'अधुरा काम पूरा गर्न फेरि मेयरमा उम्मेद्वारी दिएको हुँ' | Khabarhub Khabarhub

‘अधुरा काम पूरा गर्न फेरि मेयरमा उम्मेद्वारी दिएको हुँ’

भक्तपुरलाई सांस्कृतिक नगर घोषणा गर्न चाहन्छौँ’



देश संघीयतामा गएपछि पालिकाहरूले अब दोस्रो प्रतिनिधि पाउँदैछन् । पहिलो पटक निर्वाचित जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल सकिँदै गर्दा धेरैका मनमा प्रश्न, जिज्ञासा, आशा, उत्साह र नयाँ अवसरका बारेमा चासो छ । नयाँ जनप्रतिनिधिको लागि निर्वाचन प्रक्रिया अघि बढिसकेको छ । कतिपय जनप्रतिनिधिले फेरि उम्मेदवारी दिएका छन् । देशकै सबैभन्दा पुरानो नगरपालिका भक्तपुर नगरपालिकाको प्रमुखमा दोहोरिन नेपाल मजदुर किसान पार्टीका सुनील प्रजापतिले पनि उम्मेदवारी दिएका छन् । उनको इमान्दारिता र भक्तपुरका नेवार समुदायमा परिचित भएकाले पनि उनको सम्भावना धेरै देखिन्छ । फेरि भक्तपुर नगरको मेयर पदको दौडमा उत्रिएका सुनील प्रजापतिसँग खबरहबका लागी लक्ष्मण फुयालले गरेको कुराकानीको सम्पादित अंशः

फेरि चुनाव जित्नैपर्ने गरि के के गर्दै हुनुहुन्छ ?

पार्टीले तय गरेको कार्यक्रमअनुसार बिहान चोकतिर सभा सम्मेलन हुँदैछन् । कहीं घरदैलो । हरेक दिन बेलुका सभा हुने गर्छन । यसरी जनताको बिचमा गएर ठाउँ अनुसारको फरक फरक कार्यक्रम तय गरे अनुसारको छ । कहिले भेटघाट । कहिले छलफलका कार्यक्रम भैरहेका छन् ।

तपाईंको पुन मेयरमा उम्मेद्वारी किन हो ?

यसमा व्यक्तिगत रुपमा केही भन्नु छैन । नेपाल मजुदर किसान पार्टीले २०७४ सालमा जे घोषणापत्र जारी गरेको थियो । ५ वर्षसम्म त्यही घोषणापत्रलाई आधार बनाएर हामीले काम गरौँ । अधिकांश काम गरौँ । अधिकांश जनताको बिचमा गरेको बाचा अनुरूपको काम गरेका छौँ । एकाध कुराहरू जो हामीले पुरा गर्न सकेनौ त्यो पनि हाम्रो कारणले होइन सरकारको कारणले हो । ख्वप विश्वविद्यालय स्थापना गर्ने त्यस अन्तर्गत मेडिकल कलेज सञ्चालन गर्ने र मेडिकल कलेजले एकदमै सस्तोमा एउटा डाक्टर बन्न ६० लाखको खर्च लाग्ने गरेकोमा हामीले १६ लाखमा पढाइदिन्छौँ ।

सरकारसँग हामीले स्वीकृतिपत्र दिनु भनेको थियौँ । विद्येयक पास गर्नुस् हामी सस्तो मूल्यमा चिकित्सक तयार गर्ने छौ भन्यौँ । यसरी काम गर्छौ भन्दा न ख्वप विश्वविद्यालयको विद्येयक अगाडि बढ्यो । न त अरु केही काम भयो । गोविन्द केसीको अनशनबाट सहमतिमा उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने सहमति भयो यसको बाटो बन्द भयो । यदि विद्येयक पास गरेको भए हामी ख्वप विश्वविद्यालय सञ्चालन गर्थौ ।

हामीसँग ७ ओटा शैक्षिक संस्थाहरू छन् । ती शैक्षिक संस्थाहरूमा ७२ जिल्लाका ७ हजार उत्कृष्ट विद्यार्थीहरू अध्ययन गर्छन । हामीले अरुलाई सम्बन्धन दिएर पैसा लिने हिसाबमा होइन । यहाँ भएका हाम्रै कलेजहरुलाई समेटेर विश्वविद्यालयको रूप दिन भनेर लाग्यौ । तर सफल हुन सकेनौँ । त्यो हाम्रो काम बाँकी रहेको छ । नगरपालिकाले पुरा गर्न बाँकी काम सम्पन्न गर्न मेरो भन्दा पनि पार्टीको निर्देशन अनुसार उम्मेद्वारी दिएको हुँ ।

तपाईंले पाँच वर्ष भक्तपुरको नगरपालिकामा मेयरको पदमा बस्दा सम्पदामा के-के काम गर्नुभयो ?

भक्तपुरलाई सांस्कृतिक नगरको रुपमा घोषणा गर्न चाहन्छौँ । हामीसँग भएको अधिकारलाई प्रयोग गरेर संस्कृतिका क्षेत्र घोषणा गरौँ । तर नगर घोषणा गर्न सकेनौँ । यसलाई सीमांकन गरेर घोषणा गर्यौ । त्यसभित्र पर्ने प्राचीन शैलीमा घर बनाउनको निम्ति इँटा काठको ढुङ्गाको निम्ति ३५ प्रतिशत अनुदान दिने निर्णय गरेका छौँ । अस्ति भर्खर ८६ लाख रुपैयाँ वितरण गरेका छौँ । हरेक वर्ष वितरण गर्दै आइरहेका छौँ । प्राचीन सहरलाई बचाउनको निम्ति त्यही पुरानो शैली बाँकी राख्नको निम्ति त्यहाँका नागरिकहरूलाई उत्साहित गर्ने मात्र होइन, त्यसलाई जोगाउनुपर्छ भनेर यहाँको स्थानीय बाहेकलाई जग्गा किनबेचमा गर्न नपाउने बन्दोबस्त गरेका थियौँ ।

भक्तपुर अन्त बनाएर बनाउन सकिंदैन । न्यातपोल अन्त बनाउन सकिदैन । यसलाई बचाउनु भनेको विश्वको सम्पति बचाउनु हो । यसलाई बचाउनु भनेको देशको मात्रै होइन, अन्तर्राष्ट्रिय सम्पति बचाउनु हो । त्यसरी प्रयास हामीले गरेका छौँ । यसलाई जोगाउन कानुनी बाधा आएको हामीले महसुस गरेका छौँ । यहाँ सम्पदा बाकी रहेको निर्माण गर्न केन्द्र प्रदेश सरकारको कारणले हाम्रो कारणले होइन । हाम्रो क्षेत्रभित्र रहेका सबै काम हामीले सम्पन्न गरेका छौँ । यो अवधिमा करिब १२४ सम्पदाहरू पुन निर्माण सम्पन्न भएका छन्। त्यो हेर्दा अचम्म लाग्छ । सुरुमा त्यति गर्न सक्दैनौं जस्तो लागेको थियो । तर यहाँका जनताहरुको सहयोगी भावना श्रम दान गर्ने भावना हरेक सम्पदामा मेरै हो भन्ने अपनत्वको भावनाले आज भक्तपुरका सबै मठमन्दिरहरु ठडिएका छन् । सम्पदा क्षेत्रमा राम्रै काम गरेको जस्तो लाग्छ ।

भक्तपुरमा पुरानो ऐतिहासिक रानीपोखरीको संरक्षण र निर्माण गरेका छौँ । करिव साढे ४ करोडको काम साढे दुई करोडमा सम्पन्न भयो । सबै काम उपभोक्ता समितिले गरेको थियो । जनताको काम जनताले नै गर्ने यहाँका सम्पदाहरू हामी आफै संरक्षण गर्ने आत्मनिर्भर बन्दै समृद्धिको भावना जाने राम्रो पक्ष भएको छ ।

विगत ५ वर्षको समयमा स्वास्थ्य क्षेत्रमा के कस्ता काम गर्नुभयो ?

भक्तपुर नगरपालिकाले विगत पाँच वर्षमा स्वास्थ्यमा राम्रै काम गरेको छ । हामीले विस्तारै काम गर्दै गएका छौँ । निर्वाचित भएको सय दिनमा विस्तारै घर दैलो नर्सिङ सेवा सुरु गर्यौँ । हामीसँग अनुभव नभएतापनि क्युवाबाट सिकेका थियौँ । त्यहाँ होम डाक्टरको सेवा दिएजस्तै । नेपालमा पर्याप्त डाक्टर नभएपनि हामीसँग पर्याप्त नर्स भएकाले घर दैलो नर्सिङ सेवा सुचारु गरेका छौँ । नौ हप्ता भित्र सबै वडामा सेवा गर्‍यौं। त्यहाँबाट आएको रिपोर्ट अनुसार भक्तपुरमा नसर्ने रोग धेरै रहेछ, क्यान्सरका रोगीहरू, मृगौला रोगीहरू अन्य रोगहरू रहेको पायौँ । उहाँहरूलाई आर्थिक अनुदान दियौँ।

जनताको स्वास्थ्यस्थितिका लागि व्यायाम क्षेत्र लागि टोल टोलमा व्यायामशाला खोलिदिएका छौँ । खुल्ला व्यायामशाला २३ ठाँउमा सञ्चालनमा छन् । यो राम्रो पक्ष भएको छ । जनताको सेवाको निम्ति खोप अस्पताल सञ्चालन गरेका छौँ । यहाँ सात सयको हाराहारीमा उपचार जाँच हुन्छ । व्यवस्थित रुपमा अस्पताल सञ्चालन गरेका छौँ । साथै अन्य चार स्वास्थ्य केन्द्रबाट पनि सेवा दिएका छौं । ती स्वास्थ्य केन्द्रमा दैनिक रुपमा डाक्टर नर्सबाट सेवा उपलब्ध गराउँदै आएका छौँ । १५ मिनेट भित्र स्वास्थ्य सेवा कसरी दिने त्यसमा हामी लागेका छौँ । काठमाडौँ लगायत अन्य ठाँउमा जानुपर्ने वाध्यता तथा समस्या समाधान गर्न जनताले अकालमा जीवन गुमाउन नपरोस् भनेर व्यवस्थित खोप अस्पताल सञ्चालन गरेका छौँ। २५ बेडको स्वीकृत भएतापनि १०० बेडको तयारी पूर्वाधार र क्षमता बनाएका छौँ । नगरस्तरीय आयुर्वेदिकमा पनि ध्यान दिएका छौँ । आयुर्वेदिक केन्द्र बनाएका छौँ । आँखा अस्पताल सञ्चालनमा छ । जनताले सहज रुपमा सेवा पाएका छन् । भक्तपुरमा दम खोकीका धेरै रोगीहरू छन् । जापानमा हाम्रो डाक्टर पठाएर जापानमा भएको नयाँ प्रविधि सिक्दै श्वासप्रस्वास केन्द्र चलाएका छौँ ।

यो नेपालको पहिलो श्वासप्रश्वास केन्द्र होला । १०० रुपैयाँ तिरेर उहाँहरूले स्वास्थ्य सेवा लिनुभएको छ । स्वास्थ्य क्षेत्रमा ५ वर्षको समयमा सक्ने प्रयास गरेका छौ । सरकारी अस्पताल भनेसी नाक खुम्चाउँदै प्राइभेटमा जाँदा धेरै गरिबको धेरै पैसा खर्च हुन्छ । सस्तो रुपमा गरिबले सेवा पाउन हामीले सेवा दिएका छौँ। यसमा प्रयास जारी छ, सफलता आउने क्रममा छ ।

शिक्षा र खेलुकुद क्षेत्र जोगाउनका लागि के कामहरू गर्नुभएको छ ?

प्रत्येक नागरिकलाई खेलकुद भनेको शारीरिक हिसाबले राम्रो क्षेत्र हो । मौलिक अधिकारको रुपमा दिनुपर्छ भनेर हामी लागेका छौँ । विद्यार्थीहरुमा ध्यान केन्द्रित छ । हरेक विद्यालयमा खेलकुदलाई प्राथमिकतामा राखेका छौँ। हरेक वर्ष अन्तर नगर, अन्तर विद्यालय खेलकुद प्रतियोगिता गरेका छौँ। कम्तिमा २ हजार विद्यार्थीले भाग लिन्छन् । भक्तपुरमा ९२ ओटा विद्यालय रहेका छन् । निजी र सामुदायिक गरेर त्यस मध्ये ७२ विद्यालयले भाग लिने गर्छन । सबै विद्यालयहरूलाई भागलिन आह्वान गरेका छौ । सहभागिताको लागि । खेलकुद सामाग्री सहयोग प्रदान गर्दै आएका छौँ।

सामुदायिक विद्यालयका शिक्षकहरूले ९९ प्रतिशत तालिम प्राप्त गरेका छन् । तर हाम्रो स्तर किन खस्कियो यो कोणबाट विश्लेषण गर्दै उहाँहरूलाई उत्साहित गर्दै जाँदा अहिले संस्थागत र सामुदायिक भेद नै छैन । एक सय एक राम्रा विद्यार्थी छन् । सामुदायिक विद्यालयहरू सामुदायिक कलेजहरू विस्तारै माथि उठ्दैछन् । सामुदायिक विद्यालय राम्रो भएपछि निजीमा जानेक्रम कम हुँदै जान्छ । यहाँ गरिब जनताका छोरा छोरीले पढून् । जुन सामुदायिक विद्यालय छ त्यहाँ स्तरीय हुन आवश्यक छ । यसरी सामुदायिक क्षेत्रमा पढेकोमा गर्व गरेका छौँ । यिनीहरूबीचको विभेद कम हुँदै गएको छ । यो राम्रो कुरा छ । खेलाडीहरूलाई सम्मान गरेका छौँ। खेलाडीहरूलाई प्रशिक्षण दिएका छौँ। विद्यालयहरूमा प्रशिक्षक खटाएका छौँ। सम्रग रुपमा खेलकुदमा राम्रो काम गरेका छौँ।

भक्तपुर नगरपालिका सांस्कृतिक नगर ,कलाकारको नगर ,हाम्रो ठाउँ म्युजियम नगर जस्तै हो । यो नगरलाई जीवन्त राख्ने हाम्रो दायित्व तथा जिम्मेवारी हो । यहाँको कला संस्कृतिलाई मूर्त मात्रै होइन अमूर्त सम्पदाहरुलाई संरक्षण गर्न लागेका छौँ । प्राचीन नाचगानदेखि संरक्षण गर्न लागेका छौँ । संस्कृति विधाको प्रतियोगिता गर्ने गरेका छौँ। यसबाट नयाँ नयाँ कलाकार देखिन थालेका छन् । नयाँ पुस्ताका बाधकहरू देख्न थालेका छन् । यसलाई अब स्कुल कलेजमा लैजाँदै छौँ। सांस्कृतिक केन्द्र बनाउने तयारी गरिरहेका छौँ। भक्तपुर नगरपालिका कला सांस्कृतिक नगरको रुपमा अगाडि बढ्न खोजिरहेका छौँ । १०० वर्ष पछिको नगरपालिकाको आधार तयार गर्दैछौँ। बेरोजगार युवाहरुलाई रोजगार कसरी दिने भन्ने तर्फ ध्यान केन्द्रित । शिक्षालाई श्रमसँग जोडिने खालको बनाउँदै शिक्षा र श्रम जोडिएपछि मात्रै उसले रोजगारी पाउँछ । यसमा हामीले थप्रै तालिमहरू दिएका छौँ । सिकर्मी डकर्मी लगायतका कृषि तालिमहरू दिएका छौँ । युवाहरूलाई स्वरोजगार बनाउनेतर्फ लागेका छौँ ।

साथै आवास योजनाहरू सञ्चालन गरेका छौँ । ५३४ रोपनीको तुमचल डुम्रे आवास योजना सम्पन गरेका छौँ । डेकोमेबा आवास योजना १६५४ रोपनीमा हामीले व्यवस्थित आवास योजना सञ्चालन गर्दै छौँ। त्यहाँ लालपुर्जा वितरण भैरहेको छ । यसमा कुनै स्वार्थ छैन । यसमा व्यवस्थित नगरको परिकल्पना हो। ४ सय इन्जिनियर ४० नर्स वार्षिक रुपमा दिँदै आएको छ । नगर ज्योति पुस्तकालय बनाएका छौँ यसलाई इ–लाइब्रेरीको रुपमा विकास गर्ने कोसिस गरेका छौँ। वार्षिक ९ लाख किताब राख्दै, इन्टरनेटको सुविधा दिँदै पढ्ने रुमको व्यवस्था गरेका छौँ । फ्रिमा सबै सेवा दिन लाइब्रेरीको व्यवस्था गरेका छौँ । वडा वडामा पुस्तकालयको व्यवस्था गरेका छौँ । विद्यार्थीमा पढ्ने संस्कारको विकास गर्दै गएका छौँ । भक्तपुर क्षेत्रले हरेक रुपमा राम्रो परिणाम दिइरहेको छ ।

नगरको खानेपानीको समस्यालाई कसरी समाधान गर्नु भएको छ ?

भक्तपुर नगरको खानेपानी समस्यालाई समाधान गर्न विभिन्न ठाउँमा बोरिङ खनेका छौँ । तीन ठाउँबाट पानी वितरण गरिरहेका छौँ । पुरानो स्रोत अनुसार पानी वितरण भैरहेको छ । मेलम्चीको बाहेक अन्य स्थायी विकल्प पाएका छैनौँ। मेलम्चीको पानी भक्तपुरमा जसरी पनि ल्याउन हामी लागेका छौँ । कोसिस गरिरहेका छौँ। ८० लाख पानी ट्याङ्की तयारी अवस्थामा रहेको छ । खानेपानी मन्त्रालय खानेपानी विभागसँग समन्वय गर्दै आएका छौँ । छिट्टै मेलम्चीको पानी जनताले पाउने छन् ।

तपाईंको स्थानीय निर्वाचनमा मुख्य एजेन्डा के-के छन् ? नगरपालिकाका प्राथमिकताका विषयहरू के-के छन्?

हाम्रो मुख्य एजेन्डा शिक्षा हो । ख्वपो विश्वविद्यालय अगाडि बढाउने कोसिस गर्छौ । सरकारले दियो भने ख्वपो विश्वविद्यालय मेडिकल कलेज खोलेर जनताको छोरा छोरीलाई सस्तो मूल्यमा डाक्टर पढाउँछौ । डाक्टरहरू उत्पादन गर्छौँ। सरकारले सहयोग गर्यो भने दुई सय बेडको अस्पताल बनाउन तयार छौँ। जनतालाई सस्तो सहजरूपमा स्वास्थ्य सेवा दिन्छौँ । नगरलाई कला संस्कृतिको संरक्षित क्षेत्रका रुपमा विकास गर्नेछौँ। हरेक युवालाई विभिन्न भाषाहरू बुझ्ने तालिम दिनेछौँ । जापानिज र चिनियाँ भाषा सिकाउँदै आइरहेकोमा अब अझै नयाँ नयाँ भाषाहरू सिकाउने छौँ।

सामुदायिक विद्यालयहरूलाई प्राथमिकतामा राख्दै काम गर्नेछौँ । सामुदायिक विद्यालय, सामुदायिक कलेजहरू निजीभन्दा कुनै कम नहुने गरि विकास गर्नेछौँ । जनताको कामहरू गर्नेछौँ। खानेपानीको समस्या समाधान गर्न कोसिस गर्ने छौँ । फोहोरमैला व्यवस्थापन तथा नदि सरसफाइको कामहरू पनि प्राथमिकताको साथ राख्दै काम गरेका छौँ । फोहोर मैला व्यवस्थापन गर्न नयाँ नयाँ प्रविधिहरूको अवलम्बन गर्ने छौँ । भक्तपुर राम्रो सुन्दर र सफा नगर बनाउने कोसिस रहनेछ ।

तपाईंले अन्य राजनीतिक दलहरुको तुलनामा कस्तो मतको अपेक्षा गर्नुभएको छ ?

हामीले काम गरेको आधारमा पार्टीले गरेको योगदानको आधारमा सबै जसो हामीलाई आउनुपर्ने जस्तो लाग्छ । तर यो बहुदलीय प्रतिष्पर्धा हो । हामी विचारलाई सम्मान गर्छौं। प्रतिपक्षहरुलाई पनि हामी त्यतिकै सम्मान गर्छौं। फेरी पनि जित्छौँ त्यसमा कुनै शंका छैन । देश बनाउने जिम्मा विपक्षीको पनि हो । राम्रो विपक्षी भयो भने जित्नेले राम्रो काम गर्न अग्रसर हुन्छ । त्यो हामी गर्छौं। वैज्ञानिक समाजवाद हामी देखाउँछौ । वैज्ञानिक समाजवादमा शिक्षा र स्वास्थ्य निःशुल्क गर्दै जाने हो । वैज्ञानिक समाजवादमा प्रत्येक नागरिकले रोजगारी पाउने हो ।

तपाईंको उम्मेदवारीपछि आम जनताबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

जनताहरू खुसी नै छन् । यसमा जसले उम्मेद्वारी दिए पनि व्यक्ति होइन, संस्थागत प्रतिनिधित्व गर्छौं। हाम्रो पार्टीलाई भोट दिने हो व्यक्तिलाई होइन। हामीले राम्रो काम गर्छौं भन्ने जनतामा छ । जनताहरू अत्यन्त खुसी छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ४ : ०८ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

वेस्ट इन्डिज ‘ए’ संगको खेलका लागि उत्साहित छौं : रोहित पौडेल

काठमाडौं – नेपाल आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला