बलिउड/हलिउड

‘द कश्मीर फाइल्स’ को ओटीटी रिलिज तय

By खबरहब

May 06, 2022

काठमाडौँ- फिल्म ‘द कश्मीर फाइल्स’ को चर्चा अझै सेलाएको छैन । फिल्मले उठान गरेको विषयवस्तु, फिल्मको बक्स अफिस कलेक्सन, फिल्मलाई ट्याक्स फ्री लगायतका विविध कुराहरुले यसलाई चर्चामा ल्याएको हो ।

 हिन्दी भाषामा मात्र रिलिज भएको फिल्मले राम्रो व्यापार गरेपछि दर्शकको आकर्षण बढेसँगै फिल्म अन्य भाषामा पनि स्वरांकन भएर फिल्म ओटीटीमा रिलिज हुने भएको छ । 

हलमा हिन्दीमा प्रदर्शन भएको फिल्म ओटीटी प्रदायक जी फाइभमा तमिल, तेलेगु, कन्नडा भाषामा पनि रिलिज हुनेछ । फिल्मलाई दर्शकले मे १३ मा हेर्न पाउनेछन् । 

नर्थ इन्डियाका सहरहरुमा हलमा कमाल गरेको फिल्मले साउथका तमिल र तेलुगु भाषाका फिल्म रुचाउने दर्शकको पनि मन जित्ने विश्वास निर्माण पक्षको छ । निर्देशक विवेक अग्निहोत्री नेक्स्ट प्रोजेक्ट ‘दिल्ली फाइल्स’ मा लगेपछि ‘द कश्मीर फाइल्स’ लाई ओटीटी रिलिज गर्न लगिएको हो । 

कश्मीरमा मुस्लिम पृथकतावादीले सन् १९९० को दशकमा चलाएको कश्मीर पण्डित सफाया नामक हिंसामाथि बनेको फिल्मलाई लिएर अहिले भारतमा चर्चा छ । यसमा छलफल बढेसँगै फिल्म हेर्नेको संख्या पनि बढ्दो छ । विवेक अग्निहोत्रीद्वारा लिखित र निर्देशित फिल्ममा अनुपम खेर, मिथुन चक्रवर्ती, पल्लवी जोशी र दर्शन कुमारको अभिनय छ ।