नेपालमा आज : के-के भयो दिनभर ? | Khabarhub Khabarhub

नेपालमा आज : के-के भयो दिनभर ?


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महिला अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाको भनाइ

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानले व्यवस्था गरेको महिला अधिकार सुनिश्चितका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् । ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सरकारले आयोजना गरेको मूल समारोहमा प्रधानमन्त्री देउवाले महिलाको विषय सबैको साझा विषय भएको भन्दै महिलाको संविधानले व्यवस्था गरेको अधिकार सुनिश्चितका लागि सरकार प्रतिवद्ध रहेको बताए । उनले महिला अधिकार र सशक्तीकरणका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । उनले महिलाविरुद्ध हुने सबैखाले भेद्भाव र हिंसा विरुद्ध अभियानकै रुपमा जुट्न आग्रह गरे । देशको कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गरी महिलाको लैङ्गिक, सामाजिक, आर्थिक र राजनीतिक अधिकार सुनिश्चित गर्न सबै प्रतिबद्ध हुनुपर्ने उनले बताए । त्यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले समाजमा विद्यमान पितृसत्तात्मक सोच र व्यवहारलाई निवारण गर्न नसक्नु चुनौतीको विषय भएको उल्लेख गरिन् ।

जलवायु परिवर्तनका असरबारे कालापत्थर क्षेत्रबाट १० बुँदे घोषणापत्र जारी

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सगरमाथाको कालापत्थर क्षेत्रबाट जलवायु परिवर्तनका असर बारे विश्वको ध्यानाकर्षण गराउन १० बुँदे घोषणापत्र जारी गरिएको छ । समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित ४० जना महिलाको समूहले काठमाडौँदेखि १३ दिने पदयात्रा सुरु गरी कालापत्थर क्षेत्रमा आज विशेष कार्यक्रम गरेर सो घोषणापत्र जारी गरेको हो । मार्च ८ अर्थात अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ‘साथसाथै’ संस्थाको आयोजना एवं वन तथा वातावरण मन्त्रालय र विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोगमा कालापत्थरमा विशेष कार्यक्रम गरिएको हो । घोषणा पत्रमा जलवायु परिवर्तन प्रभावित क्षेत्रका महिला र विपन्न समूहको अनुकूलन क्षमता सुधार ‘जलवायु न्याय’ मुद्दाको वकालत गर्ने, जलवायु परिवर्तनको न्यूनीकरण र अनुकूलनमा महिलाको भूमिका परिभाषित गर्न हरसम्भव प्रयास गर्ने, मानव स्वास्थ्य प्रणालीको दिगो व्यवस्थापनका लागि प्रवर्द्धन गर्न अपिल गर्ने उल्लेख छ ।

मतपत्रमा निर्वाचन चिन्ह हरियो राख्ने आयोगको निर्णयप्रति एमाले अध्यक्ष ओलीको आपत्ति

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनको मतपत्रमा निर्वाचन चिन्ह हरियो राख्ने निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाएका छन् । ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा अखिल नेपाल महिला संघले मंगलबार काठमाडौँमा गरेको कार्यक्रममा निर्वाचन चिन्ह हरियो राख्ने निर्णय सच्चाउन पनि उनले आयोगको ध्यानाकर्षण गराए । उनले कुनै पनि कारणले मतपत्रमा हरियो रङ्ग राख्न उचित नहुने उल्लेख गरे ।  त्यस्तै ओलीले अदालत, संसद्, निर्वाचन आयोग र सिंगो सरकार एमालेविरुद्ध लागिरहेको आरोप लगाए । त्यस्तै उनले न्यायाधीशले कानुन हेर्न छोडेको र व्यक्तिको उद्यश्य हेरेर फैसला गरिरहेको जिकिर गरे । ओलीले सत्तामा रहेका दलहरूलाई समृद्ध नेपाल सुखी नेपालीको नारा मन नपरेको धारणा राखे ।

स्थानीय तहको निर्वाचनको तयारीमा खट्न देउवाको निर्देशन

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनको तयारीमा खट्न निर्देशन दिएका छन् । आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकमा देउवाले काँग्रेसले सञ्चालन गर्ने चुनाव प्रचार अभियानमा जुट्न निर्देशन दिए । देउवाले स्थानीय तह निर्वाचन केन्द्रित घरदैलो अभियान सञ्चालनमा क्रियाशील हुन आवश्यक निर्देशन दिएको काँग्रेस नेता मोहन बस्नेतले जानकारी दिए ।

नेपालमा थप १ सय ९४ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ९४ जना कोरोना संक्रमित थपिएका छन् ।  देशभर गरिएको ३ हजार ६ सय ३८ पिसिआर परिक्षणमा ७४ जना र २ हजार ७ सय ५८ एन्टीजेन परिक्षणमा १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । त्यस्तै आज ३ सय ४८ जना संक्रमणमुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ५९ हजार ८ सय १७ जना निको भएको छ । हाल नेपालमा ५ हजार ८ सय ७५ सक्रिय संक्रमित आइशोलेशन र १ सय १० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेश र पालिकाले गरेको बढुवा रद्द गर्ने निर्णय

लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगहरूको रुपन्देहीको मणिग्राममा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । सम्मेलनले प्रदेश तथा स्थानीय तहहरूले प्रक्रिया पूरा नगरी गरेको बढुवा, तहवृद्धि, स्तरवृद्धिलगायतका काम सम्बन्धित प्रदेश लोकसेवा आयोगहरूले रद्द गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको लोकसेवा आयोगका प्रवक्ता तोयनाथ सुवेदीले जानकारी दिए । यस्तै १६ वैशाख २०७६ मा सरकारले निर्धारण गरेको मर्यादाक्रम पुनरावलोकन गर्न माग गर्ने, प्रदेश लोकसेवा आयोगको परीक्षा दस्तुर र पारिश्रमिक लोकसेवा आयोगबाट स्वीकृत दररेटसँग एकरुपता कायम गर्न पहल गर्ने, वार्षिक कार्यतालिका तयार गर्दा प्रदेश लोकसेवा आयोगहरूले यथासम्भव एकैपटक प्रकाशन गर्ने निर्णय पनि सम्मेलनले गरेको छ । 

बारमा २५ पदका लागि ८३ उम्मेदवार

नेपाल बार एशोसिएशनको २६ औँ केन्द्रीय कार्य समितिको निर्वाचनमा २५ पदका लागि ८३ जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिले आज साँझ सबै उम्मेदवारहरूको दोस्रो नामावली प्रकाशन गरेको हो । बार निर्वाचनमा मुख्यतः सत्तारुढ गठबन्धन र एमालेनिकट वकिलहरूको प्यानलबीच प्रतिस्पर्धा हुँदैछ । अध्यक्षमा एमालेनिकट पीपीएलएबाट वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र गठबन्धनबाट वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे प्रतिस्पर्धामा छन् । निर्वाचन समितिका अनुसार अध्यक्षका लागि उद्धवचन्द्र घिमिरे, उत्तमबहादुर श्रेष्ठ, अनिता जधारी, कमप्रसाद मलेगो, पृथ्वीनाथ राई, अमिता लक्ष्मी सैंजु श्रेष्ठ गरी ६ जनाको उम्मेदवारी परेको छ ।

एमाले प्रवेश गर्न लागेपछि रंगेलीका मेयर माओवादीबाट निष्कासित

नेकपा माओवादी केन्द्रले मोरङको रंगेली नगरपालिकाको मेयर दीलिपकुमार अग्रवाललाई पार्टीबाट निष्कासन गर्दै मेयर पदबाट हटाउन निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रका प्रदेश १ समिति अध्यक्ष हर्कवहादुर नेम्वाङले आज विज्ञप्ति जारी गरी अग्रवाललाई २०७८ फागुन १५ बाट लागु हुने गरी साधारण सदस्यबाट समेत निष्कासन गरिएको जनाए । अग्रवाल भोलि नेकपा एमालेमा प्रवेश गर्न लागेपछि फागुन १५ को मिति राखेर माओवादीले कारबाही गरेको हो । तत्कालीन नेकपा विभाजनसँगै अग्रवाल केपी ओली पक्षसँग नजिकिएका थिए । यसैबीच अग्रवाललाई एमालेमा स्वागत गर्न भोलि अध्यक्ष केपी शर्मा ओली विराटनगर जाने कार्यक्रम छ ।  

पार्टीलाई सशक्त रुपमा अगाडि बढाउने राप्रपा नेपालका अध्यक्ष थापाको प्रतिबद्धता

राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका त्रुटि, कमीकमजोरीहरूलाई सच्याएर पार्टीलाई सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता दोहोर्‍याएका छन् । काठमाडौँमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालको घोषणा सभालाई सम्बोधन गर्दै थापाले पार्टीलाई ठूलो बनाउने नाममा धेरै गल्तीहरू भएकाले अब त्यस्ता गल्तीबाट पाठ सिकेर पुनर्जागृत राप्रपा नेपाललाई सुदृढ बनाएर लैजाने प्रतिवद्धता दोहराए । नेपालको राष्ट्रिय राजनीतिमा राप्रपा नेपाल अरु पार्टीभन्दा फरक बिचार र पहिचान बोकेर हिडेको पार्टी भएको भन्दै उनले लक्ष्यअनुसार अघि बढ्न अव कसैले रोक्न नसक्ने तर्क गरे ।

मधेश सरकारको बस सार्वजनिक संस्थालाई दिइने

सार्वजनिक यातायातका लागि मधेश प्रदेश सरकारले खरिद गरेको बस सञ्चालन नहुने भएको छ । खरिद भएको बस प्रदेश सरकारले आफूअन्तर्गतका निकायलाई दिने निर्णय गरेको छ । आज बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले यात्रुलाई चढाउन खरीद गरिएको बस आफ्ना निकायलाई दिने निर्णय भएको प्रदेश सरकारका प्रबक्ता समेत रहेका अर्थ मन्त्री शैलेन्द्र साहले जानकारी दिए । उनका अनुसार खरीद गरिएका ५ बसमध्ये २ वटा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई तथा १÷१ वटाका दरले कृषि विश्वविद्यालय राजविराज, कृषि तालिम केन्द्र धनुषा र प्रदेश प्रशिक्षण केन्द्रलाई दिइनेछ । डेढ बर्षअघि प्रदेश सरकारले यो बस खरीद गरेको थियो ।

सिरहा काँग्रेस सभापतिमा यादव विजयी भएको घोषणा

नेपाली काँग्रेस सिरहाको सभापतिमा रामचन्द्र यादव निर्वाचित भएका छन् । संस्थापन पक्षबाट यादव दोस्रोपटक सभापतिमा निर्वाचित घोषित भए । निर्वाचनको क्रममा विवाद भएपछि संस्थापन इतर पक्षले मतगणना बहिस्कार गरेको थियो । सो विवाद समाधान नगरी गरिएको मतगणनाबाट यादवले १४ सय २६ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत सञ्जिवकुमार लामाले जानकारी दिए । लामाका अनुसार प्रतिस्पर्धी संस्थापनइतरका रामसुन्दर चौधरीले ८८७ मत ल्याएका छन् ।

पल शाहलाई अनुसन्धानका लागि गैंडाकोट लगियाे

नाबालिगलाई जवरजस्ती करणी गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शालाई थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय गैंडाकोटमा ल्याइएको छ । तनहुँ प्रहरी हिरासतमा रहेका शाहलाई आज प्रहरी कार्यालय गैंडाकोटमा ल्याएको प्रहरीले जानकारी दिएको हो । गैंडाकोटमा पनि शाहले नाबालिग गायिकालाई दुव्यवहार गरेको भन्दै उजुरी परेको छ । जिल्ला प्रहरीका सूचना अधिकारी दिलिप गिरीका अनुसार बलात्कारको मुद्दामा अनुसन्धान गर्न शाहलाई इलाका प्रहरी कार्यालय गैंडाकोटमा राखेर अनुसन्धान सुरु गरिएको छ । १७ वर्षिय गायिकाले शाहले आफुलाई तनहुँ र गैंडाकोटमा शाहविरुद्ध जवरजस्ती करणीको आरोपमा उजुरी दिएकी हुन् । तनहुँमा भने अनुसन्धान प्रक्रिया पूरा भएको प्रहरीले जनाएको छ ।

वर्तमान पदाधिकारीहरूलाई मार्ग प्रशस्त गर्न त्रिवि प्राध्यापक संगठनहरूको आग्रह

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक संगठनहरूले वर्तमान पदाधिकारीहरूलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् । एकीकृत प्रगतिशील प्राध्यापक संगठन नेपाल, नेपाल राष्ट्रिय प्राध्यपक संगठन, प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालले आज एक विज्ञप्ति जारी गर्दै पदाधिकारले मार्ग प्रशस्त गर्नुपर्ने माग गरेका हुन् । आफू निश्चित राजनीतिक पार्टी र गुटस्वार्थमा लिप्त हुने तर अरुलाई लाञ्छना लगाई आफू पानीमाथिको ओभानो हुने प्रवृत्ति मौल्याँएको पनि उनीहरुको आरोप छ । वर्तमान पदाधिकारीहरु विश्वविद्यालय व्यवस्थापन र आफनो प्राज्ञिक दायित्व पुरा गर्नु चुकेको उनीहरूको ठहर छ ।

नेकपा एसको केन्द्रीय कार्यसमितिको बैठक भोलिदेखि काठमाडौँमा सुरु हुने

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यसमितिको बैठक भोलिदेखि काठमाडौँमा सुरु हुने भएको छ । पर्सी सम्म चल्ने बैठकमा आगामी निर्वाचनमा पार्टीलाई सफल बनाउन नीतिगत रूपमा छलफल, समसामयिक राजनीतिक घटनाक्रम, देशभर सङ्गठन विस्तारलगायतका  विषयमा छलफल गरिने हुने छ । बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टीको सङ्गठनात्मक अवस्था, एमसिसी पारित गर्नुपर्नाका कारण, पछिल्ला घटनाक्रम र विवरण समेटिएको राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ । बैठकमा छलफल गरिने केही महत्त्वपूर्ण विषयमा  हिजो बसेको पोलिटब्यूरो बैठकले टुङ्गो लगाएको थियो ।

सात प्रदेश, चुच्चे नक्सा समेटिएको १ रुपैयाँका नयाँ सिक्का ल्याइँदै

नेपाल राष्ट्र बैंकले भोलिबाट १ रुपैयाँका नयाँ सिक्का चलनचल्तीमा ल्याउने भएको छ । सुनौलो रङ्गमा टकमरी गरिएका सिक्का चलनचल्तीमा आउने भएको छ । नयाँ सिक्काको अगाडिको भागमा हिमाल, पहाड र तराईको पृष्ठभूमिका साथमा सात प्रदेशसहितको नयाँ चुच्चे नक्सा समेटिएको छ । सिक्काको माथिल्लो भागमा अंग्रेजीमा ‘आरई वान’ लेखिएको छ भने तल्लो भागमा १ रुपैयाँ लेखिएको छ । सिक्काको पछाडिको भागमा सगरमाथाको चित्र अंकित गरिएको छ । त्यसकै मुनि अंग्रेजीमा सगरमाथा नेपाल लेखिएको छ । सगरमाथा चित्रको बाहिरपट्टि वरिपरि चन्द्र, सूर्य, चक्र, संख, पद्यको साना आकृति दिइएको छ ।

 

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ९ : २७ बजे

महोत्तरी पूर्ण खोपयुक्त जिल्ला घोषणा

महोत्तरी – महोत्तरी जिल्लालाई आज पूर्ण खोपयुक्त घोषणा गरिएको छ

विपद् व्यवस्थापनमा परिचालन हुन प्रहरीलाई निर्देशन

काठमाडौं – निमित्त प्रहरी महानिरीक्षक दीपक थापाले प्राकृतिक प्रकोपबाट हुनसक्ने

विपदमा परी २४ घण्टामा १४ जनाको मृत्यु, १० जना घाइते

काठमाडौं – पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ४४ वटा विपद्जन्य

चर्को लोडसेडिङको विरोधमा पाकिस्तानमा प्रदर्शन

एजेन्सी – चर्को लोडसेडिङको विरोधमा पाकिस्तानको खैबर पख्तुनख्वामा प्रदर्शन भएको

एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं – आगामी महिना श्रीलंकामा हुने एसिसी महिला एसिया कप