भारतमा 'ओमिक्रोन'को सन्त्रास, नेपाल पनि जोखिममा | Khabarhub Khabarhub

भारतमा ‘ओमिक्रोन’को सन्त्रास, नेपाल पनि जोखिममा


२४ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ६ मे २०२१ । भारतमा सबैभन्दा कोरोना सङ्क्रमित भेटिएको दिन । त्यस दिन ४ लाख १४ हजार ४ सय ३३ जना नयाँ सङ्क्रमित फेला परेका थिए । २३ मेमा भारतमा कोरोना सङ्क्रमणका कारण ५ हजार ४१ जनाले ज्यान गुमाए । त्यहाँको स्वास्थ्य संयन्त्र नै तहसनहस भएको अवस्थाको त्यो तथ्याङ्क पनि अपर्याप्त भएको तथा थप धेरैको ज्यान गएको हुनसक्ने अनुमान छ ।

यसपछि सङ्क्रमण दरमा ओरालो लागेको भारतमा २० डिसेम्बरको दिन ५ हजार ३ सय २६ जना सङ्क्रमित भेटिए । त्यसै भारतमा सङ्क्रमण दर फेरि बढ्न थालेको छ  । पछिल्लो साता त आश्चर्यजनक रूपमा सङ्क्रमण बढेको छ । २७ डिसेम्बरका दिन ८१ हजार ९०६ जना सक्रिय सङ्क्रमित थिए ।

भारतको अवस्था यो दुई सातामा फेरिएको छ । अहिले १ लाख २२ हजार ८ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् । यसै गरी, एकै दिन ३७ हजार ३ सय ७९ जनामा सङ्क्रमण देखिई सकेको छ । यसले भारतमा कोरोनाको अर्को लहरको जोखिम बढेको र तेस्रो लहरको सुरुवात भएको प्रस्ट भइसकेको छ ।

दक्षिण अफ्रिकामा कोरोनाको ओम्रिकोन भेरियन्ट देखिएपछि संसारमा फेरि एकपटक तनाव थपिएको थियो । विगतमा जस्तो हेलचेक्रयाइँ गर्ने सोचमा कुनै पनि देशको नेतृत्व देखिएको थिएन ।

यो भेरियन्ट देखिएसँगै लगातार एकैपटक यात्रा प्रतिबन्ध त धेरै देशमा लगाइयो नै । यसका साथै एकदमै छिटो अध्ययन र अन्वेषण पनि  सुरु भएको थियो । सुरुवाती अध्ययनले केही सकारात्मक सन्देश पनि दिएका थिए । यो भेरियन्ट सङ्क्रामक भए पनि कम घातक भन्ने पुष्टि भएपछि यसले धेरैलाई राहत दिएको हो ।

यसका बाबजुद चिकित्सक र वैज्ञानिकहरूले कम घातक भए पनि धेरै नै सङ्क्रामक भएका कारण अस्पतालको चापले थेग्न नसक्ने जोखिम आउने चेतावनी दिइरहेका थिए ।

ओम्रिकोन भेरियन्ट पत्ता लागे यता संसारमा दुई ठूला पर्व मनाइसकिएको छ । क्रिसमसको समाप्ति भएको केही दिनपछि नै अङ्ग्रेजी नयाँ वर्षमा संसार भुलेको थियो । अहिले भारतमा देखिएको यस भेलको एउटा कारण ती चाड पनि भएको जनाइएको छ ।  चाड मनाउने क्रममा सुरक्षा मापदण्डमा  कमी त पक्कै आयो नै । यसको असर नै भारतमा प्रस्ट देखिएको जनाइन्छ ।

भारतमा डिसेम्बर महिनाको सुरुवाती दिनमा ओम्रिकानको पहिलो सङ्क्रमण देखिएको थियो । भारतको दक्षिणी प्रान्त कर्नाटाकामा दुई जनामा एकै पटक ओम्रिकोन देखिएको थियो । तर पनि, डिसेम्बर महिनामा भारतमा धेरै नै असर देखिएको थिएन । सुरुवाती दुई जनामा यो सङ्क्रमण देखिए लगत्तै कनट्याक्ट ट्रेसिङमा धेरै नै सतर्कता अपनाइएको थियो ।

भारतमा अहिले कोरोना बढ्ने क्रममा रहेकाले उत्कर्षमा पुग्दा दैनिक कति जनामा सङ्क्रमण देखिन्छ भन्ने यकिन छैन । यसका साथै डेल्टा भरियन्टमाथि ओम्रिकोन हाबी भए मृत्युदर कस्तो रहन्छ भन्ने पनि कुनै टुङ्गो छैन ।

अन्य कतिपय देशले भने ओम्रिकोनको भेरियन्टसँगै देखिएको चौथो चरणको पिक पार गरी सकेको दाबी गरेका छन् । दक्षिण अफ्रिकाका विज्ञहरूले एकदमै सङ्क्रामक भए पनि अस्पताल हुनु पर्ने दर कम रहेकाले आफ्नो देशमा यसको सबैभन्दा गम्भीर क्षति हुने समय पार गरी सकेको विश्वास गर्न थालेका हुन् ।

यो लहर फैलिएसँग केही मात्रामा मृत्युदरमा पनि वृद्धि भएको थियो । परन्तु डेल्टा भेरियन्टका कारण आएको लहर भन्दा यस पटक आएको लहरको असर कम नै थियो ।

दक्षिण अफ्रिकामा १२ डिसेम्बरमा ३७८७५ जनामा सङ्क्रमण देखिएको हो । यो दर अहिले धेरै घटिसकेको छ । २५ डिसेम्बरका दिन सक्रिय सङ्क्रमितको सङ्ख्यामा दक्षिण अफ्रिका पिकमा पुगेको थियो । यस पछि सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घटिरहेको छ ।

हालसम्म दक्षिण अफ्रिकामा कोरोना सङ्क्रमणका कारण एकै दिन सबैभन्दा धेरै जना मरेको कीर्तिमानको रूपमा २०२१ को जनवरी १९ मा ८३९ जनाको ज्यान गएको थियो । यसपछि गत जुलाईमा तेस्रो लहरको सामना गरेको दक्षिण अफ्रिकाले चौथो लहरमा विगतको तुलनामा कम क्षतिको सामना गरेको छ । ३० डिसेम्बरमा १२६ जनाको ज्यान गएको छ ।

भारतको हकमा भने विभिन्न स्वास्थ्यकर्मीहरूले यस अघि नै कोरोना महामारीको बारे सचेत हुनु पर्ने र एक वर्षअगाडि भोगेको क्षतिबाट पाठ सिक्दै अगाडि बढ्नु पर्न आवाज उठाएका थिए । भारतको उत्तरी भूभागमा त केही समय अघिसम्म मानिसहरू कोरोना सकिए झैँ गरेर निस्फिक्री घुमिसकेका थिए ।

गत वर्षको अप्रिल र मे महिनामा डरलाग्दो अवस्था देखेको भारतका नागरिकमा यसबारे शतर्कता नभए पनि त्यहाँको सरकार भने धेरै सचेत थियो । ग्रामीण भूभागमा विना मास्क हिँड्न छुट दिइए पनि सहरी क्षेत्रमा कडाइ गरिएको थियो ।

८० प्रतिशतभन्दा बढी वयस्कले कमसेकम एक डोज भ्याक्सिन लगाइसकेका छन् । यस कारण धेरै जना अस्पताल भर्ना हुने भयले कम त्रसित छन् ।  धेरै जनामा डेल्टाको एन्टीबडी भएको पनि जनाइएको छ ।

त्यसो त सन् २०२० को सुरुवातमा भारत र नेपाललगायत दक्षिण एसियाली देशमा भएको लकडाउनका कारण स्वास्थ्य संयन्त्रलाई दरिलो बनाउने अवसर मिलेको थियो । त्यो अवसर भए पनि यसलाई पूर्ण रूपमा सरकारले उपयोग गर्न नसकेको यथार्थ विगतका लहरले पुष्टि गरिसकेका छन् ।

यसपटक भारतीय सरकारको दाबी अस्पतालमा अक्सिजनको मात्रा बढाइएको तथा बेड पनि बढाइएको भन्ने नै छ । केही महिना अघिदेखि भारतीय वैज्ञानिक के विजय राघभनले कोभिडको तेस्रो लहरको जोखिम अत्यन्त बढिरहेको बताएका थिए । उनले भने जस्तै भारत अहिले तेस्रो लहरको सुरुवातमा छ ।

मे २२ पछि दिल्लीमा सबैभन्दा धेरै सङ्क्रमित बिहीवार देखिए । मुम्बईमा त बिहीबारको भन्दा शुक्रवार दुई हजार जना बढीमा सङ्क्रमण देखा परेको थियो । भाइरोलोजिस्ट इिद जामेलकै अनुसार सङ्क्रमण दर सङ्क्रमण सङ्ख्या दुवैमा भारतमा तेस्रो लहरको सुरुवात भइसकेको छ । यसरी सुरु भएको तेस्रो लहरमा क्रिसमस र नयाँ वर्षले धेरै प्रभाव पारेकामा जामेलकै पनि सहमति छ ।

दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र सिंह जैनले दिल्लीमा पछिल्लो समय देखिएको सङ्क्रमणमा ५० प्रतिशत ओम्रिकोन भेरियन्ट भएको जानकारी दिइसकेका छन् । यसरी सङ्क्रमित भएका धेरैको ट्राभल हिस्ट्री पनि छैन । यसले समुदायमा नै ओम्रिकोन फैलिसकेको पुष्टि भएको छ ।

भारतको स्वास्थ्य संयन्त्र गत वर्षको भन्दा धेरै सुधार भइसकेको तथा यो कम घातक भए पनि अत्यधिक सङ्क्रामक भएकाले अबको केही दिन अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीका लागि दबाबका दिन शुरु हुन सक्ने जामेल बताउँछन् ।

महाराष्ट्र, उत्तर प्रदेश, गुजरात र अन्य केही प्रान्तीय सरकारले रात्रिकालीन कर्फ्युको घोषणा गरी सकेका छन् । विद्यालय तथा अन्य शैक्षिक संस्था अनलाइन मोडलमा गइसकेका छन् । भारतीय स्वास्थ्यविद् अनुराग अग्रवाल गत वर्षको भन्दा अहिले संयन्त्रमा सुधार भइसकेका कारण नआत्तिन सबै नागरिकलाई आह्वान गर्न चाहन्छन् ।

तथापि, उनी आफै पनि कम घातक ठानेर हेलचेक्र्याइँ गर्नु गम्भीर हुने बताउँछन् । अग्रवालले पनि तेस्रो लहरको क्षति कम गर्न जतिसक्दो चाँडो बुस्टर डोज लगाउन आवश्यक भएको बताएका छन् ।

विगतमा सुरुवाती दिनमा नै कोभिसिल्ड, कोभ्याक्सिन र जाइ कोभिडको प्रयोग गर्दै आएको थियो । रुसले बनाएको स्पुतनिक भीको पनि अनुमति दिइसकेको भारतले भ्याक्सिनमा फड्का मार्दै कोबोभ्याक्स र कोरबोभ्याक्सलाई पनि अनुमति दिएको छ ।

यी दुवै भ्याक्सिनले तेस्रो चरणको परीक्षणमा राम्रो सफलता दिलाएको कारण यसलाई आपत्कालीन अनुमति दिइएको भारतीय अधिकारीहरूले बताएका छन् ।

नेपाल र भारत छिमेकी मात्र होइनन्, खुला सिमाना, सामाजिक परिवेश र उस्तै जीवनयापनको शैली भएका देश हुन् । त्यहाँका हरेक घटनाको प्रभाव नेपालमा पर्ने त निश्चित नै छ । भारतमा तेस्रो लहरको सुरुवात भएसँगै नेपाली सचेत हुन जरुरी भइसकेकोमा विमति हुनै सक्दैन ।

 

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ८ : ०० बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम