चर्चा विश्वकपको : एमबापेका सात रोचक तथ्य | Khabarhub Khabarhub

चर्चा विश्वकपको : एमबापेका सात रोचक तथ्य


२२ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वकप फुटबलमा शुक्रबारदेखि क्वाटरफाइनलका खेल हुँदैछन्। विश्वकपमा अर्जेन्टिनाका मेसी, पोर्चुगलका रोनाल्डो र ब्राजिलका नेइमार भन्दा बढी चर्चा फ्रान्सका किलियान एमबापेको भइराखेको छ।

अघिल्लो विश्वकपबाट चर्चामा रहेका एमबापेले कतार विश्वकपमा आफ्नो चर्चालाई अझ माथि उठाएका छन्। फ्रान्सका सुपरस्टार एमबापेकै गोलमा फ्रान्सले क्वाटरफाइनल यात्रा तय गरेको छ। साविक विजेता फ्रान्सले शनिबार क्वाटरफाइनलमा इङ्ग्ल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ।

विश्वकै उत्कृष्ट खेलाडीको रुपमा चर्चा पाइरहेका एमबापेबारे बीबीसी स्पोर्ट्सले सात रोचक तथ्य सार्वजनिक गरेको छ। एमबापेबारे बीबीसीले सार्वजनिक गरेको सात तथ्य :

विश्वकै महंगा खेलाडी
सन् २०१७ मा एमबापे पीएसजी क्लबमा आबद्ध भएका हुन्। सुरुमा मोनाको क्लबले उनलाई ‘उधारो’मा उपलब्ध गराएकोमा एक वर्ष पछि १८ करोड युरोमा स्थायी रूपमै उनी त्यहाँ सरे।
त्यो विश्वकै दोस्रो सबभन्दा महँगो खेलाडी ‘ट्रान्सफर’ हो।

पहिलो नम्बरमा चाहिँ सन् २०१७ मा ब्रजिलका खेलाडी नेयमार २२ करोड युरोमा बार्सिलोनाबाट पीएसजीमा लगिएको ट्रान्सफर रहेको छ।

फ्रान्सको उक्त च्याम्पियन क्लबमा नेयमार तथा आर्जेन्टिनाका महान खेलाडी लियोनेल मेस्सीका साथै एमबापे खेल्छन्। सो क्लबका निम्ति एमबापेले २३७ खेल खेलेर १९० गोल हानेका छन्।

शृङ्खलाबद्ध विजय

सात वर्षका दौरान एमबापेले ठूलो उपलब्धि हात पारिसकेका छन्। सन् २०१८ विश्वकप, २०२०–२१ युएफा न्याशन्स लिग, पीएसजीमा ४ र मोनाकोमा १ गरेर पाँच लीग उपाधि, तीन फ्रेन्च कप, दुई फ्रेन्च लीग कपको उपाधि उचालिसकेका छन्।
व्यक्तिगत रूपमा उनले सन् २०१७ मा गोल्ड बोय उपाधि पनि जितेका छन्। जुन उपाधि २१ वर्ष मुनिका युरोपका उत्कृष्ट युवा खेलाडीलाई दिइन्छ।

दुई पटक उनी फ्रेन्च प्लेयर अफ द यर घोषित भएका छन् भने लिग १ प्लेयर अफ द यर अनि तीन पटक यङ् प्लेयर अफ द यर भएका छन्।

सन् २०१८ को विश्वकपमा उनी उत्कृष्ट खेलाडी ठहरिएका थिए। लीग १ मा चार सिजनमा उनले सबभन्दा धेरै गोल गरेका छन्।

उनले सन् २०२० मा पहिलो पटक पीएसजीलाई च्याम्पियन्स लीग फाइनलमा पुर्‍याउन मद्दत गरे। तर सो फाइनल खेलमा बायर्न म्युनिखले उपाधि जित्यो।

विश्वकपमा चम्किलो प्रदर्शन
सन् २०१८ मा रुसमा भएको विश्वकप प्रतियोगितामा फ्रान्सले उपाधि जित्यो। त्यसबेला जम्मा १९ वर्ष उमेरका एमबापेले ४ गोल गरेका थिए।

फाइनल खेलमा क्रोएशियालाई ४-२ ले हराउँदा उनले पनि गोल गरे। सन् १९५८ मा ब्राजिलका पेलेपश्चात् किशोर उमेरमै विश्वकपको फाइनलमा गोल गर्ने उनी दोस्रो खेलाडी बनिसकेका छन्।

कतारमा जारी विश्वकपमा हालसम्म धेरै गोल गर्नेहरूको सूचीमा एमबापे अगाडि छन्। क्वार्टर फाइनल नपुग्दै उनले पाँच गोल गरिसकेका छन्।

विश्वकपका खेलमा उनले ९ गोल गरिसके। डिएगो म्याराडोनाले आर्जेन्टिनाको लागि गरेको ८ गोललाई उनले उछिनिसकेका छन्। यस मानेमा सबैभन्दा कम उमेरमा विश्वकप प्रतियोगितामा ९ गोल गर्ने रेकर्ड उनको नाममा बसेको छ।

सानो उमेरमा कीर्तिमान
एमबापेको जन्म प्यारिसको बाहिरी भेगमा भएको थियो। सानै उमेरमा स्थानीय क्लबमा खेल्न थाले।

सन् २०१५ को डिसेम्बरमा मोनाकोबाट उनले खेल्न थाले। त्यतिखेर उनी १६ वर्ष ३४७ दिन उमेर पुगेका थिए। सो क्लबको इतिहासमा उनी सबभन्दा कान्छा खेलाडी भए।

तीन महिनापश्चात् उनी उक्त क्लबका तर्फबाट गोल गर्ने सबभन्दा कान्छो खेलाडी पनि बने। यी दुवै कीर्तिमान उनले अघिल्ला खेलाडी टिएरी अनरीको तोडेका हुन्।

तीव्र गति
पोल्याण्डलाई ३–१ ले जितेको पछिल्लो खेलमा उनको उच्च गति ३५.३ किलोमिटर प्रतिघण्टा रह्यो। त्योभन्दा अगाडि यस विश्वकपमा जम्मा ६ खेलाडीको गति त्योभन्दा धेरै थियो।

सेप्टेम्बरमा लीग १ का बेला ३६ किलोमिटर प्रतिघण्टाको वेगले कुदेर उनले सो लिगमा उक्त सिजनकै रेकर्ड बनाएका थिए।

यसलाई अझ बुझ्नुपर्दा जमाइकाका ओलिम्पिक विजेता धावक युसेन बोल्टको सय मिटरको दौडमा रहेको सन् २००९ को ९.५८ सेकेन्डको कीर्तिमान भनेको औसतमा ३७.५८ किलोमिटर प्रतिघण्टा हुन आउँछ।

रियल जान अस्वीकार
स्पेनिस ला लिगाको अग्रणी क्लबका अध्यक्ष फ्लोरेन्टीनो पेरेजसँगको लामो निकटता अनि रियल मड्रिडले प्रस्ताव गरेको प्याकेजमा सुरुमा सहमति जनाए पनि एमबापेले अन्ततः प्यारिस नछाड्ने निर्णय लिए। उनले थप तीन वर्षे सम्झौता गरे।

स्पेनका फुटबल विशेषज्ञका अनुसार उनलाई अनुबन्ध गर्नासाथ १५ करोड युरो दिन क्लब तयार थिए। तर भविष्यमा स्पेनी वा युरोपेली प्रतियोगितामा जानसक्ने सम्भावनालाई भने एमबापेले नकारेका छैनन्।

 

बढी कमाउने फुटबलर
अक्टोबरमा एमबापेले सबभन्दा धेरै कमाउने फुटबलरको फोर्ब्स सूचीमा नाम दर्ज गरे।

मेस्सी वा रोनाल्डोबाहेकको कुनै फुटबल खेलाडी सो सूचीमा पहिलो नम्बरमा परेको ९ वर्ष यताकै उनी पहिलो हुन्। यो सिजनमा मात्र उनले झण्डै १३ करोड डलर कमाउँदैछन्।

उनी सामाजिक सञ्जालमा पनि लोकप्रिय छन्। फेसबुक, इन्स्टाग्राम अनि ट्वीटरमा गरी उनका १० करोड फलोवर छन्। रोनाल्डो, मेस्सी र नेयमारसँगै उनलाई पनि २०२२ को विश्वकपमा खेल्ने सबभन्दा प्रभावशाली खेलाडी भनिएको छ।

उनले आफूले कमाएको केही रकम समाजसेवामासमेत खर्च गरेका छन्। सन् २०१८ मा विश्वकप उपाधि जितेपश्चात् उनले आफ्नो पारिश्रमिकको पूरै ३ लाख ८० हजार पाउण्ड बालबालिकाको परोपकारी संस्थालाई दिएका थिए। विश्व फुटबल इतिहासमा एमबापेले महान खेलाडीको रुपमा आफूलाई चिनाउने आधार प्रशस्त तयार हुँदै गएका छन्।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार  ७ : ०६ बजे

बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

काठमाडौं– बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेकाे छ

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड

खेलाडीबाट अनुशासन सिक्नुपर्छः धनराज गुरुङ

कास्की – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले

मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

सङ्खुवासभा – मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

काबुल – फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको