आलै छ कोरोनाले बनाएको घाउ « Khabarhub

आलै छ कोरोनाले बनाएको घाउ


२२ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– सीमा सिल थियो, आवागमन कहिले खुल्ने ? थाहा थिएन । जीविकाको एकमात्र स्रोत डुङ्गा पनि बन्द भएपछि खेदू मल्लाहलाई दुई छाक टार्न धौधौ भएको थियो । खेती गर्ने जग्गा जमिन थिएन । पचपन्न वर्षीय मल्लाहको एउटै चिन्ता मात्र थियो, गुजारा चलाउने कसरी ?

स्थायी घर नभई नदी छेउमा टहरा बनाई बसेका पाँच नाबालिकाका बुवा सिरी डोमले पनि कतै श्रीमती गेनासँगै वैकल्पिक रोजगारी पनि पाएनन्। भोकभोकै हुनुपरे पनि लालाबालाको पेट पाल्न मागेर गुजारा चलाउन खोजे पनि महामारीको बेला माग्न जाँदा कोरोनाको डरले लालाबाला भोकभोकै हुनुपरेको थियो ।

जिल्लाको पहिलो कोरोना सङ्क्रमित कृष्ण पासी कोरोनालाई जित्न सफल भए तर बिहान-बेलुका छाक टार्न गाह्रो थियो । भारतको दिल्लीमा गार्मेन्ट कम्पनीमा १० वर्षदेखि गर्दै आएको सिलाइकटाइको काम छाडेर आउनुपर्दा बेखर्ची हुनुपरेको थियो । बिरामी आमाको उपचारको भार उनीमाथि थियो ।

खेदू मल्लाह, सिरी डोम र कृष्णा पासी त विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड-१९ को प्रत्यक्ष मार खेपेका केही प्रतिनिधि पात्र हुन् । खासगरी दिनभरि काम गरेर साँझ-बिहान हातमुख जोर्नुपर्ने अवस्थाका न्यून आयस्तरका मानिसलाई निकै समस्या थियो । धेरैको रोजगारी गुमेको थियो भने उद्योगी व्यवसायी पनि नराम्ररी प्रभावित बनेका थिए । मर्चवारी गाउँपालिकाबाट वैदेशिक रोजगारीमा गएका झण्डै एक हजार सात सय युवा घर फर्किएका थिए भने सम्मरीमाई गाउँपालिकामा आठ सय २५ जना पनि रोजगारी गुमेपछि गाउँ फर्किएका थिए ।

खेदूको जीविकाको एकमात्र स्रोतको रूपमा रहेको नदीमा मान्छे ओसार्ने अर्थात् डुङ्गा व्यापार पनि बन्द भएपछि दुई नाति-नातिना र छोरा-छोरीसमेतलाई पढाउने र पेट पाल्ने चिन्ताले पिरोल्न थाल्यो । कोरोना महामारी कम भएपछि पनि उनको व्यवसाय चल्न सकेको छैन । उनको डुङ्गा अहिले सोही ठाउँमा प्रयोगविहीन भई जीर्ण अवस्थामा छ ।

सिरी डोमको पीडा पनि उस्तै छ । नदी छेउमा रहेको टहरामुनि दुई छोरी र तीन छोरासहित बस्दै आएका उनी वैकल्पिक रोजगारको खोजीमा छन्। स्मशानघाटमा शवदाह गर्ने पेशा नै उनको जीविकाको मुख्य स्रोत पनि कोरोनाकालमा प्रभावित बन्यो । परासी जिल्लाको खैरनी घाटमा जन्मिएका ४५ वर्षीय उनको नागरिकता नहुँदा सरकारबाट पाउने सेवा सुविधाबाट पनि बञ्चित हुनुपरेको छ । नागरिकताको अभावमा उहाँ छोराछोरीको जन्मदर्ता हुनसकेको छैन ।

रूपन्देहीका पहिलो कोरोना सङ्क्रमित कृष्णा पासीको पीडा पनि कम छैन । रोजगारी गुमाउँदाको पीडा, आफैँलाई कोरोनाको सङ्क्रमण, बिरामी आमाको उपचार र बिहान-बेलुका दुई छाक टार्ने जोरजामको अभिभारा पनि उनीमाथि थियो । भारतको दिल्लीस्थित एक गार्मेन्ट कम्पनीमा काम गर्दै आएका उनी अहिले बेरोजगार छन् ।

अर्घाखाँचीको शीतगङगा नगरपालिका-५ जकेनाका ४५ वर्षीय देवबहादुर विकले क्वारेन्टिनमै आत्महत्या गरे । अतिविपन्न परिवारका विक पारिवारिक तनाव र ऋणको बोझमा रहेका उनले आरडिटी पोजेटिभ देखिएपछि विसं २०७७ असारमा आत्महत्या गरेका थिए । युनिभर्सल मेडिकल कलेज भैरहवाका एशोसिएट प्रोफेसर डा. नगेन्द्र चौधरी भन्छन्, ‘कोरोना महामारीका कारण रोजगारी गुम्ने र अवसर पनि नपाउँदा धेरै व्यक्तिमा मानसिक समस्या देखिएको छ । कोरोनाले स्वास्थ्य समस्यासँगै आर्थिक र सामाजिक अवस्थामा पारेको असर लामो समयसम्म रहन सक्छ ।’ 

 

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार  २ : ३५ बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,