काठमाडौँ– यी हुन् आज दिनभरका मुख्य समाचारहरूः
एमालेसँगको सहकार्य सम्भव छैनः माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा नेकपा एमालेसँगको सहकार्य सम्भव नभएको बताएका छन् ।
समाजवादी प्रेस संगठन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले एमालेसँग गठबन्धन गर्नका लागि ढोका बन्द गरेको भन्दै आगामी निर्वाचनमा सहकार्य सम्भव नभएको स्पष्ट पारेका हुन् ।
आफूहरुले एमालेबाट गरेको विद्रोहको औचित्य पुष्टि भएको जिरिक गर्दै उनले गलत प्रवृत्तिले गर्दा भएको हानी नोक्सानीको सबैले समीक्षा गर्नुपर्ने बताए । उनले अहिलको पाँच दलीय गठबन्धनले मुलुकलाई जोगाउने काम गरेकाले संघ र प्रदेशको निर्वाचनमा पनि सहकार्य जारी रहने धारणा राखे ।
निर्वाचनको मिति घोषणा भएलगत्तै सही नीति र दृष्टिकोण बोकेर पार्टी जनतामा जाने तयारी गरेको उनले बताए । उनले राष्ट्रिय हित र सुरक्षालाई केन्द्रविन्दुमा राखेर छिमेकी र अन्य मुलुकसँगको सम्बध विस्तार गर्नुपर्ने समेत बताए ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा एकीकृत समाजवादीले सफलता प्राप्त गरेको पनि उनले जिकिर गरे । यस्तै उनले कम्युनिस्ट पार्टीको क्रान्तिकारी धारलाई अझै धारिलो बनाएर अगाडि बढ्न र लोकतन्त्रको पक्षमा हामी अग्रपंक्तिमा उभिन चाहेको उनले बताए ।
माओवादी केन्द्रको तीन सदस्यीय समिति गठन
नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको पार्टीको स्थायी कमिटीको बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न अनुशासन विभागको संयोजकसमेत रहेका टंक राईको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको हो ।
समितिमा मुक्ति प्रधान र खिमलाल देवकोटा रहेको माओवादी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
बैठकले पार्टीको विद्यार्थी संगठनमा देखिएको समस्या समाधानका लािग रमेश मल्ल, नरेन्द्र न्यौपाने, रत्न ढकाल तीन जनाको सुझाव समिति गठन गरेको प्रवक्ता महराले बताए ।
त्यस्तै बैठकले प्रदेश कमिटी र केन्द्रमा बीचमा समन्वय कायम गर्नका निम्ति प्रदेश इञ्चार्जको नेतृत्वमा प्रदेश समन्वय समिति पनि गठन गरेको छ । सो समिति आगामी संघ र प्रदेशको चुनावसम्म रहने गरी गठन गरिएको र समितिमा सबै केन्द्रिय सदस्यहरु र सबै प्रदेशका पदाधिकारी रहने प्रवक्ता महराले बताए ।
बैठकले आगामी साउन १६ गतेदेखि भदौ ३ गतेसम्म प्रदेशको प्रशिक्षण कार्यक्रम र बैठकहरु गर्ने निर्णय गरेको छ ।
निर्वाचनमा हुने धाँधलीका लागि अभियान चलाउनुपर्छः सभामुख
सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनमा हुने सबै खालका विकृति र विसंगतिको अन्त्यका लागि अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।
काठमाडौंमा आज राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको संघीय नमूना युवा संसद अभ्यासको उद्घाटन गर्दै सभामुख सापकोटाले अहिले सामान्य मान्छेले चूनाव लड्नै नसक्ने गरि खर्च हुन थालेको र चुनावमा विकृति र विसंगति देखिन थालेको भन्दै यसको अन्त्यका लागि युवाहरुले अभियान नै सञ्चालन गर्नुपर्ने बताएका हुन्।
हालै भएको स्थानीय तहको निर्वाचनमा काठमाडौंको र अन्य स्थानको विश्लेषण गर्दा विद्यमान परिस्थितिबाट जनताहरु सन्तुष्ट नदेखिएको उनले बताए ।
उनले जनताहरुको भावनालाई नेपालका राजनीतिक पार्टी र नेतृत्वमा बसेकाहरुले बुझ्न नसके आगामी निर्वाचनमा अर्कै परिस्थिति आउन सक्ने धारणा राखे ।
त्यस्तै उनले चुनावलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण रुपमा सम्पन्न गर्न र असल, इमान्दार उम्मेदवारलाई जिताउनका लागि युवाहरुले गरेको नमूना संसद अभ्यासले महत्वपूर्ण योगदान गर्ने जिकिर गरे ।
सभामुख सापकोटाले अहिलेको समयमा सहि विचारका साथ अघि बढ्न युवाहरुलाई सुझाव पनि दिए ।
कांग्रेसको पदाधिकारी बैठक भोलि बस्ने
नेपाली कांग्रेसको पदाधिकारी बैठक भोलि बस्ने भएको छ ।
सोमबार बस्ने केन्द्रीय समितिको बैठकको तयारीको लागि छलफल गर्न सभापति शेरबहादुर देउवाले भोलि दिउँसो १ बजे बस्ने गरी पार्टी पदाधिकारी बैठक बोलाएका हुन् ।
बैठकमा केन्द्रीय कार्यसमितिका प्रस्ताव तय गर्ने र सो विषयमा पदाधिकारी तहमा सहमति जुटाउने जनाइएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा गत बैशाख ३० गते सम्पन्न स्थानीय तह चुनावको समीक्षा हुनेछ ।
बैठकमा भ्रातृ तथा शुभेच्छुक संस्थाको विधान पारित गर्ने तथा नयाँ संस्थालाई मान्यता दिने एजेण्डा पनि राखिएको छ ।
बैठकमा सभापति देउवासहित उपसभापति, महामन्त्री, सहमहामन्त्रीहरू र पार्टी प्रवक्ता सहभागी हुनेछन् । पार्टीको संस्थापन इतर केन्द्रीय सदस्य डा. शेखर कोइराला समूहले केन्द्रीय समितिमा उठाउने एजेण्डाका सम्बन्धमा गत हप्ता लगातार २ दिने आफूपक्षीय भेला गरेको थियो ।
भेलाले सभापति देउवा पार्टी र सरकार सञ्चालनमा असफल भएको निष्कर्ष निकालेको थियो ।कोइराला समूह भ्रातृसंस्थाको नेतृत्व चयनमा सभापति देउवाले एकलौटी गरेको र महाधिवेशन सम्पन्न भएको ६ महिना बितिसक्दा पनि विधानअनुसार काम नगरेको भन्दै असन्तुष्ट रहँदै आएका छन् ।
पहिचानका आधारमा प्रदेश नं १ को नामाकारण गर्न आग्रह
पहिचानका आधारमा प्रदेश नं १ को नामाकारण गर्नुपर्नेमा सरोकार भएका सङ्घसंस्थाले आग्रह गरेका छन् ।
प्रदेश नं १ को प्रदेशसभाले यसै अधिवेशनबाट प्रदेशको नामाकरण गर्ने तयारी गरेको सन्दर्भमा सरोकारवालाले सो आग्रह गरेका हुन् ।
नामाकरणका लागि घनिभूत छलफलमा रहेका राजनीतिक दलले पहिचानका विषयमा कुनै चासो नराखेको उनीहरूले गुनासो गरेका छन् ।
विशेषगरी नेपाली कांग्रेस र नेकपा (एमाले) कोशी, सगरमाथालगायत नामाकरण गर्नुपर्ने पक्षमा देखिएका छन् भने नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र लिम्बूवान पक्षधर पार्टीहरू भने पहिचानकै आधारमा नामाकरण हुनुपर्ने तर्क गरिरहेका छन् लिम्बुवान किराँत संयुक्त सङ्घर्ष समितिका तर्फबाट आज आयोजित पत्रकार सम्मेलनमा सरोकारवाला सबै पक्षले पहिचानलाई ख्याल गरेर प्रदेशको नामाकारण गर्नुपर्नेमा जोड दिएका थिए ।
एमालेसम्बद्ध लोकतान्त्रिक लिम्बू सङ्घका अध्यक्ष त्रिवेणी चोङवाङले प्रदेश नं १ को नाम पहिचानमा आधारित हुनुपर्नेमा जोड दिएका हुन् ।
विराटनगर महानगरपालिकाले अस्वीकार गर्यो ७० लाखको बजेट
प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयले रकमान्तर गरी पठाएको ७० लाख रुपैयाँ विराटनगर महानगरपालिकाले खर्च गर्न अस्वीकार गरेको छ ।
सो रकम खर्च गर्न दबाव दिएको भन्दै आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की विवादमा परेका छन् ।
महानगर आवास परियोजनामा खर्च गर्न भन्दै प्रदेश सरकारले असार १६ गते विराटनगर महानगरपालिकालाई ७० लाख रुपैयाँ सर्शत अनुदान शीर्षकको रकम हस्तान्तरण गरेको थियो । महानगरपालिकाले खर्च गर्न अस्वीकार गरेको सो रकमको मन्त्री कार्कीले असार २४ गतेसम्म खर्च गरी बिल भर्पाइ मागेको महानगरपालिका स्रोतको भनाइ छ ।
विराटनगर महानगरपालिका– १२ मा सुकुम्बासीका लागि निर्माणाधीन ‘महानगर आवास परियोजना’ का लागि आर्थिक मामिला मन्त्रालयले असार १६ गते ७० लाख रुपैयाँ पठाएको थियो । सो रकम खर्च गर्नुपर्ने समयसीमा असार २४ गतेसम्म थियो ।
सुकुम्बासी टोलमा मन्त्री कार्कीकै अगुवाइमा आवास परियोजना अघि बढिरहेको छ ।
महानगरपालिकाले ९ दिनमा खर्च गर्न नसक्ने बताएपछि मन्त्री कार्कीले खर्च भएको कागजात बनाउन दिएका महानगरपालिका स्रोतले बताएको छ ।
जापानका पूर्वप्रधानमन्त्रीको हत्या भएकामा राष्ट्रपतिको खेद
राष्ट्रपति विद्यादेवी भण्डारीले जापानका पूर्वप्रधानमन्त्रीको हत्या भएकामा खेद प्रकट गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले आज ट्वीट गरी स्वर्गीय आबेप्रति भावपूर्ण श्रद्धाञ्जलि प्रकट गरेकी हुन् ।
दुःखद् घडीमा उनले मैत्रीपूर्ण जापानी जनता र स्व आबेको परिवारजनमा समवेदनसमेत प्रकट गरेकी छिन्् ।
आबेको शुक्रबार चुनावी सभामा भाषण गरिरहेका बेला गोली हानी हत्या भएको थियो ।
३२ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)
गृहमन्त्रालयले ३२ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाका लागि सिफारिस गरेको छ ।
बढुवा समितिको आज बसेको बैठकले ३२ जना एसपीलाई सम्बन्धित समूहमा एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।
गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम ४ बमोजिम बढुवा सिफारिस गर्ने निर्णय गरिएको जनाएको छ ।
बढुवा सिफारिसको पहिलो नम्बरमा प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षण गण नक्सालका एसपी गणेश चन्द, दोस्रो नम्बरमा सिद्धिविक्रम शाह, तेस्रोमा सुशीलसिंह राठौर, चौथोमा उमाप्रसाद चतुरबेदी र पाँचौ नम्बरमा दानबहादुर कार्की रहेका छन् ।
यस्तै छैठौँमा डा . मनोज कुमार के.सी रहेका छन् भने ३२औं नम्बरमा सिफारिस हुनेमा शारदाप्रसाद चौधरी रहेका छन् ।
बाजुराको बुढीगंगा नगरपालिका एमाले उम्मेदवार अगाडि
बाजुराको बुढीगंगा नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार झण्डै दोब्बर मतले अगाडि रहेका छन् ।
पछिल्लो मत परिणामअनुसार प्रमुखमा एमालेका रामबहादुर बानियाँले २७ सय ९८ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका रंगबहादुर खातीले १५ सय ६ मत प्राप्त गरेका छन् ।
यस्तै उपप्रमुखमा एमालेकी माया कुमारी खड्का (कुवँर)ले २७ सय १६ मत प्राप्त गर्दा उनकी प्रतिस्पर्धी कांग्रेसकी रिता शाही (शाह) ले १५ सय ७७ मत ल्याएकी छिन् ।
यसअघि ४ वटा वडाको वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन । वडा नम्बर १, २, ९ र १० को अन्तिम मतपरिणाम सार्वजनिक हुँदा ४ वटै वडाको वडाध्यमा एमाले उम्मेदवार विजयी भएका हुन् ।
वडा नम्बर २ मा नेपाली कांग्रेसका नर बहादुर थापालाई पराजित गर्दै एमालेका पदम बहादुर भण्डारी वडाध्यक्षमा विजयी भएका छन् ।
यस्तै वडा नम्बर ९ को वडाध्यक्षमा मिन बहादुर सिंह ,वडा नम्बर १ को वडाध्यक्षमा रणबहादुर थापा वडा नम्बर १० को वडाध्यक्षमा दलबहादुर सावद विजयी भएका छन् ।
गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि गत विहीबार पुन मतदान गरिएको थियो ।
मोटरसाइकल दुर्घटना हुँदा काठमाडौंमा एक जनाको मृत्यु
काठमाडौँको सोल्टीमोडमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिका–१२ स्थित सोल्टीमोडमा प्रदेश ३–०२–००७ प ९१९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मकवानपुर चित्लाङका २७ वर्षीय बुद्ध गोलेको आज दिउँसो मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते गोलेको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
थप १०२ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ हजार ५ सय ३९ पीसीआर क्रममा ७२ जना र १ हजार ७६ एन्टीजेन परीक्षणका क्रममा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै थप ३१ संक्रमित निको भएका छन् । हाल नेपालमा ६ सय ५ सक्रिय संक्रमित आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भन्सार छलेर ल्याएको चिनी बरामद
पश्चिम नवलपरासीमा भारतबाट भन्सार छलेर ल्याउँदै गरेको १ सय १८ क्विन्टल चिनी बरामद भएको छ ।
बरामद गरेको चिनीको बजार मूल्य ७ लाख ८ हजार मूल्य बराबरको रहेको सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गणका सूचना अधिकारी रोशन घिमिरेले जानकारी दिए ।
बरामद गरिएको चिनी आवश्यक कारवाहीका लागि महेशपुर भन्सार कार्यालय चलान गरिएको छ ।
केही दिनयता भारतबाट अवैध रुपमा चिनी आयात गरेर बिक्री वितरण हुँदै आएको जनगुनासो बढेपछि प्रशासन चनाखो भएको थियो ।
चौतर्फी विरोध भएपछि जिल्लास्थित सुरक्षा निकायको संयुक्त गस्ती टोलीले जिल्लाको प्रतापपुर गाउँपालिका ५ धर्मौलीबाट सो परिणाम बराबरको चिनी बरामद गरेको हो ।
नेपालमा ६० हजार १ सय ८५ वटा औद्योगिक प्रतिष्ठान
नेपालमा ६० हजार १ सय ८५ वटा औद्योगिक प्रतिष्ठान रहेको एक तथ्यांक सार्वजनिक भएको छ ।
केन्द्रीय तथ्यांक विभागले ‘राष्ट्रिय औद्योगिक सर्वेक्षण–०७६’ मार्फत सो तथ्यांक सार्वजनिक गरेको हो । विभागले २०७५ साउन १ देखि ०७६ असारको सर्वेक्षणमा आधारित विवरण सार्वजनिक गरेको जनाएको छ । सर्वेक्षणअनुसार उत्पादन क्षेत्रमा सबैभन्दा बढी ५६ हजार ६ सय ११ वटा उद्योग सञ्चालनमा रहेका छन् ।
त्यस्तै खानी तथा उत्खनन क्षेत्रमा ३ सय ५६ वटा, विद्युत् तथा ग्यास उत्पादन क्षेत्रमा ९ सय ९४ वटा पानी आपूर्ति, ढल निकास र फोहोरमैला व्यवस्थापन क्षेत्रमा २ हजार २ सय २४ वटा प्रतिष्ठान सञ्चालनमा रहेको तथ्यांकले देखाएको छ ।
यस्तै उद्योग प्रतिष्ठानमा संलग्न व्यक्तिको संख्या ४ लाख ९१ हजार २ सय २७ छ भने ३ लाख ८१ हजार ६ सय ८७ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
यसमध्ये उत्पादन क्षेत्रमा संलग्न व्यक्तिको संख्या मात्र ४ लाख ४४ हजार ९ सय ६४ रहेको छ । नयाँ तथ्यांकअनुसार हाल सञ्चालित उद्योगको कुल सम्पत्ति ६ खर्ब १९ अर्ब ५१ करोड रुपैयाँ बराबर रहेको देखिएको छ ।
प्रतिक्रिया