नेपालमा आज : के-के भयो दिनभर ? | Khabarhub Khabarhub

नेपालमा आज : के-के भयो दिनभर ?


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिलेकै अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने प्रधानमन्त्री देउवाको दाबी

नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेकै अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने बताएका छन् । पर्सा जिल्ला अधिवेशनबाट निर्वाचित कार्य समितिलाई प्रमाणपत्र वितरण समारोहपछि बोल्दै सभापति देउवाले गठबन्धन गरेर चुनावमा जाँदा मात्र सफलता प्राप्त हुने बताए । उनले सत्ता गठबन्धनमा रहेका दलहरूबीच तालमेल गरेर जाँदामात्र स्थानीयदेखि प्रदेश र संघीय चुनावमा सहज जित हासिल हुने र आगामी सरकार पनि कांग्रेसकै नेतृत्वमा बनाउन सकिने दावी गरे । प्रधानमन्त्री देउवाले नेकपा एमालेजस्तो बलियो र व्यापक संगठन सञ्जाल तथा जनाधार भएको पार्टी विपक्षमा रहेकाले पनि कांग्रेसलाई गठबन्धन आवश्यक पर्ने बताए । उनले एमालेभित्र जस्तो एकता कांग्रेसभित्र नभएको असन्तुष्टि जनाउँर्दै पार्टीभित्र बलियो एकता कायम गर्दै सत्ता गठबन्धनलाई मिलाएर लैजानुपर्ने धारणा राखे ।

विदेशी मुद्राको मागले राष्ट्रिय अर्थतन्त्रमा दबाब सिर्जना गरेको प्रधानमन्त्री देउवाको भनाइ

प्रधानमन्त्री देउवाले लघु, घरेलु र साना उद्योगको विकास नगरी मुलुकको विकास हुन नसक्ने बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २५औँ राष्ट्रिय महाधिवेशन र केन्द्रीय महिला उद्यमी समितिको २२औँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उनले नेपालको कूल गार्हस्थ्य उत्पादनमा महत्वूर्ण भूमिका निर्वाह गर्ने र लाखौँ नेपालीलाई रोजगार दिने यी क्षेत्रको विकासका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय कायम गरी साझा धारणा बनाउन आवश्यक रहेको बताए । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २५औँ राष्ट्रिय महाधिवेशनमा देशभरिबाट ४२६ जना  र  केन्द्रीय महिला उद्यमी समितिको २२औँ राष्ट्रिय सम्मेलनमा देशभरिबाट २५२ जना प्रतिनिधि सहभागी छन् । फागुन २७ र २८ गतेसम्ममा दुवै सङ्गठनको छुट्टाछुट्टै बन्दसत्र सञ्चालन हुने र बन्दसत्रबाट आगामी वर्षका नीति तथा कार्यक्रम तय हुनुका साथै नयाँ नेतृत्वसमेत चयन गरिने आयोजकले जनाएको छ ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकद्धारा अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन पारित

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित गरेको छ । आज सम्पन्न बैठकले अध्यक्षको प्रतिवेदन सुझाव सहित पारित गरेको हो । प्रतिवेदनमा वर्तमान अन्तराष्ट्रिय परिस्थीति र राष्ट्रिय राजनीतिक परिस्थीतिको विश्लेषण, एमसीसी र त्यसको व्याख्यात्मक घोषणाको चर्चा, पार्टी पुनर्गठनदेखि हालसम्म भएका संगठनात्मक कार्यहरुको समीक्षा र पार्टीका आगामी कार्ययोजना लगाएतका बिषय समेटिएको छ । बैठकले मोर्चा संगठन सञ्चालन निर्देशिका र सम्पर्क मञ्च सञ्चालन निर्देशिका पनि सुझावसहित पारित गरेको छ । समूहगत छलफलका क्रममा नेताहरूले पार्टीबाट मन्त्री भएकाहरुको आचरणप्रति प्रश्न उठाएका थिए ।

मतगणनामा सहजता ल्याउन मतपत्रमा चुनाव चिह्न हरियो रंगको बनाउन लागिएको आयोगबाट स्पष्ट

निर्वाचन आयोगले मतगणनामा सहजता ल्याउन मतपत्रमा चुनाव चिह्न हरियो रंगको बनाउन लागिएको स्पष्ट पारेको छ । आज आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले मतपत्र र स्वस्तीक चिन्ह एउटै हुँदा मतगणनामा समस्या हुने देखिएकाले मतपत्रलाई हरियो रंगको बनाउन लागिएको र यो नितान्त प्राविधिक काम भएको बताए । गणनामा सजिलो होस् भन्ने उद्देश्यले मात्र चुनाव चिह्नको रङ र स्वस्तिक छापको रङमा भिन्नता ल्याउन खोजिएको भन्दै उनले यसमा द्विविधा भए आयोगले प्रष्ट पार्ने धारणा राखे । त्यस्तै आयोगसंग भएको भोटिङ मेशिनबाट मतदान गर्दा प्राविधिक समस्या देखिने भएकाले प्रयोग गर्न नसकिने अर्यालले बताए ।

विदेशबाट आउँदा खोप कार्ड वा पीसीआर नेगेटिभ रिपोर्ट देखाए पुग्ने

कोभिड संकट रोकथाम तथा नियन्त्रणका लागि दुई वर्षअघिबाट नेपाल आगमनसम्बन्धी लागू गरिएका सबै प्रावधान खारेज गर्दै नयाँ ’ट्राभल एडभाइजरी’ जारी गरिएको छ । अब विदेशबाट आउँदा कोरोना परीक्षणको नेगेटिभ पीसीआर रिपोर्ट वा पूर्ण मात्रामा खोप लगाएको कार्ड पेस गरे पुग्ने भएको छ । त्यस्तै विदेशबाट नेपाल आउँदा तोकिएको क्वारेन्टाइन बस्नुपर्ने प्रावधान पनि हटाइएको छ । अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले विदेशबाट आउनेका हकमा जारी गरिएका जनस्वास्थ्यसम्बन्धी यसअघिका सबै प्रावधान खारेज गरिएको बताए ।

भिजिट भिषामा सरकारले ल्यायो नयाँ व्यवस्था

सरकारले पर्यटक भिषामा विदेश जाने सम्बन्धमा नयाँ व्यवस्था ल्याएको छ । अध्यागमन विभागले नयाँ कार्यविधी कार्यान्वयनमा नल्याउँदासम्म गृह मन्त्रालयले पछिल्लो व्यवस्थालाई परिमार्जन गरेको हो । गृह मन्त्रालयका अनुसार खाडी मुलुकका हकमा कम्तिमा दुईपटक गइसकेको र खाडीभन्दा बाहेककाको हकमा कम्तिमा एकपटक गएकाले भिजिट भिषा जान पाउने छन् । वार्षिक न्युनतम ५ लाख रुपैयाँ कर योग्य आय भई कम्तिमा सोको आधा रकम बैंक खातामा बचत भएका र नेपालको कर प्रणालीमा आबद्ध भएका व्यक्तिहरुलाई पनि जान दिइने गृह मन्त्रालयले जनाएको छ ।

काँग्रेसमा पार्टीको आन्तरिक संरचनाहरूमा व्यापक हेरफेर

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले पार्टीको आन्तरिक संरचनाहरूमा व्यापक हेरफेर गर्ने भएको छ । पार्टीसम्बद्ध जनसम्पर्क समिति, भ्रातृ संस्था एवं शुभेच्छुक संस्थाहरूमा देखा परेका समस्या समाधान गर्न कांग्रेसले संगठनको आन्तरिक पुनःसंरचना गर्न लागेको हो । जसअन्तर्गत पार्टीका लागि आवश्यक र उपयुक्त विभागहरूको गठनदेखि अनावश्यक संस्थाहरूको खारेजीसम्म निर्णय लिने तयारी कांग्रेसले गरेको छ ।

शुक्रबारलाई सर्‍यो धनुषा काँग्रेसको चुनाव

नेपाली काँग्रेस धनुषाको नेतृत्व चयनका लागि आज हुुने भनिएको निर्वाचन शुक्रबारका लागि सारिएको छ । कांग्रेस धनुषाको सभापति पदको लागि दोस्रो चरणको निर्वाचन आज गर्ने भनिएको थियो । तर, शुक्रबार बिहान ८ बजेदेखि तिरहुतिया गाछीमा हुने कांग्रेस जिल्ला निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले जानकारी दिए ।

एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनले ११ औँ राष्ट्रिय अधिवेशन गर्ने

नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी संगठनले यही फागुन २८ गतेदेखि ११औं राष्ट्रिय अधिवेशन गर्ने भएको छ । आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संगठनले फागुन २८ गते थापाथली हाइट, काठमाडौंमा अधिवेशनको उद्घाटन हुने जानकारी दिएको हो । संगठनले आगामी फागुन २८–२९ गते हुने ११औं राष्ट्रिय अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको पनि जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै संगठनका संयोजक केदारप्रसाद देवकोटाले ११औं राष्ट्रिय अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको जनाए । उनले ७७ जिल्ला तथा ३६ विभागीय कार्य समितिहरुका अधिवेशन सम्पन्न भइसकेको बताए ।

सुकुम्बासीलाई जग्गा दिन १५९ स्थानीय तहमा दरखास्त आह्वान

राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्न नयाँ सूचना जारी गरेको छ । आयोगले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि स्थानीय तहबाट जग्गा वितरणका लागि आज सूचना जारी गरेको हो । सूचनामा तोकिएको ढाँचा बमोजिम निवेदन फाराम भरी ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलकमार्फत निवेदन पेश गर्न अनुरोध गरिएको छ । यसअघि पहिलो चरणमा सूचना निकालेर जग्गा वितरणको प्रक्रिया थालिसकेको आयोगले फेरि अर्को ३५ दिने सूचना निकालेर जग्गा वितरण गर्ने प्रक्रियालाई तीव्रता दिन लागेको हो ।

भूमि आयोग उदयपुरद्धारा अव्यवस्थित बसाेबास गरेकालाई निस्सा वितरण

राष्ट्रिय भूमि आयोग उदयपुरले चौदण्डीगढी नगरपालिका वडा नं. ५ का भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यबस्थित बसोबासीहरूलाई निस्सा वितरण गरेको छ । जिल्लाका स्थानीय तहहरूमा जग्गाको निस्सा वितरण गर्ने अभियान अन्तर्गत बिहीबार निस्सा वितरण गरेको हो । चौदण्डीगढी गरपालिकाका नगरप्रमुख खगेन्द्र राइले उक्त क्षेत्रका भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यबस्थित बसोबासीहरूलाई एक कार्यक्रमको आयोजना गरेर निस्सा प्रदान गर्नु भएको थियो । चौदण्डीगढी नगरपालिकामा २३८७ हेक्टर जमिन भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यबस्थित बसोबासीहरूले उपभोग गर्दै आएका छन् ।

राष्ट्रियसभामा एमालेको नेता खिमलाल भट्टराई, प्रमुख सचेतकमा देवेन्द्र दाहाल नियुक्त

नेकपा एमालेको राष्ट्रियसभा संसदीय दलको नेतामा खिमलाल भट्टराई चयन भएका छन् ।  एमाले संघीय संसदीय दलका नेता केपी शर्मा ओलीले भट्टराईलाई दलको नेता नियुक्त गरेको हो । दलको नेता सुमन प्याकुरेलको कार्यकाल सकिएर बिदा भएकाले भट्टराईलाई दलको नेतामा नियुक्त गरिएको हो । त्यस्तै राष्ट्रियसभामा एमालेको प्रमुख सचेतक देवन्द्र दाहाल नियुक्त भएका छन् ।

तिलप्रसाद सर्वोच्चको न्यायाधीश नियुक्त

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरिएको छ । कामु प्रधानन्यायाधीश दिपककुमार कार्कीले न्यायपरिषद बैठक राखेर श्रेष्ठलाई सर्वोच्चको न्यायाधीश बनाएको  हो ।

१५ वर्षमुनिका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइँदै

सरकारले १५ वर्षमुनिका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आउँदो चैतको २५ गतेदेखि वैशाखको १८ गतेसम्म एकै चरणमा देशैभरि अभियानकै रूपमा टाइफाइडविरुद्धको खोप दिने भएको हो । नेपालमा यसअघि नै टाइफाइडविरुद्धको खोप दिँदै आए पनि अभियानकै रूपमा भने पहिलो पटक सुरु गर्न लागेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । खोप लगाइदिने स्वास्थ्यकर्मीलाई तालिम दिनेदेखि अरू विभिन्न खालका प्राविधिक तयारीका काम भइरहेको अधिकारीले बताए । उनका अनुसार विश्वका धेरै देशमा १५ वर्षमुनिका बालबालिकालाई यो खोप लगाइसकेको भए पनि नेपालमा भने पहिलो पटक लगाउन लागिएकाले तयारी तीव्र पारिएको हो ।

कर्णालीका दश जिल्लामा पानीको परीक्षण गरिँदै

कर्णाली प्रदेशका सबै स्थानमा पानीको शुद्धता मापनका लागि कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले परीक्षणको काम सुरु गरेको छ । १० जिल्लाबाट आएका प्रतिनिधिलाई तालिम दिएर पानी शुद्धता मापन गर्ने (किट बक्स) उपकरणसहित १० जिल्लामा पठाएको छ । विज्ञसहितको टिमले २४ फागुनदेखि फागुन २६ गतेसम्म तालिम दिएर कर्मचारी जिल्लामा पठाएको हो । १० जना कर्मचारीलाई तालिमपछि सबै पालिकामा काम गर्ने गरी पठाएको जलस्रोत तथा ऊर्जाविकासमन्त्री गणेशप्रसाद सिंहले बताए । तालिममा सिकेको सिप अधिकतम रूपमा प्रयोग गरिने सहभागीले बताए । प्रत्येक जिल्लामा एक वटा पानीको शुद्धता मापन मेसिन पनि पठाइएको छ ।

सङ्खुवासभा बस दुर्घटना, १५ जनाको मृत्यु, चार जनाको धरानमा उपचार हुँदै

सङ्खुवासभाको मादी नगरपालिका–६ सातघुम्तीस्थित सडकमा आज बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ । दुर्घटनामा चालकसहित १५ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो । मादीबाट झापातर्फ जाँदै गरेको बा.४ ख ७३५ नम्बरको बस आज बिहान सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । दुर्घटनामा ४ जना घाइते भएका छन् । मादी नगरपालिका– ५ बस्ने २७ वर्षीया युवाका पोखरेलको धरानमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले घाइते भएका ५ जनालाई उद्धार गरी उपचारको लागि नेपाली सेनाको हेलिकप्टरद्वारा धरान घोपा पठाएको थियो । उपचारका क्रममा एक जनाको मृत्यु भएको थियो ।

नेपालमा आज थप १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ८ सय १ पीसीआर परीक्षणका क्रममा ७७ जना र २ हजार ५ सय २७ एन्टीजेन परिक्षणका क्रममा ३५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  आज थप ४ सय २९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६० हजार ४ सय ९७ जना निको भएका छन् । हाल ५ हजार ३ सय ४० सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेका छन् ।

विश्व मृगौला दिवस देशभर चेतनामूलक कार्यक्रम गरी मनाइयो

विश्व मिर्गौला दिवस, ‘मिर्गौला स्वास्थ्य सबैका लागि’ भन्ने नाराका साथ देशभर चेतनामूलक कार्यक्रमका साथ आज मनाइएको छ । दिवसका अवसरमा काठमाण्डौको शान्तिबाटिकाबाट मिर्गौला पदयात्रा गरिएको थियो । सन् २००६ देखि हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार विश्व मिर्गौला दिवस मनाउन थालिएको हो । नेपालमा हरेक दिन मिर्गौला रोगका बिरामी बढिरहेका छन् । अस्वस्थ खानपान र जीवनशैली तथा नियमित स्वास्थ्य परीक्षण गराउने बानी नहुँदा मिर्गौला रोगका बिरामी थपिँदै गएको चिकित्सकहरुले बताएका छन् । नेपालमा हरेक वर्ष ३ हजार पाँच सय जनाको मिर्गौलामा खराबी आउने गरेको तथ्याङ्क छ । नेपालको कुल जनसङ्ख्यामध्ये १० प्रतिशतमा कुनै न कुनै रुपमा मिर्गौला रोग लाग्ने गरेको पाइएको छ । सरकारले मिर्गौला रोग लागेका विपन्न बिरामीलाई निःशुल्क डायलाइसिस, आवश्यक उपचार तथा औषधिका लागि एक लाख रुपैयाँ सहयोग गर्दै आइरहेको छ ।

हनुमानढोकामा चीर ठड्याएसँगै यसपालिको होली पर्व सुरु

काठमाडौंको बसन्तपुरस्थित हनुमानढोकामा चीर ठड्याएसँगै यसपालिको होली पर्व सुरु भएको छ । आज बिहानको शुभसाइतमा रंगीविरंगी कपडाहरूको ध्वजासहितको तीन खण्डे चीर ठड्याएसँगै राजधानीलगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरू भएको मानिन्छ । चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाइ गरिएको थियो । हनुमानढोका परिसर, हनुमानढोका भित्र डाखचोक र मोहनकाली चोकमा पनि मयलरूखको हाँगामा रंगी चंगी कपडाका टुक्राहरु झुण्ड्याईएको चीर गाडिने गरिन्छ । आज ठड्याइएको चीर पूर्णिमाको रातमा टुँडिखेल पुयाई दाहगरेपछि होली समाप्त हुन्छ । यसवर्ष काठमाडौं लगायत पहाडी जिल्लाहरूमा चैत ३ गते र तराई मधेसका जिल्लाहरूमा चैत ४ गते होली पर्व परेको छ ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ९ : ३१ बजे

नोबेल साहित्य पुरस्कार दक्षिण कोरियाली लेखक हान काङलाई

स्टकहोम – मानसिक र शारीरिक यातनाका साथै ऐतिहासिक घटनाहरूबीच पत्राचारका

‘देश बन्छ’ भन्ने आत्मविश्वासका साथ परिवर्तनका पक्षमा दृढतापूर्वक उभिन एमालेको आह्वान

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ‘देश बन्छ’ भन्ने

गोरखामा एक युवतीको हत्या

 गोरखा – गोरखामा एक युवतीको हत्या भएको छ । जिल्लाको

दसैँका लागि कैदीबन्दीलाई खसी र नगद

खाँदबारी– सङ्खुवासभा उद्योग वाणिज्य सङ्घले जिल्ला कारागार खाँदबारीमा कैद भुक्तान

हनुमान ढोकाको दसैँघरमा फूलपाती

काठमाडौँ – आश्विन शुक्ल सप्‍तमीका दिन आज राज्यका तर्फबाट नवदुर्गाको