दिनभर के के भयो देशभर ? (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर के के भयो देशभर ? (अडियोसहित)


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

राष्ट्र बैंकका गभर्नर अधिकारीलाई हटाउने सरकारको निर्णय गलतः एमाले
नेकपा एमालेले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी हटाउने सरकारको निर्णय गलत भएको आरोप लगाएको छ । मुलुकको आर्थिक अवस्थाका सम्बन्धमा आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एमालेले अर्थमन्त्रीकै दबाबमा आफ्नो असफलता ढाक्न गभर्नरलाई कारबाही गरिएको भन्दै कारबाही गर्ने सरकारको निर्णय गलत भएको आरोप लगाएको हो । पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारले चाहेको भए अर्थतन्त्र सही दिशामा जाने भएपनि त्यसो हुन नसकेको बताएका छन् । त्यस्तै पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले बजेट बनाउने समय हुन लागेका बेला राष्ट्र बैंकका गभर्नरलाई हटाउनु सरकारको ठूलो त्रुटि भएको बताए । त्यस्तै पूर्व अर्थमन्त्री युवराज खतिवडाले सरकार गठबन्धन बचाउन केन्द्रित हुँदा अर्थतन्त्र धराशायी हुँदा ध्यान दिन नसकेको बताए ।

आर्थिक क्षेत्रका विज्ञहरूबीच खबरहब बहसमा छलफल
नेपालको अहिलेकोअर्थतन्त्रको विषयमा आर्थिक क्षेत्रमा सम्बन्धित व्यक्तिहरूबीच छलफल भएको छ । आर्थिक अवस्था, अर्थतन्त्र सुधारका लागि सरकारले चाल्नुपर्ने कदम, अर्थतन्त्रमा देखिएको संकट समाधानको लागि विभिन्न आर्थिक क्षेत्रमा सम्बन्धित व्यक्तिहरूबीच खबरहब बहसमा छलफल भएको हो । अन्तरक्रिया कार्यक्रममा विभिन्न आर्थिक क्षेत्रमा सम्मिलित व्यक्तिहरूले नेपालको आर्थिक अवस्थाको बारेमा जानकारी दिँदै समस्या समाधानका विषयमा जानकारी दिएका थिए । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालको ऋण प्रवाह बढेको बताए । त्यस्तै कार्यक्रममा अर्थविद डा. रविन्द्र पाण्डेले बजारमा तरलताको अभाव रहेको भन्दै छलफल गरेर यसको मुख्य विषय पहिल्याउन जोड दिए । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. तिलक रावलले प्रधानमन्त्री बाबुराम भट्टराईले राजस्व उठाएको तर त्यसपछिका सरकारले त्यो लक्ष्य भेटाउन नसकेको भनाई राखे । । सो कार्यक्रमको आयोजना पेभेलियन ग्रुप, आईएसएस आर र खबरहब मिडियाले गरेको हो  ।

सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गर्नुपर्छः सभामुख 
सभामुख अग्निप्रसाद सापकोटाले सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गर्नुपर्ने बताएका छन् । आज काठमाडौँमा नेपाल चेम्बर अफ कमर्सको ७१ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सभामुख सापकोटाले मुलकको अर्थतन्त्रमा समस्या देखिएको भन्दै सरकार र निजी क्षेत्रले बृहत् छलफल र संवाद गरेर समाधान गर्नुपर्ने बताए । राष्ट्रिय जीवनका हरेक क्षेत्रमा देखिएका हरेक समस्याहरूलाई पनि संवादमार्फत समाधान गर्नुपर्ने उनको भनाइ छ । 

गठबन्धनले स्थानीय तह निर्वाचनको विषयमा भोलि संयुक्त अपिल जारी गर्ने 
सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनका विषयमा तालमेलबारे निर्णय गरेर पठाउने म्याद थप गरेको छ । सत्तारुढ गठबन्धन परिचालन अनुगमन समितिको बैठकले जिल्लास्तरमा कुन पालिकामा कुन दलको उम्मेदवार रहने भन्ने विषय टुंग्याएर सिफारिस गर्ने समय थप गर्ने निर्णय गरेको एक नेताले बताए । यसअघि जिल्लास्तरमा तालमेलको सहमति जुटाएर केन्द्रमा पठाउन २६ चैतसम्मको समय दिइएको थियो । बैठकमा सहभागी एक नेताका अनुसार गठबन्धनले स्थानीय तह निर्वाचनको विषयमा भोलि संयुक्त अपिल जारी गर्ने निर्णय पनि गरेको छ । सत्तारुढ गठबन्धनको बैठक भोलि बिहान ९ बजे बस्नेछ ।

देशको आर्थिक अवस्था श्रीलंकाको जस्तै बन्न लागेको छः ओली
नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओलीले देशको आर्थिक अवस्था श्रीलंकाको जस्तै बन्न लागेको दाबी गरेका छन् । आज नेपाल राष्ट्रिय शिक्षक संगठनको १३ औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालको आर्थिक अवस्था श्रीलंकाको जस्तै हुन लागेको बताए । देशको अर्थतन्त्र सकंटमा जादा पनि गठबन्धन सरकार एमालेलाई सरकारबाट हटाइयो भनेर आनन्द मानेर बसिरहेको उनले तर्क गरे । चुनाव आयो कि एमाले त ढुंगाको काप फोरेर पनि उम्रिने उनले जिकिर गरे ।
राप्रपालाई असफल हुने छुट नभएको अध्यक्ष लिङ्देनको भनाइ
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई असफल हुने छुट नभएको बताएका छन् । राप्रपा मकवानपुरले हेटौंडामा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै  उनले अन्य राजनीतिक दललाई असफल हुने छुट भएपनि राप्रपालाई छुट नभएको बताए । यस्तै लिङ्देनले देश आर्थिक चपेटामा परेको बेला अहिले सत्तामा रहेका राजनीतिक दलले देशलाई संकटबाट जोगाउन कुनै योजना नबनाएको आरोप लगाए । सीमित नेताहरूले गर्दा देश बेरोजगार उत्पादन गर्ने कारखानामा परिवर्तन भएको उनको भनाइ छ ।

नेपालको संयोजकत्वमा १ हजार १११ परिचालन समिति गठन 
नेकपा एकीकृत समाजवादीले आसन्न स्थानीय तहको निर्वाचनका लागि अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा मूल निर्वाचन परिचालन कमिटी गठन गरेको छ । आज सम्पन्न भएको केन्द्रीय सचिवालयको बैठकले १ हजार १११ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो । समितिमा केन्द्रीय कमिटी, तीनवटै केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चका सबै पदाधिकारी एवम् सदस्यहरू, केन्द्रीय परिषद् सदस्य, प्रदेशका पदाधिकारी, जिल्ला अध्यक्ष जनसंगठनका केन्द्रीय पदाधिकारी रहने छन् । यस्तै बैठकले सबै पालिकामा उम्मेदवारहरू सिफारिस गर्न  निर्णय पनि गरेको छ ।

नेपाली सेनाद्वारा ५ सय ९० नाल हतियार सशस्त्र प्रहरी बललाई प्रदान 
नेपाली सेनाले सशस्त्र प्रहरी बल, नेपाललाई ५ सय ९० नाल हतियार र सोको एम्युनिशन सामाग्रीहरू प्रदान गरेको छ ।आज सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाललाई इन्सास राइफल पाँच सय नाल र एलएसडब्ल्यू ९० नाल र सोको एम्युनिशन सामाग्रीहरू हस्तान्तरण गर्नुभएको हो । सशस्त्रलाई नेपाललाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षा तथा ठूला कार्यक्रमहरू सञ्चालन गर्ने प्रयोजनका लागि सरकारको निर्णय अनुसार उक्त हतियार हस्तान्तरण गरिएको हो । 

नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयरमा सुवेदीलाई उम्मेदवार बनाउने 
नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाउने भएको छ । आज बसेको जिल्ला कमिटीको बैठकले सुवेदीलाई सर्वसम्मत रूपमा उम्मेदवार बनाउने निर्णय गरेको नेता कृष्णभक्त पोखरेलले जानकारी दिए । २०७४ को निर्वाचनमा मेयरमा पराजित भएका नेता देवी ज्ञवालीको प्रस्ताव र पोखरेलको समर्थनमा सुवेदीलाई उम्मेदवार बनाउने निर्णय भएको हो । सुवेदी यसअघि नेतृ अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारमा सामाजिक विकासमन्त्री बनेका थिए । 

भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आजबाट सुरु 
भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्केट जात्रा आजबाट सुरु भएको छ ।नव वर्षको आगमनसँगै सुरु हुने बिस्का जात्रा आज साँझ तौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट नकिंजु अजिमाको रथलाई घटखामा पुर्‍याएर भैरवनाथको रथ तानातान गरेसँगै सुरु भएको हो । जात्रा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइन्छ ।काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो)क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा रहिआएको छ ।

‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइयो
चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइएको छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । त्रेतायुगमा यसै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको थियो । त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ । 

नेपालमा पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा  ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको १ हजार ८ सय पीसीआर परीक्षणका क्रममा ३ जना र ९ सय ४० एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।यस्तै थप ४८ संक्रमित निको हुदा हालसम्म नेपालमा ९ लाख ६६ हजार २८ जना निको भएका छन् ।हाल नेपालमा ५ सय ९२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

निर्यात मुलुक उद्योग स्थापना गर्न उद्यमी लाग्नुपर्छः मुख्यमन्त्री राईले
प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मुलुकको वैदेशिक व्यापार घाटा कम गर्न निर्यात मुलुक उद्योग स्थापना गर्न उद्यमी लाग्नुपर्ने बताएका छन् । मोरङ व्यापार सङ्घले सञ्चालनमा गरेको ‘विराट ट्रेड एक्स्पो’को आज समापन गर्दै मन्त्री राईले उद्योग स्थापनाका लागि सहज ढङ्गले नीतिनियम निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । यस्तै उनले मुलुकको समृद्धि कायम एवं रोजगार वृद्धिमा उद्यमीहरू लाग्नुपर्नेमा जोड दिँदै एक्स्पोले राष्ट्रिय पूँजी निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताए । 

सेयर बजार परिसूचक नेप्सेमा साताको कारोबारको पहिलो दिन हरियाली
शेयर बजार परिसुचक नेप्सेमा साताको कारोबारको पहिलो दिन आज हरियाली छाएको छ । नेप्से आज ३५ दशमलव ६९ अंकले बढेर २ हजार ४ सय ६४  दशमलव ३५ विन्दुमा पुगेको हो ।आज कारोबार रकममा पनि बृद्धि भएको छ । आज ५४ लाख ४७ हजार ७ सय ३८ कित्ता शेयर कुल २ अर्ब १२ करोड १५ लाख ११ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको छ । आज नेस्डो समृद्धि लघुवित्त र हिमालयन पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । 

मकवानपुरमा ३५ किलो लागूऔषध गाँजासहित ५ जना पक्राउ 
मकवानपुरमा ३५ किलो लागुऔषध गाँजासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा चितवन जिल्लाको राप्ती नगरपालिका–१ का १९ वर्षीय सरोज तामाङ, राप्ती नगरपालिका–११ का २५ वर्षीय सूर्य बहादुर स्याङ्बो, २८ वर्षीय होमनाथ मोक्तान, २५ वर्षीय यमराज मोक्तान र ३४ वर्षीय एबीलाल तामाङ रहेका छन् । अवैध लागूऔषध ढुवानी भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले ३५ केजी लागूऔषध गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

झापामा चट्याङ लागेर एक जना महिलाको मृत्यु 
झापाको गौरादह नगरपालिका–५ मा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा गौरादह नगरपालिका–५ की ४० वर्षीया मन माया थापा रहेकी छन् ।घर नजिकै काम गरिरहेको अवस्थामा आज दिउँसो १ बजे हावाहुरी र पानी सँगै परेको चट्याङमा परि घाइते भएकी थापालाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

 

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ९ : ५७ बजे

बागलुङको रेशमा पाँच शय्याको आधारभूत अस्पताल भवन निर्माण

बागलुङ– सङ्घीय सरकारको विशेष अनुदानमा बागलुङको काठेखोला गाउँपालिकाको रेशमा पाँच

केली बनिन् बिबिसी स्पोर्ट्स पर्सानालिटी ‘अफ द इयर’

काठमाडौं – ओलम्पिक आठ सय मिटर दौडकी विश्व विजेता केली

मङ्सिरमा घरजग्गा कारोबारबाट करिब चार अर्ब राजश्व सङ्कलन

काठमाडौं– अघिल्लो महिनाको तुलनामा गत मङ्सिरमा घर जग्गाको कारोबारबाट सङ्कल

दुई करोडभन्दा बढी माछाका भुरा उत्पादन

बाँके- बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगञ्जस्थित मत्स्य विकास केन्द्रले वार्षिक दुई

एनपीएल पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर भिड्दै : कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार दिउँसो पहिलो