लोभ र भयको भूमरीमा पीपलपाते पुष्पकमल | Khabarhub Khabarhub

लोभ र भयको भूमरीमा पीपलपाते पुष्पकमल



काठमाडौँ – केही साताअघि ‘खबरहब’मै प्रकाशित ‘दाहालको दुःखका दर्दनाक कारण’ शीर्षकको आफ्नो लेखमा पँक्तिकारले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दुःखको मुख्य कारण नै उनको द्वैध चरित्र (डबल स्टान्डर्ड) भएको स्पष्ट पारेको थियो। बोली एकातिर, व्यवहार अर्कोतिर भएसम्म दाहालको छवी एउटा पीपलपाते नेताका रुपमा सदा कायम रहने र आन्तरिक र बाह्य जगतमा उनीप्रति विश्वासको संकट बरकरार रहने आशय सो लेखको थियो।

नभन्दै, दाहालको पीपलपाते अथवा पेन्डुलम शैली पुनः मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का सन्दर्भमा छताछुल्ल भयो। प्रधानमन्त्री शेरबहादुर देउवा र दाहालले हस्ताक्षर गरेर एमसीसीलाई पठाएको पत्र प्रधानमन्त्रीको कार्यालयबाटै ‘लिक’ भएपछि प्रचण्डको बोली र व्यवहार नांगिएको हो। दाहालले त्यसअघिसम्म आम सर्वसाधारण, मिडिया र पार्टी पँक्तिलाई समेत त्यस्तो कुनै पत्र नपठाएको भनेर सफेद झूठ बोल्दै आएका रहेछन् भन्ने प्रमाणित भएपछि अचेल उनी ‘राजनीतिक दुःख’मा छन्।

द्वैध चरीत्रका कारण यतिखेर दाहाललाई अविश्वसनीय, झूठ बोल्ने, चपाउने र देखाउने दाँत दुई वटा भएको, ढुलमुले, पीपलपाते, बोली र व्यवहारमा संगती नभएको, कूटनीतिक मर्यादा नबुझेको आदि उपमा दिएर चर्को आलोचनाको वर्षा भइरहेको छ।

एमसीसी पारित गर्ने प्रतिबद्धताको पत्र सार्वजनिक भइसकेपछि पनि त्यसको स्वामित्व ग्रहण गर्दै आफूले बचन दिइसकेकाले एमसीसीलाई संसदीय प्रकृयामा लान पहल गर्नुको साटो दाहाल र उनका अहिलेका नजिकका हितैसी एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल चाहिँ २०७९ वैशाख ३० को स्थानीय निर्वाचनको हवाला दिएर हाललाई ‘एमसीसीको च्याप्टर क्लोज’को तानाबाना बुन्न थालेका छन्। यो चाहिँ द्वैध रणनीति भित्रको पनि घोर राजनीतिक र कूटनीतिक बेइमानी हो।

आखिर जनता र कार्यकर्ता सामु एमसीसीको विरोध गर्ने र अमेरिका सामु चाहिँ एमसीसीको पक्षमा रुझान राख्ने दाहालको द्वैध चरित्रको कारण के हो ? किन उनले यसरी दुई वटा डुंगामा खुट्टा राखेका हुन त ? दाहालको यो मनोविज्ञानबारे केही चर्चा गर्नु आवश्यक छ।

दरबार र दिल्लीको घनचक्कर

द्वैध चरित्र वा पीपलपाते स्वभाव दाहालको आजको होइन। ‘जनयुद्ध’ताका पनि उनमा यस्तो ढुलमुले मनस्थिति देखिन्छ। हिंशात्मक विद्रोह चरम उत्कर्षमा पुगिरहेकै बेला चर्चित चुनवाङ बैठकअघि दाहाल राजा ज्ञानेन्द्र शाहसँग मिलेर सत्तामा जाने मनस्थितिमा थिए। दरबारसँग उनको सम्पर्क र संवाद चलिरहेकै थियो।

दाहारको यो रणनीतिका कारण माओवादीमा त्यो बेला दुई लाइन संघर्ष चर्किरहेको थियो। डा. बाबुराम भट्टराईले दाहाललाई ‘दरबारपरस्त’को आरोप लगाइरहेका थिए भने दाहाल गुट चाहिँ डा. भट्टराईलाई ‘भारतीय दलाल’को आक्षेप लगाइरहेको थियो।

दाहालले डा. बाबुराम भट्टराई र हिसिला यमीलगायतका नेतामाथि कार्वाहीको डन्डा चलाए। फौजी दबदबा भएको त्यो बेलाको माओवादीमा ‘सुप्रिमो’ दाहालको निर्णयलाई उनका अन्य डेपुटी कमाण्डरले समर्थन गरे। डा. भट्टराई र हिसिलालाई पश्चिमकै कुनै गाउँको एक घरमा नजरबन्दमा राखियो, पार्टी काममा सक्रिय हुन दिइएन।

दरबारसँग मिलेर संसदवादी दललाई निषेध गर्दै सत्तामा जाने दाहालको चाहनामा त्यसबेला तुषारापात भयो, जब राजा ज्ञानेन्द्रले ‘माघ १९’को कदम चालेर शासन हातमा लिए। अब माओवादीविरुद्ध तात्कालीन शाही नेपाली सेना झन् आक्रामक हुने नै भयो। अमेरिकाले पनि नेपाली सेनालाई ‘लजिस्टिक सपोर्ट’ गर्न थालिसकेको थियो। थुप्रै संख्यामा ‘ब्ल्याक क्याट कमान्डो’लाई परिचालित गर्ने तयारी भइरहेका खबर आउन थाले।

राजाको कदमको विरोधमा विज्ञप्ति जारी गर्नुपर्ने भो। वस्तुगत परिस्थितिको सूक्ष्म अध्ययन गरेर ठोस परिस्थितिमा ठोस कुरा भन्न सिपालु त उही डा. भट्टराई नै थिए। जसलाई कुनै गाउँमा नजरबन्दमा राखिएको थियो। राजासँग सहकार्य हुन नसक्ने परिस्थिति आएपछि अब दाहाललाई भारतको साथ चाहिने भयो।

यसका लागि पनि उनै डा. भट्टराईको आवश्यकता टड्कारो भयो। नेत्र विक्रम चन्द ‘विप्लव’मार्फत दाहालले डा. भट्टराईलाई खबर पठाए, ‘मुलुकमा नयाँ परिस्थिति उत्पन्न भयो। अब मिलेर लडनुपर्ने बेला आयो। सबै कारबाही फुकुवा हुन्छ, आउनुस् भेटौँ।’

अब दाहालको नजर दरबारबाट भारततिर सोझीयो। चुनवाङ वैठकमा दाहाल र डा. भट्टराईले मित्र मिलाप गरे, रुवाबासी नै गरे।

त्यसपछि दिल्लीमा १२ बुँदे समझदारी, २०६२/०६३ को आन्दोलन, बृहत शान्ति सम्झौता हुँदै मुलक गणतन्त्रसम्म आइपुग्यो। यो प्रसंगले स्पष्ट गर्छ, दाहाल ‘ताक परे तिवारी नत्र गोतामे’ हुन्। त्यो बेला दरबारले ‘ग्रिन सिग्नल’ दिएको भए उनी दरबारसँग मिलेर अर्कै राजनीतिक कोर्समा जानसक्थे, तर दरबारले मूल्य नदिएका कारण उनी भारतको शरणमा गए।

बचन तोडन माहिर

शान्ति प्रकृया प्रारम्भ भएपछिको अर्को घटनामा पनि दाहालको दोहोरो चरित्र स्पष्ट हुन्छ। यो पँक्तिकार जन-आन्दोलनका बेला ‘देशान्तर साप्ताहिक’मा कार्यरत थियो। काँग्रेस नेता कृष्णप्रसाद सिटौलाको अन्तर्वार्ता लिन मैतीदेवीस्थित उनको भूमिगत सेल्टरमा पुगेको थिएँ।

अन्तर्वार्ता पुरा भइसकेपछि चियापानका क्रममा अनौपचारीक कुराकानी हुँदा नेता सिटौलाले भनेका थिए, ‘यो आन्दोलन संसद पुर्नस्थापनामा मात्र सीमित हुनेछैन, गणतन्त्र स्थापनासम्मै जान्छ। गिरिजाबाबु गणतन्त्र नेपालको पहिलो राष्ट्रपति हुनुहुनेछ। प्रचण्डजी पनि यसमा सहमत हुनुहुन्छ।’

राजाले संसद पुर्नस्थापना गरीसकेपछिका दिनमा पनि ‘संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रका दुई स्तम्भ भत्किन दिन्न’ भन्दै अन्तर्वार्ता दिइरहेका तात्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई गणतन्त्रको लाइनमा ल्याउन दाहालले ललिपप देखाएकै हुन्।

‘गणतन्त्रमा गए, तपाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति हुने’ भन्दै बारम्बार दाहालले कोइरालालाई यसरी फकाए कि उनी गणतन्त्रमा जान तयार भए। तर, संविधानसभा निर्वाचनपछि जब राष्ट्रपति निर्वाचनको क्षण आयो, दाहालले कोइरालालाई धोका दिए। कथनी र करनीमा अन्तर आयो। कोइरालालाई सर्वसम्मत राष्ट्रपति बनाउन छाडेर दाहालले २०४२ सालमा काठमाडौंका विभिन्न ठाउँमा बम विष्फोट गराएका जनवादी मोर्चाका नेता रामराजाप्रसाद सिंहलाई राष्ट्रपतिको उम्मेदवारका रुपमा अघि सारे।

संविधान निर्माणसम्म आन्दोलनकारी शक्ति मिलेर जानुपर्ने घडीमा दाहालको यो धोखाधडीले गिरिजाबाबुको मन भाँचियो, त्यसपछि त कटवाल प्रकरणको जन्म भइहाल्यो। दलबीच मुठभेड, बिमती प्रारम्भ भयो। संविधान लेखन प्रकृयामा पनि धेरै बिलम्ब भयो।

शक्तिखोर भिडियोले उतारिदिएको नकाब

यो २०६४ पुसको प्रसंग हो। त्योबेला माओवादी लडाकूको प्रमाणिकरण प्रकृया पुरा भइसकेको थियो। अनमिनको रेखदेखमा २३ हजार लडाकु अस्थायी शिविर (क्यान्टोनमेन्ट)मा थिए। माओवादी अध्यक्ष दाहालले शक्तिखोरमा आफ्ना लडाकूलाई प्रशिक्षण भाषण दिए, जुन भाषणको भिडियो टेप २०६६ वैशाखमा टेलिभिजन च्यानलमार्फत सार्वजनिक भयो।

शक्तिखोर भिडियो टेपले दाहालको द्वैध रणनीति उदांगो पारिदियो। शान्ति प्रकृयाप्रति दाहालको निष्ठामाथि नै राष्ट्रिय/अन्तर्राष्ट्रिय जगतमा प्रश्न चिह्न खडा भयो। उनले शक्तिखोरमा बोलेको कुरा पाठक वृन्दको स्मरणका लागि यहाँ भिडियोबाट जस्ताको तस्तै उतार गरिएको छ

‘उनीहरूको दिमागमा हाम्रो ठूलो आतंक छ- २० औं हजारलाई अब के गर्ने ? यसो हेर्दाखेरी घट्यो भन्नुहुन्छ नि, घट्यो भन्नेमा छैन म चाहिँ। बढ्यो हाम्रो सेना। तपाईंले घट्यो भन्नुहुन्छ, घट्या देख्नुहुन्छ। मैले बढ्या देख्छु। यही हो- रणनीति र कार्यनीति भन्या। तपाईं-हामी कति थियौं भन्नुस् त क्यान्टोनमेन्टमा साँच्चै ? कम्प्रोमाइज हुनुभन्दा अघि हामी कति थियौँ ? साँच्चै भन्ने हो भने हामी त थोरै थियौं नि त। हामी सात हजार र आठ हजारको बीचमा पुगिसक्या थियौं।

सात–आठ हजार हुन्थ्यौं हामी। त्यत्ति नै राखेको भए यो भेरिफिकेसनले कति बाँकी रहन्थ्यो ? चार हजार। किन, सात हजारको भेरिफिकेसन त चार हजारमा आउँथ्यो। अब हामीले ३५ हजार लगेर राखिदिएको २० हजार त आयो कमसेकम। यो हो नि साँचो कुरा त। अरूलाई पो हामीले भन्न हुन्न त !

तपाईं-हामीलाई त साँचो कुरा थाहा छ नि त ! अनि हामीले किन उताबाट सोच्ने ? हाम्रो लिडरसीपले बुद्धि पुर्याएर सात हजारलाई २१ हजार त बनायो, रेगुलर आर्मी। अब त तपाईं रेगुलर आर्मी भइसक्नुभयो, भइसक्या स्थिति पनि छ। अनि हामी कहाँ घट्या छौं र ? हामी त बढ्या पो छौं। अनि बाहिर वाईसीएल भनेर पनि हामीले अर्को संरचना बनाएका छौं।’

सात-आठ हजारमात्रै लडाकु हुन् भन्ने पोल खुलेपछि पनि राज्य कोषबाट १९ हजार ६ सय २ जनाको भरपोषण हुन छाडेन। राज्यको अर्बौंको रकम दाहालले आफ्नो कोषमा राखे। त्यसमा घोटाला भएका खबर आए। आखिर सेना समायोजन हुँदा माओवादीका जम्मा १ हजार ४ सय ६० मात्र छनोट भए, अरुमध्ये केही अयोग्य ठहरिए, केहीले सेनामा जाने रुची नै देखाएनन्। अयोग्य ठहरिएका कोही विक्षिप्त भए, कोही खाडी मुलुकतिर पलायन भए। ‘तपाईंहरु सबै रेगुलर आर्मी भइसक्नुभयो’ भनेर दाहालले आफ्नै कार्यकर्तालाई समेत झुक्याएको शक्तिखोर भिडियोबाटै स्पष्ट हुन्छ।

शक्तिकेन्द्रको अन्तर्विरोधमा खेल्ने धृष्टता
माओवादी अध्यक्ष दाहालले पहिलेदेखि नै ‘शक्ति केन्द्रको अन्तर्विरोधमा खेल्ने’ दाउपेच लडाउँदै आएका छन्। २०६२/०६३ को आन्दोलनताका तात्कालीन अमेरिकी राजदूत जेम्स एफ मोरियार्टी कुनै पनि हालतमा राजा र संसदवादी दल (काँग्रेस, एमाले, राप्रपा, सद्भावना आदि)बीच मिलाप गराउने पक्षमा थिए।

मोरियार्टीलाई थाहा थियो, राजा र संसदवादी मिल्न सकेनन् भने संसदवादी दल विद्रोहीरत माओवादीसँग मिल्नेछन्, त्यो बेला हत्या, हिंसा र आतंकले जनमानसमा सिर्जना गरेको भयको जगमा टेकेर माओवादीले आफ्ना एजेन्डा संसदवादी दलमाथि थोपर्न सक्छ। यही कारण दिल्लीमा भएको १२ बुँदे समझदारीलाई पनि मोरियार्टीले ‘खतरनाक र जोखीमपूर्ण’ भन्दै ‘कान्तिपुर’मा अन्तर्वार्ता नै दिएका थिए।

नभन्दै भयो पनि त्यस्तै। माओवादीकै एजेन्डामा काँग्रेस, एमालेलगायतका संसदवादी दल घिसारिए। यो तथ्य कुनैबेला जननेता बिपी कोइरालालाई पनि हेक्का थियो, त्यसैले आफू बाचुञ्जेल उनले आन्दोलनमा कम्युनिस्टसँग सहकार्यको प्रस्तावलाई सदा नकालिरहे।

तात्कालीन अमेरिकी राजदूत मोरियार्टीले राजा र संसदवादी दललाई मिलाउन जुन प्रयास गरेका थिए, त्यसलाई राजा ज्ञानेन्द्रको ‘माघ १९’को कदमले विथोलिदियो। हो, यहींनेर माओवादी अध्यक्ष दाहालले पनि खेल्ने मौका पाए। उनले राजा र संसदवादी दलबीचको अन्तर्विरोधमा खेले। गिरिजाबाबुलाई दिल्ली बोलाइयो, जहाँ १२ बुँदे समझदारी भयो।

यहाँसम्म त ‘शक्ति केन्द्रको अन्तर्विरोधमा खेल्न’ दाहाल सफल भए। तर, प्रधानमन्त्री भइसकेपछि नेपाली सेनाभित्र पनि अन्तर्विरोध उत्पन्न गराएर खेल्ने उनको दाउपेच चाहिँ सफल भएन। तात्कालीन प्रधानसेनापति रुक्मांगत कटवाललाई हटाएर कुलबहादुर खडकालाई प्रधान सेनापति बनाए। सेनाभित्र दुई धार निर्माण गर्न खोजे। तर, राष्ट्रपति डा. रामवरण यादव र अन्य दलहरुको सुझबुझका कारण सेनाभित्र खेल्ने उनको मनसुवा पुरा भएन, उनले प्रधानमन्त्री पदबाटै राजीनामा दिए।

आफ्नै दलभित्र पनि उनी यस्तो तिकडम लगाउने गर्छन्। उनले डा. बाबुराम भट्टराई र मोहन बैद्यबीचको अन्तर्विरोधमा खेलेर लाभ उठाए। पछि डा. बाबुराम र नारायणकाजी श्रेष्ठबीचको अन्तविरोधमा खेलेर लाभ उठाए। वर्षमान पुन र जनार्दन शर्माबीचको शक्ति संघर्षमा खेलेर लाभ उठाए। हैन भने, झण्डै उनी चर्चित ‘धोबीघाट बैठक’पछि पार्टीमा एक्लो भएका थिए, कुनैबेला। तर, दोश्रो पुस्ताका नेताहरुको व्यक्तित्वको टकराव र स्वार्थको द्वन्द्वमा खेलेर फाइदा लिने चतुर दाउपेच उनले गर्दै आए।

राष्ट्रिय राजनीतिमा पनि कहिले केपी ओली, कहिले शेरबहादुर देउवा त कहिले माधव नेपाललाई बोकेर उनले सत्ता राजनीतिको लाभ लिदै आएका छन्। अचेल केपी ओली र माधव नेपालबीचको अन्तरविरोधको फाइदा उठाएर उनी फेरि पनि सत्तामा मात्र छैनन्, एमाले विभाजन गराउनसमेत सफल भएका छन्।

यही तिकडम उनले विश्व राजनीतिका हकमा पनि अपनाउन खोजेका थिए, तर उनको झुठ सार्वजनिक भएको छ। प्रधानमन्त्री देउवासँगै एमसीसीलाई पत्र लेखेर उनले भित्रभित्र अमेरिकालाई आश्वस्त बनाउन चाहे कि ‘म तपाइहरुकै साथमा छु, एमसीसी पास गरिनेछ’ भनेर।

यता सार्वजनिक रुपमा चाहिँ अन्ध राष्ट्रवादी आवेगले भरिएको जनमत र छिमेकी चीनलाई समेत आश्वस्त पार्न ‘परिमार्जन बिना एमसीसी पास नगर्ने’ रटान लगाइरहे। अर्थात् अमेरिका र चीनबीचको अन्तरविरोधमा खेल्ने उनको दाउ थियो। अमेरिकाको पनि साथ चाहिने, चीनलाई पनि खुशी पार्ने।

विश्व राजनीतिका दुई परस्पर विरोधी शक्ति केन्द्रलाई एउटा पाटोबाट गोप्य रुपमा, अर्को पाटोबाट खुला रुपमा एक साथ झुक्याउने उनको पोल अब खुलेको छ।
अब न त चीन, न अमेरिका, उनलाई कसैले पत्याउने अवस्था रहेन। दुबैका दृष्टिमा दाहालको विश्वसनीयता धरापमा परेको छ। चीन र अमेरिकाको अन्तरविरोधमा खेल्ने उनको यो दाउपेच चाहिँ बुमर्याङ भएको छ।

लोभ र भयको भूमरीमा

आखिर यस्तो द्वैध रणनीति दाहाल किन अपनाइरहेका छन् त ? यो उनको मनोवैज्ञानिक समस्या हो। उनको यो ‘स्प्लीट पर्सनालीटी’ (द्वैध व्यक्तित्व)को जगमा एकातिर लोभ छ, अर्कोतिर भय।

दाहालमा लोभ छ, सत्ताको। उनी सत्ताको लोभ त्याग्न सक्दैनन्। सत्तामा रहँदा उनी आफूलाई आर्थिक र भौतिक रुपमा सुरक्षित महसुस गर्छन्। त्यसैले गठबन्धन टिकाउनकै लागि उनले गोप्य रुपमा देउवासँग मिलेर एमसीसीलाई आश्वस्त पार्दै पत्र लेखे।

अर्को पक्ष हो, भय। एमसीसी पास गर्ने पक्षमा उभिए अहिले विभिन्न अतिवादी आवेगी जमातले जुन कथित राष्ट्रबादको हौवा चलाएका छन्, त्यसको शिकार भइने हो कि भन्ने उनमा छ। चुनाव नजिकै आउँदैछ, यस्तोमा एमसीसी पास गर्ने पक्षमा उभिदा कतै ‘राष्ट्रघाती’को बिल्ला भिर्नुपर्ने हो कि भन्ने भय पनि उनमा उत्तिकै छ।

लोभ र भयको यो उहापोहमा चतुर दाहालले एउटा जुक्ति निकालेकै हुन्। अमेरिकालाई पनि भित्रभित्र आश्वस्त पार्ने, बाहिर एमसीसीको विरोधमा माहौल बनाइरहने। एमसीसी पास नगर्दै जसोतसो तीनवटै तहको चुनाव गराउने। त्यसपछि देखा जाएगा।

दाहालले आफूलाई मात्र खेलाडी ठाने, तर खेलाडी अरु पनि छन् भन्ने उनले बुझेनन्। अर्को तर्फबाट पत्र सार्वजनिक भइहाल्यो। अब उनी आफ्नै लोभ र भयको भूमरीमा फँसेका छन्। विश्वसनीयता, इमानदारिता, कूटनीतिक मर्यादाका हिसाबले उनी आलोचित त भइरहेकै छन्, उनको कथित राष्ट्रवादी हौवा पनि फजुल सावित भएको छ।

उनले आफूलाई सच्याउने हो भने, साहस र हिम्मत गरेर भन्नुपर्छ, ‘हो हामीले पत्र पठाएकै हो, एमसीसी पारित गर्ने प्रतिबद्धता पनि जनाएको हो, देशको अन्तर्राष्ट्रिय साख र विश्वसनीयताको ख्याल गर्दै हाम्रो पार्टी एमसीसी पारित गर्ने पक्षमा उभिएको छ।’

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ११ : ०३ बजे

गादो लगाउँदैमा जनजाति भइँदैनः मुख्यमन्त्री कँडेल

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गादो लगाउँदैमा जनजाति

सेती नदी आसपासका पन्ध्र स्थानमा ‘अलर्ट साइरन’ जडान

तनहुँ – तनहुँ जलविद्युत् आयोजनाले आपतकालिन तयारी योजनाअन्तर्गत सेती नदी

निर्माण व्यवसायी संघ दोलखाको अध्यक्षमा राजेश थापा निर्वाचित

दोलखा । निर्माण व्यवसायी संघ दोलखाको अध्यक्षमा राजेश थापा निर्वाचित

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा ६ जनाको उम्मेदवारी

काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी

टीकापुरलाई बालविवाहमुक्त पालिका बनाइने

टीकापुर – टीकापुर नगरपालिकालाई विसं २०८३ मङ्सिरभित्र बालविवाहमुक्त पालिका बनाइने