आज भदौ २१ २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर ६, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :
लिज ट्रसलाई हरेक पाइलामा समर्थन गर्ने बोरिस जोनसनको बाचा
बेलायतका निवर्तमान प्रधानमन्त्री बोरिस जोनसनले मङ्गलबार आफ्नो उत्तराधिकारी लिज ट्रसलाई समर्थनको बाचा गरेका छन् । उनले बेलायती प्रधानमन्त्रीको रुपमा १० डाउनिङ स्ट्रिटमा आफ्नो विदाई सम्बोधनका क्रममा यस्तो बाचा गरेका हुन् ।
जोनसनको कार्यकाल ब्रेक्सिट र कोभिडको प्रभुत्व रहेको थियो । महारानी एलिजाबेथ द्वितीयसँग भेटवार्ता गर्न स्कटल्याण्ड जानुअघि जोनसनलाई उनका समर्थकहरुले जयजयकार र ताली बजाएर विदाई गरेका थिए ।
उनले भने ‘म लिज ट्रस र नयाँ सरकारलाई हरेक पाइलामा समर्थन गर्नेछु ।’ उनले आफ्नो सत्तारुढ कन्जरभेटिभ पार्टीलाई उर्जा सङ्कट समाधान गर्नका लागि आफ्नो मतभेदलाई पन्छाउन आग्रह गरेका छन् ।
उर्जा सङ्कट ट्रसको कार्यकालको निकट भविष्यमा चुनौतीका रुपमा देखा पर्ने अपेक्षा गरिएको छ ।
“यदि डिलिन (उनको कुकुर) र ल्यारी (डाउनिङ स्ट्रिटको मुसा मार्ने आधिकारिक बिरालो) ले उनीहरूको सामयिक कठिनाइहरू पछाडि राख्न सक्छ भने कन्जरभेटिभ पार्टीले पनि सक्छ,“ उनले थपे ।
आतङ्कवादीसँगको झडपमा पाकिस्तानमा ५ सैनिकको मृत्यु
पाकिस्तानमा ५ सैनिकको मृत्यु भएको छ । पाकिस्तानको उत्तरी वजिरिस्तान जिल्लाको बोया क्षेत्रमा आतङ्कवादीहरूसँग भएको झडपमा पाँच जना पाकिस्तानी सैनिकको मृत्यु भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।
गोप्य सूचनाका आधारमा उक्त स्थानमा सेनाले कारवाही गर्दा चार जना आतङ्ककारी पनि मारिएको पाकिस्तानी सेनाको अन्तरसेवा सार्वजनिक सम्बन्ध अर्थात् इन्टर सर्भिसेस पब्लिक रिलेसन्स (आइएसपीआर) ले जनाएको छ ।
उक्त स्थानबाट हातहतियार पनि बरामद भएको जनाइएको छ । मारिएका आतङ्ककारीहरु सुरक्षा फौज एवम् निर्दोष नागरिकको हत्यामा सक्रिय रूपमा संलग्न रहेको आईएसपीआरले जनाएको छ ।
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा प्रहरीमाथि आक्रमणका घटना बढ्दै गएका छन् । पाकिस्तानी अधिकारीहरूले सबै सुरक्षा चौकीहरूमा सुरक्षा व्यवस्था सुदृढ बनाएका छन् ।
यसअघि गत साउन ३० गते सुरक्षा बलले उत्तरी वजिरिस्तान जिल्लाको मीरअली क्षेत्रमा गरेको कारबाहीका क्रममा एक जना आतङ्कवादीको मृत्यु भएको थियो ।
त्यसअघि सोही इलाकामा आतङ्ककारी र सुरक्षाकर्मीबीच झडप हुँदा एक जना सैनिक जवानको मृत्यु भएको थियो ।
रुस नियन्त्रित युक्रेनी भूभागमा जनमत संग्रह स्थगित
युक्रेनको दक्षिणी सहर खेरसनमा रुसी अधिकारीले सुरक्षाको कारण देखाउँदै रुससँग सामेल हुने तथाकथित जनमत संग्रह स्थगित गरेका छन् ।
‘सुरक्षा अवस्थाका कारण यो रोकिएको हो’, त्यहाँ रुसी नियुक्त प्रशासनका उपप्रमुख किरिल स्ट्रेमोसोभले भने ।
भारी युक्रेनी गोलाबारीले खेरसनको मुख्य पुलमा अवरोध भएको उनले बताए। युक्रेन र यसका पश्चिमा सहयोगीले खेरसन र अन्य क्षेत्रमा जनमत संग्रह योजनालाई गैरकानुनी भन्दै निन्दा गरेका छन् ।
यसैबीच, युक्रेनी सेनाले मध्य खेरसनबाट करिब १६७ किलोमिटर (१०४ माइल) उत्तरमा रहेको सानो सहर भाइसोकोपिल्या सहरलाई पुनः कब्जा गरेको दाबी गरेको छ ।
झण्डै ४ हजार बासिन्दा रहेको सहरमा युक्रेनी झण्डा फहराउँदै गरेको तस्बिर सार्वजनिक भएको छ ।
चीनमा भूकम्प– मृतकको सङ्ख्या ६५ पुग्यो
चीनमा गएको शक्तिशाली भूकम्पमा कम्तीमा ६५ जनाको मृत्यु भएको छ । दक्षिण पश्चिम चनिमा गएको ६ दशमलब ६ म्याग्निच्युडको भूकम्प जाँदा ६५ जनाको मृत्यु भएको चिनियाँ अखबार ग्लोबल टाइम्सको अनलाइन संस्करणले जनाएको छ । भूकम्पमा परी अन्य केही घाइते भएका छन् ।
सिचाआन प्रान्तमा स्थानीय समयअनुसार १ बजे भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दुको गहिराइ १० किलोमिटर रहेको छ । भूकम्पले दूरसञ्चारका लाइन बिच्छेद गर्नुका साथै पहाडमा पहिरो गएको छ ।
गत हप्ता सिचुआनको राजधानी चेङ्डुकाका करिब २ करोड १० लाख मानिसलाई कोभिड प्रतिबन्धका कारण घरमै बस्न आदेश दिइएको थियो ।
भूकम्पको केन्द्रबिन्दु चेङ्डुबाट २२६ किलोमिटर दक्षिणपश्चिममा रहेको दुर्गम पहाडी क्षेत्रमा पर्ने लुडिङ सहर रहेको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ ।
सरकारी सञ्चार माध्यम सीसीटीभीका अनुसार भूकम्पका कारण यान सहरमा १७ जना र छिमेकी प्रान्त गान्जीमा २९ जनाको मृत्यु भएको बताएको छ । भूकम्पपछि १६ जना हराइरहेका र ५० जना घाइते भएका छन् ।
भूकम्पले सडकमा धाजा फाटेको छ, पहाडमा पहिरो गएको छ र प्रभावित क्षेत्रका १० हजार घरमा दुरसञ्चार सेवा अवरुद्ध भएको थियो ।
वर्षाजन्य प्रकोप व्यवस्थापन गर्न नसकेको भन्दै पाकिस्तानमा प्रदर्शन
भारी वर्षासँगैको बाढी र पहिरो जस्ता प्रकोपको उचित व्यवस्थापन गर्न नसकेको भन्दै पाकिस्तानमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
पाकिस्तानको पञ्जाब प्रान्तका विद्यार्थीहरुले सरकारले प्राकृतिक प्रकोपको उचित व्यवस्थापन गर्न नसकेको भन्दै विद्यार्थीहरुले प्रदर्शनको आयोजना गरेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।
डनका अनुसार पञ्जाब प्रान्तका डेरा गाजी खान र रञ्जनपुर जिल्लामा विद्यार्थीहरु प्रदर्शनमा उत्रेका हुन् ।
प्रदर्शनमा पञ्जाब विश्वविद्यालय र किङ एडवर्ड चिकित्सा विश्वविद्यालयका विद्यार्थीहरु सहभागी रहेको जनाइएको छ ।
पाकिस्तानमा आएको बाढीबाट हालसम्म १३ सयभन्दा धेरैको ज्यान गइसकेको छ भने अरु लाखौँ मानिसहरु प्रभावित भएका छन् । पाकिस्तान सरकारले बाढीपीडितलाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग आह्वान गरेको छ ।
उत्तर प्रदेशका भाजपा विधायकको निधन
नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशका विधायक अरविन्द गिरिको निधन भएको छ । भारतीय जनता पार्टी भाजपाका विधायक अरविन्द गिरिको हृदयघातका कारण मङ्गलबार मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उनी उत्तर प्रदेश राज्यको लखिमपुर खेरी जिल्लाको गोला गोक्रनाथ विधानसभा क्षेत्रबाट पाँच पटक विधायक रहिसकेका छन् । उपचारका लागि राज्यको राजधानी लखनउ ल्याउँदा बाटोमा नै उनको मृत्यु भएको हो ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेता गिरिको निधनले राज्यलाई अतुलनीय क्षति भएको बताउँदै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
बोरिस जोनसनले आफूलाई सिनसिनाटससँग तुलना गरेपछि…
निवर्तमान बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आफूलाई रोमन राजनेता लुसियस क्विन्सटियस सिनसिनाटससँग तुलना गरेका छन् ।
बेलायती प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिटमा आफ्नो विदाई सम्बोधनमा निवर्तमान बेलायती प्रधानमन्त्री जोनसनले आफूलाई सिनसिनाटससँग तुलना गरेका हुन् ।
‘म यो भनौँ– अहिले म बुस्टर रकेट जस्तो हुँ, जसले आफ्नो कार्य पूरा गरेको छ, र अब म विस्तारै पृथ्वीको वायुमण्डलमा प्रवेश गरी प्रशान्त महासागरको कुनै कुनामा अदृश्य रुपमा खसेको छु ।’ सम्बोधनका क्रममा जोनसनले भने, ‘सिनसिनाटसजस्तै म पनि अब हलो जोत्न फर्किँदैछु ।’
पाचौँ शताब्दी ईसापूर्वका रोमन गणतन्त्रका राजनेता सिनसिनाटसलाई पश्चिमा इतिहासको महत्वूर्ण व्यक्तित्व मानिन्छ । रोम गणतन्त्र बन्नुअघि अधिराज्य नै रहेका बेला सिनसिनाटसको जन्म ईसापूर्व ५१९ मा रोमन समाजको उपल्लो ‘पट्रिशन’ वर्गमा भएको थियो ।
पछि ४६० ईसापूर्वमा उनलाई तत्कालीन प्रचलन अनुसार एक वर्षका लागि रोमन गणतन्त्रका दुईमध्ये एक कन्सुल अर्थात् शासक नियुक्त गरिएको थियो । आफ्नो कन्सुलर पदावधि सकिएपछि सिनसिनाटस रोम सहर भएर बग्ने टाइबर नदी पारी आफ्नै जमिनमा हलो जोत्न फर्केका थिए ।
४५८ ईसापूर्वमा प्राचीन इटालियन जाती एक्वेइनले रोमन गणतन्त्रमाथि आक्रमण गर्दा एकजना तत्कालीन रोमन कन्सुलको मृत्यु भएपछि सिनसिनाटसलाई तानाशाह अर्थात् ‘डिक्टेटर’ घोषित गरिएको थियो ।
सिनेटले आफूलाई तानाशाह नियुक्त गरेको खबर पाउने बेला सिनसिनाटस खेतमै हलो जोतिरहेको अवस्थामा फेला परेको इतिहासकारहरु बताउँछन् ।
सिनसिनाटसको सैनिक नेतृत्वमा रोमन गणतन्त्रले एक्वेइन जातीमाथि विजय प्राप्त गरेको थियो । त्यसपछि सिनसिनाटसले पदबाट राजीनामा दिँदै पुनः हलो जोत्न आफ्नै खेत फर्केको बताइन्छ ।
पछि ४३९ ईसापूर्वमा पनि उनलाई पुनः दोस्रोपटक डिक्टेटर घोषित गरिएको थियो ।
सिनसिनाटसको व्यक्तित्वबाट अमेरिकी संस्थापक जर्ज वाशिंटन अत्यन्त प्रभावित भएको बताइन्छ । सिनसिनाटसकै नामबाट अमेरिकाको ओहायो राज्यमा रहेको सिनसिनाटी सहरको नाम राखिएको हो ।
चीनमा माझीसँगै माझीले समातेका माछामा पनि कोरोना भाइरसको परीक्षण
कोरोना भाइरसको प्रकोप रोक्न चीनले माछा मार्ने माझी मात्रै नभई माझीले समातेका माछाहरु समेत परीक्षण गर्ने गरेको पाइएको छ ।
ब्लूमबर्गका अनुसार चिनियाँ अधिकारीहरुले दक्षिणी फुजियान प्रान्तको सियामेन सहरमा माझीहरुसँगै उनीहरुले समातेको माछामा पनि कोरोना भाइरसको परीक्षण गर्दै आएका छन् ।
सियामेन सहरको तटपारी अवस्थित हाइनान टापुमा कोरोना भाइरसको प्रकोप अझ खराब बन्दै जाँदा अधिकारीहरुले माझी र उनीहरुले समातेका माछामा पनि कोरोना भाइरसको परीक्षण गर्दै आएका छन् ।
चिनियाँ अधिकारीले माछामा समेत कोरोना भाइरसको परीक्षण गर्दै आएको घटनालाई लिएर भने सामाजिक सञ्जालमा बहस र आलोचना सुरु भएको ब्लुम्बर्गले जनाएको छ ।
सियामेन सहरको जिमेई जिल्लाका अधिकारीहरुले गत जुलाई महिनामा माछामा समेत कोरोना भाइरसको परीक्षण गरिने जनाएका थिए ।
सो क्षेत्रमा रहेका माझीहरुले विदेशबाट अवैध तरिकाले विदेशी माछा आयात गर्ने गरेको र यसकारण कोरोना भाइरसको जोखिम बढ्ने सरकारी अधिकारीको भनाइ छ ।
यसबारे जिमेई क्षेत्रका अधिकारीहरुले कुनै टिप्पणी नगरेको ब्लूम्बर्गले उल्लेख गरेको छ ।
कोरोना अपडेट
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि दक्षिण कोरियामा भने कोरोना सङ्क्रमण उल्लेखनिय रुपमा नघटेको पाइएको छ ।
पछिल्लो पटक सार्वजनिक गरिएको विवरणअनुसार देशमा ९९ हजार आठ सय ३७ जना नयाँ सङ्क्रमित थपिएका छन् । हाल दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई करोड ३७ लाख छ हजार चार सय ७७ पुगेको स्वास्थ्य अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणको कारण दक्षिण कोरियामा ४३ जनाको मृत्यु भएको छ । योसँगै दक्षिण कोरियामा कोभिड लागेर ज्यान गुमाउनेको सङ्ख्या २७ हजार एक सय ९३ पुगेको छ । दक्षिण कोरियामा तत्काल यो महामारी साम्य हुने लक्षण नदेखिएको बताइएको छ ।
यसैबीच भारतमा एकै दिनमा चार हजार भन्दा बढीमा कोरोना सङ्क्रमण भएको छ । भारतमा २४ घण्टाको समयावधीमा चार हजार चार सय १७ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको छ ।
यसैसँगै भारतमा चार करोड ४४ लाख ६६ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । भारतमा एक दिन अगाडि प्रकाशित तथ्याङ्कअनुसार चौबीस घण्टामा पाँच हजार नौ सय १० जनामा सङ्क्रमण देखिएको थियो । भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ ।
भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ५२ हजार तीन सय ३६ जना रहेका छन् । नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् ।
२४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमणबाट भारतमा २३ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २८ हजार ३० भन्दा बढीको मृत्यु भएको छ ।
भारतमा हिजो एक दिनमा छ हजार ३२ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ८६ लाख चार सय ९६ जना कोरोनामुक्त भएका छन् ।
भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म दुई अर्ब १३ करोड ७२ लाख ६८ हजार छ सय १५ भन्दा बढी मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसम्म ८८ करोड ७० लाख भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।
प्रतिक्रिया