विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस :

आज असार २३, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई ७, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

जोनसनद्वारा पदबाट राजीनामा

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पदबाट राजीनामा दिएका छन् । बेलायती प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिटमा सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले राजीनामा दिएको घोषणा गरेका हुन् । ‘नयाँ नेता चुन्ने प्रक्रिया अब सुरु हुनुपर्छ ।’ प्रधानमन्त्री जोनसनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसद् तथा उनी नेतृत्वको मन्त्रिपरिषद्का प्रभावशाली मन्त्रीहरूले जोनसनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिएसँगै जोनसनमाथि पनि राजीनामा दिन दबाब उत्पन्न भएको थियो ।

यद्यपि प्रधानमन्त्री जोनसनले आफूले राजीनामा नदिने अडान लिएका थिए । उनले राजीनामा दिएसँगै नयाँ प्रधानमन्त्री टुङ्गो नलागेसम्मका लागि आफैँले प्रधानमन्त्रीको जिम्मेवारीलाई निरन्तरता दिने बताएका छन् ।

भोकमरी बढ्यो

कोभिड–१९ को महामारी र युक्रेनमा जारी रुसी आक्रमणका कारण विश्वभर भोकमरीबाट पीडित व्यक्तिको संख्या १५ करोडले बढेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघलले एक प्रतिवेदन सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।

युक्रेन संकटले आगामी महिनामा झन् नराम्रो बनाउन सक्ने र यसले विश्वभरका सबैभन्दा बढी प्रभावित देशहरूलाई अनिकालतर्फ धकेल्न सक्ने चेतावनी पनि राष्ट्रसंघले दिएको छ । प्रतिवेदनअनुसार विश्वभर करिब ८२ करोड ८० लाख मानिस कुनै न कुनै प्रकारको कुपोषणबाट ग्रस्त छन् । यो गत वर्षको तुलनामा ४ करोड ६० लाखले बढी र महामारीअघिको संख्याको तीन गुणा हो ।

‘आगामी महिनाहरूमा यो संख्या अझ बढ्ने वास्तविक खतरा छ’  संयुक्त राष्ट्रको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) का कार्यकारी निर्देशक डेभिड बिस्लेले भने । ‘युक्रेनको संकटको परिणामस्वरूप खाद्यान्न, इन्धन र मलको विश्वव्यापी मूल्य वृद्धिले विश्वभरका देशहरूलाई अनिकालमा धकेल्ने खतरा छ । यसको नतिजा विश्वव्यापी अस्थिरता, भोकमरी र अस्वाभाविक सामूहिक बसाइसराइ हुनेछ । यो प्रकोप रोक्नको लागि हामीले आज काम गर्नुपर्छ’ उनले अगाडि भने ।

यसैबीच, संयुक्त राष्ट्रसङ्घले ल्याटिन अमेरिकी र क्यारेबियन क्षेत्रमा भोकमरीको समस्या चरम रुपमा बढ्दै जानसक्ने चेतावनी दिएको छ । राष्ट्र सङ्घीय खाद्य कार्यक्रम (एफएओ) ले सो चेतावनी दिएको हो । पछिल्ला दिनहरूमा ल्याटिन अमेरिकी र क्यारेबियन क्षेत्रीय देशहरूमा बढ्दै गएको खाद्य असुरक्षाका कारण त्यहाँ भोकमरी बढ्दै जाने अवस्था देखिएको सो कार्यक्रमले जनाएको हो । 

त्यहाँ हरेक वर्ष खाद्य असुरक्षा बढ्दै गएको र भोकमरीमा परेका नागरिकहरूको संख्या पनि वर्षेनी बढ्दै गएको देखिएको अधिकारीहरूले जनाएका छन् ।  विश्व खाद्य कार्यक्रमका अधिकारीहरूले सन् २०२१ को तुलनामा यस वर्षमात्र कम्तीमा पनि ४० लाख नागरिक भोकमरीको चपेटामा परेका पाइएको पनि बताएको छ । 

यस क्षेत्रमा सन् २०२० र २०२१ मा सम्ममा करिब ५ करोड ६५ लाख  नागरिक भोकमरीको चपेटामा परेका थिए । साथै यसै अवधिमा त्यहाँका २६ करोड ८० लाख नागरिकहरू खाद्यान्नको असुरक्षाको अवस्थामा परेका पनि पाइएको समाचारमा जनाइएको छ । 

यसरी वर्षेनी खाद्य असुरक्षामा पर्ने र खाद्यान्न अभावमा रहेका नागरिकहरूको संख्या बढ्दै गएको भन्दै आगामी केही समयमै यहाँ भोकमरीमा पर्ने नागरिकको संख्या निकै धेरै हुने भएकाले त्यसको आवश्यक तयारी गर्न पनि संयुक्त राष्ट्रसङ्घीय खाद्य कार्यक्रमले आग्रह गरेको छ । खडेरी तथा अन्य विविध कारणहरूले यहाँ हरेक वर्ष खाद्यान्न उत्पादनमा पनि कमी आएको र यसका कारण यहाँ खाद्यान्न संकट बढ्दै जाने बताइएको छ ।

पन्जाबका मुख्यमन्त्रीको विवाह

पन्जाबमा मुख्यमन्त्री भागवन्त मानले विवाह गरेका छन् । मुख्यमन्त्री मानले आज चण्डीगढस्थित आफ्नै घरमा एउटा समारोहमा विवाह गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । ४८ वर्षीय मानले गुरप्रीत कौरसँग विवाह गरेका हुन् ।

विवाहमा परिवार र नजिकका आफन्त मात्र सहभागी रहेको जनाइएको छ । यसअघि उनको सम्बन्धविच्छेद भएको थियो ।

उनका दुई सन्तान छन् । उनका सन्तान आमासँगै अमेरिकामा बस्छन् । १६ मार्चमा मानको शपथ समारोहमा उनीहरू अमेरिकाबाट पञ्जाब आएका थिए । यसै वर्षको सुरुमा भएका निर्वाचनमा आम आद्मीले ऐतिहासिक विजय हासिल गरेपछि उनी मुख्यमन्त्री बनेका थिए ।

अविरल वर्षासँगै मुम्बई जलमग्न

भारी वर्षाका कारण मुम्बई र वरपरको क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ । अविरल वर्षाले देशकै वित्तीय राजधानी मुम्बईका धेरै भाग जलमग्न हुनुका साथै विभिन्न स्थानमा बाढी आएको छ । भारतको मौसम विभागले शहर र यसका छिमेकी जिल्लाहरूका लागि ‘अरेन्ज अलर्ट’ जारी गर्दै आगामी पाँच दिनसम्म भारी वर्षा हुने प्रक्षेपण गरेको छ ।

राष्ट्रिय प्रकोप प्रतिक्रिया फोर्सका टोलीलाई पूर्व सावधानी उपायको रूपमा सहरमा तैनाथ गरिएको छ । महाराष्ट्र राज्यमा मनसुन वर्षा सामान्य हो । वर्षाले लाखौँ किसानको भाग्यलाई मार्गनिर्देशनसमेत गर्छ । अधिकांश किसान आफ्नो उत्पादनका लागि वर्षामा निर्भर छन् ।

विज्ञहरूका अनुसार पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनले वर्षालाई  कम अनुमान गर्न नसकिने बताएको छ । अनियन्त्रित सहरी विकासले सामान्यतया सडक तथा घरहरूमा पहिरो निम्त्याएको छ । हजारौँ मानिसहरू रोजगारीको खोजीमा हरेक दिन मुम्बईमा बसाइँ सर्छन्, जसका कारण द्रुत गतिमा निर्माण कार्य भइरहेको छ । धेरै क्षेत्रमा पुरानो ढल निकासी प्रणाली छ, जसले बाढी निम्त्याउँछ ।

पुटिनसँगको टेलिफोन वार्तामा श्रीङ्काकाली राष्ट्रपतिद्वारा इन्धन आयात गर्न तत्काल ऋण सहयोगका लागि आग्रह

स्वतन्त्रता पाएयता कै सबैभन्दा खराब वित्तीय सङ्कटसँग लडिरहेको श्रीङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गर्दै इन्धन आयात गर्न तत्काल ऋण सहयोगका लागि आग्रह गरेका छन् । दुई नेताले कोलम्बोले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग सहयोग बारे प्याकेजमा वार्ता गरे पनि ऊर्जा लगायत अन्य थुप्रै प्रमुख क्षेत्रमा दुई देशबीचको द्विपक्षीय सहयोगबारे छलफल भएको हो ।

‘रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग धेरै फलदायी वार्ता भयो । विगतका चुनौतीहरू पार गर्न आफ्नो सरकारले प्रदान गरेको सबै सहयोगको लागि उहाँलाई धन्यवाद दिँदै मैले वर्तमान सङ्कटलाई पराजित गर्न पनि श्रीलङ्कालाई इन्धन आयात गर्न ऋण सहयोगको प्रस्ताव अनुरोध गरें ।’ गोटाबायाले भने ।

गोटाबायाले पुटिनलाई श्रीलङ्कामा रूसी एयरलाइन्स एरोफ्लोट पुनः सञ्चालन गर्न पनि अनुरोध गरेका छन् । ‘पर्यटन, व्यापार लगायत अन्य क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने कुरामा हामी सहमत भएका छौं ।’ उनले भने । श्रीलङ्काको पहलमा उक्त वार्ता भएको क्रेमलिनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । दुबै मुलुकका राष्ट्रपतिले द्विपक्षीय व्यापार र आर्थिक सहयोगका समसामयिक विषयमा विशेषगरी ऊर्जा, कृषि र यातायातका विषयमा छलफल गरेको बताइएको छ ।

‘यस वर्ष दुई देशहरू बीच कूटनीतिक सम्बन्ध स्थापनाको ६५ औं वार्षिकोत्सवको सन्दर्भमा ूपरम्परागत रूपमा मित्रवत् रुस(श्रीलङ्का सम्बन्धको प्रगतिशील विकास भएको छ।’ विज्ञप्तिमा जनाइएको छ । जुन २८ मा पत्रकार सम्मेलन गर्दै श्रीलङ्काका सांसद महिन्दानन्द अलुथगामागेले इन्धन खरिदका लागि राष्ट्रपति राजापाक्षे र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको टेलिफोन वार्तालाई सहज बनाउन श्रीलङ्काका लागि रुसी राजदूतले छलफल शुरु गरेको बताएका छन् ।

यसै बीच जुन १० पछि निरन्तररूपमा इन्धन आपूर्ति सुनिश्चित गर्न सरकारले बृहत् संयन्त्र बनाएको छ । अभूतपूर्व इन्धन सङ्कटको बीचमा श्रीलङ्काको शिक्षा मन्त्रालयले सबै सरकारी र राज्य अनुमोदित निजी विद्यालयहरूको लागि एक हप्ता बिदाको घोषणा गरेको छ। यसअघि पनि १८ जुनमा श्रीलङ्का सरकारले एक साताका लागि सबै विद्यालय बन्द गर्ने घोषणा गरेको थियो । श्रीलङ्काले सन् १९४८ मा स्वतन्त्र भएपछि यस पालि सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ । देशमा खाद्यान्न, औषधि, खाना पकाउने ग्यास र इन्धन जस्ता अत्यावश्यक वस्तुहरूको चरम अभाव भएको छ ।

राष्ट्रपति गोटाबाया राजापाक्षेका भाइ महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएर रनिल विक्रमासिङ्घेलाई मे महिनामा देशको प्रधानमन्त्रीमा नियुक्त गरेपछि चर्को विरोधले राजनीतिक अस्थिरता निम्त्याएको छ । टापु राष्ट्र विदेशी ऋण चुक्ताको कारणले गर्दा तीव्र विदेशी मुद्रा सङ्कटमा परेको छ । श्रीलङ्काको कुल विदेशी ऋण ५१ बिलियन अमेरिकी डलर रहेको छ ।

भारतको जोड

पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चीन र भारतबीच जारी तनाव समाधान गर्न बाँकी मुद्दालाई शीघ्र अघि बढाउनुपर्नेमा भारतले जोड दिएको छ ।इण्डोनेशियाको बालीमा आजदेखि शुरु भएको जी–२० का विदेशमन्त्रीको बैठकमा भाग लिने क्रममा आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग आज भएको भेटमा भारतका विदेशमन्त्री एस जयशङ्करले कोरोना महामारीका कारण घर फर्किएका आफ्नो देशका विद्यार्थीलाई चीन फर्काउन तथा एलएसीसम्बन्धी बाँकी मुद्दा चाँडो समाधान गर्न आह्वान गरेका हुन् ।

भारतका विदेशमन्त्रीले भारतीय विद्यार्थीलाई चीन फर्काउने प्रक्रिया शीघ्र अघि बढाउन तथा सीमा क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्ने दिशामा बाँकी रहेका कामलाई गति दिनुपर्नेमा जोड दिएका विदेश मन्त्रालयले जनाएको छ । विदेशमन्त्री जयशङ्करले द्विपक्षीय सम्झौता र प्रोटोकलको पूर्णपालनाको साथै आफूहरूबीच अघिल्लो भेटवार्तामा भएका समझदारीको पालना महत्वपूर्ण हुने बताए ।

दुबै मन्त्रीले चीन र भारतका सैनिक एवम् कूटनीतिक अधिकारीबीचको नियमित सम्पर्कलाई निरन्तरता दिनुपर्ने बताउँदै शीघ्र अर्को चरणको वरिष्ठ सैन्य अधिकारीको बैठकको प्रतीक्षामा आफूहरू रहेको जनाए । पारस्परिक सम्मान, पारस्परिक संवेदनशीलता र पारस्परिक हितमा आधारित द्विपक्षीय सम्बन्धले गति लिने भारतीय अभिमत विदेशमन्त्री जयशङ्करले दोहोर्‍याएका थिए ।

दुबै देशका मन्त्रीबीच क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विविध विषयमा पनि विचार आदानप्रदान भएको थियो । दुई वर्षअघि गलवान उपत्यकामा भारत र चीनबीच भएको भिडन्तमा २० भारतीय सैनिकको मृत्यु भएपछि दुई देशबीचको सम्बन्ध सुमधुर बन्न सकेको छैन । यद्यपि द्विपक्षीय व्यापार निर्वाधरूपमा भइरहेको छ ।

दक्षिण कोरियाको जेजु टापुनजिक माछा मार्ने डुङ्गामा आगलागी

दक्षिण कोरियाको दक्षिणमा रहेको जेजु टापुमा माछा मार्ने तीनवटा डुङ्गामा आगलागी हुँदा तीन जना घाइते हुनाका साथै अन्य दुई जना बेपत्ता भएका छन् ।

स्थानीय समय अनुसार बिहान सवा १० बजे तिर जेजुको हलिम बन्दरगाहमा माछा मार्ने डुङ्गाबाट आगलागी भएको र सँगै छेउमा रहेका अन्य दुईवटा डुङ्गामा फैलिएको योनहापले अग्नि नियन्त्रक अधिकारी र तटरक्षकलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

गम्भीररूपमा जलेको अवस्थामा रहेका तीन जनालाई अस्पताल पठाइएको छ । त्यसैगरी कम्तीमा अन्य दुई जना अझै बेपत्ता छन् । आगो निभाउन र बेपत्ता व्यक्तिहरूको खोजी गर्न तटरक्षक उद्धारकर्ता, गस्ती जहाज र एक हेलिकप्टर परिचालन गरिएको जनाइएको छ ।

 

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ८ : २५ बजे

बंगलादेशलाई हराउँदै भारतले जित्यो साफ यु–१९ को उपाधि

काठमाडौं – भारतले साफ यु–१९ च्याम्पियनसिप २०२५ को उपाधि जितेको

‘मिथ्या सूचनाको बाढी’ ल्याएका भारतीय मिडियाले ‘युद्धको उत्सव मनाएर तमासा देखाए’

काठमाडौं– भारतीय टेलिभिजनका समाचार कार्यक्रम भन्नेबित्तिकै आममान्छेको दिमागमा के आउला

सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँचजना पक्राउ

सिरहा – सिरहाबाट प्रहरीले ठूलो परिमाणमा नगद र लागुऔषधसहित पाँचजना

करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो

सर्लाही – काभ्रेको धुलिखेलमा शनिबार करेन्ट लागेर ज्यान गुमाएका सर्लाहीको

स्कुटर दुर्घटनामा चालकको मृत्यु

मोरङ – विराटनगर महानगरपालिका–३ मा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु