्सी बचाउन लागि परेको भन्दै व्यापक जनआक्रोश बढ्दै गएको छ ।

चरम आर्थिक संकट तथा अत्यावश्यक वस्तुको अभाव खेपिरहेको श्रीलंकामा राष्ट्रपति तथा सरकारविरुद्ध व्यापक प्रदर्शन भइरहेको छ ।

श्रीलंकामा सैनिक र प्रहरीबीच झडप

श्रीलंकामा सैनिक र प्रहरीबीच झडप भएको छ । संसद् भवन रहेको क्षेत्रमा मोटरसाइकलमा सवार सैनिकलाई प्रहरीले आक्रमण गरेसँगै प्रहरी र सैनिकबीच झडप भएको हो ।

राजधानी कोलम्बोस्थित संसद् भवन नजिकै रहेको पोलुवा चोकमा सैनिक नम्बर प्लेट नभएको मोटरसाइकलमा चढेर आएपछि घटना भएको श्रीलंकाबाट प्रकाशित हुने डेली मिरर अखबारको अनलाइन संस्करणले जनाएको छ ।

यताश्रीलंकाली सेनाका फिल्ड मार्शल शरथ फोन्सेकाले भने घटनाको निन्दा गरेका छन् । संसद्मा बोल्दै उनले सैनिकमाथि प्रहरीले आक्रमण गरिहाल्न नहुने बताएका हुन् ।

‘यदी सैनिकहरूले प्रहरीमाथि आक्रमण गरेको भए म सैनिकको पनि विरोध गर्ने थिएँ ।’ उनलाई उद्धृत गर्दै डेली मिररले जनाएको छ ।

‘तर यसै सन्दर्भमा म के भन्न चाहन्छु भने सैनिक अधिकारीहरु पनि नम्बर प्लेट नभएको मोटरसाइकलमा आउनु हुदैनथ्यो ।’ उनले भने ।

जेलेन्स्की भन्छन्–रुसी सेनाले दोश्रो विश्वयुद्ध यताकै सबैभन्दा खराब अपराध गर्‍यो

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले दोस्रो विश्व युद्धपछिकै सबैभन्दा खराब अपराध गरेको आरोप लगाएका छन् । संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्लाई सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले रुसी सेनाले मनोरञ्जनका लागि मानिसहरुको हत्या गरेको आरोप लगाए ।

उनले रुसी टङ्याकले मानिसहरुलाई किचेको समेत जनाएका छन । रुसी सेना युक्रेनी राजधानी किभ मोर्चाबाट पछि सरेपछि हाल किभ आसपासका बुचाा, इरपिन जस्ता शहरमा शरीरका विभिन्न अंगमा घाउ लागेका मानिसहरूको शव फेला परेका छन् ।

रुसी फौजले गैरन्यायिनक हत्या गरेको ठानिने ती शव फेला परेयता रुसको चौतर्फी निन्दा भइरहेको छ । सुरक्षा परिषदमा भिडियो लिंकमार्फत आफ्नो भाषणपछि जेलेन्स्कीले मृत युक्रेनीहरूको तस्बिर तथा भिडियो देखाएका थिए । ‘रूसी सेनाले हाम्रो देशको सेवा गर्ने जो कोहीलाई खोजी  खोजी र जानाजानी मा¥यो’ उनले भने ।

यता संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत भासिली नेबेन्जियाले रुसी सेनाले अत्याचार गरेको कुनै प्रमाण नभएको दाबी गरेका छन् ।

‘हामीले फेरि एक पटक रुसी सैनिक र सेनाको बारेमा ठूलो मात्रामा झुट सुनेका छौं’ उनले भने ।

बुचा शहरमा भएको गैरसैनिक हत्याको भारतद्वारा निन्दा

युक्रेनको बुचा शहरमा गैरसैनिक सर्वसाधारणको आम हत्याको भारतले विरोध गरेको छ । आक्रमणकारी रुसी फौज पछि हटेसँगै युक्रेनको बुचा शहरमा विभत्स हत्या गरिएका सर्वसाधारणको सयौँ शव फेला परेसँगै रुसको परम्परागत साझेदार मानिने भारतले निन्दा गरेको हो ।

संयुक्त राष्ट्रसंघका लागि भारतीय स्थायी प्रतिनिधि टीएस तिरमूर्तीले बुचामा भएको भनिएका आम हत्याका घटनाको स्वतन्त्र छानबिन हुनुपर्ने समेत बताएका छन् ।

‘बुचा शहरमा सर्वसाधारणको हत्या भएकोबारे हालै सार्वजनिक समाचार निकै चिन्ताजनक छन् ।’ तिरमूर्तीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ, ‘हामी यस्ता हत्याको निन्दा गर्दछौँ र स्वतन्त्र छानबिनको मागमा समर्थन जनाउँछौँ ।’

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले भारतीय समकक्षी एस जयशंकरसँग टेलिफोन वार्ता गरेको केही समयलगत्तै राष्ट्रसंघमा भारतीय प्रतिनिधिको यस्तो भनाइ आएको हो ।

रुसको परम्परागत साझेदार भारतले युक्रेनमाथि आक्रमण गर्ने रुसी कदमको निन्दा गर्न हालसम्म आनाकानी गर्दै आएको थियो । बुचामा भएको भनिएको आम हत्याबारे पछिल्लो भारतीय घोषणाको निकै ठूलो रणनीतिक महत्व रहेको बताइएको छ ।

युद्ध सुरु भएयता ईयूले रुसबाट ३५ अर्ब युरोको उर्जा खरिद गर्यो

युक्रेनमाथि आक्रमण गरेयता युरोपेली युनियन ईयूले रुससँग ३५ अर्ब युरोको उर्जा खरिद गरेको सार्वजनिक भएको छ । ईयूका विदेश नीति प्रमुख जोसिप बोरेलले गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेयता रुससँग ईयूले ३५ अर्ब युरो बराबर उर्जा खरिद गरेको बताएका हुन् ।

अर्कोतर्फ ईयूले व्यापक रुसी आक्रमणको सामना गरिरहेको युक्रेनलाई भने केबल १ अर्ब युरो बराबर मात्र सैनिक सहयोग गरेको बताए ।

‘हामीले युक्रेनीहरूलाई आफ्नो रक्षा आफैँ गर्न सहयोग गर्नुपर्छ… हामीले युक्रेनलाई १ अर्ब युरो सहयोग गरेका छौँ । यो एकदमै धेरैजस्तो लाग्न सक्छ तर हामी हरेक दिन (रुसी राष्ट्रपति भ्लादिमिर) पुटिनलाई उर्जा खरिद गरेबापत १ अर्ब युरो तिर्दै आएका छौँ ।’ उनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

राजधानी किभ नजिकैबाट रुसी सैनिक पछि हटेपछि युक्रेनको बुचा शहरमा गैर सैनिक सर्वसाधारणको विभत्स हत्या गरिएका सयौँ शव फेला परेसँगै ईयूले रुसमाथि थप प्रतिबन्धको घोषणा गर्दैछ । सोही अवसरमा ईयूको संसद्लाई सम्बोधन गर्दै बोरेलले यस्तो जानकारी दिएको बीबीसीले जनाएको छ ।

युरोपेली मुलुकहरूको कूल ग्यास उपभोगको ४० प्रतिशत रुसबाट आपूर्ति हुँदै आएको बताइन्छ । ईयूले रुसी अर्थतन्त्रका विभिन्न क्षेत्रमाथि प्रतिबन्धको घोषणा गरेपनि रुसी उर्जामाथि प्रतिबन्ध लगाउन आनाकानी गरिरहेका छन् ।

इन्टेलले पनि रुसमा व्यापार बन्द गर्ने

कम्प्युटर कम्पोनेन्ट र इलेक्ट्रोनिक उपकरण निर्माता अमेरिकी कम्पनी इन्टेलले रुसमा आफ्ना सबै प्रकारका व्यापारिक गतिविधि बन्द गर्ने भएको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेयता विकसित घटनाक्रमलाई लिएर इन्टेलले यस्तो निर्णय गरेको जनाइएको छ । ‘तत्काल  हामीले रुसमा सबै व्यापार सञ्चालनहरू निलम्बित गरेका छौं’ कम्पनीले जनाएको छ।

‘हामी रुसमा रहेका हाम्रा १ हजार २ सय कर्मचारीहरू सहित हाम्रा सबै कर्मचारीहरूलाई यो कठिन परिस्थितिबाट सहयोग गर्न आग्रह गरिरहेका छौं । हामीले हाम्रा विश्वव्यापी सञ्चालनहरूमा अवरोध कम गर्न व्यापार निरन्तरताका उपायहरू पनि लागू गरेका छौं’ कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

युक्रेनमाथि गत फेब्रुअरी २४ मा आक्रमण गरेयता रुसमा एप्पल, सामसुङ, म्याकडोनल्ड्स जस्ता बहुराष्ट्रिय कम्पनीहरूले व्यापार बन्द गरेका छन् भने रुसले अमेरिका, ईयू, जापान सहित विश्वका आर्थिक महाशक्तिहरूबाट प्रतिबन्धको समेत सामना गरिरहेको छ ।

अमेरिकामा विमान दुर्घटना

अमेरिकाको टेक्सास राज्यमा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

अमेरिकाको संघीय उड्डयन प्रशासनका अनुसार सेस्ना टि यू २०६ एच नामक विमान दुर्घटनामा परेको हो । ह्युस्टन विमानस्थलबाट उडेको उक्त विमान मध्य टेक्सासको वाकोबाट करिब ५० किलोमिटर टाढा रहेको मारलिन एयरपोर्टमा दुर्घटनाग्रस्त भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

वाको क्षेत्रीय विमानस्थलमा जाँदै गरेको ६ सिटको जहाज मार्लिन विमानस्थलको एकल धावनमार्गको अन्त्यबाट करिब ६४ मिटर टाढा दुर्घटनाग्रस्त भएको टेक्सास राज्यको ह्युस्टन शहरबाट प्रकाशित हुने ह्युस्टन क्रोनिकल अखबारले जनाएको छ ।

मर्लिन शहरका कार्यकारी सेड्रिक डेभिसलाई उद्धृत गर्दै क्रोनिकलले जनाएअनुसार मारिनेमा एक पुरुष र एक महिला छन् ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

अमेरिका, बेलायत र अष्ट्रेलियाले हाइपरसोनिक क्षेप्यास्त्रको विकासमा सहकार्य गर्ने

अमेरिका, बेलायत र अष्ट्रेलियाले हाइपरसोनिक क्षेप्यास्त्र विकास गर्न सहकार्य गर्ने घोषणा गरेका छन् ।

अमेरिका, बेलायत र अष्ट्रेलिया सम्मिलित अकस त्रिपक्षीय रक्षा सहयोगको समीक्षा गरेपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोनसन र अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले हाइपरसोनिक्स प्रविधिमा नयाँ त्रिपक्षीय सहयोग शुरु गर्न प्रतिबद्ध रहेको बताएका हुन् ।

अकस सुरक्षा गठबन्धन गठनमा सम्मिलित तीन मुलुकका नेताहरूले रक्षा सहयोगका क्षेत्रमा नयाँ घोषणा गर्दै ‘साइबर क्षमता, कृत्रिम बुद्धिमत्ता, क्वान्टम प्रविधि र समुद्रमुनि रक्षा क्षमतामा सहयोगलाई अझ गहिरो बनाउनका लागि थप प्रयास गर्ने’ बताएका छन् ।

गठबन्धनअन्तर्गत अमेरिका र बेलायतले अष्ट्रेलियालाई आणविक पनडुब्बीहरू पनि प्रदान गर्ने बाचा गरेका छन् ।

फ्रान्सले भने यसलाई ठूला शक्तिहरू बीच हतियार दौडको संज्ञा दिँदै यसले थप त्रास सिर्जना गर्ने  र दक्षिणपूर्वी एसियाली क्षेत्रलाई अस्थिर बनाउने टिप्पणी गर्दै आएको छ ।

सांघाईमा निषेधाज्ञा विस्तार

चीनको सांघाइमा जारी निषेधाज्ञालाई थप विस्तार गरिएको छ । निषेधाज्ञाबाट शहरका साढे २ करोड जनसंख्या प्रभावित भएका छन्। सांघाइमा कोभिडका बिरामीहरू ह्वात्तै बढेपछि प्रशासनले यो निर्णय लिएको हो ।

महत्वपूर्ण वित्तीय हव सांघाइमा पछिल्लो एक महिनादेखि संक्रमण बढिरहेको छ । यहाँ दैनिक १३ हजारभन्दा बढी संक्रमित भेटिएका छन् ।

कोभिड संक्रमण बढेपछि केही दिनअघि पूर्वी र पश्चिमी क्षेत्रहरूमा छुट्टाछुट्टै प्रावधानहरू अपनाइएको थियो । तर, अहिले सहरको सबै भूभाग समेट्ने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको प्राप्त विवरणहरूमा जनाइएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ९ : २९ बजे

पुलिसले जित्यो काभा भलिबल क्लब च्याम्पियनसिपको उपाधि

काठमाडौं – विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल

एलओडीमा आउँदै अमेरिकन र्‍यापर लिल पम्प

काठमाडौं – अमेरिकन चर्चित र्‍यापर ‘लिल पम्प’ नेपाल आउने भएका

मौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ

लमजुङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानमा व्यवस्था

बालबालिकाका लागि रचनात्मक कार्यमा ध्यान दिन्छौँ चिरीबाबु महर्जन

ललितपुर – ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बालदिवसलाई लक्षित गरी

अमेरिकी राष्ट्रपति बाइडेन र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

फिलाडेल्फिया – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राज्य अमेरिकाको तीन