काठमाडौँ- स्थानीय तहको आसन्न निर्वाचनमा गठबन्धन भर्सेज नेकपा एमाले चलिरहेको छ । गठबन्धनको उम्मेदवार हुँदै भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले उम्मेदवारी दिएपछि उनलाई पार्टीले निस्कासन गरिसकेको छ । जगन्नाथ स्वतन्त्र उम्मेदवार बनेका छन् । तर , यस्तै तर केही फरक अवस्था सर्लाहीको लालबन्दी नगरपालिकामा पनि देखिएको छ । सर्लाही जिल्लामा नै गठबन्धन नभएपछि कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार बनेका बासुदेव अधिकारीलाई उम्मेदवारीबाट पछि हट्न नेपाली कांग्रेस केन्द्रले नै दबाब दिइरहेको छ ।
उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्दा कांग्रेसका केन्द्रीय सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना उम्मेदवार अधिकारीको उम्मेदवारी फिर्ता भएको भन्दै पत्र पठाएका थिए तर पछि निर्वाचन अधिकृतले अन्तिम नामावली प्रकाशन भइसकेपछि पत्र आएको भन्दै अधिकारीको उम्मेदवारी कायमै रहेको पत्र निकालेका थिए । त्यसपछि मेयर पदका उम्मेदवार अधिकारी मत माग्दै निरन्तर घरदैलोमा छन् । उम्मेदवार अधिकारी रूख छापबाट नै उम्मेदवार बनेका छन् ।
यसैबीच सभापति देउवाले हस्ताक्षर गरी पार्टीको तर्फबाट लालबन्दी नगरपालिकाको मेयर पदका उम्मेदवार बासुदेव अधिकारीको उम्मेदवारी फिर्ता भएको र माओवादी केन्द्रका उम्मेदवारलाई सहयोग गर्ने निर्णय भएको पत्र सार्वजनिक भएपछि कांग्रेस लालबन्दीको आधिकारिक धारणा सार्वजनिक गरेको छ । नेपाली कांग्रेस लालबन्दीका नगर सभापति प्रशान्त आचार्यले आफूहरू चुनावमा होम्मिसकेकाले कुनै पनि हालमा उम्मेदवारी फिर्ता नहुने र कसैलाई पनि सहयोग समेत नगर्ने बताएका छन् ।
‘हाम्रो गठबन्धन नै भएको छैन । हामीले गठबन्धन विरुद्ध उम्मेदवारी दिएका हैनौँ । नेकपा माओवादी केन्द्र र नेकपा एसले पद बदर लिएको ठाउँमा कांग्रेसले जिताइदिनु पर्ने ? हामी आफ्नो उम्मेदवारीबाट पछाडि हट्दैनौ’ सभापति आचार्यले भने । उनले प्रेस विज्ञप्ति निकाल्दै लालबन्दीमा कांग्रेसको अवस्था राम्रो देखेर विपक्षी दलले अनेक पत्र लेखाइ अनावश्यक हल्ला पिटाएका बताएका छन् ।
‘हाम्रो यहाँ गठबन्धन छ भनेर केन्द्रमा दबाब गएको रहेछ । यसलाई हामीले संवाद मार्फत कुरा मिलाई सकेका छौँ’ उनले भने । मेयरका उम्मेदवार बासुदेव अधिकारीले पनि अब आफू पछाडि नहट्ने बताए । ‘म जनतासँग पुगिरहेको छु । र , म जनताबाट नै निर्वाचित हुँदैछु । त्यसैले पछि हट्ने कुरा नै छैन’ अधिकारीले भने ।
उनले आफ्नो उम्मेदवारीलाई लिएर कांग्रेस केन्द्रले गरेको व्यवहारले भने दुखी बनाएको बताए । ‘मैले यो पार्टीमा जीवन दिएको छु । विभिन्न लडाइ लडेको छु । गठबन्धन नै नभएको स्थानमा कुरा नै नबुझी सभापतिको पत्र आउनु दुखद हो’ उनले भने । मेयरका प्रत्यासी अधिकारीले आफूलाई लालबन्दी नगर कांग्रेस र स्थानीय नेताहरूले दिएको साथले भने खुशी लागेको बताए ।
लालबन्दीमा नेकपा माओवादी केन्द्रले कांग्रेसका उम्मेदवारलाई ‘ब्याक’ गराउने प्रयास गरिरहेको छ । माओवादीले लालबन्दीको मेयरमा पार्टीभित्र केन्द्रीय राजनीतिमा प्रभाव पार्ने र अध्यक्ष प्रचण्ड नजिकका केन्द्रीय सदस्य प्रल्हाद बुढाथोकीलाई उठाएको छ । माओवादीले लालबन्दीको मेयर–उपमेयरमा नेकपा (एकीकृत समाजवादी) सँग चुनावी तालमेल गरेको छ । मेयरमा बुढाथोकी र उपमेयरमा समाजवादीबाट गोविन्द अधिकारीलाई उठाइएको छ ।कांग्रेससँग गठबन्धन नै नभएता पनि सभापति देउवाद्वारा हस्ताक्षर गरिएको गठबन्धनलाई सघाउनु भन्ने पत्र दुइ पटक सर्लाहीमा आइसकेको छ ।
प्रतिक्रिया