काठमाडौं– पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद्मा विश्वासको मत गुमाएसँगै उनी पदमुक्त भएका छन् । यससँगै पाकिस्तानमा नयाँ प्रधानमन्त्री को बन्छ भन्ने चासो छ ।
पाकिस्तानी सञ्चारमाध्यमका अनुसार विपक्षी दलका नेता शहबाज शरिफलाई पाकिस्तानको भावी प्रधानमन्त्रीका रुपमा हेरिएको छ । उनलाई पाकिस्तान बाहिर थोरैले चिनिन्छन् ।
तर, प्रभावकारी प्रशासकको रूपमा देशभित्र उनको उच्च प्रतिष्ठा रहेको बताइएको छ । पाकिस्तानमा तीन पटक प्रधानमन्त्री बनेका नवाज शरिफका कान्छा भाइ शहबाजले इमरान खान नेतृत्वको सरकार ढाल्न विपक्षीहरूले गरेको प्रयत्नको नेतृत्व गरेका थिए ।
शनिबार अबेर खानबिरुद्ध अविश्वसको प्रस्तावमा मतदान भएसँगै आइतबार सबेरै उक्त प्रस्ताव पारित भएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ ।
शहबाजको पाकिस्तानको शक्तिशाली एवम् आन्तरिक राजनीतिमा निकै प्रभावशाली मानिने सेनासँग पनि राम्रो सम्बन्ध रहेको बताइन्छ ।
पन्जाब प्रान्तको मुख्यमन्त्री हुँदा शहबाजले कुशल ढंगले आफ्नो भूमिका निभाएका थिए । चीनले सहयोग गरेका परियोजना सम्पन्न गर्न उनी बेइजिङसँग निकट भएर कार्य गरेका थिए ।
गत साता एक अन्तर्वार्तामा उनले अमेरिकासँगको राम्रो सम्बन्धमा जोड दिएका थिए । इमरान खानले भने अमेरिकाको विरोध गर्दै आएका थिए । खानले आफ्नो सत्ता ढाल्न विदेशी चलखेल भएको उनले दाबी गर्दै आएका छन् ।
सन् १९९९ मा पाकिस्तानमा परभेज मुशर्रफको नेतृत्वमा भएको सैनिक कूपछि शहबाजलाई साउदी अरब निर्वासनमा पठाइएको थियो । उनी सन् २००७ मा स्वदेश फर्किएका थिए ।
आर्थिक हिनामिनाको अभियोगमा नवाज शरीफ सन् २०१७ मा दोषी ठहर भएपछि शहबाज पाकिस्तान मुस्लिम लीग–नून पार्टीको प्रमुख बनेका थिए ।
प्रतिक्रिया