विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने दिनभरका अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने दिनभरका अन्तर्राष्ट्रिय घटनाक्रम


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज फागुन २४, २०७८ या अंग्रेजी क्यालेन्डर अनुसार मार्च ८, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्: 

रुसले युद्धविराम कार्यान्वयन गरेन

रुसी सेनाले सर्वसाधारणलाई सुरक्षित क्षेत्रतर्फ जान दिन केही सहरमा अस्थायी युद्धविराम घोषणा गरे पनि त्यो कार्यान्वयनमा नआएको युक्रेनले जनाएको छ।

रुसले किभ, खारकिभ, मारिउपोल र सुमी सहरमा सोमबार अस्थायी युद्धबिराम घोषणा गरेको थियो। तर, ती सहरहरुमा निरन्तर गोलाबारी र बम बिस्फोट भएका युक्रेनी सेनाले जनाएको छ।

रुसी आक्रमणले सर्वसाधारणको निकास कार्य अवरुद्ध भएको युक्रेनले जनाएको छ। गत बिहीबारदेखि रुसी सेनाले युक्रेनका विभिन्न सहरहरुमा हमला गरेको छ।

रुसी हमलामा ३५२ सर्वसाधारण मारिएको राष्ट्र संघले जनाएको छ । त्यस्तै युद्धकै कारण २० लाख मानिसले युक्रेन छाडेका छन्। युद्धबीच विभिन्न देशले आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेका छन् ।

युरोपमा ग्यास निकासी बन्द गरिदिने रुसको चेतावनी

रुसले पश्चिमा मुलुकहरूले आफ्नो तेलमाथि प्रतिबन्ध लगाए युरोपतर्फ ग्यास निकासी ठप्प पार्ने चेतावनी दिएको छ । रुसी उपप्रधानमन्त्री अलेक्जाण्डर नोभाकले राष्ट्रिय टेलिभिजनमार्फत यस्तो चेतावनी दिएका हुन् ।

उनका अनुसार रुसी तेलमाथि प्रतिबन्ध लगाएको खण्डमा अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ दोब्बरभन्दा धेरै बढेर ३ सय डलर प्रतिब्यारेलसम्म पुग्नसक्ने उनको चेतावनी छ ।

युक्रेनमाथि आक्रमण गरेको रुसलाई सजाय दिन भन्दै अमेरिकाले रुसी तेलमाथि प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेको समाचार आइरहेका बेला रुसले चेतावनी दिएको हो ।

‘हामीसँग पनि यस्तै निर्णय लिई नोर्डस्ट्रिम ग्यास पाइपलाइनमार्फत जाने ग्यासमाथि नाकाबन्दी लगाउने सम्पूर्ण अधिकार छ ।’ उनले भने, ‘रुसी तेललाई अस्वीकार गर्दा विश्व बजारमा भयानक परिणाम आउने छ ।’

यद्यपि जर्मनी र नेदरल्याण्ड्ससहितका युरोपेली देशहरुले अमेरिका अमेरिकी योजना अस्वीकार गरेको बीबीसीले जनाएको छ ।युरोपले आफूलाई चाहिनेमध्ये ४० प्रतिशत ग्यास र ३० प्रतिशत तेल रुसबाट आयात गर्छ ।

विश्व बजारमा तेलको भाउ अकासिएका बेला रुसबाट यस्तो प्रतिक्रिया आएको हो । सोमबारमात्रै ब्रेन्ट क्रुडको बजारमा तेलको भाउ बढेर १३९ डलर प्रतिब्यारेलसम्म पुगेको थियो ।

४८ देशलाई समेटेर रुसले निकाल्यो ‘असहिष्णु राष्ट्रको सूची’

रुसले ४८ देशहरुलाई समेटेर असहिष्णु राष्ट्रको सूची सार्वजनिक गरेको छ । युक्रेनमाथि आक्रमण गरेपछि आफ्नो मुलुकमाथि नाकाबन्दी र प्रतिबन्धहरुको घोषणा गर्ने ४८ देशहरुलाई समेटेर रुसले सूची सार्वजनिक गरेको हो ।

यो सूचीमा युरोपेली युनियन र नेटोका सबै देशहरुका साथै जापान, दक्षिण कोरिया, ताइवान जस्ता देशहरु पनि समेटिएका छन् ।

आइन्दा सूचीमा समावेश देशहरुका कम्पनीले घरजग्गा किनबेच, वित्तीय कारोबार र रुसी मुद्रा रुबलमा हुने कारोबारका लागि रुस सरकारबाट ‘विशेष अख्तियारी’ लिनुपर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेपछि रुसविरुद्ध युरोपेली युनियन इयूसहित विभिन्न मुलुकहरुले आर्थिक प्रतिबन्ध एवम् नाकाबन्दीको घोषणा गरेका छन् ।

रुसी सञ्चारमाध्यमले यिनै नाकाबन्दी र प्रतिबन्धको जवाफमा यस्तो सूची सार्वजनिक गरेको दाबी गरेका छन् ।

सूचीमा समावेश देशहरुमा अमेरिका, क्यानाडा, इयूका २७ मुलुकहरु, बेलायत, युक्रेन, मोन्टेनेग्रो, अष्ट्रेलिया उत्तर मेसेडोनिया, स्विट्जरल्याण्ड, जापान, दक्षिण कोरिया, अल्बानिया, एण्डोरा, आइसल्याण्ड, लिक्टेन्स्टाइन, मोनाको, नर्वे, सान मारिनो, माइक्रोनेशिया, न्युजिल्याण्ड, सिंगापुर र ताइवान परेका छन् ।

उत्तर कोरियाली आणविक परीक्षण क्षेत्रमा पूर्वाधार निर्माणको काम तीब्र

उत्तर कोरियाले आणविक हतियार परीक्षण गर्ने पुङ्ग्ये री क्षेत्रमा पूर्वाधार निर्माणको कार्यलाई तीब्र पारेको खुलासा भएको छ । अमेरिकी विश्लेषकहले उत्तर कोरियाले आणविक हतियार परीक्षण केन्द्रमा पूर्वाधार निर्माणलाई तीब्र पारेको पत्ता लगाएका हुन् ।

भू उपग्रहबाट प्राप्त तस्वीरको विश्लेषणबाट नयाँ तथ्य पत्ता लागेको हो । अमेरिकाको जेम्स मार्टिन सेन्टर फर ननप्रोलिफेरेशन स्टडिजका विश्लेषकहरुले भू उपग्रहबाट प्राप्त तस्वीरबाट आणविक परीक्षण केन्द्रमा नयाँ भवनहरुको निर्माण भइरहेको, पुराना सडकहरुको मर्मत गरिएको र नयाँ पूर्वाधारहरु पनि बन्ने क्रममा रहेको जनाएका छन् ।

यससँगै वर्ष २०२२ शुरु भएयता ९ पटकसम्म क्षेप्यास्त्र गरिसकेको उत्तर कोरियाले पुनः आणविक परीक्षण गर्न लागेको हुनसक्ने विश्लेषकहरुको भनाइ छ ।

मक्सार नामक भू उपग्रह कम्पनीको क्यामेराबाट ती तस्वीरहरु लिइएको जनाइएको छ ।पूर्वाधार निर्माणको काम शुरु भएपनि यसलाई पूर्ण सञ्चालनमा ल्याउन अझै केही समय लाग्नसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सन् २०१८ मा अमेरिका र दक्षिण कोरियासँग सम्बन्ध सुधार गर्न भन्दै उत्तर कोरियाले आणविक परीक्षण केन्द्र बन्द गरेको घोषणा गरेको थियो ।

पुङ्ग्ये री आणविक परीक्षण गर्ने उत्तर कोरियाको प्रमुख क्षेत्र हो । उत्तर कोरियाले सन् २००६ यता ६ वटा आणविक परीक्षण गरिसकेको छ ।

युद्धको अग्रमोर्चामा युक्रेनी सैनिक जोडीको विवाह

गएको फेब्रुअरी २४ देखि रुसले युक्रेनमाथि सैनिक आक्रमण गरिरहेको छ । रुसी आक्रमणबाट देशलाई जोगाउन युक्रेनी सेनामात्रै नभई सर्वसाधारण पनि युद्धमैदानमा उत्रिएका छन् ।

आक्रमणकारीबाट आफ्नो देश जोगाउन चाहने युक्रेनी सर्वसाधारणका लागि युक्रेनी फौजले ‘क्षेत्रीय रक्षा दल’ मा भर्ना हुन आह्वान पनि गरेको छ । यही क्षेत्रीय रक्षा दलमा सहभागी एक जोडीले राजधानी किभ नजिकै युद्धमैदानको अग्रमोर्चामै विवाह गरेका छन् ।

राजधानी किभ शहरका मेयर भिताली क्लित्स्कोले ट्विटरमार्फत् भिडियो जारी गर्दै युद्धको अग्रमोर्चामा सैनिकको जोडीले विवाह गरेको जनाएका हुन् । उनले सार्वजनिक गरेको भिडियोमा एक जना सैनिकले उनीहरुको विवाह उपक्रम सम्पन्न गरेको देख्न सकिन्छ ।

त्यसपछि नवविवाहित जोडीले चुम्बन गरी फूलको बुके साटासाट गरेको देख्न सकिन्छ । लगत्तै त्यहाँ उपस्थित अरु सैनिकहरुले ताली बजाएर विवाह सम्पन्न गर्छन् ।

भिडियोमा मेयर क्लित्स्को पनि समारोहमा उपस्थित भइ नवदम्पतीलाई बधाई दिएको देख्न सकिन्छ । यो जोडी २२ वर्षदेखि सँगै रहेको र उनीहरूबाट एक छोरी पनि भइसकेको एबीसीको समाचारमा उल्लेख छ ।

युक्रेनमा फसेका नागरिकलाई सहयोग गर्न औद्योगिक प्रतिष्ठानहरुलाई भारतको आह्वान

युक्रेनमा फसिरहेका आफ्ना नागरिकलाई सहायता गर्न एवम् राहत सामग्री उपलब्ध गराउन भारत सरकारले उद्योगहरुलाई आह्वान गरेको छ । हालै सम्पन्न औद्योगिक प्रतिष्ठानहरूसँगको अन्तरक्रिया कार्यक्रममा भारतको व्यापार तथा वाणिज्य मन्त्रालयले यस्तो आह्वान गरेको हो ।

रुसी आक्रमणको सामना गरिरहेको युक्रेनका छिमेकी देशहरू पोल्याण्ड, स्लोभाकिया, हङ्गेरी र रोमानियामा गरी ३० वटा जति भारतीय कम्पनी एवम् संगठनहरू सक्रिय रहेको बताइएको छ ।

यी संगठनहरुले ४०० स्वयंसेवक परिचालन गरी भारतीय नागरिकलाई बास, खाना र यातायात सेवा दिइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

‘युक्रेनका छिमेकी देशहरु स्थित हाम्रा नियोग र भारतीय कम्पनीहरुसँग समन्वय गरी सबै भारतीयलाई युक्रेनबाट उद्धार गर्ने कार्यलाई अघि बढाइएको छ ।’ भारतीय अधिकारीलाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले जनाएको छ ।

युक्रेनमा अर्का रुसी जर्नेल पनि मारिए

युक्रेनको सैनिक गुप्तचर निकायले युक्रेनमा अर्का एक रुसी सैनिक जर्नेल मारिएको दाबी गरेको छ । रुसी घेराबन्दीमा परेको पूर्वी शहर खार्किभमा रुसी सेनाको ४१ औं आर्मीका प्रथम उप–कमाण्डर मेजर जनरल भिताली गेराशिमोभको मृत्यु भएको युक्रेनी दाबी छ ।

उनी सोमबार मारिएको युक्रेनको गुप्तचर निर्देशनायले जनाएको हो । यसअघि युक्रेनले फेब्रुअरी महिनाको अन्त्यतिर ४१ औैं आर्मीकै उप–कमाण्डर मेजर जनरल आन्द्रेई सुखोभेत्स्की मारिएको दाबी गरेको थियो ।

शनिबारमात्रै युक्रेनमा स्पार्टा बटालियन भन्ने रुस समर्थक कुख्यात नव नाजी लडाकु समूहका युद्धसरदार भ्लादिमिर जोगाको पनि पूर्वी शहर भोल्नोभ्कामा गोली हानी हत्या भएको थियो ।

रुसले आफ्नो मुलुकमा सैनिक आक्रमण गरेयता ११ हजार रुसी सैनिक मारिएको युक्रेनी पक्षको दाबी छ । यता रुसले भने हालसम्म आफ्ना ५ सय भन्दा कम सैनिक मात्रै मारिएको दाबी गरेको छ । यद्यपि दुबै दाबीको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

अफगानिस्तान आतंकवादबाट प्रभावित देशको सूचीमा शीर्ष स्थानमा

अफगानिस्तान सन् २०२१ मा आतङ्कवादबाट प्रभावित देशहरूको सूचीको शीर्ष स्थानमा परेको छ । स्थानीय मिडियाले अर्थशास्त्र र शान्ति संस्थान आईईपी द्वारा प्रकाशित विश्वव्यापी आतङ्कवाद सूचकाङ्कलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो ।

अफगानिस्तानमा सन् २०२१ मा आतङ्कवादबाट १, ४२६ जनाको ज्यान गएको छ जुन विश्वमा भएका आतङ्कवादी गतिविधिबाट ज्यान गुमाउनेहरुको कुल सङ्ख्याको २० प्रतिशत हो ।

आईईपी प्रतिवेदनअनुसार अफगानिस्तानमा आतङ्कवादी घटनाहरूमा कम्तिमा २,१९९ जना घाइते भएका छन् भने ९१ जना बन्धक पारिएका छन् ।

अफगानिस्तान पछि इराक र पाकिस्तानमा सबैभन्दा धेरै आतङ्कवादी हमला  गरिएका प्रतिवेदनमा जनाइएको छ । यसैबीच, अगस्टको मध्यमा अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि आर्थिक अस्तव्यस्तता र गम्भीर मानवीय संकट निम्त्याएको छ।

संयुक्त राष्ट्रसंघका अनुसार अफगानिस्तानमा २ करोड ४० लाखभन्दा बढी मानिसलाई मानवीय सहायता आवश्यक छ।

२० लाख युक्रेनी शरणार्थी बने

युक्रेनमा जारी युद्धबाट शरणार्थी बन्नेको संख्या बीस लाख पुगेको छ । शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयका प्रमुख फिलिपो ग्राण्डीले सामाजिक सञ्जाल ट्विटरमार्फत् यस्तो जानकारी दिएका हुन् ।

संयुक्त राष्ट्र संघले युक्रेनमाथि रुसी आक्रमणबाट उत्पन्न मानवीय संकटलाई युरोपमा दोश्रो विश्वयुद्ध यताकै सबैभन्दा खराब शरणार्थी संकटको रुपमा व्याख्या गरेको छ ।

युक्रेनमा शरणार्थी बनाइएकामध्ये आधा पोल्याण्ड पुगेको युरो न्युजले जनाएको छ । अरु १ लाख रुस र ४५० जनाजति बेलारुस पुगेको जनाइएको छ ।

युक्रेनमा १३ दिन यता रुसी आक्रमण जारी छ । रुसले आक्रमण गरेको शुरुको एक सातामा १० लाख शरणार्थी युक्रेनबाट बाहिरिएका थिए । युद्ध जारी रहेकाले शरणार्थीहरुको सङ्ख्या अझ बढ्ने युएनएचसीआरको चिन्ता छ ।

युक्रेनमा भएको विष्फोटमा २ बालबालिका सहित ९ को मृत्यु

युक्रेनमा भएको विष्फोटमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ ।

राजधानी किभबाट करिब ३५० किलोमिटर पूर्वमा रहेको सुमी शहरमा हवाई आक्रमण भएको जनाइएको छ ।युक्रेनको उद्धार सेवाले उक्त कारवाहीमा दुई जना बालबालिका समेत ९ जनाको मृत्यु भएको जनाएको हो ।

‘शत्रु विमानहरूले कपटी ढंगले अपार्टमेन्ट भवनहरूमा आक्रमण गरेको’ युक्रेनी उद्धार सेवाको आरोप छ । रुसी सिमाना नजिकै रहेको सुमी शहर केही दिनदेखि चर्को लडाइको चपेटामा परेको छ।

गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण थालेयता रुसी फौजले जानाजान सार्वजनिक एवम् आवासीय क्षेत्रहरूलाई लक्षित गरी पटक पटक हमला गर्ने गरेको युक्रेनी पक्षले आरोप लगाउँदै आएको छ ।

म लुकेको छैन – जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफू लुकेर नबसेको टिप्पणी गरेका छन् ।

युक्रेनी राष्ट्रपतिको कार्यालयबाट भिडियो सन्देश जारी गर्दै जेलेन्स्कीले आफू राजधानी किभमै रहेको बताए । ‘अब म एउटा कुरा भन्न चाहन्छु– म यहीँ छु, म किभमै छु ।बान्कोभा सडकमा । म लुकिरहेको छैन । र म कसैसँग डराउनेवाला पनि छैन । हाम्रो देशप्रेमी युद्धका लागि जे चाहिन्छ, म गर्न तयार छु ।’ उनले जारी गरेको भिडियो सन्देशमा जनाइएको छ ।

फेब्रुअरी २४ मा रुसले आफ्नो मुलुकमाथि आक्रमण गरेयता जेलेन्स्कीले आफू रुसी फौजको प्रमुख निशाना रहेको बताउँदै आएका छन् ।
गत साता युक्रेनी अधिकारीहरुले जेलेन्स्कीविरुद्ध भएको हत्या प्रयास असफल पारिएको जनाएका थिए ।

यद्यपि त्यसयता उनको ज्यानविरुद्ध रुसी षड्यन्त्रहरु अझै जारी रहेको युक्रेनी सुरक्षा अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ८ : ०० बजे

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी

विविधताबीचको एकता नेपालीको विशेषता र पहिचान : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बडादशैँले समुदाय,

दशैँमा नीतिलाई ‘ज्वाइँ साब’को चटारो

काठमाडौं– नीति शाहको अभिनय रहेको दोस्रो फिल्म ‘ज्वाइँ साब’ फूलपाती

भारतीय उद्योगपति रतन टाटाको निधन

काठमाडौं– भारतका औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन भएको

दशैँमा खेल्न ६ करोडको तास भित्रियो

काठमाडौं – दशैँको छुट्टीमा रोजगारी र पठाइका लागि सहरी क्षेत्रमा