विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज जेठ २३, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुन ६, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

भारतमा बस दुर्घटना हुँदा २५ जनाको मृत्यु

भारतको उत्तराखण्डमा तीर्थयात्री बोकेको बस खाल्डोमा खस्दा २५ जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । २८ यात्रु बोकेको बस पहाडी राज्यको मुख्य तीर्थस्थल यमुनोत्री जाँदै थियो । सबै तीर्थयात्री मध्यप्रदेशको रहेको जनाइएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ‘आफ्ना प्रियजनहरू गुमाउनेहरू’ प्रति शोक व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले उत्तराखण्डमा भएको बस दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई दुई लाख भारु र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा पनि गरेका छन् ।

‘राज्य सरकारको निगरानीमा स्थानीय प्रशासन घटनास्थलमा सम्भव भएसम्मको सहयोगमा जुटेको छ,’ प्रधानमन्त्री कार्यालयले ट्विट गरेको छ । दुर्घटनापछि मुख्यमन्त्री शिवराज सिंह चौहानसहित राज्यमन्त्री बिजेन्द्र प्रताप सिंह, डीजीपी सुधीर सक्सेना, अतिरिक्त मुख्य सचिव राजेश राजोरालगायतको टोली देहरादून प्रस्थान गरेको थियो । दुर्घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

लण्डनमा पुटिनका आलोचकलाई विष खुवाउने रुसी जासुसको मृत्यु

सन् २००६ मा लन्डनमा रूसका पूर्व जासुस एवम् रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अलेक्ज्याण्डर लिट्भिनेन्कोलाई विष खुवाएर मारेको अभियोग लागेका रूसी जासुस दिमित्री कोभटुनको ५७ वर्षको उमेरमा मृत्यु भएको छ । बेलायतका अधिकारीहरूका अनुसार लिट्भिनेन्कोको हत्याको आरोप लगाएका रूसी सांसद आन्द्रेई लुगोभोईले कोभटुनको मस्कोको एक अस्पतालमा मृत्यु भएको बताएका हुन् । उनलाई कोभिड १९ रोग देखिएको बताइएको छ ।

कोभटुनलुगोवोईले लिट्भिनेन्कोको हत्या गरेको र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले त्यसलाई अनुमोदन गरेको निष्कर्ष बेलायती अनुसन्धानले निकालेको छ । त्यस्तै, मानव अधिकारसम्बन्धी युरोपेली अदालतले पनि बेलायती निष्कर्षको समर्थन गरेको छ । यद्यपि क्रेमलिनले आफ्नो संलग्नताको अस्वीकार गरेको छ । केजीबी र उसको उत्तराधिकारी एजेन्सी एफएसबीका पूर्व एजेन्ट लिटभिनेन्को सन् २००० मा रूसबाट भागेर लण्डन पुगेका थिए । उनले रूसी गुप्तचर सेवामा व्याप्त भ्रष्टाचार र सङ्गठित अपराधसँगको सम्बन्धको पर्दाफास गरेका थिए ।

नोभेम्बर २००६ मा लण्न्डनको एक होटलमा दुई रूसी पुरुषहरूसँग चिया पिएपछि नराम्ररी बिरामी भएका उनको तीन हप्ता पछि मृत्यु भएको थियो । उनले पिएको चियामा रेडियोएक्टिभ पोलोनियम–२१० मिसाइएको पाइएको थियो ।

उत्तर कोरियालाई जवाफ– अमेरिका र दक्षिण कोरियाद्वारा ८ क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको जवाफस्वरुप अमेरिका र दक्षिण कोरियाले पनि क्षेप्यास्त्र परीक्षण गरेका छन् । सोमबार अमेरिकी एवम् दक्षिण कोरियाली सेनाले ८ वटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको बीबीसीले जनाएको छ । सोमबार सबेरै अमेरिका र दक्षिण कोरियाका सेनाले जमिनबाट जमिनमा मार हान्न सक्ने आर्मी ट्याक्टिकल मिसाइल सिस्टम्सको परीक्षण गरेको हो । परीक्षण गरिएका आठ क्षेप्यास्त्रमध्ये सातवटा दक्षिण कोरियाली तथा एक अमेरिकी रहेको बीबीसीले जनाएको छ ।

अमेरिका र दक्षिण कोरियाले नियमित रुपमा कोरियाली प्रायद्वीपमा सैनिक अभ्यास गर्दै आएका छन् । यस्ता सैनिक अभ्यासप्रति उत्तर कोरियाले क्रुद्ध प्रतिक्रियाहरू जनाउने गरेको छ । यी दुई साझेदारले यसअघि उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको बेला पनि जवाफस्वरुप क्षेप्यास्त्र प्रहार गरी सैनिक अभ्यास गरेका थिए । गत महिनामा सत्ता सम्हालेका दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले उत्तर कोरियाविरुद्ध अझ सशक्त हुने संकेत देखाइरहेका बेला पछिल्लो घटनाक्रम विकास भएको हो ।उनले आफ्नो उत्तरी छिमेकीले सरकारले कुनै भड्काउने कार्य गरेको खण्डमा आफ्नो सरकारले जवाफ दिने चेतावनी दिएका छन् । ‘हाम्रा जनताको जीवन र सम्पत्तिको रक्षा गर्न कुनै कमी नराख्नेमा हामी विश्वस्त छौँ ।’ उनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

सर्बियाका छिमेकी मुलुकले उडानमा प्रतिबन्ध लगाएपछि रुसी विदेशमन्त्रीको भ्रमण स्थगित

सर्बियाका तीन छिमेकी मुलुकहरूले हवाई क्षेत्रमा उडानको अनुमति नदिएपछि रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभको सर्बिया भ्रमण स्थगित भएको छ । बीबीसीका अनुसार सर्बियाका छिमेकी मुलुकहरू बुल्गेरिया, उत्तर मेसेडोनिया र मोन्टेनेग्रोले रुसी विदेशमन्त्रीको विमानलाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्न दिन अस्वीकार गरेका हुन् । रुसी विदेशमन्त्रालयले लाभ्रोभको सर्बिया भ्रमण स्थगित भएको पुष्टि गरेको छ । यसबारे जानकारी माग्दा रुसी विदेशमन्त्रालयको स्रोतले ‘हाम्रो कूटनीति अहिलेसम्म टेलिपोर्टेसनमा माहिर भइसकेको छैन’ भन्ने टिप्पणी गरेको बीबीसीले जनाएको छ ।

रुसले गत फेब्रुअरी २४ मा युक्रेनविरुद्ध सैनिक आक्रमण थालेपछि विभिन्न मुलुकहरुले रुसी विमानलाई आफ्नो आकास प्रयोग गर्न दिन अस्वीकार गर्दै आएका छन् । युक्रेनमाथि रुसी आक्रमणका बावजुद सर्बिया र रुसबीच अझै पनि मैत्रिपूर्ण सम्बन्ध नै कायम रहेको बताइएको छ । अन्य युरोपेली मुलुकहरूजस्तै सर्बियाले भने रुसमाथि प्रतिबन्ध नलगाएको बीबीसीले जनाएको छ ।

अरु युरोपेली मुलुकजस्तै सर्बिया पनि रुसी ऊर्जामा निर्भर रहेको छ । रुसी आक्रमणको सुरुवाती दिनहरूमा सर्बियाको राजधानी बेल्ग्रेडमा हजारौँ मानिसहरूले रुसी आक्रमणको समर्थनमा प्रदर्शन गरेका थिए । लाभ्रोभले यही जुन ६ र ७ मा सर्बियाको भ्रमण गरी त्यहाँका राष्ट्रपति अलेक्जाण्डर भुचिचसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको थियो ।

विश्वभर मङ्कीपक्स भाइरसका सङ्क्रमितको संख्या ह्वात्तै बढ्यो

विश्वभर मङ्कीपक्स भाइरसबाट सङ्क्रमितहरूको संख्या ह्वात्तै बढेको छ । प्राय मङ्कीपक्स नपाइने देशहरूमा ७८० जनामा संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ । यो कूल संख्या एक साता अघिको तुलनामा तीन गुणा बढी हो । बीबीसीले जनाएअनुसार एक साताअघि यो संख्या २ सय ५७ रहेको थियो ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओले यसको जोखिमको स्तर ‘मध्यम’ रहेको जनाएको छ । मङ्कीपक्स प्रायः मध्य एवम् पश्चिम अफ्रिकामा पाइन्छ । यद्यपि पछिल्लो समय यो भाइरस उत्तर अमेरिका र युरोपमा देखा परेको जनाइएको छ । यसबाहेक मोरक्को, अर्जेन्टिना, मोरक्को, मेक्सिको र संयुक्त अरब इमिरेट्सजस्ता मुलुकमा पनि यसका संक्रमित फेला परेका छन् । बीबीसीका अनुसार बेलायतमा सबैभन्दा धेरै २०७ जनामा यो भाइरस पाइएको छ । यस्तै, स्पेनमा १५६ र पोर्चुगलमा १३८ जना मङ्कीपक्सका संक्रमित फेला परेका छन् ।

‘अरू देशहरूले पनि संक्रमित फेला पार्न सक्ने र भाइरस थप फैलन सक्ने सम्भावना उच्च देखिएको छ’ डब्लुएचओलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यद्यपि पछिल्लो प्रकोपबाट कसैको मृत्यु भएको पुष्टि नभइसकेको जनाइएको छ । डब्लुएचओका अनुसार अहिलेसम्म पुष्टि भएका संक्रमितमध्ये अधिकांश समलिङ्गी यौन सम्बन्ध राख्ने पुरुषहरू छन् । मङ्कीपक्स संक्रमण यौनसम्पर्कका कारण सर्छ भन्ने पुष्टि भइसकेको छैन । यद्यपि बेलायती रोग नियन्त्रण एवम् रोकथाम निकाय युकेएचएसले भने संक्रमितहरुलाई यौन सम्पर्क नराख्न आग्रह गरेको छ ।

युक्रेनमा पश्चिमा मुलुकले हतियार पठाए आक्रमण विस्तार गर्ने पुटिनको चेतावनी

पश्चिमा देशहरूले किभमा लामो दूरीसम्म प्रहार गर्न मिल्ने अस्त्रहरू पठाएमा आफूले युक्रेनमा आक्रमण गर्ने लक्ष्यको सूची विस्तार गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । युक्रेनको राजधानी किभमा हप्तौँपछि भएको पहिलो हवाई हमलामा आइतबार केही भागहरूमा विस्फोट गराइएका बेला पुटिनको यस्तो भनाइ आएको हो । रुसले युरोपेली देशहरूबाट पठाइएका ट्याङ्कहरूमा आक्रमण गरेको बताएको छ, तर युक्रेनले रुसले रेलवे मर्मत केन्द्रमा आक्रमण गरेको जनाएको छ । युद्धकै अर्को घटनामा डोन्बास क्षेत्रको लडाइँमा एक रूसी जेनेरल मारिएका छन्। रुसले मार्चको अन्त्यमा किभ क्षेत्रबाट फिर्ता गरेर आफ्ना सैनिकहरूलाई डोन्बास क्षेत्रमा पुनः केन्द्रित गरेको थियो ।

रुसले त्यस क्षेत्रमा ढिलो तर स्थिर गतिमा प्रगति गरिरहेको छ । उसले पूर्वी क्षेत्रको सयौँ किलोमिटर आफ्नो नियन्त्रणमा लिइरहेका बेला कैयौँ पश्चिमा देशले किएभमा थप शक्तिशाली र विकसित खालका अस्त्र पठाउने वाचा गरेका छन् । हालै मात्र अमेरिकाले एम–१४२ हाई मोबिलिटी आर्टिलरी रकेट प्रणाली (एचआईएमएआरएस) पठाउने घोषणा गरेको थियो ।

अमेरिकी सैन्य सहायता प्याकेजमा हेलिकप्टर, ट्याङ्कविरुद्ध प्रयोग गरिने अस्त्रहरू, रणनीतिक सवारीसाधन र स्पेयर पार्ट्स पनि समावेश रहेका छन् । रुसी हवाई आक्रमणबाट पूरै सहरलाई जोगाउनका लागि युक्रेनलाई सक्षम बनाउन जर्मनीले आफ्नो सबैभन्दा आधुनिक वायु रक्षा प्रणाली आइरिस–टी पठाउने प्रतिबद्धता जनाएको छ । रुसी सरकारी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा पुटिनले भने, ‘सामान्यतः मेरो विचारमा अतिरिक्त अस्त्र आपूर्तिबारे भइरहेका यी सबै हल्लाहरूको एउटै उद्देश्य छ– सकेसम्म धेरै समयसम्म सशस्त्र द्वन्द्वलाई लम्ब्याउनु ।’

उनले अमेरिकाले अहिले के आपूर्ति गरिरहेको छ भन्ने कुरा नयाँ कुरा नभएको बताए। लामो दूरीका क्षेप्यास्त्रहरू पठाउने कदमविरुद्ध चेतावनी दिँदै भने, ’यदि ती आपूर्ति गरिएमा हामी उपयुक्त निष्कर्ष निकाल्नेछौँ र ती लक्ष्यहरूमा हाम्रा अस्त्रहरू प्रहार गर्नेछौँ जहाँ हामीले अहिलेसम्म प्रहार गरेका छैनौँ’ । उनले त्यसका लागि आफूहरूसँग पर्याप्त अस्त्रहरू पनि रहेको बताएका छन् ।

आर्थिक सङ्कट– पाकिस्तान पनि श्रीलङ्काकै बाटोमा

पाकिस्तान पनि श्रीलङकाझै आर्थिक सङ्कटको बाटोमा उन्मुख भएको समाचार सार्वजनिक भएको छ । पाकिस्तानले आफ्ना विगतका गल्ती र आन्तरिक रूपमा वर्तमान घटनालाई अस्वीकार गर्दै अघि बढेकाले चरम आर्थिक सङ्कट झेल्नुपर्ने परिस्थिति उत्पन्न हुने चेतावनी ट्रु सिलोनले दिएको हो । अति महत्वाकाङक्षी राजनीतिक नेतृत्व, अत्यधिक बाह्य ऋण तथा आर्थिक कुप्रबन्धका कारण विगत दुई महिनादेखि गम्भीर सामाजिक,आर्थिक एवम् राजनीतिक सङ्कटको भुमरीमा परेको श्रीलङकाबाट सिक्ने चेष्टा नगरेको पाकिस्तान उल्टै उसैको पदचाप पछ्याइरहेको टिप्पणी ट्रु सिलोनले गरेको छ ।

“विदेशी मुद्रा सञ्चिति, खाद्यान्न, इन्धन र औषधिको अभावले पाकिस्तानले पनि चाँडै नै श्रीलङ्काले झै सङ्कटको सामना गर्नुपर्‍यो भने अचम्म नमान्दा हुन्छ,” पाकिस्तानको राजनीतिक नेतृत्व सत्ताका केन्द्रित भएको आरोप लगाउँदै ट्रु सिलोनले भनेको छ । आर्थिक नीतिप्रति राजनीतिक दलहरू गम्भीर नभएकाले परिस्थिति थप जटिल बन्दै गएको छ । पाकिस्तानको चालु खाता घाटा तीव्र गतिमा बढेको तथा विदेशी मुद्रा सञ्चिति पनि उस्तै गतिमा घटिरहेको, खाद्यान्न र इन्धनको आयातमा भारी वृद्धि भएको तथ्याङ्क ट्रु सिलोनले समाचारमा प्रस्तुत गरेको छ ।

आर्थिक वर्ष २०२०–२१ (जुलाई–अप्रिल) मा ४४.७ अर्ब अमेरिकी डलरको आयात भएकामा आर्थिक वर्ष २०२१–२२ (जुलाई–अप्रिल) मा करिब ५८ प्रतिशतले बढेर ६५.५ अर्ब अमेरिकी डलर पुगेको, अघिल्लो आर्थिक वर्षमा ८.७ अर्ब अमेरिकी डलरमा सीमित रहेको पेट्रोलियम पदार्थको आयात ९५ प्रतिशतले बढेर १७ अर्ब अमेरिकी डलर पुगेको जनाइएको छ । व्यापार घाटा पनि २४ अर्ब डलरबाट बढेर ३९ अर्ब डलर पुगेको छ ।

यमनमा सरकार र हुथी विद्रोहीबीच दोस्रो चरणको वार्ता सुरु

यमनको सरकार र हुथी विद्रोहीका बीचमा दोस्रो चरणको वार्ता सुरु भएको छ ।   यमनको ताइज भन्ने स्थानमा यी दुई पक्ष वार्ताका लागि बसेका बताइएको छ । यमनका लागि संयुक्त राष्ट्रसंघको विशेष दूत हान्स ग्रुन्बर्गको विशेष उपस्थितिमा सो वार्ता हुन लागेको बताइएको छ । त्यहाँको सरकार र हुथीहरूले पहिलो चरणमा गरेको वार्तामा केही प्रगति भएको बताइएको थियो । त्यसको केही समयपछि दोस्रो चरणको वार्ता हुन लागेको हो । यमनमा हुथी विद्रोहीहरुले वर्षौँदेखि हिंसा जारी राखेका छन् ।

जसका कारण हजारौँ नागरिकको ज्यान गएको छ । त्यहाँको विद्रोहको राजनीतिक समाधान निकाल्नुपर्नेमा संयुक्त राष्टसंघले जोड दिँदै आएको छ । वार्ताका विषयमा संयुक्त राष्टसंघ, यमनी सरकार तथा हुथी विद्रोहीहरुका तर्फबाट पनि कुनै वार्ताका विषयमा कुनै प्रतिक्रिया आएको छैन ।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ७ : ५६ बजे

सर्वोउत्कृष्ट १० कविता पुरस्कारका लागि सिफारिस

काठमाडौं – नेपाल प्रज्ञा प्रतिष्ठानले सर्वोउत्कष्ट १० कविता पुरस्कारका लागि

विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यमा पौडेल नियुक्त

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको सदस्यमा इञ्जिनियर रोहित

तेहरानमा हालसम्मकै शक्तिशाली आक्रमण गरेको इजरायलको दाबी

तेहरान – इजरायलले सोमबार इरानको राजधानी तेहरानमा स्थित इरानी सेनाको

हदबन्दी माथिको जग्गा अनियमितता गर्नेलाई कारबाही हुन्छः मन्त्री अधिकारी

काठमाडौं – भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले

घरेलु मदिराको बजारीकरण विशेष प्राथमिकतामा छः उद्योगमन्त्री भण्डारी

काठमाडौं – सरकारले घरेलु मदिराको बजारीकरण गरी आर्थिक उपार्जनका लागि