अडियो सुन्नुहोस्ः
आसन्न स्थानीय निर्वाचनका लागि आजबाट आचारसंहिता लागू
निर्वाचन आयोगले आसन्न स्थानीय निर्वाचनका लागि आजबाट आचारसंहिता लागू गरेको छ । आयोगले आज पत्रकार सम्मेलन गर्दै आचारसंहिता लागू भएको घोषणा गरेको हो । वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी बनाउन पालना गर्नुपर्ने आचारसंहिता जारी गरेको हो । आचारसंहिताअनुसार कसैको पक्ष विपक्षमा सञ्चार माध्यममा मात्र होइन, सामाजिक सञ्जालमा पोस्ट वा शेयर गर्न पनि नपाउने र दल वा उम्मेदवारले आधिकारिक पेजमा मात्र प्रचार गर्न पाउने आयोगले जनाएको छ । झोला, टिसर्ट, क्याज जस्ता सामाग्री नछाप्न पनि दलहरूको ध्यानाकर्षण गराएको छ ।
माओवादी नेता नारायणप्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनीत
चितवनका नारायणप्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले दाहाललाई राष्ट्रिय सभा सदस्य मनोनित गरेकी हुन् । संविधानमा ३ जना राष्ट्रिय सभा सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ । यसअघि राष्ट्रपतिले मनोनीत गरेका रामनारायण बिडारीको समय सकिएपछि रिक्त पदमा दाहाल नियुक्त भएका हुन् ।
विभिन्न २० देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने सरकारको निर्णय
सरकारले बिभिन्न २० देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बिभिन्न देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरिएको बताए । बैठकले हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धकमा बसन्तकुमार पाण्डेलाई नियुक्त गरेको छ भने अमलेखगंज सबस्टेसनका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारवाही चलाउने अधिकारी तोक्ने निर्णय गरेको छ ।
गभर्नर अधिकारी निलम्बित
सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजोको बैठकले अधिकारीमाथि छानबिन गर्ने निर्णय गर्दै समिति पनि गठन गरेको थियो । आज अधिकारीलाई सरकारले निलम्बन गरेको पत्र पठाएको छ ।अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर अधिकारीबीच लामो समयदेखि विभिन्न विषयमा मतभेद हुँदै आएको थियो ।
धर्मशालाको मूलगेटमा ताला नलगाउन अन्तरकालीन आदेश
काठमाडौँ जिल्ला अदालतले पशुपतिस्थित धर्मशाला भित्र बतास समूहले सञ्चालन गरेको धर्मशालाको मूलगेटमा ताला नलगाउन अन्तरकालीन आदेश दिएको छ ।पशुपति क्षेत्र विकास कोषले आज ताला लगाएलगत्तै अदालतले निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो यदि आदेश जारी हुन नपर्ने कुनै आधार र कारण भए सबुत प्रमाणसहित प्रस्तुत आदेश प्राप्त भएको मितिले म्याद बाहेक १५ दि भित्र आफै वा कानुन बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्न विपक्षीको नाममा आदेश दिएको छ । नेपाल–भारत मैत्री धर्मशाला भित्र सञ्चालित होटेल आनन्दको मूलगेटमा सरकारले आज ताला लगाएको हो ।
जनादेशको दूरुपयोग गर्नेहरूलाई आगामी निर्वाचनमा जनताले पराजित गर्ने ओलीको भनाइ
नेकपा एमालेका अध्यक्ष केपी ओलीले जनादेशको दूरुपयोग गर्नेहरूलाई आगामी निर्वाचनमा जनताले पराजित गर्ने बताएका छन् । आज काठमाडौँमा राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले देश बनाउनका लागि प्रचण्ड–माधवलाई दिएको जनमतको दूरुपयोग भएको भन्दै उनीहरूलाई आगामी निर्वाचनमा जनताले पराजित गर्ने बताए । पार्टी एकीकरणको बेला आफूले ५४ सिट दिएको प्रचण्ड र २३ सिट दिएको माधव नेपालले त्यसको दूरुपयोग गरेर पार्टी फुटाउने काम गरेको उनले बताए ।
बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे निर्वाचित
नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् । सत्ता गठबन्धनमा आबद्ध दलहरू निकट कानुन व्यवसायीको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका घिमिरेले करिब दुई हजार मतान्तरसहित बारको अध्यक्षमा निर्वाचित भएका हुन् । घिमिरेले ४४७४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीले २४८२ मत प्राप्त गरे । त्यस्तै महासचिवमा गठबन्धन समर्थित उम्मेदवार अञ्जिता खनाल ३ हजार ६८२ मत ल्याउँदै विजयी भइन् भने निकटतम प्रतिस्पर्धी केदार कोइरालाले २ हजार ३४५ मत ल्याए ।
सुदूरपश्चिम सरकारमा कांग्रेसबाट ३ मन्त्री र १ राज्यमन्त्री थपिए
सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसका एक राज्यमन्त्रीसहित तीन जना सहभागी भएका छन् । कांग्रेस संसदीय दलका नेता रहेका रणबहादुर रावल, गोविन्द बोहरा मन्त्री भएका छन् भने टेकबहादुर रैका राज्यमन्त्री नियुक्त भएका छन् । छोटो समयमै सरकारबाट बाहिरिनु परेकोमा नेकपा (एकीकृत समाजवादी)का सांसदहरूमा भने पार्टी नेतृत्वप्रति असन्तुष्टि देखिएको छ । रावल आन्तरिक मामिला तथा कानुन, बोहरा सामाजिक विकास र रैका सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त भएका हुन् । यी मन्त्रालयमा यसअघि एकीकृत समाजवादीका मन्त्रीहरूको नेतृत्व थियो । यस्तै एकीकृत समाजवादीले अन्य मन्त्रीहरू पनि हेरफेर गरेको छ । संसदीय दलका नेता दीर्घ सोडारीबाहेक सबै फेरबदल भएका छन् ।
सर्लाहीमा १५ लाख नदिँदा बालकको हत्या, ७ जना पक्राउ
सर्लाहीमा सेप्टिक ट्यांकीमा शव भेटिएका बालकका परिवारले १५ लाख रुपैयाँ नदिँदा उनको हत्या भएको प्रहरीले दाबी गरेको छ । मलगंवा नगरपालिका १२ गम्हरिया बस्ने दिपेन्द्र ठाकुरका ८ वर्षीय छोरा मिठु भनिने आकाश ठाकुरको शव सेप्टिक ट्यांकीमा भेटिएको थियो । आकाश २० चैतको राति ८ बजेदेखि हराएका थिए । परिवारजनले जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएपछि प्रहरीले खोजी सुरु गरेको थियो ।आकाश बेपत्ता भएको सन्दर्भमा प्रहरीले अनुसन्धान गर्दै जाँदा बालकको परिवारसँग फेसबुक म्यासेन्जरमार्फत् १५ लाख रुपैयाँ फिरौती मागेको पाइएको प्रहरीको दाबी छ ।उनीहरूले मागेको रकम तत्कालै नपाउँदा सात जना मिलेर बालकको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको २ हजार ७ सय २८ पिसिआर परीक्षणका क्रममा ११ जना र १ हजार ६ सय २१ एन्टीजेन परिक्षण गर्दा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै थप ८९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६५ हजार ९ सय ३६ जना निको भएका छन् । हाल नेपालमा ६ सय ६९ सक्रिय संक्रमित आइशोलेशनमा छन् ।
पर्सामा बरामद बन्दुक इजाजत प्राप्त रहेको खुलासा
सशस्त्र प्रहरी बल पर्साले हिजो अवैध भनी नियन्त्रणमा लिएको दुईनाले बन्दुक जिल्ला प्रशासन कार्यालयबाट इजाजत प्राप्त रहेको खुलेको छ । इजाजत प्राप्त हतियार रहेको पाइएपछि पक्राउ परेका तीन जनालाई प्रहरीले रिहा गरेको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीले पर्साको विन्दवासिनी गाउँपालिका ३ सबैठवाबाट दुईनाले बन्दुकसहित तीन जनालाई नियन्त्रणमा लिएको थियो । हिजो बिहान सबैठवाको नहर चोकमा मोटरसाइकलमा सवार तीन जनालाई नियन्त्रणमा लिई जाँच गर्दा सुपर क्वालिटी लङ रेन्ज लेखिएको दुई नाले बन्दुक र त्यसमा प्रयोग हुने एक थान कार्टिज बरामद गरेको थियो ।
प्रतिक्रिया