आर्थिक

पर्यटन प्रवर्द्धनसँगै प्रकृति संरक्षणमा जोड

By खबरहब

September 09, 2022

काठमाडौँ : नेपालको पर्यटन प्रवर्द्धनसँगै प्रकृति संरक्षणमा पनि जोड दिनुपर्ने पर्यटन सरोकारवालाले औँल्याएका छन् । शुक्रबार काठमाडौँमा पेभेलियन मिडियाले आयोजना गरेको ‘नेपालको पर्यटन विकास बहस’ कार्यक्रममा बोल्दै वक्ताहरुले पर्यटन विकाससँगै प्रकृति संरक्षणमा पनि जोड दिएका हुन् ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले पर्यटन प्रवर्द्धनसँगै प्रकृति संरक्षणको विषय पनि सोचनीय भएको बताए । नेपालको प्रकृति नै पर्यटनका लागि स्वर्ग जस्तो भएकाले पहिले संरक्षणमा जोड दिएर पर्यटन प्रचारप्रसार र विकास दिगो हुने उनले बताए ।

यस्तै होटल एशोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले पछिल्लो समय नेपालको एक वर्षको बजेट बराबर होटल क्षेत्रमा लगानी भइरहेको भन्दै राज्यले त्यस क्षेत्रको संरक्षणमा चाँसो दिनुपर्ने बताए ।

यस्तै पेभेलियन मिडियाका प्रमुख नरेश श्रेष्ठले पर्यटनको लागि सरकारले दिगो रुपमा योजना बनाएर काम गर्नुपर्ने बताए ।

यस्तै ग्रामीण पर्यटनका अभियान्ता गोपाल थापाले संघीयतामा देश गएकाले अब पर्यटन बोर्डसँगै पालिका र प्रदेश सरकारले पनि पर्यटन प्रचारप्रसारमा जोड दिनुपर्ने बताए । नेपाल ¥याफ्टिङ एशोसिएसनका अध्यक्ष शिव अधिकारीले जलयात्रा नेपालका लागि चुनौतिपूर्ण बनेको बताए ।

नेपालका खोला तथा नदीमा डोजर लगाएर अवैध रुपमा ढुंगा तथा बालुवा उत्खनन् बढेकाले जलयात्रा नै जोखिम र चुनौतिपूर्ण भएको उनले बताए । कार्यक्रममा पर्यटन क्षेत्रका अभियान्ता, सरोकारवाला तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।