आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

पुटिनद्वारा क्षमा याचना

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो विदेशमन्त्रीको विवादास्पद र आधारहीन दाबी प्रति क्षमा मागेका छन् ।

जर्मन तानाशाह एडोल्फ हिटलर यहूदी मूलको रहेको भन्ने रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभको दाबीप्रति क्षमा मागेको इजरायली प्रधानमन्त्री नफ्तलाइ बेन्नेटले जानकारी दिएका छन् ।

बेन्नेट र पुटिनबीच भएको टेलिफोन वार्ताका क्रममा राष्ट्रपति पुटिनले क्षमा मागेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसअघि लाभ्रोभले इटालीको रेटे ४ च्यानललाई दिएको अन्तरवार्तामा हिटलर यहूदी मूलका भएको दाबी गरेका थिए ।

‘जब उनीहरु भन्छन् – यदि हामी यहूदी हौँ भने यो कस्तो किसिमको नाजीकरण हो ? – साँच्चै भन्दा मेरो विचारमा हिटलर पनि यहूदी मूलका थिए, त्यसैले यसको कुनै मतलब छैन ।’ लाभ्रोभले अन्तरवार्तामा भनेका थिए ।

लाभ्रोभले आधारहीन दाबीलाई लिएर इजरायलले आक्रोशले पोखेको थियो । इजरायली विदेशमन्त्री याइर लापिडले लाभ्रोभको दाबीले नाजी जर्मनीद्वारा यहूदीहरूको नरसंहारको अवमूल्यन गरेको भन्दै यो ‘अक्षम्य’ भएको टिप्पणी गरेका थिए ।

हिटलरले आफ्नो शासनकालमा ६० लाख यहूदीहरूको आम नरसंहार गरेका थिए । यसकारण विश्वको एकमात्र यहूदी मुलुक इजरायलमा हिटलर र नाजी सत्ताद्वारा यहूदीमाथि गरिएको दमनलाई निकै संवेदनशील विषयका रुपमा लिने गरिन्छ ।

पछि रुसी विदेशमन्त्रालयले इजरायलले ‘नव नाजीहरु’को समर्थन गरेको आरोप लगाएको थियो ।
यता पुटिनको क्षमा आफूले स्वीकार गरेको बेन्नेटले बताएका छन् । साथै यहूदी धर्मावलम्बी र नाजी नरसंहारबारे आफ्नो धारणा स्पष्ट पारेकोमा बेन्नेटले धन्यवाद समेत दिएको जनाइएको छ ।

पछिल्लो समय युक्रेनमा जारी रुसी आक्रमणमा पनि इजरायलले मध्यस्थता गर्न खोजिरहेको समाचार सार्वजनिक भएको थियो ।

यद्यपि अघिल्लो महिना अरब आक्रमणकारीले गराएका श्रृङ्खलाबद्ध आक्रमण भएपछि इजरायलको चासो मोडिएको रोयटर्सले जनाएको छ ।

तर पछिल्ला केही दिनमा बेन्नेटले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र पुटिनसँग टेलिफोन वार्ता गरेबाट इजरायलले फेरि मध्यस्थताको प्रयास अघि बढाएको हुनसक्ने अर्थमा लिइएको छ ।

रुसी आक्रमणका कारण ४ सयभन्दा धेरै स्वास्थ्य संस्था ध्वस्त भएको जेलेन्स्कीको दाबी

युक्रेनमा रुसी आक्रमणका कारण ४ सय भन्दा धेरै स्वास्थ्य संस्थाहरू ध्वस्त भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् ।
एउटा गैर नाफामूलक संस्थालाई सम्बोधन गर्दै जेलेन्स्कीले रुसी आक्रमणबाट हालसम्म ४०० भन्दा धेरै अस्पताल, प्रसूति गृह, बहिरङ्ग केन्द्र जस्ता स्वास्थ्य संस्थाहरू ध्वस्त भएको बताएका हुन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार आक्रमणका कारण औषधिको अभाव समेत देखिएको उनको भनाइ छ । खासगरी पूर्वी तथा दक्षिणी युक्रेनमा यस्तो समस्या देखिएको उनले बताए ।

पूर्वी तथा दक्षिणी युक्रेनमा लडाइ भइरहेका स्थानमा सामान्य एन्टी बायोटिक औषधिको समेत अभाव रहेको उनको भनाइ छ ।
यसबाहेक उनले बताएअनुसार रुसी फौजको अधीनमा रहेका क्षेत्रमा अवस्था अझ गम्भीर छ ।

यसअघि गत मार्च ९ मा रुसी फौजले चौतर्फी घेराबन्दीमा परेको शहर मारिउपोलस्थित बाल अस्पतालमा आक्रमण गरेपछि रुसको चर्को आलोचना भएको थियो ।

रुसी युद्धपोत डुबाउन अमेरिकाले युक्रेनलाई जासुसी सहयोग गरेको खुलासा

रुसी युद्धपोत डुबाउन युक्रेनले गरेको आक्रमणमा अमेरिकाले जासुसी सहयोग गरेको खुलासा भएको छ ।
अमेरिकी सञ्चारमाध्यमहरूले जनाएअनुसार रुसी फौजको कृष्ण सागरमा रहेको नौसेनाको मोस्कवा युद्धपोत डुबाउन युक्रेनले गरेको आक्रमणका लागि अमेरिकाले जासुसी सूचना उपलब्ध गराएको थियो ।

पहिचान नखुलाइएका अमेरिकी अधिकारीहरुले अमेरिकी सञ्चारमाध्यमलाई बताएअनुसार ओदेसा बन्दरगाह नजिक रहेको रुसी पानी जहाजबारे युक्रेनले जानकारी मागेको थियो ।

यसको प्रतिक्रियामा अमेरिकाले उक्त पानीजहाज मोस्कवा युद्धपोत भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । पछि सोही सूचनाका आधारमा युक्रेनले मोस्कवालाई लक्षित गरी आक्रमण गरेको बताइएको छ ।

अमेरिकी रक्षा प्रशासन पेन्टागनले यस समाचारको हालसम्म आधिकारिक पुष्टि गरिसकेको छैन । यद्यपि एकजना प्रवक्ताले भने आफ्नो रक्षा गर्नका लागि अमेरिकाले युक्रेनलाई जासुसी सूचना दिएको बताएको बीबीसीले जनाएको छ ।

अवस्थिति निर्क्यौल गर्न सहयोग गरेपनि युक्रेनले उक्त युद्धपोतमा आक्रमण गर्नेबारे आफूहरूलाई थाहा नभएको ती अमेरिकी अधिकारीले बताएको अमेरिकी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

गत १३ अप्रिलमा युक्रेनको तटनजिक कृष्ण सगरमा मोस्कवामाथि आक्रमण गरिएको युक्रेनले दाबी गरेको थियो । मोस्कवालाई लक्षित गरी दुई वटा नेप्चुन क्षेप्यास्त्र प्रहार गरिएको युक्रेनी दाबी थियो ।

रुसले त्यसबेला युद्धपोतमा आगलागी भएका कारण मोस्कवामा क्षति पुगेको दाबी गरेको थियो । मोस्कवा १४ अप्रिलमा क्राइमिया प्रायद्विपको सेभास्टोपोल बन्दरगाहतर्फ जाँदै गर्दा कृष्ण सागरमा डुबेको रुसले पुष्टि गरेको थियो ।

यसबारे अमेरिकाले हालसम्म सार्वजनिक टिप्पणी गरिसकेको छैन । यसअघि पेन्टागनका प्रवक्ता जोन किरबीले अमेरिकाले युक्रेनलाई जासुसी सहयोग गर्दै आएको यसअघि सार्वजनिक समाचारको खण्डन गरेका थिए ।

चीनमा भवन भत्किँदा मृत्यु हुनेको संख्या ५३ पुग्यो

चीनको हुनान प्रान्तमा भवन भत्किँदा त्यसमा रहेका ५३ जनाको ज्यान गएको पुष्टि भएको छ । गत अप्रिल २९ मा सो भवन भत्किएको थियो ।

सो दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५३ पुगेको शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । सो भवनमा रहेका १० जनालाई भने जीवितै उद्धार गरिएको छ ।

त्यस्तै भवनको भग्नावशेषबाट त्यहाँ अरु केही मानिसहरू फसिरहेको आशंकामा उद्धार जारी राखिएको थियो ।

हुनान प्रान्तको वाङ्चेन्द क्षेत्रमा रहेको एक भवन भत्किँदा त्यसमा रहेका ५३ जनाको ज्यान गएको र अरु १० जनालाई जीवितै उद्धार गरिएको प्रान्तीय प्रहरी प्रमुखले जानकारी दिएका हुन् । यस दुर्घटनाको अनुसन्धान जारी रहेको पनि प्रहरीले जनाएको छ ।

तेश्रो दिन पनि मारिउपोलमा उद्धारको काम जारी

रुसी आक्रमणको चपेटामा परेको युक्रेनको मारिउपोल शहरबाट सर्वसाधारणलाई सुरक्षित स्थानमा लैजाने कार्य तेश्रो दिन पनि जारी रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले शहरबाट सर्वसाधारणको उद्धार गर्ने कार्य तेश्रो दिन पनि जारी रहेको जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ ।

गुटरेजले ‘मानिसहरुलाई नर्कबाट निकाल्न’ हरसम्भव प्रयास हुनुपर्नेमा समेत जोड दिएका छन् । मारिउपोल शहरमा युक्रेनी फौजको नियन्त्रणमा रहेको एजोभस्तल औद्योगिक क्षेत्रमा अझै पनि २ सय जनाजति सर्वसाधारण फसिरहेको बताइएको छ ।

तीमध्ये २० जना बालबालिका रहेको र उनीहरु फसेको स्थानमा खानेकुरा र पानीको चरम अभाव रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सर्वसाधारणको उद्धार कार्य जारी रहेपनि शहरमा लडाइ भने जारी रहेको बीबीसीले जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नियमित सन्देशमा रुसी फौजले औद्योगिक क्षेत्रमा गोलाबारी र नियन्त्रण जमाउने प्रयासलाई निरन्तरता दिएको जनाएका छन् ।

यता रुसले भने एजोभस्तल क्षेत्रमा आफ्ना फौजले आक्रमण नगरेको बताउँदै आएको छ । रुसले बिहीबारबाट सो क्षेत्रमा मानवीय करिडोर खोल्नका लागि एकतर्फी युद्धविराम पनि घोषणा गरेको जनाइएको छ ।

यता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने मारिउपोलमा सर्वसाधारणलाई सुरक्षित मार्ग दिन आफूहरु तयार रहेको बताएका छन् । यद्यपि यसका लागि युक्रेनी फौजले आत्मसमर्पण गर्नुपर्ने उनको अडान छ ।

राष्ट्रपति पुटिनले यसअघि नै मारिउपोल जितेको दाबी गरिसकेका छन् । मारिउपोलको अधिकांश क्षेत्रमा रुसी फौजले कब्जा जमाएपनि एजोभस्तल औद्योगिक क्षेत्रमा भने अझै युक्रेनी फौजको पकड रहेको बताइएको छ ।

रुसमाथि प्रतिबन्ध लगाउने ईयूको प्रस्तावलाई हंगेरीले समर्थन नगर्ने

युरोपेली युनियन ईयूले रुसी तेललाई लक्षित गरी प्रस्ताव गरेको पछिल्लो प्रतिबन्धलाई हंगेरीले समर्थन गर्न नसक्ने हंगेरियन प्रधानमन्त्री भिक्टर ओर्बानले जनाएका छन् ।

सरकारी रेडियोसँगको कुराकानीका क्रममा प्रधानमन्त्री ओर्बानले रुसी तेलमाथि प्रतिबन्ध लगाउने ईयूको पछिल्लो प्रस्तावलाई हंगेरीले समर्थन गर्न नसक्ने बताएका हुन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार रुसी तेल आयातमा प्रतिबन्ध लगाउने युरोपेली आयोगको पछिल्लो प्रस्ताव हंगेरियन अर्थतन्त्रमा ‘आणविक बम’ खसाल्नु बराबर रहेको उनको भनाइ छ ।

यद्यपि हंगेरीलाई चित्त बुझ्ने नयाँ प्रस्ताव आएको खण्डमा त्यसबारे पनि विचार गर्न तयार रहेको उनको भनाइ छ । गत बुधबार युरोपेली युनियनले रुसमाथि हालसम्मकै सबैभन्दा कठोर प्रतिबन्धका प्याकेजहरुको घोषणा गरेको थियो ।

उक्त घोषणामा ६ महिनाभित्र रुसबाट कच्चा तेलको आपूर्तिलाई पूर्ण रुपमा कटौती गर्ने र सन् २०२२ को अन्त्यसम्म प्रशोधित तेलको आयातलाई पनि कटौती गर्ने उल्लेख छ ।

रुसी तेलमा आधारित पूर्वी युरोप हंगेरी स्लोभाकिया जस्ता केही मुलुकहरुले यस्तो प्रतिबन्धको पालना गर्न आनाकानी गर्ने अनुमान गरिएको थियो ।

ओर्बानले रेडियोलाई बताएअनुसार रुसी तेलबाट निर्भरता हटाउन हंगेरीलाई ५ वर्षको समय चाहिन्छ । प्रशोधन केन्द्र र पाइपलाइनको विकास गर्न हंगेरीमा ठूलो लगानी लगानी पनि आवश्यक रहेको उनको भनाइ छ ।

हाल हंगेरीले कूल खपतको ६५ प्रतिशत तेल रुसबाट आपूर्ति गर्दै आएको रोयटर्सले जनाएको छ ।

‘हामीलाई के आवश्यक छ भन्ने हामीलाई राम्रोसँग थाहा छ, शुरुमा हामीलाई यो सब प्रक्रिया पूरा गर्न ५ वर्ष चाहिन्छ‘ एक डेढ वर्ष केहीका लागि पनि पर्याप्त छैन ।’ ओर्बानलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

अफगानिस्तानमा चरम खाद्य सङ्कट

अफगानिस्तानमा चरम खाद्य सङ्कट देखिएको छ । त्यहाँ दुई करोड बीस लाखभन्दा बढी मानिसहरू गम्भीर भोकमरीबाट ग्रस्त छन् । यो जनसङ्ख्या देशको कुल जनसङ्ख्याको आधाभन्दा बढी हो ।

करिब ९७ प्रतिशतभन्दा बढी अफगानहरू खाद्यान्न अभावबाट प्रभावित रहेको पनि  संयुक्त राष्ट्रसंघले जनाएको छ । गत वर्ष अगस्टमा तालिबानले अफगानिस्तानको सत्ता नियन्त्रणमा लिएपछि जीवनयापन र खाद्यान्नको मूल्य अकासिएको छ ।  

अफगान अखबारको रिपोर्टले विश्व बैंकको प्रतिवेदनलाई उद्धृत गर्दै  तालिबानले सत्ता कब्जा गरेपछि अफगान जनताको आम्दानी लगभग एक तिहाइले घटेको देखाएको छ ।

मार्च २०२२ मा अफगानिस्तानमा संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले राजधानी काबुलमा ३  लाख ७६ हजार १ सय ३९ जना मानिसहरूलाई आर्थिक र खाद्य सहायता प्रदान गरेको देखाएको छ ।

विश्लेषकहरूले औँल्याएअनुसार धेरैजसो अफगानहरूका लागि पछिल्लो ईद उल–फित्र परिवारलाई यथेष्ट भोजनको व्यवस्था गर्नु सङ्घर्षपूर्ण रह्यो ।

तालिबानको इस्लामिक इमिरेट्स अफ अफगानिस्तान सरकारलाई अन्तर्राष्ट्रिय अर्थतन्त्रबाट अलग गरिएको छ । अगस्टमा काबुलको पतन र अमेरिकी सैनिक फिर्ता भएपछि अफगानिस्तानको तालिबान सरकार अन्तर्राष्ट्रिय अर्थतन्त्रबाट एक्लिएको छ ।

जसले गम्भीर आर्थिक सङ्कट, गरिबी र स्वास्थ्य सेवा लगायत आवश्यक सार्वजनिक सेवाहरूको पहुँच गुमाएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ५ सय भन्दा धेरैलाई कोरोना सङ्क्रमण

भारतमा पछिल्लो २४ घण्टाको समयावधिमा ३ हजार ५ सय ४५ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

यससँगै त्यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ९४ हजार ९३८ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पुनः केही दिनयता बढ्न थालेको छ । नयाँ सङ्क्रमितमध्ये १ हजार ३ सय ६५ राष्ट्रिय राजधानी दिल्लीका रहेका समाचारमा जनाइएको छ ।

हाल राजधानीमा पाँच हजार ७५६ सक्रिय सङ्क्रमित रहेका पनि बताइएको छ ।

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप २७ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या ५ लाख २४ हजार २ पुगेको छ ।

भारतभर अझै पनि सक्रिय सङ्क्रमित १९ हजार ६ सय ८८ रहेका पनि मन्त्रालयले जानकारी दिएको छ । भारतमा केही महिनायताबाट सक्रिय सङ्क्रमित घट्ने क्रम जारी रहेको थियो । तर केही हप्तायताबाट सक्रिय सङ्क्रमति बढेको पाइएको छ ।

२४ घण्टाको अवधिमा ३ हजार ५ सय ४९ जना कोरोनाबाट निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख ५१ हजार २५८ जना सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ९ : २५ बजे

अस्ट्रेलिया र वेस्ट इन्डिज टेस्टमा बलर हाबी : एकै दिन १४ विकेट

ब्रिज टाउन – वेस्ट इन्डिज र अस्ट्रेलियाको पहिलो टेस्टमा बलर

विष्णुमती बगाएको कारबाट एक महिलाको उद्धार

काठमाडौं– काठमाडौंको विष्णुमती नदीले कारसहित बगाएकी एक महिलाको उद्धार गरिएको

जनकपुरमा आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता

धनुषा– जनकपुरधाममा आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता सुरु हुँदै छ

बाढीले बगाएर सवइञ्जिनियर रविन दाहालको मृत्यु

ललितपुर– ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका–६ ठुलादुर्लुङमा खोल्सामा आएको

भोक मार्ने ओखती उमार्ने असार

प्रिय न्यान्सी ! झरीले मकैको पातमा सङ्गीत भरिरहँदा म तिमीलाई