आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

 श्रीलंकाली प्रधानमन्त्रीद्वारा राजीनामा

श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपाक्षेले पदबाट राजीनामा दिएका छन् । श्रीलंकाबाट प्रकाशित हुने डेली मिररको अनलाइन संस्करणले प्रधानमन्त्री राजपाक्षेले राजीनामा दिएको जनाएको हो ।

प्रदर्शनकारीको दुई समूहबीच झडप भएसँगै टापुभर कर्फ्यु जारी गरिएको अवस्थामा प्रधानमन्त्रीले राजीनामा दिएका हुन् ।

यसअघि गत शुक्रबार राष्ट्रपति गोताबाया राजपाक्षेले आफ्ना भाइ महिन्दाले राजीनामा दिने जानकारी दिएका थिए ।

विदेशी मुद्राको सञ्चिती घट्दै गइरहेको सन्दर्भमा श्रीलंकामा सरकारको विरोध गर्दै पछिल्ला केही सातायता प्रदर्शन हुँदै आएका छन् ।

प्रदर्शनकारीहरूले सरकारले तत्काल राजीनामा दिनुपर्ने र सरकार एवम् संसद्बाट राजपाक्षे परिवारका सदस्यहरू हट्नुपर्ने माग गर्दै आएका छन् ।

मुलुकमा जारी आर्थिक संकट एवम् यसबाट उत्पन्न अत्यावश्यक वस्तुको अभावका कारण श्रीलंकाली नागरिकहरूले कष्टको सामना गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यसअघि श्रीलंकाको राजधानी कोलम्बोमा प्रदर्शनकारीका दुई समूहबीच भएको झडपका कारण तनाव उत्पन्न भएपछि प्रहरीले कर्फ्यु लगाएको थियो ।

सोमबार बिहान सरकार समर्थक प्रदर्शनकारीहरूले प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई राजीनामा नगर्न आग्रह गर्दै प्रधानमन्त्रीको सरकारी निवास टेम्पल ट्रिज अगाडि प्रदर्शन गरेका थिए ।

सरकार समर्थक प्रदर्शनकारीले प्रधानमन्त्रीसँग भेट गरेपछि उनीहरूको समूह र सरकार विरोधी प्रदर्शनकारीको समूहबीच झडप भएको थियो ।

सो झडपमा कम्तीमा १६ जना घाइते भएका थिए । उनीहरूलाई कोलम्बो नेसनल अस्पतालमा भर्ना गरिएको छ । श्रीलंकामा विदेशी मुद्राको अभावबाट उत्पन्न भएको आर्थिक सङ्कटको  पछिल्ला दिनमा झन विकराल बन्दै गएको छ ।

जसका कारण इन्धन, खाद्यान्न र औषधि जस्ता अत्यावश्यक आपूर्तिहरूको अभाव निम्त्याएको छ। सरकार र संसद्लाई तत्काल समाधान खोज्न माग गर्दै केही दिनदेखि आन्दोलन जारी छ ।

पुटिनद्वारा युक्रेन आक्रमणको बचाउ

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी आक्रमणको बचाउ गरेका छन् । दोश्रो विश्वयुद्धमा तत्कालीन नाजी जर्मनीको पराजयको ‘विजय दिवस’ मा सम्बोधन पुटिनले युक्रेनमा जारी ‘विशेष सैनिक कारवाही’ को बचाउ गरेको बीबीसीले जनाएको छ ।

उनले पूर्वी युक्रेनमा जारी लडाईँमा लडिरहेका रुसी फौज तथा स्वयंसेवीहरू ‘मातृभूमि र यसको भविष्यका लागि लडिरहेको’ समेत टिप्पणी गरे ।

सम्बोधनका क्रममा उनले पश्चिमा मुलुकहरूले ‘हाम्रो भूमिमा आक्रमण गर्ने’ तयारी गरिरहेको आरोप समेत लगाएको बीबीसीले जनाएको छ ।

उनले उत्तर एटलान्टिक सन्धि संगठन नेटोलाई ‘स्वभाविक खतरा’ को रुपमा टिप्पणी गर्दै आफूले थालेको ‘विशेष सैन्य कारवाही’ आवश्यक रहेको र यो ‘सही निर्णय’ भएको समेत बताए ।

उनले युक्रेनमा जारी द्वन्द्वबाट प्रभावित परिवारलाई राज्यले ख्याल राख्न सके जति सबै गर्ने समेत आश्वासन दिए । ‘हरेक सैनिक र सैनिक अधिकारीको मृत्यु हाम्रा लागि पीडादायी छ ।’ पुटिनले भने ।

क्युबाको होटलमा भएको विस्फोटमा मृतकको संख्या ३० पुग्यो

क्युबाको राजधानी हवानाको मध्य क्षेत्रमा रहेको एउटा होटलमा गत शुक्रबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

सो सुविधा सम्पन्न होटलमा गएको शुक्रबार विस्फोट भएको थियो । त्यसमा परी आइतबार थप पाँच जनाको ज्यान गएको छ ।

सो समेत गरी यस विस्फोटमा परेर ज्यान जानेको संख्या ३० पुगेको अधिकारीहरूले जानकारी दिएका छन् । 

उक्त दुर्घटनामा परी ज्यान जानेमा एकजना स्पेनी पर्यटक पनि परेको बताइएको छ । विस्फोटनमा ती पर्यटकसहित ३० जनाको मृत्यु भएको राज्य सञ्चालित टेलिभिजनले जनाएको छ ।

सो दुर्घटनामा परेका अरु ८४ जना घाइते छन् । ती घाइतेहरू पनि अधिकांश जलेका बताइएको छ । 

होटलको ग्यास चुहावटका कारण शक्तिशाली विस्फोट भएको क्युबाको राष्ट्रिय टेलिभिजनले जनाएको छ । यस दुर्घटनाको उद्धारको काम जारी रहेको पनि जनाइएको छ ।  

दुर्घटनापछि भग्नावशेषमा पुरिएका मानिसहरू जीवित पाइने आशामा खोजी जारी राखिएको क्युबाली अधिकारीले बताएका छन् ।

तर अब भने मानिसहरूलाई जीवितै उद्धारको सम्भावना नरहेको उनीहरूको भनाइ छ ।

फिलिपिन्समा राष्ट्रपतीय निर्वाचन

फिलिपिन्समा नयाँ राष्ट्रपति चयनका लागि मतदान भएको छ । सोमबार मतदाताहरूले नयाँ राष्ट्रपति चयन गर्नका लागि मतदान गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

मतदानका लागि ६ करोड ७५ लाख मतदाता योग्य छन् ।

यस मतदानमा मतदाताको उपस्थिति पनि अपेक्षा भन्दा बढी रहेको रोयटर्सले जनाएको छ । मतदानका क्रममा केही विद्युतीय भोटिङ मेसिनमा त्रुटि आएपनि कुनै ठूलो दुर्घटनाबिना मतदान भएको बताइएको छ ।

वर्तमान चुनावमा वर्तमान राष्ट्रपति रोबर्टो डुटेर्टेले उम्मेद्वारी दिएका छैनन् । यस चुनावमा फिलिपिन्सका पूर्व राष्ट्रपति फर्डिनान्ड मार्कोसका छोरा फर्डिनान्ड ‘बोङबोङ’ मार्कोस जुनियर विजयी हुने अपेक्षा गरिएको बीबीसीले जनाएको छ ।

उनका प्रमुख प्रतिद्वन्द्वीका रुपमा उदारवादी लेनी रोब्रेदो छिन् । उनले सन् २०१६ मा भएको उप राष्ट्रपतीय निर्वाचनमा मार्कोसलाई झिनो अन्तरले पराजित गरेकी थिइन् ।

यद्यपि मतदान अघिका सर्वेक्षणहरूमा मार्कोस ३० प्रतिशत अन्तरले अघि रहेको देखाएको बीबीसीले जनाएको छ ।

चुनावमा विजयी हुने उम्मेदवारले ६ वर्षको कार्यकाल सम्हाल्नेछन् ।

क्यानाडाका प्रधानमन्त्रीद्वारा युक्रेनको भ्रमण

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले युक्रेनको भ्रमण गरी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेट गरेका छन् ।

भेटपछि दुई नेताले पत्रकार सम्मेलन आयोजना गरेका थिए । ‘जघन्य युद्ध अपराधका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दोषी छन्’, ट्रुडोले भने ।

क्रुर युद्धका लागि राष्ट्रपति पुटिन जबाफदेही हुनुपर्ने उनले बताए । भ्रमणका अवसरमा ट्रुडोले किभस्थित क्यानाडाली दूतावासमा झण्डा फहराएका थिए ।

‘क्यानाडा सधैं युक्रेनसँग काँधमा काँध मिलाएर उभिनेछ’, ट्रुडोले भने, ‘हामी युक्रेन र त्यहाँका जनतालाई हाम्रो समर्थन देखाउन यहाँ छौँ ।’

पछिल्लो समयमा रुसी सेनाले पूर्वी युक्रेनको दोनेत्स्कमा हमला गरेको छ । रुसी सेनाले एउटा विद्यालयमा गरेको हमलामा ६० जना मारिएको आशंका गरिएको छ ।

सैन्य आधार स्थापना गर्न नमान्दा आफूले पद गुमाएको इमरान खानको दाबी

अविश्वासको प्रस्तावमार्फत हटाइएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफू सत्तामा रहँदा देशमा सैन्य आधार स्थापना गर्ने अमेरिकी मागसँग कहिल्यै सहमत नभएको दोहोर्‍याएका छन् ।

पूर्वक्रिकेटरसमेत रहेका खान गत महिना संसद्मा अविश्वासको प्रस्तावमार्फत् पदमुक्त भएका थिए । आफूलाई सत्ताच्युत गर्न अमेरिकाले षड्यन्त्र गरेको उनले आरोप लगाउँदै आएका छन् ।

अविश्वासको प्रस्तावबाट हट्ने उनी पाकिस्तानका पहिलो प्रधानमन्त्री हुन् । एक भिडियो सन्देशमा विदेशमा रहेका पाकिस्तानीहरूलाई सम्बोधन गर्दै खानले , अमेरिकाले ‘अफगानिस्तानमा सम्भावित आतंकवादविरुद्ध प्रत्याक्रमण गर्न’ पाकिस्तानमा आधारहरू चाहेका र आफ्ना लागि सो प्रस्ताव बिल्कुल अस्वीकार्य भएको बताए ।

पाकिस्तानले अमेरिकी नेतृत्वमा भएको ‘आतंकवादविरुद्धको युद्ध’मा ८० हजारले ज्यान गुमाएको र अझै पनि बलिदानको कदर नगरिएको भन्दै उनले त्यसको दोष अमेरिकी राजनीतिज्ञहरूलाई लगाए ।

अमेरिकी प्रथम महिलाद्वारा युक्रेनको भ्रमण

अमेरिकी प्रथम महिला जिल बाइडेनले युक्रेनकी समकक्षी ओलेना जेलेन्स्कासँग युक्रेनमा भेट गरेकी छन् । वासिंगटनले मस्कोमाथि थप प्रतिबन्ध लगाउने घोषणा गरिरहेका बेला जिल बाइडेनले जेलेन्स्कासँग भेट गरेकी हुन् ।

दुई पहिलो महिलाको भेट सीमावर्ती सहर उज्होरोडको एक विद्यालयमा भएको थियो । २४ फेब्रुवरीमा युक्रेनमा रुसी आक्रमण सुरु भएपछि जेलेन्स्का पहिलो पटक सार्वजनिक कार्यक्रममा देखा परेकी हुन् ।

रुसी हमलाको विरोधमा अमेरिकाले २६ सय रुसी र बेलारुसका नागरिकहरुमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ ।

तीन रूसी टिभि स्टेसनहरू र गाजप्रोमबैंकका अधिकारीहरूमाथि पनि वासिंगटनले प्रतिबन्ध लगाएको छ ।

जी–७ का नेताहरू रुसी ऊर्जामाथिको निर्भरता हटाउन सहमत

विश्वका ७ प्रमुख अर्थतन्त्रहरूको समूह जी ७ का नेताहरुले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग छलफल गरेका छन् ।

जी ७ का नेताहरूले भिडियो लिंकमार्फत जेलेन्स्कीसँग युक्रेनमा जारी रुसी आक्रमणका बारेमा छलफल गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

छलफलका क्रममा जी ७ का नेताहरूले रुसबाट हुने तेल तथा अन्य उर्जाको आयातलाई पूर्ण रुपमा प्रतिबन्ध लगाउने वा विस्तारै कटौति गर्दै लैजाने विषयमा सहमति गरेका छन् ।

छलफलका क्रममा अमेरिकाले रुसको प्रमुख बैंक गाजप्रोमबैंकका कार्यकारीहरू तथा रुसका अन्य व्यवसायिक संस्थाहरूमाथि नयाँ प्रतिबन्धको घोषणा गरेको रोयटर्सले जनाएको छ ।

‘हामी रुसी तेलको आयातमाथि प्रतिबन्ध लगाएर वा कटौती गरेर रुसी ऊर्जाबाट हाम्रो निर्भरता हटाउन प्रतिबद्ध छौँ ।’ जी ७ का नेताहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ, ‘हामी यस कार्य सुमधुर एवम् समय साक्षेप रुपमा गर्नेछौँ ।’

‘दिगो विश्वव्यापी उर्जा आपूर्ति तथा उपभोक्ताका लागि सुपथ मूल्य सुनिश्चित गर्न हामी सँगै र हाम्रा साझेदारहरुसँग काम गर्नेछौँ ।’ संयुक्त विज्ञप्तिमा जनाइएको छ ।

सुँघेर धराप पत्ता लगाउने कुकुरलाई जेलेन्स्कीले दिए विभूषण

सुँघेर धराप पत्ता लगाउने कुकुरलाई देशको सेवा गरेबापत युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विभूषण प्रदान गरेका छन् ।

पेट्रन नामक ज्याक रुसेल टेरियर जातको कुकुर र उनका मालिकलाई विभूषित गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

गत फेब्रुअरी २४ मा रुसले आक्रमण गरेयता यस कुकुरले हालसम्म २ सय भन्दा धेरै धरापहरु सुँघेर पत्ता लगाएको बताइएको छ ।

युक्रेन भ्रमणमा रहेका क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँगको भेटवार्ताका क्रममा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति जेलेन्स्कीले कुकुरलाई तक्मा प्रदान गरेका हुन् ।

कुकुरका मालिक युक्रेनको जनसुरक्षा सेवामा कार्यरत मेजर मिहाइलो इलियेभ रहेको उनलाई पनि विभूषण प्रदान गरिएको रोयटर्सले जनाएको छ ।

पोपास्ना शहरबाट आफ्ना फौज पछि हटेको युक्रेनी पक्षद्वारा पुष्टि

रुसी फौजले आक्रमणलाई निरन्तरता दिइरहेको पूर्वी युक्रेनको पोपास्ना शहरबाट युक्रेनी सैनिक पछि हटेका छन् ।

पूर्वी युक्रेनको लुहान्स्क क्षेत्रका गभर्नरले आफ्ना सैनिक पोपास्ना शहरबाट पछि हटेको पुष्टि गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसअघि रुसको चेचेन्या गणतन्त्रका प्रमुख रमजान कदिरोभले आफ्ना फौजले पोपास्ना कब्जा गरेको घोषणा गरेका थिए ।

लुहान्स्का गभर्नर शेरी हाइदाइले युक्रेनी टेलिभिजनलाई अन्तरवार्ता दिँदै युक्रेनी फौज शहरबाट पछि हटेर अझ मजबुत स्थानमा पुगेको जानकारी दिएका हुन् । उनले शहरमा ‘सबैकुरा नष्ट भएको’ समेत बताएको रोयटर्सले जनाएको छ ।

पछिल्लो समय पूर्वी युक्रेनको लुहान्स्क र डोनेत्स्क क्षेत्रमा रुसी फौजले थप जमिन कब्जा गर्ने उद्देश्यले आक्रमणहरुलाई निरन्तरता दिइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मलेसियामा २ हजारभन्दा धेरै कोरोना संक्रमित थपिए
मलेसियामा गएको २४ घन्टामा २ हजार जना भन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।

अधिकारीहरूका अनुसार मलेसियामा गएको २४ घन्टामा २ हजार १ सय ५३ जना कोरोना संक्रमित भेटिएका हुन् ।

त्यसैगरी गएको २४ घन्टा यतामात्र त्यहाँ संक्रमितहरुमध्ये चार जनाको ज्यान गएको पनि अधिकारीहरूले जनाएका छन् ।

अहिलेसम्म त्यहाँ ३५ हजार ५ सय ८३ जनाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको बताइएको छ ।

त्यसैगरी मलेसियामा अहिलेसम्म ४४ लाखभन्दा बढी संक्रमित भएका पाइएको छ । अहिले पनि मलेसियामा २६ हजार जनाभन्दा बढी सक्रिय संक्रमितहरु रहेका बताइएको छ ।

तीमध्ये थोरै मात्र संक्रमितहरुमा यो भाइरसको असर देखिएको मलेसियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ९ : २० बजे

चिसोमा हात खुट्टाका औँला सुन्निन्छन् ? यसो गर्नुहोस् 

काठमाडौं– चिसोमा रक्तनलीहरु साँघुरिने भएकाले हात खुट्टा सुनिने र औँलाहरूमा

‘विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन’

काठमाडौं – प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि

ब्याटर नचल्दा सकंटमा कर्णाली, १०० रन पुग्दा गुमायो ७ विकेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको दोस्रो क्वालिफायर खेलमा जनकपुर

हिरासतमा रहेका रविको तस्बिरबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं- गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वन्तत्र

नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र दक्षिण