विश्वभर आजः यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने दिनभरका अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आजः यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने दिनभरका अन्तर्राष्ट्रिय घटनाक्रम


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज फागुन २५, २०७८ या अंग्रेजी क्यालेन्डर अनुसार मार्च ९, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

रुस र युक्रेनबीच एक दिने युद्धविरामको सहमति
रुस र युक्रेनले एक दिनको युद्धविराममा सहमति जनाएका छन् । यस एक दिने युद्धविरामले सर्वसाधारणलाई युद्ध प्रभावित भागबाट भाग्न एक दिनको समय प्राप्त भएको छ । मस्कोले बुधबार बिहान ९ देखि बिहीबार बिहान ९ बजेसम्म युद्धविरामको सम्मान गर्ने वाचा गरेको छ । जसमा किभ वरपरका क्षेत्रहरू, दक्षिणमा जापोरिज्जिया र त्यसका केही भागहरू रहेका छन् ।

उत्तरपश्चिममा इर्पिन र बुचालगायत राजधानी वरपरका क्षेत्रहरूमा रहेका नागरिकहरूलाई रुसी सेनाको भीषण बमबारीबाट बच्न किभमा सारिने बताइएको छ । आइतबार पैदलयात्राबाट किभ पुग्न खोजिरहेका चार जना विस्फोटमा परेका समाचारमा जनाइएको छ । मङ्गलबार करिब ६० बसले किभबाट ३५० किलोमिटर पूर्वमा रहेको सुमीबाट सर्वसाधारणलाई बाहिर निकाल्न सफल भएको युक्रेनका राष्ट्रपतिको कार्यालयले सञ्चारमाध्यमलाई बताएको छ ।

रुसी सिमानानजिक रहेको दुई लाख ५० हजार जनसंख्या भएको सहर सुमीबाट ५,००० भन्दा बढी मानिसलाई विस्थापित गरिएको थियो । यस शहरलाई रुसले ठूला आक्रमण गरेको गरेको छ ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सी युएनएचसिआरले युक्रेन शरणार्थीहरूको कुल संख्या २१ लाखदेखि २२ लाखसम्म पुगेको अनुमान गरेको छ ।

इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । पाकिस्तान पिपुल्स पार्टी पीपीपीको नेतृत्वमा विपक्षी दलहरूले खानविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

अविश्वास प्रस्ताव दर्ता गर्नुअघि राजधानी इस्लामावादमा आयोजित ¥यालीमा सहभागी हजारौं कार्यकर्तालाई सम्बोधन गर्दै पीपीपीका नेता एवम् हत्या गरिएकी पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोका छोरा बिलावल भुट्टोले खानलाई राजीनामा दिन २४ घण्टाको म्याद दिएका थिए ।

सन् २०१८ मा सरकार सम्हालेयता खानले अर्थतन्त्र अस्तव्यस्त बनाएको र सुशासन दिन नसकेको भन्दै विपक्षीहरूले आलोचना गर्ने गरेका छन् । उच्च मुद्रास्फीती, व्यापार घाटा र विदेशी सञ्चितीको कमी हुँदै गएका कारण प्रधानमन्त्री खानलाई जनताले पत्याउन छाडेको विपक्षी नेताहरूले बताउँदै आएका छन् ।

रोयटर्सले जनाएअनुसार अविश्वासको प्रस्तावका पारित हुनका लागि पाकिस्तानी संसद्मा १७२ मतको आवश्यकता पर्छ । विपक्षी पार्टीहरूले भने १६१ मत आफूहरूसँग सुरक्षित रहेको र उनलाई हटाउन केबल ११ मतमात्रै चाहिएको बताउँदै आएका छन् ।

पूर्वराष्ट्रपति एवम् बिलावल भुट्टोका बुवा आशिफ अली जर्दारीले भने आफूहरूले १७२ भन्दा धेरै मत ल्याउने बताएका छन् । अब तल्लो सदनका सभामुखले २ साताको अवधिमा संसद् बैठक डाक्नुपर्ने प्रावधान छ । यद्यपि अविश्वासको प्रस्तावमा मतदान हुन भने केही समय लाग्नसक्ने बताइएको छ ।

राजनीतिक विश्लेषक एवम् विपक्षी दलका नेताहरूले पूर्व क्रिकेट खेलाडी खानलाई मुलुकको शक्तिशाली सेनाले साथ दिन छाडेको अर्थमा विश्लेषण गर्न थालेका छन् ।
यद्यपि खान र पाकिस्तानी सेनाले भने पाकिस्तानी राजनीतिमा सेनाको कुनै भूमिका नरहेको स्पष्ट पार्दै आएका छन् ।

यता खानले भने आफूलाई पदमुक्त गर्ने विपक्षीको योजना असफल पार्ने र यसका लागि आफू तयार रहेको दृढता व्यक्त गरेका छन् ।

गत वर्षमात्रै खानले अविश्वासको प्रस्तावमा भएको मतदानमा केबल ६ मतको झिनो अन्तरले विजय भएका थिए ।
पाकिस्तानमा अर्को वर्ष आम चुनाव हुँदैछ ।

पुटिनले परमाणु हतियारको प्रयोग गर्न सक्छन् – अमेरिकी सुरक्षा अधिकारी
अमेरिकी सुरक्षा अधिकारीहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आणविक हतियार प्रयोग गर्नसक्ने चेतावनी दिएका छन् । अमेरिकी कंग्रेसको हाउस सेलेक्ट कमिटी अन इन्टिलिजेन्स बयान दिँदै अमेरिकी सुरक्षा अधिकारीहरूले यस्तो चेतावनी दिएका हुन् ।

अमेरिकाको रक्षा गुप्तचर एजेन्सीका निर्देशक लेफ्टिनेन्ट जनरल स्कट बेरियरले पुटिन अहिले आफ्नो हतियारको आधुनिकीकरणमा लागेको र सानो स्तरको आणविक हतियार विकास गर्न समय खर्चिरहेको जनाए ।

उनका अनुसार पुटिन ‘सामरिक आणविक हतियार’ विकास गर्न लागि परेका छन् ।

केही समयअघिमात्रै पुटिनले आफ्नो मुलुकको आणविक बललाई तैनाथ हुन निर्देशन दिएका थिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार अमेरिकी अधिकारीहरूले व्यक्तिगत कुराकानीका क्रममा पुटिनले युक्रेनमा आणविक हतियार प्रयोग गर्नसक्ने चिन्ता व्यक्त गर्दै आएका छन् ।

दक्षिण कोरियमा राष्ट्रपतीय चुनाव
दक्षिण कोरियामा राष्ट्रपति चयनका लागि मतदान भएको छ । चर्को राजनीतिक ध्रुवीकरणबीच नयाँ राष्ट्रपति चयनका लागि मतदान भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

५ करोड २० लाख जनसंख्या रहेको दक्षिण कोरियामा १८ वर्षभन्दा माथिका ४ करोड ४० लाख जनता चुनावमा मतदान गर्न योग्य छन् । यसबाहेक १ करोड ६० लाखले मतदानको दिन अगावै मत दिइसकेको जनाइएको छ ।

चुनावी प्रतिस्पर्धामा सत्तारुढ लिवरल पार्टीका उम्मेद्वार ली जे म्युङ तथा उनका कन्जरभेटिभ प्रतिद्वन्द्वी युन सुक योलअघि रहेको जनाइएको छ । अरु १० जना पनि चुनावी मैदानमा रहेपनि मुख्य प्रतिस्पर्धा यिनै दुई उम्मेदवारबीच हुने जनाइएको छ ।

यद्यपि उत्तर कोरियाली खतरालाई सम्बोधन गर्ने विषयमा दुबै उम्मेदवारसँग स्पष्ट रणनीति नभएको आलोचकहरूको भनाइ छ । निर्वाचित हुने उम्मेदवारले आगामी मे महिनामा ५ वर्षको एकल राष्ट्रपतीय कार्यकाल सम्हाल्नेछन् ।

कोरोना भाइरसको महामारी र राजनीतिक ध्रुवीकरण उत्कर्षमा रहेका बेला चुनाव हुन लागेको हो । बुधबारमात्रै दक्षिण कोरियाली स्वास्थ्य अधिकारीहरूले मुलुकमा ३ लाख ४२ हजार जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएका थिए । कोरोना भाइरसको महामारी शुरु भएयता दक्षिण कोरियामा देखिएको सबैभन्दा ठूलो संख्या हो ।

चुनावको नतिजा बिहीबारसम्म आइसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

युक्रेनलाई लडाकु विमान दिने पोल्याण्डको प्रस्ताव अमेरिकाद्वारा अस्वीकार
जर्मनीस्थित नेटो सैनिक अखडाबाट युक्रेनलाई लडाकु विमान पठाउने पोल्याण्डको प्रस्ताव अमेरिकाले अस्वीकार गरेको छ ।

अमेरिकी रक्षामन्त्रालय पेन्टागनका प्रवक्ता जोन किर्बीले ‘नेटोको अमेरिकी सैनिक अखडाबाट रुस र युक्रेनबीच विवादमा रहेको हवाई क्षेत्रमा लडाकु विमान पठाउँदा त्यसले नेटोको गठबन्धनमै गम्भीर चिन्ता उत्पन्न हुने भन्दै पोल्याण्डको प्रस्ताव अस्वीकार गरिएको जनाएका हुन् ।

यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको अनुरोध स्वीकार गर्दै पोल्याण्डले आफूसँग रहेको मिग २९ लडाकु विमान युक्रेनतर्फ पठाउने प्रस्ताव अघि सारेको थियो ।

पोल्याण्डका प्रधानमन्त्री माटेयस मोरावेस्कीले युक्रेनतर्फ आक्रामक हतियारहरूको आपुर्ति नेटो सदस्यहरूको सर्वसम्मत निर्णयबाट मात्र गरिनुपर्ने बताउँदै आएका छन् ।

पोलिश प्रस्तावमा जर्मनीस्थित राम्स्टेनमा रहेको नेटो सैनिक अखडाबाट ती विमानहरूलाई युक्रेनतर्फ पठाइने उल्लेख थियो । यद्यपि यसबारे पोल्याण्ड र अरु नेटो आबद्ध मुलुकहरूसँग छलफल गरिने उनको भनाइ छ ।

रुसी गोलाबारीमा युक्रेनी अभिनेताको मृत्यु
युक्रेनका चर्चित अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता पाशा लीको रुसी गोलाबारीमा परी मृत्यु भएको छ ।

राजधानी किभनजिकै रहेको इर्पिन शहरमा रुसी गोलाबारीमा परी उनको मृत्यु भएको युक्रेनी अधिकारीले जनाएका छन् ।

रुसले युक्रेनमाथि आक्रमण थालेयता ३३ वर्षे ली युक्रेनी ‘भूमि रक्षा दल’ मा भर्ना भई युद्धमोर्चामा खटिएका थिए ।

विभिन्न फिल्ममा अभिनय गरेका उनले द होबिट र द लायन किङ्गको युक्रेनी डबमा आवाज पनि दिएका थिए ।

सन् २००६ मा ‘द पिट’ भन्ने फिल्म खेलेयता उनले युक्रेनमा चर्चित अभिनेताको छवि बनाएका थिए । उनले पछिल्लोपटक ‘मिटिङ अफ क्लासमेट’ भन्ने फिल्म खेलेका थिए ।

अमेरिका र बेलायतले रुससँग तेल नकिन्ने
अमेरिकाले युक्रेनमाथि आक्रमण गरिरहेको रुसबाट तेल आयात बन्द गर्ने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकाले रुसबाट तेल आयात नगर्ने घोषणा गरेका हुन् ।

‘हामी सबै रुसी ग्यास, तेल र उर्जाको आयात बन्द गर्दैछौँ ।’ बाइडनले भने । उनले पछिल्लो घोषणाले ‘रुसी अर्थतन्त्रको मुख्य रक्तनली’ लाई लक्षित गरेको जनाएका छन् । ‘यसको अर्थ रुसी तेल अमेरिकी बन्दरगाहमा स्वीकार्य हुनेछैनन्’ बाइडनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पछिल्लो कदमले घरेलु मामिलामा पनि असर पर्ने स्वीकार गर्दै बाइडनले साझेदारहरूसँगको सल्लाहमै निर्णय लिइएको बताए । अमेरिकी राजनीतिक वृत्तका दुबै रिपब्लिकन र डेमोक्र्याटिक पार्टीले युक्रेनमा आक्रमण गरेको दण्ड दिन रुसमाथि थप आर्थिक प्रतिबन्ध लगाउन बाइडनमाथि दबाब दिँदै आएका थिए ।

यता अमेरिकासँगै बेलायतले पनि रुसी उर्जाको आयात विस्तारै बन्द गर्ने घोषणा गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बेलायतले यही वर्ष सन् २०२२ को अन्त्यसम्म रुसी तेलको आयात पूर्ण रूपमा कटौती गर्ने घोषणा गरेको हो ।

उर्जा निर्यात रुसी अर्थतन्त्रको प्रमुख आयश्रोत हो । रुस साउदी अरब र अमेरिकापछि तेश्रो ठूलो तेल उत्पादनकर्ता मुलुक पनि हो । यसअघि रुसले पश्चिमा मुलुकहरूले आफ्नो तेलमाथि प्रतिबन्ध लगाएको खण्डमा ग्यासको निर्यात पनि ठप्प पारिदिने चेतावनी दिएको थियो ।

अमेरिकाले रुसबाट आफ्नो खपतको ८ प्रतिशत तेल आयात गर्दै आएको छ भने बेलायतले रुसबाट ६ प्रतिशत तेल आयात गर्छ । रुसी तेलको विकल्पमा अमेरिकाले दक्षिण अमेरिकी मुलुक भेनेजुएलासँग सहकार्य गर्न लागेको बीबीसीले जनाएको छ ।

पाकिस्तानी युवतीले मोदीलाई धन्यवाद दिइन्
भारतीय राजदूतावासको सहयोगमा युक्रेनबाट उद्धार गरिएकी एक पाकिस्तानी युवतीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएकी छिन् ।

भिडियो सन्देशमार्फत भारतीय दूतावासको सहयोगमा युक्रेनबाट उद्धार गरिएकी पाकिस्तानी युवती आस्मा शफिकले मोदीलाई धन्यवाद दिएकी हुन् । ‘निकै गाह्रो अवस्थामा सहयोग गरेकोमा किभमा रहेको भारतीय राजदूतावासप्रति म कृतज्ञ छु ।’ भिडियोमा उनले भनेकी छिन्, ‘म प्रधानमन्त्री नरेन्द्र मोदी प्रति पनि कृतज्ञ छु । आशा गरौँ हामी सुरक्षित घर फिर्नेछौं ।’ भारतीय समाचार संस्था एएनआईले जारी गरेको उनको भिडियो सन्देशमा भनिएको छ ।

हाल उनी पश्चिम युक्रेनतर्फ लागेको र त्यहाँबाट उनी घर फिर्ने स्रोतहरूलाई उद्धृत गर्दै एएनआईले जनाएको छ ।

गएको फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि त्यहाँबाट भारतीय दूतावासले आफ्ना नागरिकको उद्धार कार्यलाई तीब्र बनाइरहेको छ । उद्धारका क्रममा भारतले अपरेशन गङ्गाको नामबाट १६ हजार भन्दा धेरै नागरिकलाई स्वदेश फिर्ता गरिसकेको छ ।

अमेरिकी सेनाध्यक्षद्वारा युक्रेनी सीमाक्षेत्रको गोप्य भ्रमण
अमेरिकी सेनाध्यक्ष मार्क मेलीले युद्धग्रस्त युक्रेनी सीमाको गोप्य भ्रमण गरेको खुलासा भएको छ । पेन्टागनका वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार मेलीले गएको साता युक्रेनको सीमा नजिकै रहेको हवाई मैदानको भ्रमण गरेका हुन् ।

यद्यपि उनले कुन देशको कुन हवाई मैदानको भ्रमण गरेका हुन् भन्नेबारे केही खुलाइएको छैन । समाचारअनुसार मेलीले त्यहाँ पुगी हतियारको निरीक्षण गरेका थिए भने युक्रेनलाई हतियार दिने कार्यका विषयमा पनि जानकारी लिएका थिए ।

समाचारमा जनाइएअनुसार उक्त हवाई मैदान अहिले नेटोले युक्रेनलाई हतियार पठाउने प्रमुख क्षेत्रको रूपमा विकसित भएको छ ।

अमेरिकाले घोषित कूल ३५ करोड डलर मध्ये हालसम्म २४ करोड डलर बराबरको हतियार युक्रेनलाई आपुर्ति गरिसकेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ९ : ५९ बजे

झिनो अंकले घट्यो नेप्से, कारोबार बढ्यो 

काठमाडौं– साताको अन्तिम नेपाल स्टक एक्सेचञ्ज (नेप्से) घटेरै बन्द भएको

जसपाले साथ छाडेसँगै माथिल्लो सदनमा सरकार अल्पमतमा, विधेयक पारित हुन सकस

काठमाडौँ – संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभाका दुई ठूला दल

श्रम क्षेत्रलाई व्यवस्थित गर्न सम्पूर्ण सेवा डिजिटलाइजेसन हुनुपर्छ : श्रममन्त्री

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले श्रम

३ सय १९ केजी लागूऔषध चरेशसहित एक जना पक्राउ

काठमाडौं– प्रहरीले पर्सामा ठूलो परिमाणमा लागूऔषध चरेशसहित एक जनालाई पक्राउ

मधेशवादी दलहरूको बैठक : उपनिर्वाचन मुख्य एजेण्डा

काठमाडौं– मधेशवादी दलहरूको संयुक्त मोर्चा संघीय लोकतान्त्रिक मोर्चाको बैठक सुरु