सिमकोट– नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखाले असोज एक गतेदेखि छुटमा खाद्यान्न वितरण गर्ने भएको छ ।
दशैँका लागि प्रतिकेजी सात कम गर्ने गरी खाद्यान्न वितरण गरिने भएको हो । हिजोआज बिक्री भइरहेको मूल्यभन्दा प्रति केजी सात रुपैयाँ कमका दरले असोज एक गतेदेखि कात्तिक १५ गतेसम्म खाद्यान्न वितरण गरिने निमित्त कार्यालय प्रमुख नविनप्रसाद आचार्यले बताए । लिमिटेडले हिजो आज प्रतिकेजी जीरा स्टिम मसिनो ८५, अरुवा मध्यम ६२, अरुवा मोटो ५८, बासमती ११०, सोनामन्सुली ६५, अरुवा मकावनपुर ६० मा बिक्री गर्दै आएको छ । बीस केजी चामलको १४०, २५ केजीको १७५, ३० केजीको २१० छुटमा वितरण गरिने उनले जानकारी दिए ।
चामल कम हुँदा वितरण स्थगित
उक्त शाखाको हुम्लास्थित गोदाममा चामल कम हुँदा अहिले वितरण कार्य बन्द गरेको छ । दशैँ नजिक आउन लाग्दा चामल कम भएकाले वितरण बन्द गरिएको जनाइएको हो । हुम्लामा विगतका वर्षमा समेत दशैँको मुखमा चामल अभाव हुँदै आएको छ । शाखाका निमित्त प्रमुख आचार्यले अहिले गोदाममा १६ सय क्विन्टल मात्र चामल रहेकाले वितरण स्थगित गरिएको बताए । ‘दशैँ नजिकै आउँदैछ गोदाममा चामल कम छ, त्यसैले असोज एक गतेदेखि वितरण गरिने भएकाले भदौ महिनामा बिक्री वितरण स्थगित गरिएको हो,’ उनले भने ।
एक पटक खाद्यान्न बिक्री वितरण गर्न झण्डै ३३ सय क्विन्टल चामल आवश्यक पर्ने भएपनि यो पटक गोदाममा १६ सय क्विन्टल मात्रै मौजाद रहेको छ । वर्षेनी हुम्लाको लागि चामल बढी आउने भएपनि दशैँको मुखमा आफूहरूले नपाउने गरेको खार्पुनाथ गाउँपालिका-४ नैन बहादुर रावलले गुनासो गरे । उक्त गाउँपालिकामा रहेको वितरण केन्द्रबाट आठ महिनादेखि खार्पुनाथबासीले चामल नपाएको उनको भनाइ थियो ।
प्रतिक्रिया