काठमाडौँ– आज साउन २२, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अगष्ट ७ , २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्:
गाजामा जारी इजरायली हमलामा इस्लामिक जिहादका शीर्ष कमाण्डरको मृत्यु
दक्षिणी गाजा पट्टी सहर रफाहमा भएको इजरायली हवाई हमलामा परी आफ्ना वरिष्ठ कमाण्डर खालिद मन्सुरको मृत्यु भएको प्यालेस्टिनी इस्लामिक जिहाद आन्दोलनले आइतबार पुष्टि गरेको छ ।
नागरिक प्रतिरक्षा टोलीले इजरायली बमबारी भएको भग्नावशेष घण्टौंसम्म खनेपछि मन्सुर र उनका केही साथीको शव निकालेको प्यालेस्टिनी इस्लामिक जिहाद (पीआइजे) ले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
समूहको सशस्त्र शाखा अल–कुद्स ब्रिगेडले आइतबार बिहान दक्षिणी गाजामा शीर्ष कमाण्डर खालिद मन्सुर रफाह शहरमा इजरायली हवाई हमलामा मारिएको बताएको छ ।
यसअघि शुक्रबार इजरायली रक्षा बल (आईडीएफ) ले उत्तरी गाजामा इस्लामिक जिहादका एक वरिष्ठ कमाण्डर तैसिर जबारी हवाई हमलामा मारिएको पुष्टि गरेको थियो ।
जबरी इजरायली हमलामा मारिएको बदलामा इस्लामिक जिहादका नेता जियाद नाखलाहले इजरायली शहर तेल अभिभमा क्षेप्यास्त्र आक्रमण गर्ने धम्की दिएका छन् ।
आईडीएफले शुक्रबार गाजा पट्टीमा प्यालेस्टिानियन इस्लामिक जिहाद विरुद्ध ब्रेकिङ डन नामक अपरेशन शुरु गरेको थियो । त्यसयता इजरायलले गाजा स्ट्रिपमा क्षेप्यास्त्र हमला र नयाँ आक्रमणहरू गर्दै आएको छ ।
सो हिंसामा परेर दुई दिनयता २४ जनाको ज्यान गएको र अरु कैयौँ घाइते भएका छन् ।
गाजामा चर्किएको हिंसामा परेर २४ जना प्यालेस्टाइनी मारिएका समाचारमा जनाइएको छ । यसरी मारिनेमा छ जना बालबालिका र दुई जना महिला पनि परेका छन् ।
उक्त प्यालेस्टिनी अतिवादी सङ्गठनका विरुद्धमा शुक्रबार इजरायली पक्षबाट बमबारी भएको थियो । यस पछिल्लो कारबाहीका क्रममा अरु दुई सयजना भन्दाबढी घाइते भएका छन् ।
यसअघि सन् २०२१ को मेमा इजरायलमा दुई सय प्यालेस्टिनी र एक दर्जन इजरायलीको मृत्यु भएको थियो । त्यसपछि त्यहाँ युद्धविराम सम्झौता गरेर युद्ध रोक्ने पहल भएको थियो । त्यसपछि रोकिएको युद्ध पछिल्ला केही दिनमा पुनः सुरु भएको छ ।
इजरायलका सैनिक प्रवक्ता अबिचा आदरीले इजरायली सेनाले उक्त अतिवादी समूहलाई लक्ष्य गरेर आक्रमण गरेको जनाएको छ ।
इजरायली सेनाले दक्षिणी गाजा पट्टीमा रहेको एक घरमा हमला गरेका थिए । उक्त हमलामा परेर केही प्यालेस्टाइनी मारिएका छन् र ३० जना घाइते भएका थिए । शनिबार इजरायलले प्यालेस्टिनी समूह इस्लामिक जिहादका सदस्यलाई पक्राउ गरेको थियो ।
भारतको उपराष्ट्रपतिमा जगदीप धनखड निर्वाचित
भारतको उपराष्ट्रपतिमा जगदीप धनखड निर्वाचित भएका छन् । उपराष्ट्रपतिको निर्वाचनमा कुल खसेको मतमध्ये ५ सय २८ प्राप्त गरि धनखड निर्वाचित भएका हुन् ।
उनलाई भारतीय जनता पार्टी (भाजपा)को नेतृत्वमा रहेको सत्तारुढ गठबन्धनले उम्मेदवार बनाएको थियो । विपक्षी दलको उम्मेदवार मार्गरेट अल्वाले १ सय ८२ भन्दा कम मत प्राप्त गरेकी छन् ।
भारतका उपराष्ट्रपति माथिल्लो सदन राज्यसभाको अध्यक्ष हुने व्यवस्था छ । धनखडले अगस्ट १० मा वेङ्कैया नायडुको कार्यकाल समाप्त भएपछि जिम्मेवारी सम्हाल्नेछन् । जुलाई महिनामा भएको राष्ट्रपति चुनावमा भाजपाकी उम्मेदवार द्रौपदी मूर्मु राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।
पाकिस्तानमा आसन्न उपनिर्वाचनमा सबै क्षेत्रमा एक्लै उम्मेद्वारी दिने इमरान खानको घोषणा
पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री इमरान खानले आगामी उपनिर्वाचनमा सबै नौ वटा क्षेत्रमा एक्लै उम्मेदवारी दिने घोषणा गरेका छन् ।
उक्त पार्टीका सांसदहरूले दिएको राजीनामालाई सभामुखले स्वीकृत गरेपछि पाकिस्तानमा रिक्त नौ वटा स्थानमा उपनिर्वाचन हुँदै छ ।
आगामी २५ सेप्टेम्बरमा उपनिर्वाचन हुने पाकिस्तानको निर्वाचन आयोगले जनाएको छ । सबै रिक्त सिटमा चुनाव लड्ने खानको निर्णयले राजनीतिक वृत्तमा तरंग उत्पन्न गरेको जनाइएको छ ।
पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएअनुसार पार्टीका वरिष्ठ उपाध्यक्ष फवाद चौधरीले पत्रकार सम्मेलनमा बोल्दै खान नौ वटै निर्वाचन क्षेत्रबाट उठ्ने निर्णय गरेको पुष्टि गरेका छन् ।
इरानमा एक सातामा ३२ जनालाई मृत्युदण्ड
इरानी अधिकारीहरूले आफ्ना पतिको हत्या गरेको आरोपमा तीन महिलालाई मृत्युदण्ड दिएको मानव अधिकार एवम् परोपकारी संस्थाले जनाएको छ ।
इरानको मानव अधिकार समूहका अनुसार गत साता मात्रै ३२ जनालाई मृत्युदण्ड दिइएको छ ।
इरानमा मृत्युदण्ड दिइने दर बढेको अन्तर्राष्ट्रिय मानव अधिकारवादी समूह एम्नेष्टी इन्टरनेशनलले विज्ञप्ति जारी गर्दै जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष अहिलेसम्म दोब्बर मानिसहरूलाई मृत्युदण्ड दिइएको छ ।
इरानले पनि अन्य देशको तुलनामा धेरै महिलाहरूलाई मृत्युदण्ड दिने गरेको उनीहरूमध्ये अधिकांशलाई आफ्नो पतिको हत्या दोषी ठहर गरिएको अधिकारवादी समूहहरूले जनाएका छन् ।
पछिल्लो पटक मृत्युदण्डको सजाय पाउनेमा बाल विवाह गरेकी एक युवती पनि रहेको जनाइएको छ ।
इरानको मानव अधिकार समूहले सोहिला अबादीलाई पतिको हत्या गरेको अभियोगमा झुन्डाइएको जनाएको छ । अबादीको १० वर्षअघि १५ वर्षको उमेरमा विवाह भएको थियो ।
क्युबामा तेल भण्डारमा चट्याङ लागेर आगलागी हुँदा एक जनाको मृत्यु, १२१ घाइते
क्यारेबियन टापु राष्ट्र क्युबामा तेल भण्डारमा चट्याङ लागेर आगलागी भएको छ । मुलुकको मातान्जास शहरस्थित तेल भण्डारण केन्द्रमा चट्याङ लागेर आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने १२१ जना घाइते भएका छन् ।
घटनामा अरु १७ जना बेपत्ता भएको अमेरिकाको न्युयोर्कबाट प्रकाशित हुने एनवाई पोस्टले जनाएको छ ।
सीबीएस न्युजले ऊर्जा तथा खानी मन्त्रालयलाई उद्धृत गर्दै अग्निनियन्त्रकहरूले अझै पनि माटान्जास सुपरट्याङ्कर बेसमा आगो निभाउने प्रयास गरिरहेका बताएको छ ।
शुक्रबार अबेर शुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । यसैबीच सरकारले सबै प्रकारका घरेलु उयाय अवलम्वन गरेपनि नियन्त्रण गर्न नसकेपछि तेल भण्डारणबारे अनुभव भएका मैत्री देशहरूबाट अग्निनियन्त्रण विज्ञहरूको मद्दत मागेको छ ।
आगलागीको आसपासको क्षेत्रलाई नियन्त्रणमा लिन सेनाले हेलिकप्टरबाट पानी खसाल्दै आगो निभाउने प्रयास गरिरहेको छ।
मातान्जासका अग्निनियन्त्रक प्रमुख रोबर्टो डे ला टोरेले जनाएअनुसार अग्नि नियन्त्रकहरूले आगो फैलिनबाट रोक्नको लागि ट्याङ्कीहरूलाई चिसो राख्न प्रयास गरिरहेका छन् ।
घाइते मध्ये सात जनालाई राजधानी हवानाको क्यालिक्सटो गार्सिया अस्पतालमा लगिएको बताइएको छ ।
क्युबाले इन्धन अभावको सामना गरिरहेको बेला यस्तो घटना भएको हो । यद्यपि घटनाको विस्तृत विवरण र क्षति भने अझै यकिन गर्न सकिने अवस्था नरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकी राष्ट्रपति बाइडेनको कोरोना रिपोर्ट नेभेटिभ
अमेरिकी राष्ट्रपति जो बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनी कोभिड सङ्क्रमण भएर आइसोलेसनमा बसेका थिए ।
उनको स्वास्थ्य परीक्षणमा कोभिड रिपोर्ट नेगेटिभ आएको उनका चिकित्सकले जानकारी दिएका छन् । ह्वाइट हाउसका फिजिसियन केभिन ओ कनरले यसको पुष्टि गरेका हुन् ।
उनले राष्ट्रपति बाइडेन अहिले पनि आइसोलेसनमा रहेको तर उनलाई धेरै ठिक भएको ओ कनरले जानकारी दिए । उनले खोपको पूर्ण मात्रा लिनुका साथै दुई पटकसम्म बुस्टर डोज पनि लगाएका छन् ।
उनलाई पहिलो पटक गत जुलाई २१ मा कोभिड सङ्क्रमण देखिएको थियो । त्यसपछि एक हप्तासम्म आइसोलेसनमा रहेका बाइडेनलाई निको भएको थियो ।
राष्ट्रपति बाइडेनलाई पुनः जुलाई ३० मा कोभिड सङ्क्रमण देखिएको हो । पछिल्लो स्वास्थ्य परीक्षणमा उनको कोरोना नेगेटिभ रिपोर्ट आएको हो ।
अमेरिकाको ओहायोमा गोली चल्दा ४ जनाको मृत्यु
अमेरिकाको ओहायोको बटलर बजारका विभिन्न क्षेत्रमा भएका गोली चल्दा चार जनाको मृत्यु भएको छ । प्रहरीले गोली प्रहारमा संलग्न व्यक्तिको खोजी गरिरहेको छ ।
डेटनको उत्तरमा रहेको ओहायो सहरमा भएको गोली प्रहारबाट उनीहरूको मृत्यु भएको हो । गोली चलाएपछि आक्रमणकारी फरार छन् । प्रहरीले आक्रमणकारीको खोजी भइरहको जनाएको छ ।
प्रहरीले आक्रमणमा संलग्न रहेका एक संदिग्ध व्यक्तिको वरपर नजान सर्वसाधारणलाई आग्रह गरेको छ । स्टेपेन मार्लो नाम गरेका ती व्यक्तिसँग सशस्त्र हतियार रहेको बट्ल क्षेत्रका प्रहरी प्रमुखले बताएका छन् ।
आक्रमणमा चार जनाको घटनास्थलमै मृत्यु भएको र केही घाइते भएको उनले बताए । बट्लर सहरको जनसंख्या ८ हजार छ ।
रुसी सेनाको आक्रमणका कारण जापोरिजझिया आणविक शक्ति केन्द्रमा ‘गम्भीर रूपमा क्षति’ पुगेको यूक्रेनको भनाइ
रुसी सेनाको आक्रमणका कारण जापोरिजझिया आणविक शक्ति केन्द्रमा ‘गम्भीर रूपमा क्षति’ पुगेको यूक्रेनले जनाएको छ । आक्रमणका कारण उक्त आणविक केन्द्रको एक ‘रिएक्टर’लाई बन्द गर्न परेको यूक्रेनी आणविक केन्द्रका अधिकारीले शनिबार बताए ।
यूरोपको सबैभन्दा ठूलो परमाणु शक्ति परिसर, दक्षिण यूक्रेनको जापोरिजझिया आणविक केन्द्रमा शुक्रबार भएको आक्रमणले नाइट्रोजन, अक्सिजन र ‘सहायक भवन’ भएको स्टेशनलाई ‘गम्भीर रूपमा क्षतिग्रस्त’ बनाएको यूक्रेनी एनर्गोएटमले टेलिग्राम सन्देश सेवामा जानकारी दिएको हो ।
यस आक्रमणको लागि कीभ र मस्कोले एकअर्कालाई दोषारोपण गरेका छन् ।
आक्रमणले विद्युत केबुललाई क्षति पुर्याएको छ भने यसका कारण एउटा रिएक्टरको सेवा बन्द गर्नुपरेको छ । घटनास्थलमा ‘अझै पनि हाइड्रोजन र रेडियोएक्टिभ’ पदार्थ चुहिने खतरा रहेको र आगोको जोखिम पनि उच्च रहेको आणविक केन्दले जनाएको छ ।
रूसी सेनाले आक्रमणको सुरुवातदेखि नै जापोरिज्हिया संयन्त्र कब्जा गरेका छन् र कीभले उनीहरूलाई त्यहाँ गह्रौं हतियारहरू भण्डारण गरेको आरोप लगाएको छ । तर मस्कोले भने युक्रेनी सेनालाई नै उक्त आणविक केन्द्रमाथि आक्रमण गरेको आरोप लगाएको छ ।
आक्रमण सम्बन्धमा युरोपेली संघले शनिबार रूसमाथि कडा निन्दा गरेको छ ।
यस समूहका वरिष्ठ कूटनीतिज्ञ जोसेप बोरेलले ट्वीटरमार्फत आक्रमणको निन्दा गर्दै लेखेका छन्, ‘जापोरिजझिया आणविक विद्युत केन्द्र वरिपरि रूसको सैन्य गतिविधिको ईयूले निन्दा गर्छ ।’
बोरेलले संयुक्त राष्ट्रको आणविक निगरानी, अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीलाई यस केन्द्रमा अनुगमनका लागि पहुँच प्रदान गनुपर्ने बताए।
आईएईएले केन्द्रको निरीक्षण गर्न हप्तौंदेखि एउटा टोली पठाउने प्रयास गर्दै आएको छ । यूक्रेनले यस प्रयासलाई अहिलेसम्म अस्वीकार गरेको छ । यूक्रेनले अन्तरराष्ट्रिय समुदायको नजरमा यस स्थलमा रूसको आधिपत्य रहेको दावी गर्दै आएको छ ।
रूसले भनेको छ, ‘रूसी आणविक केन्द्र सञ्चालक रोजाटमका कर्मचारीहरूले आक्रमण हुनुभन्दा केही समयअघि नै केन्द्र छोडेका थिए तर यूक्रेनी कर्मचारीहरू त्यहीं बसेका थिए र यो केन्द्रले अझै बिजुली उत्पादन गरिरहेको थियो ।’
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा परी ५ जनाको मृत्यु
अफ्रिकी मुलुक नाइजेरियाको मध्य भागमा पर्ने कोगी राज्यमा अज्ञात बन्दुकधारीले आक्रमण गर्दा ५ जनाको मृत्यु भएको छ । राज्यमा व्यापारिक पारवहनमा नचिनेका बन्दुकधारीको समूहले आक्रमण गरेको जनाइएको छ । आक्रमणमा अन्य दुई जना बेपत्ता भएका छन् ।
कोगीस्तित वेस्ट अफ्रिका सिरामिक्स कम्पनीसँग सम्बन्धित व्यापारिक पारवहनको सुरक्षामा एकजना भारतीय प्रवासी, दुई चालक र दुई प्रहरीको मृत्यु भएको कोगीका प्रहरी प्रवक्ता विलियम ओभिए अयाले बताएका छन् ।
आक्रमणपछि दुई भारतीय प्रवासी बेपत्ता भएको पनि बताइएको छ । अफ्रिकाको सबैभन्दा धेरै जनसङ्ख्या भएको यस देशमा वर्षौंदेखि गोली हानाहानका घटना र आक्रमण निरन्तर हुँदै आएका छन् । यसबाट नागरिक र सुरक्षाकर्मीको मृत्युका घटना दोहोरिरहेका छन् ।
प्रतिक्रिया