मन दुख्यो भन्दैमा सत्ता गठबन्धन छाड्दैनौँ | Khabarhub Khabarhub

मन दुख्यो भन्दैमा सत्ता गठबन्धन छाड्दैनौँ

ओलीको अंहकारले एमालेसँग सहकार्य हुने सम्भावना छैन


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्थानीय तहको चुनावको परिणामले सत्ता गठबन्धनलाई चुनौति थपेको छ । गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेसले चुनावमा धेरै पालिका जित्दा माओवादी र नेकपा समाजवादी भने कांग्रेससँग झस्केका छन् । माओवादी केन्द्र केही पालिकामा राम्रै पोजिसनमा भएपनि समाजवादीको हैसियत भने स्थानीय तहको चुनावले देखाइदिएको छ । नयाँ पार्टी र खासै बलियो संगठन बनाउन नसकेको नेकपा समाजवादीका केही नेता पछिल्लो समय माओवादी र एमालेका नेताहरुसँग निरन्तर छलफलमा रहेको सूचना पनि बाहिरिएका छन् । त्यसमाथि एकाएक सरकारबाट आफ्ना सबै मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने निर्णयले पनि समाजवादीको आन्तरिक उतारचढाव चर्चायोग्य छ । कांग्रेसबाट धोका खाएको नेकपा एकिकृत समाजवादीले साँच्चै अब फेरि वाम एकता गर्ने निष्कर्षमा पुग्ला ? वा एमालेको चाहना अनुसार वाम शक्ति बन्ने सम्भावना कति छ त ? खबरहबका लागि नेकपा एकिकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडासँग धीरज बस्नेतले गरेको कुराकानीको सम्पादित अंशः

सरकारमा गएको आठ महिना पनि नभई एकिकृत समाजवादी किन मन्त्रीहरु हेरफेर गर्ने निर्णयमा पुग्यो ?
हिजो मन्त्री भएकाहरूलाई पार्टीको काममा दौडाउनु पर्नेछ । उहाँको आवश्यकता सरकारमा भन्दा ज्यादा पार्टीको काममा देखियो । त्यसैले उहाँहरूलाई सरकारबाट फिर्ता बोलाएर नयाँ साथीहरूलाई अवसर दिइएको हो । फेरि पार्टीका अन्य साथीहरूलाई पनि अवसर दिनु पर्ने थियो, पहिल्यैदेखि आकांक्षा देखाएकाहरुको पनि व्यवस्थापन गर्नु पर्ने दायित्व पार्टीकै हो । त्यसैले यी दुबै कारणले पुराना साथीभाइलाई फिर्ता बोलाएर नयाँलाई अवसर दिइएको हो ।

यति छोटो अवधिमा मन्त्री पदबाट कोही कसैलाई हटाउदा उनीहरुले के काम गर्न पाउँछन् ? फेरि नयाँ आएकाहरुको अवधि पनि छोटो छ, के गर्न सक्छन् ?
पहिला सरकारमा सहभागी भएका साथीहरूले एउटा बजेटको काम गर्न पाउनु भयो । बजेटमा सबै योजनाहरू समेट्नु भएको छ । उहाँहरूको सोच, दृष्टिकोण उहाँहरूले देशको सेवा र विकासका लागि के योगदान गर्नु पर्ने थियो त्यो उहाँहरूले बनाएको नीति कार्यक्रमले अभिव्यक्त गर्छ । उहाँहरूले थालनी गरेको कामलाई पार्टीका नयाँ मन्त्री साथीहरूले उत्तराधिकारीका रुपमा अघि बढाउनु हुन्छ । अघिल्लो कार्यकालमा थालेका वा प्राथमिकतामा राखेका विषयलाई नयाँ साथीहरूले ओझेलमा पर्न दिनुहुन्न । त्यसैले एउटै पार्टीबाट मन्त्रीहरू व्यक्तिहरू फेरिदैमा खासै फरक पर्दैन भन्ने लागेर नै हामीले यस्तो निर्णय लिएका हौँ । फेरि सधैँभरि एउटै ब्यक्तिले सञ्चालन गर्न सक्ने भन्ने कुरा पनि होइन् । यो कुरा मन्त्रीबाट फिर्ता आउनु भएका साथीहरूले पनि बुझ्नु भएको छ ।

तपाईहरुले जुन शैलीबाट मन्त्री फिर्ता गर्नुभयो, त्यसलाई काम गर्न सकेनन् भनेर कारबाही गरेको मान्ने की नयाँलाई अवसर दिएको ठान्ने ?
काम गर्न सकेनन् भनेर कारबाही गरिएको भन्ने विश्लेषण गलत हुनेछ । उहाँहरूले राम्रो काम गर्नु भएको थियो । सरकारको ओज नै हाम्रै मन्त्रीका कारण बढेको थियो । चाहे प्रेम आलेले लिएको एक्सन होस वा किसान श्रेष्ठले चालेको कदम नै किन नहोस् । स्वास्थ्यमन्त्री हुँदा विरोध खतिवडाले जसरी भ्याक्सिनका लागि काम गर्नुभयो यो अझै प्रशंसनीय छ । हाम्रा मन्त्रीहरूले सबैतिर वाहीवाही पाएकै थिए । यस्तो राम्रो काम गरेका कमरेडहरूलाई पार्टीले कसरी कारबाही गर्न सक्छ ? तर, पूर्व योजना अनुरूप नै नयाँ साथीहरूलाई अवसर दिनु पर्ने भएकाले उहाँहरूलाई फिर्ता बोलाइएको हो । हाम्रो भागमा सीमित मन्त्रालय भएकाले पालो फेरेको मात्रै हो । न यो कारबाही हो, न त अस्वभाविक प्रक्रिया नै ।

निर्वाचन पछि के हो के हो ? सत्तामा पुगिन्छ की पुगिन्न थाहा छैन् । त्यसैले अहिले नै पालै पालो सबैले भाग खाउ भनेर यस्तो निर्णय गर्नु भएको हो ?
सत्य कुरा के हो भने इमान्दारितापूर्वक संसद्मा आफ्नो भूमिका निर्वाह गरिरहेका असल मान्छे सबैलाई एक पटक मन्त्री बनौँ र देशको सेवा गरौँ भन्ने आकांक्षा हुनु स्वभाविक हो । हामीले पार्टीको तर्फबाट मन्त्री बनेका कमरेडहरूलाई पहिल्यै पनि यसरी आलोपालो गर्नु पर्ने हुन्छ, त्यसका लागि तयार रहनु होला भनेका थियौ । त्यही शर्तमा नै उहाँहरूलाई मन्त्री बनाएका थियौँ । उहाँहरु पनि त्यो कुरामा सहमत नै हुनुहुन्थ्यो । नयाँ पार्टी हो, सबैले अवसर पाउनु पर्छ भन्नुलाई पालैपालो भाग खान खोजेको भनेर अर्थ लगाउनु गलत हुन्छ । अहिले सांसद भएका साथीहरू भोलि पुनः सांसद मन्त्री बन्ने हैसियत राख्छन् । उनीहरुलाई मन्त्री बनाउनु नै गलत हो भने झै गरेर टिकाटिप्पणी गर्नु भएन मिडियाका साथीहरुले । निर्वाचन पछि के हो के हो भन्ने तपाईँका जुन प्रश्न छ, ढुक्क हुनुस्, हामी राम्रै सिटसहित संसद्मा उपस्थित हुने छौँ । कसैले कमजोर सोचेको छ भने त्यो केवल भ्रममात्र हुनेछ ।

गठबन्धनका विषयमा कुरा गरौँ । गठबन्धन त गरियो तर आफूहरुलाई भित्तामा पुर्याउने गरि गठबन्धनमा रहेका दलहरुले असहयोग गरे भन्ने निष्कर्षमा पुग्नु भएछ । किन र के कारण यस्तो निष्कर्षमा पुग्नु भयो तपाईहरु ?
यस विषयमा देशभरी ७७ वटै जिल्लाका सूचनाहरू सङ्कलनको काम भइरहेको छ । जिल्ला कमिटीहरूले स्टाम्प ठोकेर आधिकारिक सूचना भने पठाइ सकेका छैनन् । त्यो सूचना आएपछि हामी किटानीका साथ भन्न सक्छौ । तर, प्रारम्भिक सूचना अनुसार हामीलाई धेरै स्थानमा धोका भएको छ । पहिलो कुरा त सिट बाँडफाँडमा नै हामीलाई पाखा लगाउने प्रयास भएको छ । हामीले चुनावमा जानु अघि नै कुन दलले कति सिट पाउने भन्ने विषयमा केन्द्रबाट नै एउटा रेसियो तोकेर जाउँ भनेका थियौँ । तर, गठबन्धनमा रहेका अरु दलहरूले त्यति सारो वास्ता गरेनन् । जसका कारण परिस्थिति बिग्रिदै जाँदा स्थानीय दबाबको चपेटामा पर्यो गठबन्धन । त्यसको सबैभन्दा ठूलो मार हामीले खेप्यौ ।

अर्को पक्ष पनि छ यसमा स्थानीय निर्वाचनमा मत हाल्ने क्रममा एकीकृत समाजवादीका नेता कार्यकर्ता एकदमै इमानदार बनेको देखियो । तर, अन्य दलहरूले भने आफ्नो पार्टीको वडाध्यक्ष जिताउने नाममा हाम्रा उम्मेदवारलाई पाखा लगाउन खोजेको सम्म भेटियो । कांग्रेस माओवादीका कार्यकर्ताले सातै छाप एउटै दललाई हालेको धेरै भेटिएको छ । काठमाडौंमै पनि त्यही भयो । त्यसो भए एकीकृत समाजवादीलाई पन्छाएर कांग्रेस र माओवादीले धेरै ठाउँमा तालमेल पनि गरे, त्यसकारण पनि गठबन्धन भित्रबाट हामीलाई सहयोग भएन भन्ने निष्कर्षमा हामी पुगेका हौँ । जसले गर्दा एकीकृत समाजवादीलाई आम रुपमा खुम्च्याउन खोजियो भन्ने हाम्रो ठहर पनि हो । कांग्रेस र माओवादीका कतिपय गतिविधि साँच्चै चित्त दुख्ने खालका समेत थिए, जुन हामीले सामना गर्‍यौँ ।

कांग्रेस र माओवादीले चित्त दुख्ने ब्यवहार गरेछन् । त्यसो भए अब एकिकृत समाजवादीले फरक बाटो रोज्छ त ? गठबन्धन छाड्छ ?
मन दुखेको हो, टुक्रिएको होइन् । त्यसैले गठबन्धन भत्काइदिहाल्ने वा छाडिहाल्ने भन्ने हुँदैन । मन माझेर अघि बढ्नु विकल्प छैन अहिले । हिजो जे जति त्रुटि भयो त्यसलाई सच्याउँदै अघि बढ्नु पर्छ । प्राप्त उपलब्धीलाई रक्षा गरेर सहकार्य गर्नुपर्छ । आगामी चुनावसम्म गठबन्धन कायम रहन्छ । बरु हिजो हामीलाई जहाँ जहाँ अन्याय पर्यो त्यहाँ त्यहाँ हामीले संसदीय चुनावमा क्षतिपुर्ति माग्छौ । स्थानीय चुनावमा स्थानीयले पत्याएको व्यक्ति छानिने भएकाले हिजो नेतृत्वले भनेको ठ्याक्कै लागू नहुने स्थिति थियो होला । तर, प्रतिनिधि र प्रदेश सभा चुनावमा त्यस्तो हुँदैन । एउटा रेसियो बनाएर सिट बाँडफाँडको व्यवस्था मिलाउने काम गर्नुपर्छ । कसैको आत्मसम्मानमा चोट नपुग्ने गरि सहकार्य हुनुपर्छ ।

एकिकृत समाजवादी गुनासो गर्ने गनगन गर्ने तर गठबन्धन नछाड्ने नीतिमा छ भनेर बुझ्नु पर्ने भो होइन् ?
गुनासो, गनगन, छलफल, संवाद । यसलाई जसरी पनि अभिव्यक्त गर्न सकिन्छ । छलफल, संवाद गर्ने, तर्क, वितर्क गर्ने र सहमति खोज्ने यस्तो चलिरहन्छ राजनीतिमा । यही प्रक्रिया नै राजनीतिक प्रक्रिया हो । यसलाई सामान्य रुपमा लिनुपर्छ । गुनासो गर्ने बित्तिकै कुनै कुरा छोडिहाल्न लाग्यो भनेर अथ्र्याउनु हुँदैन ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसमा अहंकार बढ्यो भनेर टिप्पणी गर्नु भयो, एकिकृत समाजवादीले चाही कांग्रेसमा अहंकार बढेको देखेको छ की छैन् ?
हामीले त्यो अहंकार नेपाली कांग्रेसमा मात्रै होइन, नेकपा माओवादी केन्द्रमा पनि देखेका छौँ । उहाँहरूको फूर्ति बढेको छ । तर, हामी दुबै दलको अहङ्कारलाई हाम्रो वुद्धि, विवेक र कुशलताले परास्त गरेर मुलुकको विकास र समृद्धिका लागि फेरि पनि सँगै हिड्ने वातावरण तयार गर्न सक्छौ भन्ने लाग्छ । हामी अहंकार बढ्न दिने छैनौ ।

संसदीय चुनावमा तपाईहरुले मागेको जति सिट कांग्रेस र माओवादीले नदेलान । अप्ठेरो त त्यहिबाट सुरु भएको होला नी ?
त्यो कुरा चाही उहाँहरूले बुझ्नुपर्छ । स्थानीय चुनावमा एमाले किन कमजोर बन्यो ? त्यो हामी विभाजित भएकै कारण हो । अझै गठबन्धन कसिलो हुन्थ्यो, अन्तरघात हुँदैन थियो भने एमालेको अझै ५० देखि ६० सिट कम हुने थियो । यदि स्थानीय चुनावमा हामीलाई पाखा लगाउन नखोजेको भए एमालेलाई अझै धेरै स्थानमा धक्का लाग्ने वाला थियो । किनकी हामीले धेरै ठाउँमा स्पेस नै पाएनौँ । यो कुरा मनन गरेर उहाँहरूले संसदीय चुनावमा एकीकृत समाजवादीलाई स्पेस दिनुहुनेछ भन्ने हाम्रो विश्वास छ ।

गठबन्धनसँग असन्तुष्ट हुनु भएका तपाईहरुले भित्र भित्रै एमालेसँग सहकार्य गर्न खोजेको, संवाद प्रक्रिया अघि बढाएको राजनीतिक वृत्तमा चर्चा नी । यस्तो प्रयास गर्नु भएको हो ?
चर्चा त राजनीतिमा विभिन्न कोणबाट भइरहन्छ । तर वास्तविकता के हो भने हामी जसका कारणले जुन प्रवृत्तिका कारणले पार्टी विभाजित गरेर हिड्ने बाध्य भयौँ । अहिले उहीसँग मिल्ने भन्ने कुनै हालतमा हुनै सक्दैन । केपी ओलीमा अहंकार रहिरहँदा हामी मिल्ने भन्ने होइन बरु एमालेमा नै थप भुइँचालो जाने खतरा मैले देखिरहेको छु । हामी अहंकार र दम्भ बोकेकाहरुसँग कुनै हालतमा सहकार्य गर्दैनौ । अझै एमालेको हकमा त कुनै सम्भावना नै छैन् ।

कांग्रेसले अहंकार देखाए माओवादी, जनता समाजवादी र तपाईहरु मिल्ने सम्भावना चाँही कति छ ? त्यस दिशातर्फ तपाईहरुको छलफल अघि बढेको हो ?
जनपक्षीय रूपान्तरणकारी र समाजवादी नीति तथा कार्यक्रम ल्याउन नेपाली कांग्रेसले कन्जुस्याँइ गर्यो वा उसले गठबन्धनको मूल भावनालाई छाडेर म एक्लै चुनाव जित्छु भन्ने शैलीमा अघि बढ्यो भने फरक खालको गठबन्धन हुनसक्छ । गठबन्धनमा रहेका अन्य दलहरूबीच सहकार्य गरेर हिँड्नु पर्ने परिस्थिति बन्न सक्छ । तर, अहिलेसम्म कांग्रेसले त्यो खालको व्यवहार देखाएको छैन् । हामीले पनि त्यसरी सोचेका छैनौँ । छलफल गरेका पनि छैनौँ ।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  २ : २१ बजे

‘पुजार सार्की’मा परीक्षा लिम्बू : अडिसनमा ६ वटा भिडियो पठाएपछि अनुबन्ध

काठमाडौं – जेठ १० बाट प्रदर्शनमा आउने फिल्म ‘पुजार सार्की’मा

अछामको एक कपडा पसलमा आगलागी

धनगढी । अछामको एक कपडा पसलमा आगलागी भएको छ। जिल्लाको

सफा हिमाल अभियान दुई मानव शव सङ्कलन

काठमाडौं – नेपाली सेनाको अगुवाइमा सञ्चालन भई रहेको सफा हिमाल

विकास प्रयासमा असफलता स्वीकार्दै प्रधानमन्त्री दाहाल, किन देखाउँदैछन्‌ २० चुनौती ?

काठमाडौं – १० वर्षे सशस्त्र संघर्ष त्याग्दै संसदीय मूलधारको बाटो

लागूऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले चलायो गोली

सुनसरी- सुनसरीमा प्रहरीले लागूऔषध कारोबारी युवतीमाथि गोली प्रहार गरेर नियन्त्रणमा