यसरी हटाउन सकिन्छ भ्रष्टाचारको जालो | Khabarhub Khabarhub

यसरी हटाउन सकिन्छ भ्रष्टाचारको जालो



काठमाडौँ – सर्वोच्च अदालतको कार्यालय भवनको ठेक्कामा मिलेमतो गरी निलम्बित प्रधानन्यायाधीश चोलन्द्र शमशेर जबरामाथि अहिले एक अर्ब भ्रष्टाचार गरेको अभियोगको उजुरी अख्तियार दुरुपयोग अनसुन्धान अयोगमा परेको छ ।

केही दिनअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल ६ लाख घुससहित रंगेहात पक्राउ परे । आवश्यक अनुसन्धान र छानबिन गर्दा उनको गाडीमा थप साढे १६ लाख रुपैयाँ भेटियो ।

वि.सं. २०७७ चैत १ गते नापी कार्यालय भैरहवाका नापी अधिकृत सरोज श्रेष्ठसमेत ६ जनालाई १७ लाख घुससहित अख्तियारले नियन्त्रणमा लिएको थियो।

यस्तै वि.सं. २०७६ चैत्र २८ गते मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिलकुमार झा सेवाग्राहीसँग पाँच लाख घुस लिएको आरोपमा अख्तियारको फन्दामा परे । गत बर्ष फागुन २९ मा चरिकोट डिभिजन वन कार्यालय दोलखाकी प्रमुख उपसचिव सन्तमाया श्रेष्ठ २ लाख घुससहित भक्तपुर गठ्ठाघरबाट पक्राउ परेकी थिइन् ।

अंशबण्डा एवं बाटो कायम गरी जग्गाधनी प्रमाणपूर्जा बनाइदिए बापत सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस माग गरेको उजुरीका आधारमा पुस ९, २०७८ मा अख्तियारले चितवनस्थित मालपोत कार्यालय चनौलीका प्रमुख र अमिनलाई पक्राउ गरेको थियो ।

यी त सरकारी कार्यालय र कर्मचारीले गरेको घुसकाण्डका सामान्य प्रतिनिधि घटना मात्र हुन् । खोज्दै जाने हो भने सरकारी कर्मचारीबाट हुने यस्तो घुसको लामै श्रृङखला भेटिन्छ।

लोभी र भ्रष्ट आचरण, तलब र सेवा सुविधाको कमी, अपारदर्शी व्यवहार, मानवीय स्वभाव या नीति, कानुनको फितलोपन र कार्यान्वयनको अभाव, छिटो काम सक्नुपर्ने सेवाग्राहीको हतारो, जानीजानी फाइल अड्काइदिने कर्मचारीको कामचोर प्रवृत्ति घटेको छेन।

स्थानीय सरकार आइसकेपछि त झन् हरेक पालिकामा भ्रष्टाचार बढेको छ । कर्मचारीले सिफारिस लेखिदिए बापत घरजग्गाको नापी नक्सा जाँचपास गरेबापत, साइन गरेबापत पनि घुस लिने प्रवृत्तिले जरा गाडेको छ ।

मुलकका प्रधानमन्त्री, मन्त्री, सांसद तथा नेताको मिलेमतोमा सरकारका सचिव, उपसचिव, सहसचिव, अधिकृत, सुब्बा, खरिदारहरु करोडौँका घुसकाण्डमा आरोपित रहँदै आएका छन् । यति मात्र होइन, मालपोत कार्यालय, यातायात कार्यालय तथा विभाग, नापी विभाग, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत तथा सरकारी वकिलको कार्यालय, प्रहरी कार्यालयमा काम गरिदिने बाहानामा दिनदहाडै पैसाको मोलमोलाइ हुने गर्दछ ।

आज मुलक नबन्नुको पछाडिको बाधक पनि यस्तै खाले भ्रष्टाचार नै हो । राजनीतिकर्मी र सरकारी कर्मचारी मात्र होइन अरु विशिष्ट क्षेत्रका व्यक्तिहरु जस्तै प्राध्यापक, शिक्षक, लेखक, बुद्धिजीवी, प्रहरी, जनता सबैमा बेथिति र भ्रष्टाचारको जालो नराम्ररी झांगिदै गएको छ ।

यसले नेपालको आर्थिक विकासको बाटोलाई छेकेको छ । आखिर सरकारी कर्मचारी किन यसरी भ्रष्टाचारमा लिप्त भइरहेका छन् ? नियन्त्रणको सट्टा किन यसरी मौलाउँदै गइरहेको छ भ्रष्टाचार ? यसको जवाफ आजसम्म अनुत्तरित नै छ ।

लोभी र भ्रष्ट आचरण, तलब र सेवा सुविधाको कमी, अपारदर्शी व्यवहार, मानवीय स्वभाव या नीति, कानुनको फितलोपन र कार्यान्वयनको अभाव, छिटो काम सक्नुपर्ने सेवाग्राहीको हतारो, जानीजानी फाइल अड्काइदिने कर्मचारीको कामचोर प्रवृत्ति घटेको छेन। यस्तै यस्तै कारणले नेपालमा भ्रष्टाचार मौलाएको बुझ्न सकिन्छ।

भ्रष्ट आचरण

‘भ्रष्ट’ र ‘आचार’ दुई शब्दको सन्धिबाट ‘भ्रष्टाचार’ शब्द बनेको छ । जुन शब्दले ‘आचार नभएको’ वा ‘खस्किएको कारोवार’ लाई जनाउँछ । यस अर्थमा पैसा कुम्ल्याउनु मात्र भ्रष्टाचार होइन । भ्रष्ट आचार अर्थात् गलत बानी या नियत पनि भ्रष्टाचार हो ।

नेपालमा भ्रष्टाचार हुने प्रमुख कारण नै भ्रष्ट आचार हो । सरकारी कर्मचारी होस् या अरु कोही । नेपालमा यी सबै तप्कामा इमन्दारिता र असल आचरणको अभाव देखिन्छ । पैसाका लागि घुस लिने मात्रै होइन, मान्छे मार्नसम्म पनि नेपालीहरु उद्धत छन् । उच्च महत्वकांक्षा राखेर सात पुस्तासम्म पुग्नेगरी पैसा कमाउनुपर्छ भन्ने गलत धारणा सरकारी कर्मचारी र हाकिममा देखिन्छ । हाम्रो कर्मचारीमा नैतिकताको खडेरी देखिन्छ । त्यसैले पदको गरिमा कायम नगरी उनीहरु भ्रष्टाचारमा लिप्त छन् ।

सेवा सुविधाको कमी

आगामी आर्थिक बर्षको बजेट सार्वजनिक हुँदा सरकारी कर्मचारीको तलब स्केल पनि १५ प्रतिशतले बढेको छ । त्यसरी बढ्दा अहिले मुख्य सचिवको ७७ हजार २११, सचिवको ७२ हजार ८२, सहसचिवको ५६ हजार ७८७, उपसचिवको ४८ हजार ७३७, शाखा अधिकृतको ४३ हजार ६८९ र नायब सुब्बाको ३४ हजार ७३० र खरिदारको ३२ हजार ९०२ तलब स्केल छ । जुन समयसापेक्ष छैन । सोझो र नियमित हिसाब गर्ने हो भने नेपालका मुख्य सचिव, सचिव, सहसचिव, उपसचिव, अधिकृत, सुब्बा र खरिदारले कमाएको जीवनभरको तलबले यो महंगी, खर्चिलो पढाइलेखाइ र स्वास्थ्य उपचार थेग्न सक्ने देखिँदैन । त्यसकारण पनि स्वभावैले सरकारी कर्मचारीहरु भ्रष्टाचार गर्न बाध्य रहेका जानकारहरु बताउँछन् ।

नियामक निकायको निकम्मापन र कानुन कार्यान्वयनको अभाव
आफूले पाएको अख्तियारको दुरुपयोग गरी अकुत सम्पत्ति आय आर्जन गर्नेमाथि उजुरीको आधारमा कारबाही गर्ने नियामक निकायको रुपमा मुलुकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ । अर्कातर्फ कसले कति सम्पत्ति आर्जन गर्‍यो ?

अकूत सम्पत्ति कमाउने स्रोत के हो भनेर छानबिन गर्ने निकायका रुपमा सम्पत्ति शुद्धीकरण विभाग छ । तर पनि यी दुवै निकायले आग्रह पूर्वाग्रह नराखी पारदर्शी ढंगले काम गर्न नसक्दा भ्रष्टाचार गर्ने प्रवृत्ति मौलाइरहेको देखिन्छ । अर्बौं रुपैयाँ भ्रष्टाचार गरेको उजुरी पर्दासमेत अख्तियारले त्यसउपर छानबिन गर्ने हिम्मत गर्दैन । स–साना उजुरीका चाङ त आयोगमा बषौँदेखि थन्किएर बसेका छन् । आयोगले पक्राउ गरे पनि स–साना माछाहरुलाई मात्र समात्छ । यसले पनि मोटो रकममा बार्गेनिङ गर्ने, सेटिङमा काम गर्ने कर्मचारीको मनोबलमा बल दिएको बुझ्न सकिन्छ ।

अर्कोतर्फ कानुन कार्यान्वयनको पाटो पनि फितलो छ । कानुन सुन्दर छ तर त्यसको कार्यान्वयनमा सम्बन्धित निकाय असफल छ । बदमास र भ्रष्टाचार गर्नेमाथि कारबाही गर्ने, मुद्दा चलाउने निकाय आफैमा भ्रष्टाचारमा लिप्त छ । मुद्धा मामिला भए पनि उन्मुक्ति दिने संयन्त्रले यस्तो प्रवृत्तिलाई मलजल दिइरहेको विभिन्न घटनाक्रमले पुष्टि गर्दछ ।

करोड र लाखका भ्रष्टाचार सरकारी कर्मचारीको लागि सामान्य हो । यदि सो भ्रष्टाचारको पुष्टि भए पनि उनीहरुको जागिर जाँदैन । कारबाही भए सरुवा या घटुवा हो । उनीहरुविरुद्ध हत्तपत्त मुद्दा लाग्ने संयन्त्र यो मुलुकमा छैन । त्यसकारण निडर भएर सरकारी कर्मचारी विना कुनै जोखिम भ्रष्टाचारमा सामेल भइरहेका छन् ।

अर्बौका भ्रष्टाचार काण्ड छ्याप्छ्याप्ती सतहमा आउँदासमेत नियामक निकाय रमिते देखिँदा यस खाले प्रवृत्तिले दिनहुँ प्रश्रय पाइरहेका छन् ।

अधिकृत, सचिव, सहसचिवहरुले कति कमाए होलान् ? त्यसलाई कल्पना मात्र गरौँ । यहाँ त खरिदार र सुब्बाले पनि पदको दुरुपयोग गरी अकुत सम्पत्ति कमाएका छन् । जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत नायब सुब्बा गणपति झाले जागीर अवधिमा चार करोड ८७ लाख ३८ हजार २१० रुपैयाँ कमाएको खुलासा भयो ।

चार वर्ष सरकारी सेवामा बसेर सवा ६ करोड रुपैयाँ सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको आरोपमा अख्तियारले केही समय अघि गुल्मीका भीमकान्त भण्डारीविरुद्ध मुद्दा दायर गरेको थियो । एक जना सुब्बाले काठमाण्डौँ ८८ ठाउँमा जग्गा लिएका, श्रीमती, छोराछोरीको नाममा बिभिन्न बैङ्कमा बैङ्क ब्यालेन्स जम्मा गरिरहेका समाचार पनि आएको थियो ।

यस्ता अरु घटना पनि छन् । एक जना सामान्य कर्मचारीले यसरी मुलुक कंगाल बनाउँदासमेत सम्पत्ति शुद्धिकरण गर्ने विभागले मिडियामार्फत थाहा पाउनुपर्दछ । यस्ता काण्ड बाहिरिँदा पनि उनीहरु अझै जागिरमा डेरा जमाएर बसेका छन् । त्यसैले पनि भ्रष्टाचारको जालो दिनप्रतिदिन फिँजिरहेको छ ।

पुरानै प्रणाली
विश्वले सूचना र प्रविधिमा फड्को मारे पनि अझै पनि नेपालमा हुने सेवा प्रवाह पूर्ण रुपमा विद्यूतीय हुन नसक्नु पनि भ्रष्टाचार हुने एक कारण हो । सरकारी या निजी हरेक सेवा प्रवाहको क्षेत्रमा यस्तो खालको प्रविधि भएन भने आर्थिक शुशासन कायम हुन सक्दैन । हरेक सार्वजनिक स्थानमा अझै पनि सीसीटीभी क्यामेराको जडान, अनलाइन प्रणाली गर्न राज्य असफल प्राय छ । यसले पनि भ्रष्टाचार गर्ने प्रवृत्तिलाई ढाडस दिइरहेको बुझ्न सकिन्छ ।

एकातिर कानुन, नियमावली, कार्ययोजना निर्माण गर्दा नीतिगत भ्रष्टाचार गर्ने गरी बनाइएको छ भने अर्कोतर्फ काम गर्ने कर्मचारीले आर्थिक अपचलन एवम् सामाजिक तथा नैतिक मूल्यमान्यताविरुद्ध हुने कार्य गरेका छन् । फलस्वरूप देशमा आर्थिक विकासका कार्यहरु प्रभावकारी एवम् पारदर्शी तवरले सम्पादन हुन सकिरहेका छैनन् ।

देश बन्नका लागि राष्ट्र र राष्ट्रिय राजनीति सक्षम हुनुपर्नेमा उनै यस्ता काण्ड र विवादमा फसिरहेका छन् । तसर्थ दीर्घ रोगका रुपमा रहेको भ्रष्टाचारको समुल नष्ट गर्नको लागि सबैभन्दा पहिले राष्ट्रसेवक कर्मचारीले आफूलाई जनताप्रति उत्तरदायी र इमान्दार रुपमा प्रस्तुत गर्नुपर्ने देखिन्छ । राम्रो र उत्कृष्ट कार्यसम्पादन गर्नेलाई पुरस्कारको व्यवस्था र भ्रष्टाचार गर्नेलाई कडा कारबाही र आवश्यक परे जागीरबाट विदा गर्नेतर्फ राज्यले कडा कदम चाल्नुपर्छ ।

हत्या, हिंसा जस्तै भ्रष्टाचार अर्थात् घुस लिने र दिनै दुवैलाइ राज्यविरुद्ध जघन्य अपराध गरेको कसुरको रुपमा लिएर कानुन बनाएर कारबाहीको दायरामा ल्याउनुपर्ने देखिन्छ । राज्य चलाउने प्रधानमन्त्री, मन्त्री सांसद नेता पनि भ्रष्टाचारमा लिप्त हुनुहुँदैन ।

समयसापेक्ष कर्मचारीको तलव, सेवा, सुविधा बढाएर राज्यले उनीहरुलाई प्रोत्साहन दिनुपर्दछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शद्धीकरणजस्ता संवैधानिक अंग यस्ता प्रवृत्तिविरुद्ध चनाखो हुनुपर्छ । हाम्रा हरेक काम विद्यूतीय प्रणालीमा हुनुपर्दछ । आम नागरिकले लाइन कुर्ने तर घुस दिने बानी बन्द गर्नुपर्ने देखिन्छ ।

बढी घुस लेनदेन हुने ठाउँमा सम्बन्धित निकायले विशेष निगरानी गर्न सके सदिऔँदेखि फैलिएको घुसको जालो तोड्न सकिन्छ ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ९ : ३६ बजे

संसद्मा सत्तापक्षबाट दुर्व्यवहार भएको भन्दै नेविसङ्घको आपत्ति

काठमाडौं‍- प्रतिनिधि सभा बैठकमा बिहीबार सत्तापक्षबाट असंसदीय कार्य भएको भन्दै

चट्याङ लागेर ११ जनाको मृत्यु

काठमाडौं– भारतको पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको ज्यान गएको

५ लाख धरौटीमा रिहा भए रवि ओड

काठमाडौं– वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं– सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको

कांग्रेसलाई जवाफ दिन ‘विश्वासको कार्ड’ ?

काठमाडौं- विहीबार संसदमा हंगामा भइरहँदा सत्तापक्षका नेता नेपी शर्मा ओलीले