पर्यटकको मुख्य आकर्षक केन्द्र 'जखेरा ताल' | Khabarhub Khabarhub

पर्यटकको मुख्य आकर्षक केन्द्र ‘जखेरा ताल’


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– चुरे पहाडको फेदमा रहेको दाङको लमही नगरपालिका–५ मा पर्ने जखेरा ताल अहिले पर्यटकको मुख्य आकर्षक केन्द्र बन्न पुगेको छ । पूर्व तथा पश्चिम सिमानामा वन तथा जङ्गल, दक्षिणतर्फ चिटिक्क परेको मुसुण्डी गाउँ तथा उतरतर्फ चुरे पहाड र सो पहाडको फेदको बीचमा पर्ने जखेरा तालको मनमोहक दृश्यले यतिखेर सबैलाई नै लोभ्याउने गरेको छ ।

कोरोनाको समयमा सुनसान रहेको उक्त तालमा अहिले वर्षात्काे समयमा पनि चहलपहल बढेको छ । विशेष गरेर बिदाको दिनमा ताल घुम्न आउनेको सङ्ख्या बढी हुने गरेको छ । अहिले उक्त ताल अवलोकन, घुमघाम  गर्ने र त्यस क्षेत्रमा वनभोज खानको लागि वर्षात्को समयमा पनि दैनिक एक सयदेखि दुई सयको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको ताल संरक्षण समितिका कर्मचारी ओमभगत चौधरीले जानकारी दिए ।

उनका अनुसार १२ बिघा जमिन त्यहाँ रहे पनि हाल साढे पाँच बिघा क्षेत्रफलमा ताल रहेको छ । अन्य स्थानमा भने वनजङ्गल रहेको छ । उक्त तालको गहिराइ छ फिट छ । तालको उत्तरतर्फ गणेशको तथा पूर्वमा सिदेश्वर महादेवको मन्दिर छ । यसले गर्दा यहाँ आउने पर्यटकले ढुङ्गा चढेर मन्दिर दर्शन गर्ने गरेकाले पनि  तालको थप आकर्षण बढेको छ । यसैगरी वनभोजस्थल, जलविहार, प्राकृतिक पदयात्रा, चरा तथा अन्य जीवजन्तुको पनि अवलोकन गर्नेहरु पनि बढ्ने गरेका  छन् । 

तालमा ढुङ्गा चढ्न पर्यटक निकै उत्साहित हुन्छन् तर थोरै मात्र डुङ्गा भएकाले पालो कुर्नुपर्ने भएपछि पर्खने गरेको समितिका कर्मचारी चौधरीले बताए  । एक पर्यटकलाई  पूरै तालमा ढुङ्गा चढेर जलविहार गरेमा रु एक सय तथा मन्दिर दर्शनका लागि रु ५० शुल्क निर्धारण गरिएको छ । जखेरा तालको अवलोकन गर्न पुग्नुभएकी कोहलपुर नगरपालिका–५ की कालिका रेग्मीले पहिलो पटक तालमा आउँदा निकै आनन्द आएको बताए । शिक्षण पेशामा संलग्न रहेकी उनले दाङमा बसेर पढ्ने आफ्नो छोरी भेट्न आएको बेला छोरीको रोजाइमा आफू यहाँ घुम्न आएको जानकारी दिए । रेग्मीले भने , ‘यति ठूलो र सुन्दर ताल होला भनेर आफूले नसोचेको र यसलाई अझै सफा र स्वच्छ राख्नका लागि स्थानीयवासी सबै लाग्नुपर्छ ।’ उनले थपे, ‘ताल त धेरै लोभलाग्दो रहेछ तर यहाँका केही समस्या छन् । जस्तो कि तालको छेउमा जाली, पर्यटकका लागि शौचालय तथा फोहरको उचित व्यवस्थापन हो । तालको संरक्षण र संवर्द्धन गर्न सके दाङको देउखुरी क्षेत्रको मुहार नै फेरिने रहेछ’ रेग्मीले भने।

लमही नगरपालिका–३ का दीपु चौधरीले ढुङ्गा चढेर ताल अवलोकन गर्न पाउँदा निकै खुसी लागेको बताए । ताल रमणीयस्थलमा छ, आज भोलि विद्यालय बन्द भएकाले साथीसँग घुम्न आएको हुँ, उनले भने।

ताल संरक्षण समितिका उपाध्यक्ष रामसिंह केसीले जखेरा तालको संरक्षणमा सबैले पहल गर्नुपर्ने बताए । उनले विगतका वर्षमा नागरिकको अथक श्रमदान र राज्यका निकायले गरेको सहयोगले नै अहिले ताल जिल्लाकै मुख्य पर्यटकीय केन्द्रका रुपमा परिचित हुन पुगेको हो भने । विगतका वर्षमा भने सो ताल जलकुम्भी झार र माटोले पुरेको थियो । जिल्ला भूसंरक्षण कार्यालय, कृषि विकास कार्यालय, ताल संरक्षण समिति तथा नागरिक सबैको सहयोगले ताल  यो अवस्थामा आउन सफल भएको हो उपाध्यक्ष केसीले भने । ताल अवलोकन गर्न आउनेका लागि खानेपानीको उचित व्यवस्था, फोहर व्यवस्थापन, सुरक्षा लागि तालको छेउछेउमा जाली, पर्यटकलाई तालमा घुम्न ढुङ्गाको पर्याप्त व्यवस्था, गेट निर्माण हुन नसक्नु समस्या भएको उनको भनाइ थियो । 

त्यसै गरी तालसम्म पुग्ने करिब डेढ किमी सडक कालोपत्र नहुँदा पनि  समस्या हुने गरेको छ । तालको विकासका लागि लमही नगरपालिकाबाट केही आर्थिक सहयोग प्राप्त भएकामा त्यसबाट बगेँचालगायत भौतिक पूर्वाधार निर्माण गरिएको थियो ।

यस तालको आफ्नै ऐतिहासिक पृष्ठभूमि छ। स्थानीय थारू भाषमा जुन ठाउँमा आकाशे पानी संकलन भएर जम्मा हुन्छ । त्यस ठाउँलाई जखेरा भनिन्छ । विस २०३०मा साविकको सोनपुर गाविस हालको लमही नगरपालिका नगरपालिका–३ निवासी स्व दीपु चौधरीको नेतृत्वमा सोनपुर, टिकुलीगढ, फल्कापुर, श्री गाउँका स्थानीय बुद्धिजीवी मिलेर त्यसैखेर गइराखेको आकाशे पानी तथा वन क्षेत्रबाट बगिरहेको पानी सङ्कलन गरी सिँचाई गर्न चुरे पहाडको फेदीमा  कृतिम रुपमा  खाडल खनी मानव निर्मित जल भण्डारणको रुपमा पोखरी बनाइएको थियो ।

सोही पोखरी अहिले जखेरा तालको नाममा परिचित  छ । दाङको लमही बजारबाट छ किलोमिटर पूर्वमा रहेको सुनडबरी गाउँ हुँदै उत्तरतर्फ करिब दुई किलोमिटर टाढा सो ताल पर्छ । पूर्वपश्चिम राजर्मागबाट नजिकै रहेकाले  हिउँदको समयमा भारत तथा तेस्रो मुलुकबाट ताल हेर्न पर्यटक आउने गरेका छन् । 

– नारायणी रजौरे रासस

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  २ : ११ बजे

इजरायल-हिज्बुल्लाह संघर्ष : सीमा क्षेत्रबाट लाखौं सर्वसाधारण विस्थापित

एजेन्सी – पश्चिम एसियाको इजरायल-लेबनान सीमा क्षेत्रबाट केही दिनभित्रै लाखौं

नेपाल र ओमान बीचको खेल वर्षाले रोकियो

काठमाडौं – आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमान

नेपाल प्रहरीका १४३ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीले एकैपटक १४३ प्रहरी नायब उपरीक्षक (डीएसपी)

बालविवाहमा महान्यायाधिवक्ताको निर्देशन – ‘बहुमुद्दा नचलाउनू’

काठमाडौं – महान्यायाधिवक्ता कार्यालयले महिला र पुरुष दुवै जना नाबालक

फोहरको थुप्रोमा खानेकुरा बनाउने गरेको एलिनाज क्याफेलाई जरिवाना

काठमाडौं – फोहरको थुप्रोमा खानेकुरा बनाएको भेटिएपछि ललितपुरस्थित रोयल एलिनाज