सुधारको बाटोमा भरतपुर अस्पताल | Khabarhub Khabarhub

सुधारको बाटोमा भरतपुर अस्पताल


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

चितवन– एकै वर्षमा सात पटकसम्म मेडिकल सुपरिटेण्डेण्ट (मेसु) परिवर्तन भएर अस्तव्यस्त बनेको भरतपुर अस्पताल अहिले सुधारको बाटोमा अघि बढेको छ । विगत एक वर्षदेखि एउटै मेसुले काम गर्ने अवसर पाएसँगै अस्पतालको सेवा र सुविधामा सुधारसँगै बिरामीको आकर्षण पनि बढेका कारण भीडभाड थपिँदै गएको हो । 

निजी र ठूला अस्पतालसँग दाँजेर हेर्नेले धेरै कमी कमजोरी औँल्याए पनि सरकारी तवरबाट न्यून जनशक्तिमा दिइएको सेवाको भने धेरैले प्रशंसा गरेका छन् । अस्पतालमा दैनिक एक हजार पाँच सय बिरामी बहिरङ्ग सेवामा आउने गर्दछन् । छ सय शय्याको यो अस्पताल संघीय अस्पताल हो । चितवनसहित छिमेकी जिल्लाबाट यहाँ बिरामी आउने गर्दछन् । आएका बिरामीमध्ये ७० प्रतिशत हाराहारी स्वास्थ्य बीमाका हुने गर्दछन् । 

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेल बिरामीको सेवा र सुविधालाई दृष्टिगत गरी सेवा विस्तार गरिँदै आएको बताउँछन् । अस्पतालले गुणस्तरीय सेवासँगै अतिविशिष्ट सेवा पनि सञ्चालनमा ल्याएपछि बिरामीमा आकर्षण बढेको उनको भनाइ छ । अस्पतालमा भीड बढेपछि बहिरङ्ग सेवा (ओपिडी) को टिकट बिहान ७ः३० बजेदेखि दिउँसो २ बजेसम्म बढाइएको छ । विशेषज्ञ ओपिडी बिहान ९ः३० देखि २ः३० बजेसम्म सञ्चालन हुँदै आएको छ । नेपालका सरकारी अस्पतालमा पहिलोपटक साधारण बहिरङ्ग सेवा (जिओपिडी) सेवा सुरु गरिएको छ । बिहान ८ बजेदेखि सुरु हुने यो सेवा बेलुकी ५ बजेसम्म चल्दै आएको अस्पतालले जनाएको छ ।

बिरामीको सहजतालाई ध्यानमा राखेर अस्पतालभित्र सोधपुछ कक्ष र फ्रेण्ड्स अफ भरतपुर अस्पतालसँगको समन्वयमा अस्पताल परिसरमा हेल्प डेस्क सञ्चालन गरिएको छ । शल्यक्रिया कक्ष (अपरेसन थिएटर) को सङ्ख्या छ वटाबाट बढाएर सात बनाइएको छ । अस्पताल विकास समितिको बजेटबाट थप दुई वटा मोडुलर ओटी (अत्याधुनिक शल्यक्रिया कक्ष) निर्माणको काम अन्तिम चरणमा पुगेको छ । 

सौन्दर्यकरण समिति बनाई अस्पतालमा सरसफाइ र सजावटका काम भइरहेका छन् । अगाडिको पर्खाल पुनःनिर्माण, मुख्य बोर्ड र मन्दिरसमेतमा रङरोगन र मर्मत गरिएको छ । प्रत्येक सोमबार अतिरिक्त सरसफाइ हुँदै आएको छ । ट्रमा इमर्जेन्सी सुरु गरिएको छ । अस्पतालमा ट्रमा म्यानेजमेन्ट सिस्टम प्रभावकारी बनाइएको छ । सि ब्लक भवनमा टरसियरी लेभलको ट्रमा सेन्टर बनाउन काम सुरु भइसकेको छ । यो काम सम्पन्न भएबाट नेशनल ट्रमा सेन्टरपछि नेपालमै दोस्रो सरकारीस्तरको ट्रमा सेन्टर भई दुर्घटनाका बिरामीलाई छिटोछरितो सेवा दिन सकिने मेसु पौडेलले बताए । 

पचास शय्या क्षमताको नयाँ भवनमा असोज पहिलो सातासम्ममा आकस्मिक कक्ष सञ्चालन गर्न लागिएको छ । सोही भवनमा प्रयोगशालासहित अन्य सेवा दिने तयारी अस्पतालले गरेको छ । शौचालय र ढल निकासको राम्रो व्यवस्थापनका लागि स्थानीय निकायलाई आग्रह गरिएको उनको भनाइ छ । प्रसूति सेवालाई थप व्यवस्थित गर्न अस्पताल विकास समितिकै खर्चले विस्तृत अध्ययन प्रतिवेदन तयार गरिएको छ । प्रसूतिको छुट्टै भवन निर्माण गरी अझ गुणस्तरीय सेवा दिने तयारी भइरहेको छ । 

कोभिड महामारीको समयमा सघन उपचार कक्षमा शय्या अभाव भएपछि थप १० शय्या सघन उपचार कक्ष र पाँच शय्याको एक महिनादेखि १५ वर्षसम्मका बालबालिका राख्ने सघन उपचार कक्ष थप गर्न कार्यक्रम स्वीकृत भई कार्य अगाडि बढेको मेसु पौडेल जानकारी दिए । उनी भन्छन्, ‘दुइवर्ष अघि पन्छी प्रयोगशालामा सुरु गरिएको पिसिआर प्रयोगशाला अस्पतालकै नयाँ भवनमा सारेर सेवा नियमित गरिएको छ ।’  टिकट काउन्टरको भीड कम गर्न काउन्टर सङ्ख्या थप गरिएको र बहिरङ्ग सेवा निःशुल्क गरिएको जानकारी दिँदै  । मेसु पौडेल अगाडि थपे, ‘टिकट काउन्टरमा भीड कम गर्न अनलाइन टिकट काट्ने व्यवस्था गरेका छौँ ।’ 

नेपाल सरकारले आठ वटा कडा रोगका लागि दिने सुविधा सामाजिक सेवा एकाइबाट दिँदै आएकाले यसलाई थप व्यवस्थित र चुस्त बनाउने कार्य भइरहेको उनी बताउँछन् । मानवस्रोत र पूर्वाधारको हिसाबले यो आफैँ मेडिकल कलेज बनिसक्नुपर्ने अस्पताल भए तापनि हालसम्म हुन सकेको छैन भन्दै उनी जोड दिन्छन्, “तर पनि नर्सिङ, एमडी, एमएस कार्यक्रम सञ्चालन गरिरहेका छौँ । यस वर्ष बिएस्सी नर्सिङ सुरु गर्ने तयारी भइरहेको छ ।” सेवालाई अझै गुणस्तरीय बनाउन क्युए (क्वालिटी एस्योरेन्स कमिटी र डियुटी अफिसर) को व्यवस्था गरी काम अघि बढाइएको छ । छिटो सेवा चाहने बिरामीलाई लक्ष्य गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विस्तारित अस्पताल सेवा कार्यविधिअनुसार छुट्टै भवनमा पेइङ सुपरस्पेशलाइज क्लिनिक सञ्चालन गरिएको छ । 

चिकित्सक, नर्स र प्राविधिकलाई स्वास्थ्य विषयमा अनुसन्धान गर्न प्रेरित गर्ने उद्देश्यले विकास समितिले निर्णय गरी एक वर्षमा १० वटा उत्कृष्ट अनुसन्धानमूलक प्रस्तावलाई समेटने व्यवस्था गरिएको छ । शैक्षिक समिति, संस्थागत पुनरावलोकन बोर्ड गठन गरिएको छ । यो अस्पताल देशभरिका स्वास्थ्यकर्मीलाई विभिन्न तालिम दिने लोकप्रिय केन्द्र बन्दै गइरहेको सन्दर्भमा सोहीअनुसारको व्यवस्थापन गरिएको मेसु पौडेलले बताए । 

अस्पतालमा आवश्यक प्राविधिक जनशक्तिको निष्पक्ष रुपमा लिखित र मौखिक परीक्षा गरी चिकित्सक, नर्स र फार्मेसी  प्रयोगको व्यवस्था  गरिएको छ । कर्मचारी प्रशासन र अस्पताललाई अनुशासित बनाउन दण्ड र पुरस्कार दिने परिपाटीको विकास गरिएको छ । सोहीअनुसार कतिपय कर्मचारीलाई पुरस्कृत र कतिपयलाई कारबाही पनि गरिएको अस्पतालले जनाएको छ । नवजात शिशु सघन उपचार कक्ष र बाल सघन उपचार कक्षमा शय्या थप गर्ने कार्य भइरहेको छ । मिर्गौला डायलासिस उपकरण १० बाट बढाएर १५ बनाइदै छ । एमआइआइ मेसिन गत वर्ष नै मन्त्रालयबाट स्वीकृत भए पनि अर्थमन्त्रालयमा रोकिएकामा यस वर्ष बजेट सुनिश्चित भई खरिद प्रक्रिया सुरु भइसकेको उनले जानकारी दिए ।

मेसु पौडेलले भने, ‘बन्द भएको स्पाइनल वार्ड नयाँ भवनमा सुरु गरेका छौँ ।’ फिजियोथेरापी सेवालाई ठूलो र फराकिलो ठाउँमा सारी समयसापेक्ष उपकरण थप गरी आधुनिक र चुस्त बनाइएको छ। उनले थपे, ‘दुई वर्षदेखि बन्द रहेको न्युरोसर्जरी सेवा पुनः नियमित सञ्चालनमा ल्याइएका छौँ ।’ अस्पताल परिसरमै छुट्टै सरुवा रोग अस्पताल भवनको निर्माण कार्य थालिएको छ । पार्किङस्थलमा मोज्याक टायल लगाई व्यवस्थित बनाइएको छ भने  सि ब्लब अगाडिका पुराना संरचना भत्काउने कार्य जारी रहेको छ । 

फार्मेसीलाई चुस्त बनाई यसलाई बढी सेवामूलक बनाइएको छ । समयमै औषधि आपूर्ति नगर्ने आठ वटा सप्लायर्सलाई गत वर्ष कारबाही गरिएको छ। असोज १ गतेदेखि छुट्टै निःशुल्क औषधि काउन्टर खोलिँदै छ । प्रसूतिका लागि २४ शय्याको छुट्टै पोस्टअप बार्ड बनाइएको छ । लेबर रुमलाई आधुनिकीकरण गरी थप पाँच लेवर बेड थप्ने काम भइरहेको छ । 

अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले केन्द्रीय विशिष्टीकृत अस्पताल भने पनि राज्यका तर्फबाट त्यसको निर्देशिका वा सिस्टम आइनसकेको बताए । ‘कोरोनाको ठीक पछाडि हामीले परिणामुखी काम गरिरहेका छौँ ।’

अस्पतालमा हाल सञ्चालनमा रहेका छ सय शय्यामध्ये एक सय ५० शय्याका लागि मात्रै सरकारी दरबन्दी छ । अन्य विकास समितिका कर्मचारीमार्फत काम गर्नुपरेको छ । सुगठन संरचना प्रतिवेदन बनाइएको र यसबाट भरतपुर अस्पतालका लागि एक हजार ८५ चिकित्सक कर्मचारी थप गर्नुपर्ने भएको छ । हाल नेपाल सरकारका एक सय ७५ चिकित्सक कर्मचारी मात्रै कार्यरत छन् । 

सर्वेक्षण प्रतिवेदन स्वास्थ्य मन्त्रालयले अर्थमन्त्रालयमा पठाइसकेको उनको भनाइ छ । अस्पताल विकास समितिले दैनिक ज्यालादारीलाई अन्त्य गर्दै भइरहेका कर्मचारीलाई करार गर्ने अन्तिम तयारी गरेको छ । पछिल्लो समय अस्पतालले सुधारका महत्वपूर्ण काम गरे पनि निजी ठूला अस्पतालसँग दाँज्दा धेरै कमीकमजोरी देखिने अध्यक्ष डा. अधिकारीले बताए। उनले भने, ‘ओएनएम सर्भेअनुसारका कर्मचारी आउँदै गर्दा अनुभूति हुने गरी सेवा दिन हामी सक्छौँ ।’ यो राजधानी बाहिरको नेपाल सरकारको धेरै बिरामीलाई सेवा दिने अस्पतालमा पर्दछ । 

–नारायण अधिकारी रासस

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  २ : ३४ बजे

वर्षासँगै बिजुली उत्पादन बढ्दै, खेर जाने चिन्तामा प्रवर्द्धक

काठमाडौं– पछिल्ला सातादेखि देशभर वर्षा हुन थालेपछि जलविद्युत उत्पादन गृहहरूबाट

एमालेले आजै सरकार छोड्ने

काठमाडौं– नेकपा एमालेले आजै सरकार छोड्ने तयारी गरेको छ ।

म्याग्दी नदीको कटान रोक्न मंगलाघाटमा पर्खाल निर्माण

म्याग्दी– बेनी नगरपालिका–७ मंगलाघाटमा म्याग्दी नदीको कटान र बाढी नियन्त्रणका

उत्तरप्रदेशमा ‘भोलेबाबा’को प्रवचनमा भागदौड हुँदा मर्नेको संख्या १३४ पुग्यो

एजेन्सी- भारतको उत्तर प्रदेशस्थित हाथरसमा मंगलबार भएको भागदौडका क्रममा मर्नेको

गाजाका बालबालिकामा छालासम्बन्धी रोगको भयानक सङ्क्रमण

एजेन्सी– विश्व स्वास्थ्य संग्ठनका अनुसार गत अक्टोबर ७ मा इजरायल–हमास