काठमाडौँ– आज दिनभर सन्दीप लामिछाने राष्ट्रिय टिमबाट निलम्बित, संघर्ष जारी रहेको प्रचण्डको भनाइ, एकै दिन झन्डै ८ सय कर्मचारीको सरुवा, राष्ट्रियसभा बिषयगत समितिका सभापतिहरुद्धारा सपथ ग्रहण, दशैँमा २० लाख यात्रु बाहिरिने अनुमान लगायतका समाचारले प्रमुख स्थान पाए ।
सन्दीप लामिछाने राष्ट्रिय टिमबाट निलम्बित
नेपाल क्रिकेट संघ क्यानले कप्तान सन्दीप लामिछानेलाई टिमबाट निलम्बन गरेको छ । क्यानले विज्ञप्ति जारी गर्दै लामिछानेलाई टिमबाट निलम्बन गरिएको जनाएको हो ।
क्यानको कार्यसम्पादन समितिको निर्णयअनुसार उनलाई टिमबाट निलम्बन गरिएको हो । लामिछानेउपर जबरजस्ती करणी कसूमा जाहेरी परेको र उनीविरुद्ध पक्राउ पुर्जी समेत जारी भएको अवस्थामा उनलाई निलम्बन गरिएको क्यानले जनाएको छ ।
संघर्ष जारी रहेको प्रचण्डको भनाइ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी र आफुमाथिको प्रहार जनयुद्धदेखि अहिलेसम्म नरोकिएको बताएका छन । बिहीबार काठमाडौंमा सहिद सुरेश वाग्ले(वासु) स्मृति प्रतिष्ठानले काठमाडौंमा गरेको कार्यक्रममा प्रतिक्रियावादीसंगको संघर्षकै कारण माओवादी र आफुमाथिको प्रहार नरोकिएको बताएका हुन् ।
माओवादीलाई अस्थीरताको कारक देखाएर प्रचण्डलाई सिद्धाउनुपर्छ भन्नेहरु सक्रिय रहेको उनको भनाई छ । उनले जनयुद्धपछिको सम्झौता तत्कालिन आवश्यकता रहेको भन्दै जनयुद्धको बाँकी एजेण्डा पुरा गर्नका लागि आफु निरन्तर संघर्षमा रहेको धारणा राखे ।
उनले नेपाली जनताको साथ र सहयोग कारण माओवादी पहिलो पटक सरकारमा पुग्दा जनयुद्धका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्ने माइनुटमा सहि गरेको तर राजपत्रमा प्रकाशित हुन नसेकाले उक्त लडाई गठबन्धनबीच अहिले पनि जारी रहेको बताए ।
शैक्षिक संस्थामा तालाबन्दी गर्ने कार्य अपराध हाे : शिक्षामन्त्री पौडेल
शिक्षामन्त्री देवेन्द्र पौडेलले शैक्षिक संस्थामा तालाबन्दी गर्ने कार्य अपराध भएकाले यस्तो कार्यलाई सदाका लागि बन्द गर्नुपर्ने बताएका छन् ।
५६ औं अन्तराष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बिहीबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले शैक्षिक क्षेत्र जस्तो पवित्र स्थलमा तालाबन्दी गर्ने काम अपराध भएकाले यस्तो प्रवृतिलाई सदाका लागि अन्त्य गर्नुपर्ने बताएका हुन । उनले आफ्ना मागहरुका बारेमा सम्वादबाटै सहमति र निकास खोज्न आह्वान पनि गरे ।
युनेस्कोले सन् १९६७ देखि हरेक वर्ष आठ सेप्टेम्बरका दिन विश्वभर अन्तराष्ट्रिय साक्षरता दिवस मनाउन थालिएको हो । नेपाल सरकारले सबै निरक्षर नागरिकलाई साक्षर बनाउने उद्देश्य राखेको भए पनि चुनौती देखिएको छ । साक्षर नेपाल कार्यक्रम अन्तर्गत अहिलेसम्म ६१ जिल्ला साक्षर घोषणा भएका छन् । अझै १६ वटा जिल्ला साक्षर घोषणा हुन बाँकी रहेका छन् ।
एकै दिन झन्डै ८ सय कर्मचारीको सरुवा
प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव नजिकिँदै गर्दा र निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरिरहँदा सरकारले एकैदिन झन्डै ८ सय कर्मचारीको सरुवा गरेको छ ।
सरकारले विभिन्न मन्त्रालय र निकायमा हतारहतारमा कर्मचारी सरुवालाई जारी राखेको छ । यही मंसिर ४ गते तय गरिएको चुनावको तयारीमा निर्वाचन आयोग जुटिसकेको छ ।आयोगले आचारसंहिता सार्वजनिक गरिसकेको छ ।
यद्यपि, आचारसंहिता लागू हुन भने बाँकी रहेको छ । आयोगले निर्वाचन आचारसंहिता लागू गरेपछि सरकारले कर्मचारी सरुवा गर्न पाउँदैन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आचारसंहिता छल्ने उद्देश्यले एकैदिन त्यति धेरै कर्मचारीको सरुवा गरेको हो ।
लोकसेवा आयोगको सिफारिसमा ‘स्थानीय तहमा नियुक्त भएका कर्मचारीहरूको व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७’ अनुसार ती कर्मचारीको सरुवा गरिएको मन्त्रालयको दाबी छ । यस सरुवामा निवेदन दिएका कतिपयले भने आफ्नो सरुवा नभएको भन्दै गुनासो गरेका छन् । उनीहरूले केही ठाउँका सरुवामा चलखेल भएको आरोप लगाएका छन् ।
राष्ट्रियसभा बिषयगत समितिका सभापतिहरुद्धारा सपथ ग्रहण
राष्ट्रियसभा अन्तर्गतका चार बिषयगत समितिका नवनिर्वाचित सभापतिहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । बिहीबार सिंहदरबारमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले सभापतिहरुलाई सपथ खुवाएका हुन्।
चार वटा विषयगत समितिका सभापतिको निर्वाचनका लागि ४ जनाको उम्मेदवारी परेपछि बिहीबार नै बसेको सम्बन्धीत समितिको बैठकले उनीहरुलाई निर्विरोध सभापति चयन गरेको थियो ।
जसअनुसार दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा. बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिल कुमारी रावल थापा (पार्वती)ले सपथ लिएका हुन् ।
मुलकको हितको लागि गठबन्धन आवश्यक छ : रामकुमारी झाँक्री
नेकपा एकीकृत समाजावादीका सचिव रामकुमारी झाँक्रीले मुलकको हितको लागि दिर्घकालिन नीति र एजेण्डा स्थापित गर्न गठबन्धन आवश्यक रहेको बताएकी छन् ।
बिहिवार रिपोर्टर्स क्लव नेपाल लुम्विनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कारमा वोल्दै झाँक्रीले देशको विकास समृद्धिका लागि गठबन्धनले जीत हासिल गर्नुपर्ने समेत बताईन । उनले एमालेले ल्याएका पानी जहाज,रेल जस्ता हावादारी गफमा जनताले विश्वास नगर्ने बताउदै देशको विकास,सम्वृद्धिलाई सर्वोपरी ठान्ने नेतालाई जनताले मत दिने जिकिर गरिन्।
काँग्रेसकाे अवस्था हेर्दा रामराम भन्नुसिवाय अरू सकिँदैन : पूर्व राष्ट्रपती यादव
पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपाली कांग्रेसले जनताको बीचमा जान पनि अंशबन्डा गरिरहेको बताएका छन्। बिहीबार काठमाडौंमा भएको बिपी साहित्य सम्मान एवं बिपी सेनानी सम्मान तथा स्मृति लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
उनले कांग्रेसको अहिलेको अवस्थालाई हेर्दा रामराम भन्नुसिवाय अरू नरहेको उल्लेख गरे। बिपीका राजनीतिक चिन्तनहरू अध्ययन गर्ने फुर्सद कुनै राजनीतिक कार्यकर्ता र नेताहरूलाई नरहेको भन्दै उनले टिकट किनेर पार्टीमा प्रवेश गर्ने गरेको बताए ।
दशैँमा २० लाख यात्रु बाहिरिने अनुमान
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यस वर्षको दशैँमा काठमाडौं उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने अनुमान गरेको छ। कोभिड–१९ प्रभाव नभएकाले यो संख्यामा यात्रुहरू दशैँ मनाउन गाउँ जाने अनुमान गरिएको महासंघका अध्यक्ष विजय स्वाँरले जानकारी दिए ।
यातायात व्यवस्था विभाग, सडक विभाग, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी राष्ट्रिय महासंघको बुधबार बसेको संयुक्त बैठकले असोज १ गतेदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिसकेको छ ।
यातायात व्यवस्था विभागले अनलाइनबाट टिकट काट्ने व्यवस्था गर्ने भनेको छ। तर यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष स्वाँरले अनलाइनबाट टिकट काट्ने व्यवस्था नगर्ने प्रष्ट पारेका छन् ।
देशभर लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान
देशका विभिन्न ठाउँमा डेङ्गीको सङ्क्रमण फैलिन नदिन लार्भा नष्ट गर्ने अभियान सुरु भएको छ । डेङ्गीको सङ्क्रमण नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश र पालिका तहसँग समन्वय गरिरहेको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले डेङ्गी नियन्त्रणका लागि प्रदेश र पालिका सरकारसँग समन्वय र सहजीकरण गर्ने निर्णय गरी काम थालेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता सञ्जयकुमार ठाकुरले जानकारी दिए । समुदायस्तरमा सचेतना सँगसँगै लामखुट्टेको लार्भा नष्ट पार्ने अभियान भइरहेको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय काठमाण्डौले पनि सबैलाई हप्ताको एक दिन लामखुट्टेको लार्भा र अण्डा नष्ट गर्ने अभियान सञ्चालन गर्न अपिल गरेको छ ।
कर्णाली स्वास्थ्य प्रतिष्ठानका ६० जनाले दिए राजिनामा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर र कर्मचारीहरुले सामूहिक राजीनामा दिएका छन् । उपकुलपति मंगल रावल समक्ष सामूहिक राजीनामा बुझाएका ६० जना डाक्टर र कर्मचारीहरुले आजबाट इमरजेन्सी बाहेकका सबै सेवा ठप्प पारेको जनाइएको छ ।
भदौ २ गते इमरजेन्सी विभागमा कार्यरत डाक्टर करण साहमाथि कुटपिटको घटना भएपछि सामूहिक राजीनामा दिएकोे चिकित्सकहरुले बताएका छन् । भदौ २ गते डा. शाहमाथि इमरजेन्सी कक्षमा प्रतिष्ठानकै कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि स्वास्थ्यकर्मी आन्दोलित भएका छन् ।
दार्चुलामा डेङ्गु संक्रमणबाट ५ वर्षीया बालिकाको मृत्यु
डेंगु संक्रमणबाट ५ वर्षीया एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा मालिकार्जुन गाउँपालिका–४ हुनैनाथकी उषा धामी रहेको गाउँपालिका स्वास्थ्य संयोजक गुणराज ओझाले जानकारी दिए ।
बालिकालाई एक हप्ता पहिले एक्कासी ज्वरो आएको र भदौ २० गते जिल्ला अस्पताल दार्चुला ल्याएर चेकजाँच गर्दा डेंगु र स्क्रब टाइफसको संक्रमण देखाएको संयोजक ओझाले जानकारी दिए ।
डेंगु संक्रमणका कारण शरीरमा पानीको मात्रा कम हुने, सेतो रगतको मात्रा कम हुने तथा रक्त संचार प्रणालीमा प्रत्यक्ष असर परेर विरामीको मृत्यु हुने गरेको बताइएको छ ।
प्रतिक्रिया