काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउँसो ४ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः
१ . कांग्रेसका शीर्ष नेताहरु देशभर तालमेलको पक्षमा
नेपाली कांग्रेसका शीर्ष नेताहरू देशभर तालमेलको पक्षमा देखिएका छन् । सिट बाँडफाँडका लागि बनेको कार्यदलको बैठक बस्नुअघि प्रधानमन्त्री निवास, बालुवाटारमा आज बिहान बसेको बैठकमा शीर्ष नेताहरूले अधिकांश स्थानमा गठबन्धनका उम्मेदवार जित्ने गरी तालमेल गर्नुपर्नेमा जोड दिएका छन् ।
बैठकमा नेताहरूले पार्टीभित्रको आन्तरिक एकतामा कुनै पनि किसिमको असर नपर्ने गरी गठबन्धन गर्न सुझाव दिएका थिए । कांग्रेसबाट कार्यदलमा कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की, गगन थापा रहेका छन् । सघ र प्रदेश सभा निर्वाचनका लागि गठबन्धनले ११ सदस्यीय कार्यदल बनाएको छ । जसलाई कार्यदललाई सिट बाँडफाँडको जिम्मा दिइएको छ ।
आज बस्ने कार्यदलको बैठकको सुझाव अनुसार गठबन्धनमा आवद्ध दलले सिट बाँडफाँडको टुंगो लगाउने बताइएको छ ।यसैबीच नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आसन्न संघ र प्रदेश सभाको निर्वाचनका लागि ७७ वटै जिल्लामा केन्द्रीयस्तरका नेताहरू खट्ने बताएका छन् ।
राजधानीमा २८ औँ विश्व आदिवासी दिवसको अवसरमा आज आयोजित कार्यक्रममा महामन्त्री थापाले निर्वाचनलाई केन्द्रित गर्दै सबै केन्द्रीय सदस्यहरूलाई भदौ २ गतेबाट २४ गतेसम्म जिल्ला जिल्ला खटाइने बताएका हुन् ।
२ . सार्वजनिक गाडीमा मनलाग्दी भाडा अनुगमन गर्न सरकारलाई निर्देशन
संसदीय समितिले सार्वजनिक गाडीले यात्रुसँग मनलाग्दी भाडा असुल गरेको विषयमा तत्काल संस्थागत संयन्त्र बनाइ अनुगमन गर्न सरकारलाई निर्देशन दिएको छ ।
सोमबार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणघाट–मुग्लिन र मुग्लिन–पोखरा सडकको वर्तमान कार्यप्रगतिको विषयमा योजना प्रमुख र भौतिक यातायात मन्त्रीसँगको छलफलपछि समिति सभापति कल्याणीकुमारी खड्काले यस्तो निर्देशन दिएकी हुन् । समिति बैठकमा सभापति खड्काले सार्वजनिक गाडीले यात्रुसँग मनलाग्दी भाडा लिने गरेको गुनासो आएको बताए ।
उनले सडक सीमा अतिक्रमण गरी बनाएका घरटहरा तत्काल हटाउन पनि सरकारलाई निर्देशन दिए ।
३ . सरकारी जग्गामा बनाएको टहरा हटाउन निर्देशन
काठमाडौं महानगरपालिकाले थापाथलीस्थित नर्भिक अस्पतालले लिजमा लिएको सरकारी जग्गामा बनाएको टहरा हटाउन निर्देशन दिएको छ । नर्भिक अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको भन्दै ती संरचना २४ घण्टाभित्र हटाउन महानगरपालिकाले आज एक सूचना जारी गर्दै निर्देशन दिएको हो ।
२४ घण्टाभित्र टहरा नहटाइए नियम बमोजिम कारबाही गरिने पनि महानगरले चेतावनी दिएको छ ।
४ . थप ९ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप ९ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ८ सय ६२ पिसिआर परीक्षणका क्रममा ४ सय ९८ जना र २ हजार ४ सय ८९ एन्टीजेन परीक्षणका क्रममा ४ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४ सय ७० संक्रमित निको भएका छन् ।
हाल नेपालमा ५ हजार ६ सय ८६ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।
५ . बस दुर्घटना हुँदा २० जना घाइते
धनुषामा यात्रुवाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ वीरेन्द्रबजारको गोलघरनजिक काठमाडौंबाट काँकड्भिट्टाका लागि छुटेको प्रदेश ३–०१–००५ ख ९७१९ नम्बरको रात्रि बस आज बिहान दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका पाँचै जनालाई प्रादेशिक अस्पतालमा जनकपुरमा उपचार भइरहेको र सामान्य घाइतेहरूको वीरेन्द्रबजारको क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चालक निदाएका कारणले बस अनियन्त्रित भएर सडकमा नै पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
६ . चन्द्रनहर भत्किँदा सप्तकोशी नगरपालिका डुबानमा
अविरल वर्षापछि आएको बाढीले सप्तरीको सप्तकोशी नगरपालिका–४ तुलसीचोकस्थित मुलुककै जेठो चन्द्रनहर भत्किएको छ । नगरपालिकाको अमाहा जुटपानी, सत्रापत्र, ट्याङ्ग्रा लगायतका खहरे खोलामा आएको बाढीले चन्द्रनहर भत्काएको –२ का वडाध्यक्ष जाहिर हुसेनले बताए ।
वडाध्यक्ष हुसेनका अनुसार अविरल वर्षाका कारण खहरे खोलाबाट आएको बाढीले नहर भत्किएको र अधिकांश वडा डुबानमा परेको छ ।पूर्वमा सप्तकोशी नदी, पश्चिममा चुरे पहाड र उत्तरमा त्रियुगा नदीको मध्यमा रहेको सप्तकोशी नगरपालिकाका विभिन्न वडाका सयौँ घर डुबानमा परी लाखौँ रुपियाँ बराबरको क्षतिभएको नगरपालिकाले जनाएको छ ।
नगरको ११ वटै वडाका घर बाढीका कारण प्रभावित भएको र घर डुबानमा पर्नुका साथै भर्खरै लगाएको सयौँ बिघा धान खेती जलमग्न भएको नगरप्रमुख कृष्णप्रसाद ढकालले जानकारी दिए।
७ . सेयर बजार नेप्सेमा गिरावट
सेयर कारोबार परिसुचक नेप्से आज भनेघटेको छ । नेप्से आज १७ दशमलव ६८ अंकले घटेर २ हजार १ सय ६ दशमलव १५ विन्दुमा पुगेको हो । २१४ कम्पनीको ६५ लाख २७ हजार ४ सय १४ कित्ता शेयर २ अर्ब ८५ करोड ७० लाख ७२ हजार ९ सय ९६ रुपैयाँमा कारोबार भएको छ ।
सम्रग बजार घटेपनि आज आज गुराँस लघुवित्त र हिमालयन हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको २० करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
८. भाग दौड मच्चिदा मृत्यु भएकाको परिवारलाई जनही ५ लाख दिने मुख्यमन्त्रीको घोषणा ।
भारतको राजस्थान राज्यको एक मन्दिरमा भाग दौड मच्चिदा ३ जनाको मृत्यु भएको छ । भागदौडमा ४ जना घाइते भएका छन् । राजस्थानको सीकर जिल्लामा रहेको खाटु श्याम मन्दिरमा आज बिहान साढे ४ बजे भाग दौड मच्चिदा सो घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आज बिहान मन्दिरको द्वार खुल्ने बित्तिकै भागदौड मच्चिएको त्यहाँको प्रहरीले ह जनाएको छ ।
मृतक तीन जना महिला मध्ये एक जनाको मात्र पहिचान भएको छ । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । राजस्थानमा मुख्यमन्त्री अशोक गेहलोतले घटनाप्रति दुख व्यक्त गर्दै मृतकको परिवारलाई जनही ५ लाख रुपैयाँ र घाइतेलाई २० हजार रुपैयाँ सहायता दिने घोषणा गरेका छन् ।
यता प्रधानमन्त्री । नरेन्द्र मोदीले पनि ट्वीट मार्फत घटनाप्रति समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
९ . इजरायल र प्लाइस्टिनी गाजामा भएको युद्धविरामको स्वागत
संयुक्त राष्ट्रसङ्घले महासचिव एन्टोनियो गुटर्रेसले इजरायल र प्लाइस्टिनी गाजामा भएको युद्धविरामको स्वागत गरेका छन् । महासचिव गुटर्रेस गाजामा भएको आक्रमणबाट त्यहाँका बालबालिका तथा महिलालगायत सर्वसाधारण नागरिकको ज्यान गएको घटनाबाट आफू दुःखी रहेको बताएका हुन् ।
संयुक्त राष्ट्रसङ्घका महासचिव गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले महासचिव गुटर्रेसले हाल इजरायल र गाजाका तर्फबाट भएको युद्धविरामको स्वागत गर्दै आगामी दिनमा दुवै तर्फलाई शान्तिको माध्यमबाट अघि बढ्ने काममा सहयोग गर्ने बताउनुभएको जानकारी दिए । प्यालेस्टीनियन इस्लामिक जिहाद, पिआइजे र अर्काे अतिवादी समूहका कारण गाजामा इजरायलत तर्फबाट हमला भएको थियो ।
सो आक्रमणमा परेर ४३ जनाको ज्यान गएको थियो भने अरु दुई सयभन्दा बढी घाइते भएका थिए ।इजरायल सरकार र प्यालेस्टाइनी लडाकूहरूबीच युद्धविरामको सहमति भएको हो ।
१० . विश्वकै सर्वाधिक उचाइको गल्फ कोर्ष निर्माण हुने ।
विश्वकै सर्वाधिक उचाइको अल्टिच्युडमा गल्फ कोर्ष निर्माण भएको छ । मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङमा विश्वकै सर्वाधिक उचाइको गल्फ कोर्ष ’मुस्ताङ गल्फ कोर्ष’ निर्माण भएको हो । मुस्ताङ गल्फ कोर्ष समुन्द्र सतहदेखि ४ हजार ६ सय ४५ मिटरको उचाईको रहेको छ । यस अघि सिक्किमको याक गल्फ कोर्षलाई सर्वाधिक उचाइको गल्फ कोर्ष मानिन्छ ।
गल्फ कोर्ष ९ होलको रहेको आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनबाट जानकारी गराइएको छ । सो गल्फ कोर्षमा आगामी भदौमा ’टप अफ द वर्ल्ड गल्फ च्यालेन्ज’ आयोजना समेत हुने भएको छ । प्रतियोगिता भदौ ११ गते शनिबार आयोजना गरेर गल्फ कोर्षको उद्घाटन गर्ने तयारी गरिएको छ ।
स्टेबल फर्म्याट ३/४ ह्याण्डीक्यापको आधारमा हुने प्रतियोगिताको विजेता, उपविजेता, महिला विजेता, बेस्ट ग्रस, कोल्जेस्ट टु द पिन, लंगेस्ट ड्राइभ र मस्ट बर्डिजलाई पुरस्कृत गरिने बताइएको छ ।
प्रतिक्रिया