विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) « Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज असार २५, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई ९, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :


प्रदर्शनकारीको आक्रोश थाम्न नसकेपछि श्रीलंकाली राष्ट्रपति कार्यालयबाट भागे

दबाबमा परेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे राजधानीमा रहेको आफ्नो आधिकारिक निवासबाट भागेका छन् । राष्ट्रपति राजापाक्षे शनिबार निवासबाट भागेको एक शीर्ष रक्षा स्रोतलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । त्यसअघि राष्ट्रपति राजापाक्षेको राजीनामा माग गर्दै उनको निवासको कम्पाउन्डमा प्रदर्शनकारी पुगेका थिए ।

‘राष्ट्रपतिलाई इस्कर्टिङ गरिएर लगिएको थियो’, रक्षा स्रोतले भन्यो । आक्रोशित भिडलाई राष्ट्रपतिको दरबारमा प्रवेश गर्नबाट रोक्न सेनाले हवाइ फायरसमेत गरेको प्राप्त विवरणमा जनाइएको छ ।

हजारौँ प्रदर्शनकारीले प्रहरी ब्यारिकेड तोडेर राष्ट्रपतिको सरकारी निवासमा पसेको जनाइएको छ ।

सरकारले लगाएको कर्फ्युको अवज्ञा गर्दै भिड राष्ट्रपति निवास बढेको थियो । प्रदर्शनकारीले स्वतःस्फूर्त कर्फ्यु अवज्ञा गरेपछि सरकारले हटाएको घोषणा गरेको थियो ।

श्रीलंकामा सन् १९४८ पछिकै चरम आर्थिक संकट देखिएको छ । देशमा विदेशी सञ्चिति सकिएका छ । इन्धन अभावमा विद्यालय बन्द छन् । केही दिन अघि राष्ट्रपति गोटाबाया राजापाक्षेले रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग इन्धन सहयोग मागेका थिए । यसैबीच, श्रीलङ्काको पश्चिमी प्रान्तका विभिन्न ठाउँमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।

स्थानीय समय अनुसार शुक्रबार राती ९ बजेदेखि अर्को सूचना जारी नगरेसम्म कर्फ्यु आदेश कायमै रहने प्रशासनले जनाएको छ । प्रहरीका अनुसार नेगोम्बो, केलानिया, नुगेगोडा, माउन्ट लाभिनिया, उत्तर कोलम्बो, दक्षिण कोलम्बो र मध्य कोलम्बोमा कर्फ्यु आदेश जारी गरिएको हो।

कर्फ्यु अन्तर्गतका नियमहरूलाई कडाइका साथ पालना गराउन प्रहरीले प्रयास गरिरहेको अधिकारीहरूले जनाएका छन् । त्यसका लागि ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरू परिचालित भएका छन् ।

कर्फ्यु आदेश लागू भएका क्षेत्रमा हिड्नु परेमा प्रहरी तथा सरकारी अधिकारीहरूको अनुमतिमा मात्रै हिड्न पाइने व्यवस्था गरिएको छ । अत्यावश्यक परेमा हिड्न पाइने पनि अधिकारीहरूले जनाएका छन् ।

श्रीङ्काको गिर्जाघरले भने राष्ट्रपति राजापाक्ष र प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको राजीनामा माग गरेको छ । उनीहरुले आर्थिक सङ्कट, इन्धनको अभाव, मूल्य बृद्धि न्युनिकरण गर्न नसकेकोले पदमा बसिरहनुको औचित्य नरहेको गिर्जाघरको भनाई छ।

दुवै जना आफ्नो जिम्मेवारीमा असफल भएकाले उनीहरुले तत्काल राजीनामा दिनुपर्ने तर्क गरिएको छ । उनीहरुले राजीनामा दिएमा अर्को व्यक्तिले संकटको समाधान गर्ने विश्वास पनि व्यक्त गरिएको छ ।

गिर्जाघरको तर्फबाट जारी गरिएको वक्तव्यमा राष्ट्रपति र प्रधानमन्त्री दुवैले नैतिकताका आधारमा आफै राजीनामा दिनुपर्ने उल्लेख गरिएको छ ।

श्रीलङ्कामा आर्थिक सङ्कटसँगै राजनीतिक सङ्कट पनि उत्पन्न भएको छ । आर्थिक सङ्कटका कारण रुष्ट आम नागरिकको विरोधका कारण तत्कालीन प्रधानमन्त्री महेन्दा राजापाक्षले पनि राजीनामा दिन बाध्य हुनु परेको थियो ।

आबेको हत्यापछि शोकमा जापान

शुक्रबार हत्या गरिएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको शव बोकेको सवारी टोकियोस्थित उनको घरमा पुगेको छ । दक्षिणी सहर नारामा शुक्रबार बिहान एउटा राजनीतिक कार्यक्रममा बोल्ने क्रममा आबेको गोली हानी हत्या भएको थियो ।

शव बोकेर टोकियोमा आबेको निवासमा पुग्दा सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) का सदस्यहरू कालो पहिरन लगाएर श्रद्धाञ्जली दिन लाइन लागेका थिए । श्रद्धान्जली दिन प्रधानमन्त्री फुमिओ किसिदा पनि आबेको निवासमा जाने अनुमान गरिएको छ । यसैबीच, आबेको अन्तिम संस्कार मंगलबार गर्ने जनाइएको छ ।

पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्यापछि सम्पूर्ण जापान नै अहिले गहिरो शोकमा डुबेको छ । राजनीतिक हिंसाको एक असामान्य कार्यले देश नै स्तब्ध बनेको छ । शनिबार शोकाकुल मानिसहरूको समूह पश्चिमी शहर नारामा आबेको रक्तपातपूर्ण हत्या भएको स्थलको भ्रमण गरेको छ ।

जापानको सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका आबेलाई शुक्रबार बिहान ४१ वर्षीय व्यक्तिले एउटा चुनावी सभामा हत्या गरेका थिए । बेलाई गोली लागेपछि नारा अस्पताल लगिएको थियो । आक्रमणको साढे पाँच घन्टापछि उनलाई मृत घोषित गरिएको थियो ।

उक्त हत्याको विश्व नेताहरूले निन्दा गरेका छन् । प्रहरीले आबेको हत्याराको उद्देश्य पत्ता लगाउने प्रयास गरिरहेको छ ।

‘नारामा यस्तो घटना भएको देखेर म स्तब्ध छु’, डाउनटाउनको रेल स्टेसननजिकै भएको घटनास्थलमा फूल चढाएपछि ५० वर्षीय गृहिणी नात्सुमी निवाले भनिन् ।

अबेको हत्यापछि उपनिर्वाचनमा सहनुभूतिको मत बढ्ने आँकलन पनि गरिएका छन् । ‘अब सहानुभूतिको मतले विजयको मतान्तर बढाउन सक्छ’, सल्लाहकार फर्म टेनेओका उपाध्यक्ष जेम्स ब्राडीले भने । आबेको ठूलो प्रभाव रहेको लिबरल डेमोक्र्याटिक पार्टीले धेरै सिट ल्याउने यसअघि नै अनुमान गरिएको थियो ।

आबेको मृत्युले जापानमा सार्वजनिक व्यक्तित्वहरूका लागि सरकारले प्रदान गर्दै आएको सुरक्षाका बारेमा प्रश्न खडा गरेको छ । चुनावी मौसममा राजनीतिज्ञहरूले रेल स्टेसनहरू र सुपरमार्केटबाहिर मतदाताहरूलाई प्रत्यक्ष अपील गर्छन् । त्यस्ता क्षेत्र सुरक्षाका दृष्टिले बढी संवेदनशील मानिन्छन् ।

संसदको माथिल्लो सदनका लागि मतदान हुनुअघि चुनावी प्रचारको अन्तिम दिन शनिबार फेरि प्रचार सुरु भएको छ । चुनावमा प्रधानमन्त्री फुमियो किशिदाको नेतृत्वमा रहेको सत्तारूढ गठबन्धनले जित्ने आशा गरिएको छ ।

हत्याको अनुसन्धान गरिरहेको प्रहरीले संदिग्ध व्यक्तिले एउटा ‘विशेष संगठन’ प्रति आक्रोश व्यक्त गरेको जनाएको छ । ४१ वर्षीय आक्रमणकारी तेत्सुया यामागामीका अनुसार आबे पनि सोही संगठनमा आबद्ध थिए । यद्यपि, संगठनबारे थप विवरण केही दिइएको छैन ।

आफूले घरेलु बन्दुकले गोली हानेको आक्रमणकारीले स्वीकार गरेको प्रहरीले जनाएको छ । आवे जापानको सबैभन्दा लामो समय सेवा गर्ने प्रधानमन्त्री थिए ।

सन् १९५४ मा जन्मिएका आवेको ६७ बर्षको उमेरमा निधन भएको हो । उनले सेइकेइ विश्वविद्यालयबाट सन् १९७७ मा स्नातक गरेका थिए । त्यसपछि उनले सन् १९७९ मा जापानकै नेतृत्वदायी स्टील उद्योग ‘कोबे स्टील’मा काम गरेका थिए ।

राजनीतिमा भने उनी सन् १९८२ मा तत्कालिन विदेश मन्त्रीको सहयोगी भएर प्रवेश गरेका थिए । उनी सन् १९९३ देखि निरन्तर नौ पटक सांसद भएका थिए ।

उनले पार्टीमा सामाजिक मामिला विभागको निर्देशक र महासचिवको जिम्मेवारी निर्वाह गरेका थिए भने सरकारी भूमिकामा मन्त्रीपरिषद्को उप प्रमुख सचिव र प्रमुख सचिव भएर काम गरेका थिए ।

मन्त्रीपरिषद्मा भने २००५ मा उनले पहिलोपटक सहभागी हुने मौका पाएका थिए ।

उनी पहिलोपटक सन् २००६ मा प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । त्यतिबेला उनी जापानकै सबैभन्दा कम उमेरका प्रधानमन्त्री बनेका थिए । अस्वस्थताका कारण त्यो कार्यकाल उनको २००७ सम्म मात्रै रह्यो । आन्द्राको समस्या देखिएपछि उनले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए ।

त्यसपछि निको भएर फेरि राजनीतिमा फर्किएका आबे आफ्नो पार्टीलाई अत्यधिक मतका साथ विजयी गराएपछि सन् २०१२ देखि २०२० सम्म निरन्तर जापानको प्रधानमन्त्री बने । उनले पछिल्लो पटक पनि कार्यकाल बाँकी रहेकै बेला अस्वस्थताका कारण सन् २०२० को अगस्ट २४ मा प्रधानमन्त्री पद स्वेच्छाले त्यागेका थिए । आबेले आफ्ना विश्वास पात्र तथा निकटतम सहयोगी योशिहिदे सुगालाई आफ्नो उत्तराधिकारी बनाएका थिए ।

आफ्नो मौलिक आर्थिक रणनीति र कट्टर राष्ट्रवादी नीतिका कारण उनको छुट्टै पहिचान बनेको थियो । उनको राष्ट्रवादी धारका कारण उनले चीन र दक्षिण कोरियासँग सुमधुर सम्बन्ध कायम गर्न सकेका थिएनन् ।

राजनीतिक विरासत बोकेको परिवारका सदस्य भई जनताका विचमा लोकप्रिय रहेकाले उनलाई ‘जनताका राजकुमार’को उपमा पनि दिइएको थियो । उनका बुवा शिनतारो आबे जापानको विदेशमन्त्री बनेका थिए भने हजुरबुवा नोबुशुके किशी प्रधानमन्त्री थिए ।

भारतमा कोरोना भाइरसका १९ हजार संक्रमित थपिए

भारतमा कोरोना भाइरसबाट थप १९ हजार कोरोना संक्रमित थपिएका छन् ।

सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार थप १८ हजार ८४० जना कोरोना भाइरसबाट संक्रमित भएका हुन् ।

योसँगै भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या चार करोड ३६ लाख चार हजार ३९४ पुगेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो एक दिनमा देशभर कुल चार लाख ५४ हजार ७७८ जनाको कोरोना परीक्षण गरिएको पनि मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।

भारतमा पछिल्लो समयमा सक्रिय संक्रमितहरूको संख्यामा पनि वृद्धि भएको देखिएको मन्त्रालयले जनाएको छ । पछिल्लो ४ महिनामा अहिले सबैभन्दा धेरै देखिएका हुन्।

सोही अवधिमा कोरोना भाइरसका कारण भारतमा थप ४३ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या पाँच लाख २५ हजार ३४६ पुगेको छ ।

सिंगापुरमा मलेशियाली नागरिकलाई मृत्युदण्ड

सिंगापुरले एक मलेसियाली कैदीलाई मृत्युदण्ड दिएको छ । लागूऔषध ओसारपसार गरेको अभियोगमा कलवन्त सिंह नाम गरेका एक मलेसियालीलाई मृत्युदण्ड दिइएको हो । सिंहले अन्तिम मिनेटमा माफीको लागि अनुरोध गरेका थिए । तर, उनको याचनलाई अदालतले अस्वीकार गरेको थियो ।

कलवन्त सिंहको मृत्युको खबर सिंगापुरका मानवअधिकार कार्यकर्ता कर्सटन हानले आफ्नो ट्वीटमा पुष्टि गरेकी छिन् । हानका अनुसार कलवन्त जस्तै उही मुद्दामा हिरासतमा रहेका र सिंगापुरका नोराशरी गौसलाई पनि लागूऔषध तस्करीको अभियोगमा फाँसी दिइएको थियो ।

‘ कलवन्त सिंह र नोराशरी बिन गौस दुवैको मृत्युदण्डको पुष्टि गर्दा म दुःखी छु । दुवै परिवारलाई उनीहरूको शव र मृत्यु प्रमाणपत्र हस्तान्तरण गरिएको छ । कलवन्तको परिवार अझै जेलमा छ । म नोरासरीको अन्त्येष्टिमा जाँदैछु’, हानले ट्वीट गरेकी छिन् ।

एलोन मस्क ट्विटर किन्ने सम्झौताबाट पछि हट्ने

अर्बपति एलोन मस्कले सामाजिक सञ्जाल ट्विटर किन्नको लागि आफ्नो ४४ अर्ब डलरको कबोल अन्त्य गर्ने भएका छन् । मर्जर सम्झौताको उल्लङ्घन भएको आरोप लगाउँदै धनाढ्य मस्कले कबोल समाप्त गर्न लागेका हुन् ।

विश्वका सबैभन्दा धनाढ्य मस्कले यही अप्रिलमा ट्विटर किन्ने निर्णय गरेका थिए । तर, उनको पछिल्लो घोषणाले लामो समयदेखि चलिरहेको बहसमा नयाँ ट्विस्ट लिएको छ ।

ट्विटरले स्पाम र नक्कली खाताहरूको संख्यामा पर्याप्त जानकारी नदिएकाले आफू पछि हटेको उनले बताएका छन् । सम्झौता कार्यान्वयन गर्न कानुनी कारबाही गर्ने योजना रहेको ट्वीटरले जनाएको छ ।

उल्लङ्घनबापत मस्कले १ अर्ब ब्रेकअप शुल्क र सम्भावित मुद्दाको सामना गर्नु पर्न सक्ने प्राप्त विवरणहरुमा जनाइएको छ ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ९ : ३१ बजे

साउदी अरेबिया, टर्की र पाकिस्तानबीच रक्षा सम्झौतामा हस्ताक्षर

काठमाडौँ- मध्यपूर्वमा जारी सैन्य तनावका बीच साउदी अरेबिया, टर्की र

देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ– वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा

स्पेन र इटालीबीचको विवाद उत्कर्षमा, हवाई र समुद्री यात्रामा सीमा नियन्त्रण लागू

काठमाडौँ– युरोपेली संघ (इयू) का दुई प्रमुख सदस्य राष्ट्र स्पेन

झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता बढ्दो

झापा– झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या

इलामको माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले ११ वटा सामुदायिक विद्यालयमा लिम्बू र