ग्रामीण भेगमा सर्पदंशका बिरामीलाई उपचार पाउनै मुस्किल « Khabarhub

ग्रामीण भेगमा सर्पदंशका बिरामीलाई उपचार पाउनै मुस्किल


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर- भोजपुरमा सर्प दंशका बिरामीले उपचार पाउन मुस्किल पर्ने गरेको छ । विशेष गरेर  ग्रामीण भेगका मानिस उपचारबाट वञ्चित हुने गरेका छन्। सर्पको टोकाइजस्तो संवेदनशील घटनामा समयमै उपचार नपाउँदा कतिपयको ज्यान जाने गरेको छ भने कतिपयको अङ्ग भङ्गसमेत हुने गरेको छ । सर्पले टोकेमा तत्काल उपचार गराउनु पर्छ।

यहाँ स्वास्थ्य चौकी पुग्नलाई घण्टौँ हिँड्नुपर्ने अवस्था छ । ग्रामीण भेगका अधिकांश सडक बन्द भएकाले एम्बुलेन्स तथा यातायात सेवा पूर्ण रूपमा बन्द छ । स्ट्रेचर तथा डोकामा बोकेर बिरामीलाई अस्पतालसम्म पुर्‍याउनुपर्ने बाध्यता हुँदा समयमा उपचार नपाएर ज्यान जाने पनि गरेको पाइन्छ ।

प्रायः ग्रामीण भेगका जनता सडक बिग्रेका कारण र समयमै सदरमुकामका अस्पताल पुग्न नसक्दा उपचार गर्न उनीहरूलाई समस्या हुनाका साथै अन्य ठाउँका सुविधा सम्पन्न अस्पताल जान कठिन हुँदै आएको छ । यस्तो अवस्थामा सर्पको टोकाइको उपचार तथा अन्य सामान्य सेवाबाट उनीहरू वञ्चित हुँदै आएका छन् भने समयमै उपचार नपाएका कारण कतिपयले अकालमा ज्यान गुमाएका घटना पनि छन् ।

सर्पको टोकाइको सामान्य उपचार मात्र जिल्ला अस्पतालमा गर्न सकिने भोजपुर जिल्ला अस्पतालका प्रमुख वीरेन्द्र दास बताउँछन् । धेरै विषालु पर्सले टोकेर रक्तनली नै खराब हुने खालका जटिल अवस्थामा भने बाहिर नै रिफर गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ  । प्रमुख दास भन्छन्, “जिल्ला अस्पतालमा सामान्य खालको टोकाइको प्राथमिक उपचार हुन्छ । जटिल अवस्थाको यहाँ उपचार सम्भव छैन । त्यस्ता बिरामी आएमा प्राथमिक उपचार पश्चात् बाहिर रिफर गछौँ ।”

सर्पको टोकाइको स्वास्थ्य उपचारलाई सहज बनाउनुपर्ने स्थानीयवासीको माग छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका निवासी एकराज विष्ट भन्छन्, “यो समयमा ग्रामीण भेगमा धेरै समस्या छन् । खेतबारीमा काम गर्नै पर्‍यो । काम गर्ने क्रममा ख्याल नगर्दा पनि सर्पले टोक्ने सम्भावना बढी हुन्छ तर यसको उपचार पाउन मुस्किल छ । हाम्रो यो ठाउँबाट सामान्य स्वास्थ्य सेवा लिनका लागि त तीनदेखि चार घण्टा हिँडेर स्वास्थ्य चौकी जानुपर्ने अवस्था छ । ”

नेपालमा करिब ८९ प्रजातिका सर्प पाइएको तथ्याङ्क छ । तीमध्ये करिब १७ प्रजातिका सर्प खतरनाक मानिन्छ । विज्ञका अनुसार सर्पको विषलाई सामान्यतः चार वर्गमा बाँडिन्छ । पहिलो वर्ग अन्तर्गतको साइटोटाक्सिनले स्थानीय तन्तु (टिस्यु) लाई क्षतिग्रस्त पार्छ । यस्तै हिमोटाक्सिनले गर्दा आन्तरिक रक्तस्राव हुन्छ । विषमा रहेको न्युरोटाक्सिनले स्नायुलाई क्षतिग्रस्त बनाउँछ र कार्डियोटक्सिनले सिधा मुटुमा असर पार्नाका साथै शरीरको आन्तरिक रक्तस्राव भएर बिरामीको मृत्यु हुन्छ ।

केही हदसम्म सावधानी अपनाउन सके सर्पको टोकाइबाट जोगिन सकिने विज्ञहरूले बताएका छन्। सर्पको टोकाइको सिकार बढी किसान नै  हुने गरेका छन् । त्यसपछि बालबालिका र वृद्ध वृद्धा पनि सर्पको टोकाइमा पर्दै आएका छन् । सर्प दंशको उपचारका लागि राज्यले पनि लगानी गर्नुपर्नेमा स्थानीयवासीले जोड दिएका छन् । केन्द्र, प्रदेश तथा स्थानीय सरकारले टोल बस्तीमा सर्पसम्बन्धी सचेतनाका कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको उनीहरूको भनाइ छ ।

स्थानीय स्तरमा सचेतना जगाउन सकियो भने र सर्प पक्रनका लागि तालिम प्राप्त मानिस उत्पादन भएमा धेरै सहजता हुने देखिन्छ । सर्प सङ्कलन गरिसके पछि त्यसबाट विभिन्न तत्त्व सङ्कलन गरेर सर्प दंशको उपचारमा प्रयोग गरिन्छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार करिब ६०० प्रजातिका सर्प विषालु हुने र त्यस्ता सर्पको ५० देखि ७० प्रतिशतसम्मको टोकाइ विषालु हुने गरेको छ । विषालु सर्पले डसेपछि उपयुक्त एन्टिभेनमसँगै तुरुन्त चिकित्सा सेवा लिनु आवश्यक हुन्छ । असारदेखि साउन, भदौ, असोजसम्म सर्पको टोकाइ सबैभन्दा बढी हुन्छ । मुलुकमा सबैभन्दा बढी गोमन र करेतको टोकाइ हुने गरेको स्वास्थ्यकर्मीले बताउने गरेका छन् । करेतले धेरैजसो राति सुतेका बेला थाहै नहुने गरी डस्ने गर्छ ।

गोमनले सामान्यतः दिउँसो कामको समय वा साँझ बिहान डस्ने गर्छ । गाउँघरमा हतारमा सर्पले टोकेको ठाउँमा चिरेर रगत बगाउने, डोरीले बाँध्ने चलन अझै पनि छ । तर यो उपयुक्त विधि होइन । यस्तो अवस्थामा टोकिएको घाउलाई सुरक्षित गर्दै जतिसक्दो अस्पताल जानु उपयुक्त हुने चिकित्सकको सल्लाह छ । सर्पले टोकेपछि कतिपय गाउँघरका मानिस अझै पनि धामी झाँक्रीको खोजीमा समय बिताउने गर्दा उपचारमा विलम्ब हुँदा मानिसको अकालमा मृत्युसमेत हुने गरेको उनीहरूको भनाइ छ ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  २ : ५८ बजे

नेपाल प्रहरीद्वारा मङ्सिरमा ४० करोड राजस्व संकलन

काठमाडौं– नेपाल प्रहरीले चालू आर्थिक वर्ष २०८२-८३ को मङ्सिर महिनामा

महारानीथान-छाप-डाडाखेत-ठुलोखोला सडकको टुनीखर्क क्षेत्रमा स्तरोन्नति

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारबाट पश्चिमी क्षेत्रका तीन वटा स्थानीय

ट्रमा सेन्टरको प्रमुख मेसुमा डा. मरासिनी नियुक्त 

काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिक सुपरिटेण्डेण्टमा डा. रुद्र मरासिनी

माग्दे गाउँपालिकाले कृषकलाई प्रोत्साहन गर्न दूधमा १० अनुदान दिने 

दमौली– माग्दे गाउँपालिकाले दुग्ध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले

सञ्चारमन्त्री खरेलले भने- राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ

गण्डकी– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिमा आमूल परिवर्तन