कर्णाली प्रदेश सरकार र प्रतिपक्षीबिच चार बुँदे सहमति | Khabarhub Khabarhub

कर्णाली प्रदेश सरकार र प्रतिपक्षीबिच चार बुँदे सहमति


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर- दुई सातायता अवरुद्ध कर्णाली प्रदेशसभाको गतिरोध अन्त्य गर्न प्रदेश सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बिच चार बुँदे सहमति भएको छ । गत माघमा भएको सात बुँदे सहमति कार्यान्वयन नभएको भन्दै  कर्णाली प्रदेशसभामा प्रतिपक्षीद्वारा जारी अवरोध हटेको छ ।

कर्णाली सरकार र प्रतिपक्षी एमालेबिच बजेट विवादका कारण अवरुद्ध प्रदेशसभा सञ्चालन गर्न सर्वदलीय सहमति भएको छ । सर्वदलीय बैठकले चार बुँदे सहमति गरेको हो । आगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेटमाथि प्रतिपक्षी एमालेले आपत्ति जनाएपछि प्रदेशसभाको बैठक दुई सातायता अवरुद्ध हुँदै आएको थियो ।

बजेट छलफलका क्रममा असार १२ गतेदेखि एमालेले प्रदेशसभा अवरुद्ध गरेको थियो । पटक-पटक सर्वदलीय बैठक बसे पनि विवाद समाधान हुन सकेको थिएन । शुक्रबारदेखि भने संसद् बैठक सञ्चालन भएको छ । सभामुख राजबहादुर शाहीको संयोजकत्वमा बसेको बैठकले प्रदेशसभा सञ्चालन गर्ने सहमति गरेको हो ।

चार बुँदे सहमतिमा  रु १५ लाखभन्दा कम रकम विनियोजन गरिएका योजनाहरूका हकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका साना सिँचाइबाहेक अन्य नयाँ योजना कार्यान्वयन नगर्ने सहमति भएको छ । यस्तै निर्वाचन क्षेत्र पूर्वाधार विकास विशेष कार्यक्रमको सम्बन्धमा रिक्त रहेका निर्वाचन क्षेत्रमा सभामा प्रतिनिधित्व गर्ने दलहरूको सहमतिमा योजना छनोट गर्ने गरी कार्यविधि संशोधन गर्ने सहमति भएको छ ।

त्यसै गरी ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ को सम्बन्धमा प्रस्तावित योजनाहरू एकमुष्ट रूपमा फिर्ता लिने सहमति भएको छ । त्यो शीर्षकमा विनियोजन भएको रकम यथावत् राखी साउन मसान्तसम्म कार्यविधि सम्मत योजनाहरू छनोट गरिसक्नुपर्ने भनिएको छ । त्यस्तै, रातो किताबमा कर्णाली प्रदेशभन्दा बाहिरका भौगोलिक क्षेत्रलाई समेटेर समावेश भएका सबै योजनाहरूको नाम हटाउने सहमति भएको छ । सहमति भएसँगै बजेट माथिको दफाबाट छलफलको बाटो खुलेको हो ।

एमाले कर्णाली प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलले आफूहरूले उठाएका मुद्दामा सहमति जुटेपछि बैठक सञ्चालन भएको प्रतिक्रिया दिए । उनले सर्वदलीय सहमतिपछिको प्रदेशसभा बैठकमा सरकारले विगतका सहमति कार्यान्वयन नगरेकाले अहिलेको परिस्थिति उत्पन्न भएको बताए । सरकारसँग सहमति भएता पनि कार्यान्वयनमा भने आशङ्का र अविश्वास गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

अहिले भएका सहमति साझा धारणाका आधारमा आएकाले सरकारले विगतको जस्तो प्रवृत्ति नदोहोर्‍याउन सरकारलाई सचेत गराए  । गत वर्ष पनि लामो समय प्रदेशसभा अवरोध गरेको प्रतिपक्ष दल एमाले र सरकारबीच  सात बुँदे सहमति भएको थियो । सो सहमतिसमेत कार्यान्वयन नभएको भन्दै यस अघि देखि नै पटक पटक सदन अवरुद्ध हुँदै आएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने मुख्यमन्त्री रोजगार कार्यक्रममा खासै समस्या नरहेको बताए ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ५ : ०६ बजे

तस्बिरमा हेर्नुहोस् हायात ग्राउन्डमा नोराको प्रस्तुति

काठमाडाैं – भारतीय अभिनेत्री तथा नृत्यांगना नोरा फतेहीले नेपाली कलाकारहरुसँगै

आइपीएल : प्लेअफ दौडबाट बाहिरियो कोलकाता

बेंगलुरु – इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत बहुप्रतीक्षित बैङ्गलोर र

सगरमाथा संवादमा १२ विषयका समानान्तर सत्र

काठमाडौं – नेपाल सरकारले पहिलोपटक आयोजना गरेको सगरमाथा संवादमा विभिन्न

पुटिन र जेलेन्स्कीबीच सहमतिपछि मात्र भेटवार्ता सम्भव : क्रेमलिन

किएभ – क्रेमलिनले रूस र युक्रेनबीच युद्धविरामका लागि सहमति भएमा

आध्यात्मिक जागरण र विश्व बन्धुत्वको सन्देश फैलाउन ‘खुला सत्सङ्ग’

ललितपुर – आध्यात्मिक जागरणका लागि सन्देश फैलाउने उद्देश्यसहित आज यहाँ