दिनभर के के भयो देशभर ? (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर के के भयो देशभर ? (अडियोसहित)


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

स्थानीय तह निर्वाचनका लागि आज मध्यराति १२ बजेबाट मौन अवधि लागू हुँदै
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज राति १२ बजेबाट मौन अवधि लागू हुँदै छ । मौन अवधिमा राजनीतिक दल, नेता, उम्मेदवार, कार्यकर्ता तथा भ्रातृ संगठनले उमेदवारको पक्ष/विपक्षमा मतदानलगायत कुनै पनि प्रकारका छलफल गर्न नपाइने  निर्वाचन आयोगले जनाएको छ । त्यस्तै सामाजिक संजालबाट कसैको प्रचार गर्न र भ्रामक सूचना प्रवाह गर्न नपाइने पनि आयोगले जनाएको छ । मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको तीन सय मिटर क्षेत्रमा निर्वाचन चिह्न र प्रचार सामग्री हटाउनुपर्ने, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत समेत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नपाइने आयोगले जनाएको छ।

आज रातिदेखि ७२ घण्टासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द
सरकारले आज रातिदेखि ७२ घण्टासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने भएको छ। स्थानीय तह निर्वाचन सुरक्षाका लागि आज मध्यरातिदेखि मतदान हुने दिन वैशाख ३० सम्मका लागि सीमाबाट हुने आवागमन बन्द गर्न लागिएको हो। मतदानको दिनभन्दा अगाडिको ७२ घण्टालाई मौन अवधि मानिन्छ। मौन अवधिमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने र चुनाव प्रचार गर्न बन्देज लगाउने गरिन्छ। सीमावर्ती जिल्लाका प्रशासन कार्यालयहरूलाई मंगलबार मध्यरातिदेखि सीमा नाका बन्द गर्न भनिसकिएको गृह मन्त्रालयले जनाएको छ । 

स्थानीय तह निर्वाचन अन्तिम र महत्वपूर्ण चरणमा प्रवेश : निर्वाचन आयोग
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन अन्तिम र महत्वपूर्ण चरणमा प्रवेश गरेको बताएको छ । आज पत्रकार सम्मेलन गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचन अन्तिम र महत्वपूर्ण चरणमा पुगेको बताउनुभयो । स्थानीय तह निर्वाचनमा ६५ दलले राजनीतिक रूपमा निर्वाचनमा होमिएका छन् । त्यस्तै स्वतन्त्र १  उम्मेदवारले समेत उम्मेदवारी दिएर निर्वाचनमा होमिएका छन् । स्थानीय तह निर्वाचनमा १ लाख ४५ हजार ११ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने आयोगले जनाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गराउन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट सम्पूर्ण तयारी पुरा भएको पौडेलले बताए । 

नेपालको निर्वाचन प्रक्रियामा सुधार हुँदै गयो : जियोक
आमनिर्वाचन पर्यवेक्षण समिति नेपाल (जियोक) ले नेपालको निर्वाचन प्रक्रियामा सुधार हुँदै गएको जनाएको छ । जियोकले आज काठमाडौँमा निर्वाचनसम्बन्धी प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै विगतका निर्वाचनभन्दा यस पटकको स्थानीय तह निर्वाचनमा कानुनी तथा व्यवहारिक जटिलताबाहेक निर्वाचन प्रक्रियामा सुधार हुँदै गएको पाइएको जनाएको हो । राजनीतिक दलका कार्यकर्ता चुनावी प्रचारप्रसारमा संयमित भएका कारण मतदाताले सुरक्षित महसुस गरेको जियोकले जनाएको छ ।

निर्वाचन विरोधी गतिविधि गर्नेलाई कारबाही हुने गृह मन्त्रालयको चेतावनी
निर्वाचन विरोधी गतिविधि गर्नेलाई कारबाही हुने गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गरी मतदातालाई स्वतन्त्र रूपले आफ्ना प्रतिनिधि छनोट गर्ने अवसरलाई प्रभावित पार्ने जो कोहीलाई कानुनबमोजिम कारबाहीको भागीदार हुने जनाएको छ ।राजनीतिक दल, तिनका प्रतिनिधि तथा उम्मेदवारबाट निर्वाचन प्रचारप्रसारका नाममा आपसी द्वन्द्व, तथा निर्वाचन आचारसंहिताको प्रतिकूलका केही क्रियाकलाप भइरहेका सूचना प्राप्त भएको भन्दै निर्वाचन विरोधी गतिविधि नगर्न सबैमा आग्रह गरेको समेत गरेको छ । 

कांग्रेसका उम्मेदवारहरूलाई अत्यधिक मत दिएर विजयी गराउन देउवाको अपिल
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई अत्यधिक मत दिएर विजयी बनाउन अपिल गरेका छन् । मौन अवधि सुरु हुन केही घण्टा बाँकी छँदा देउवाले उम्मेदवारहरूलाई विजयी गराउन मतदातासँग अपिल गरेका हुन् । अपिलमा उनले स्थानीय तह निर्वाचनलाई लोकतन्त्रको बलियो आधार भएको बताए । स्थानीय तह सङ्घीय शासन प्रणालीको आधारस्तम्भ पनि भएको उनको भनाइ छ । हरेक नागरिकका सुख दुःखमा साथ दिने र आफ्नै घर आँगनमा सरकारको अनुभूति गराउने राज्य संयन्त्रको रूपमा पनि स्थानीय सरकार भएको भन्दै देउवाले निरन्तर लोकतान्त्रिक सङ्घर्षको यात्रामा रहेको कांग्रेसका उम्मेदवारहरूलाई मत दिन आग्रह गरे । 

पालिका चुनावमा आफ्नो पार्टीको जित सुनिश्चित भइसकेको ओलीको दाबी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पालिका चुनावमा आफ्नो पार्टीको जित सुनिश्चित भइसकेको दाबी गरेका छन् । आज काठमाडौँमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले आफ्नो पार्टीले देश र जनताको हितका लागि पनि अत्यधिक बहुमतका साथ पालिका चुनावमा जित्नुपर्ने जिकिर गरे ।  उनले आफूहरू एमालेको जितका लागि वैशाख ३० गतेको प्रतीक्षामा रहेको पनि बताए । यस्तै उनले एमालेसँग एक्लै लड्न नसक्ने भएपछि पाँच दलीय गठबन्धन बनाएको आरोप लगाए । यसअघि बोलेका काठमाडौँ महानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले आफूहरू विजयी हुने र एक वर्षभित्रै काठमाण्डौमा रहेको फोहोरको समस्या समाधन समाधान गर्ने आश्वासन दिएका थिए । 

संविधान मास्न खोज्नेलाई जनताले विश्वास नगर्ने नेकपा एसका अध्यक्ष नेपालको टिप्पणी
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संविधान मास्न खोज्नेलाई जनताले कुनै हालतमा विश्वास नगर्ने बताएका छन् । आज ललितपुरको लुभुमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दुई पटक संसद विघटन गरेर संविधान मास्न खोज्नेलाई जनताले विश्वास नगर्ने बताए । उनले प्रतिगामी तत्व नेकपा एमाले र केपी ओली भएकाले चूनावमा भोट माग्ने अधिकार नराख्ने तर्क गरे । अध्यक्ष नेपालले एमालेको सूर्य चिन्हमा ग्रहण लागेकाले चर्चा गर्नुपर्ने अवस्था नरहेको भन्दै अब कलम चिन्ह चम्किने दावी गरे । सम्बोधनका क्रममा अध्यक्ष नेपालले झुक्किएर आफ्ना उम्मेदवारहरूलाई ‘सूर्य’ चिन्ह्रमा मात्र छाप हाल्नुपर्ने धारणा राखेका थिए । त्यसपछि उनले सरी भन्दै ‘सूर्य’लाई अस्वीकार गरेर बानि नै बसेको बताएका थिए । 

दुई–दुई पटक संसद भंग गर्नेलाई जनताले विश्वास गर्दैनन् : खड्का
परराष्ट्रमन्त्री एवं कांग्रेसका नेता डा.नारायण खड्काले दुई दुई पटक संसद भंग गर्नेलाई जनताले विश्वास नगर्ने बताएका छन् । आज उदयपुरमा आयोजित सभालाई सम्बोधन गर्दै खड्काले जनमतलाई कुल्चेर दुई दुई पटक संसद भंग गर्ने, कहिले कुन चिन्ह कहिले कुन चिन्ह लिएर जनतामा भोट माग्न आउनेहरूलाई जनताले विश्वास नगर्ने बताए । उनले जनताको अधिकार खोस्न खोज्नेलाई जनतासंग भोट माग्ने अधिकार नभएको जिकिर गरे । उनले भोट माग्न आउनेलाई किन भोट दिने भनेर मतदाताले सोध्नुपर्ने बताए । 

हप्तामा दुई दिन बिदा दिने सूचना राजपत्रमा प्रकाशित
सरकारले हप्तामा दुई दिन बिदा दिने सूचना राजपत्रमा प्रकाशित गरेको छ । जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गृहमन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो । मन्त्रिपरिषद्ले वैशाख १३ गते हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । परीक्षणका लागि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारले कार्यालय समय भने बढाएको छ । कार्यालय समय जेठ १ देखि बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्म तय गरिएको छ ।

सप्तरीका प्रमुख जिल्ला इन्जिनियर गोइतसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला प्राविधिक कार्यालय सप्तरीका प्रमुख जिल्ला इन्जिनियर राज कुमार गोइतसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ६६ लाख ६४ हजार ६९२ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज विशेष अदालत काठमाडौंमा गोइतसहित ६ जना विरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेका अन्यमा जिल्ला प्राविधिक कार्यालय सप्तरीका इन्जिनियर उग्रानन्द पाठक, लेखापाल छत्र बहादुर श्रेष्ठ, माँ जानकी निर्माण सेवाका प्रोप्राइटर भुपेन्द्र यादव, एभरेष्ट निर्माण सेवाका प्रोप्राइटर विजय कुमार यादव र अन्नपूर्ण कन्सट्रक्सनका प्रोप्राइटर ममता देवी यादव रहेका छन् ।

पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ३ सय ७६  पीसीआर परीक्षणका क्रममा १२ जना र १ हजार २ सय ५८ एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै थप १७ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा १ सय ८५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय परिचयपत्र छपाई सुरु
राष्ट्रिय परिचयपत्र छपाई सुरु भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले हिजोदेखि राष्ट्रिय परिचयपत्र छपाइ प्रक्रिया सुरु गरेको हो ।विभागले फ्रान्सको आईडीमीया सेक्युरिटी एण्ड आइडेन्टीटी कम्पनीबाट परिचयपत्रको कार्ड ल्याएपछि छपाइ प्रक्रिया सुरु गरिएको महानिर्देशक तीर्थप्रसाद भट्टराईले जानकारी दिनुभयो । अहिले विभागमा ३१ लाख ४७ हजार कार्ड आइपुगेको र बाँकी ८ लाख आउनेक्रममा रहेको उहाँले बताउनुभयो । छपाई मेसिनले एक घण्टामा एक हजार एक सय कार्ड छाप्ने क्षमता राख्ने भएकाले परिचयपत्रको फाराम भरेर अन्य प्रक्रिया पूरा गरेकाले छिटै कार्ड पाउने विभागले जनाएको छ । 

नेप्से परिसूचक आज दोहोरो अकंले वृद्धि
नेप्से परिसुचक आज दोहोरो अकंले बढेको छ । नेप्से ४४ दशमलव १६ अकंले बढेर २ हजार ३सय १३ बिन्दुमा पुगेको हो । ३३ लाख ३० हजार १५० कित्ता शेयर कुल १ अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४ सय ६९ रुपैँयामा कारोबार भएको छ । आज सबै उपसमूहका सूचकहरू बढेका छन् । आज बरुण हाइड्रो, ङादी ग्रुप र जल्पा सामुदायिक लघुवित्तको शेयर मूल्य १० प्रतिशत बढेको छ । यस्तै युनिभर्सल पावर र दिव्यश्वरी हाइड्रोको मूल्य पनि झण्डै १० प्रतिशतले बढेको छ । कारोबार रकमका आधारमा आज ङादी ग्रुप, अरुणभ्याली, टेलिकम, बरुण हाइड्रो र नबिल बैंक क्रमशः रहेका छन् । 

बुटवलमा भएको सुन चोरी घटनामा संलग्न तीन जना पक्राउ
बुटवलमा भएको सुन चोरी घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले सिसी क्यामरा फुटेज, मोबाइल ट्रेक र आधारकार्डलगायतको मद्दतले  प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा  ३६ वर्षीय मोहसिन भारत ३५ वर्षीय मोहद भारत मुख्य योजनाकार ३५ वर्षीय मोहद भारत रहेका छन् । गत वैशाख १३ गते बुटवलको विपीचोक स्थित गुल्मेलस् मजुवा सुनचाँदी पसलबाट लकर काटेर सुन चोरी भएको थियो । उनीहरूलाई लुम्बिनीको खुनगाईबाट सवारी साधना चेकजाँच गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो ।  

 

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  १० : ४५ बजे

अनुदान उपलब्ध गराउन उखु किसानको माग

महोत्तरी– महोत्तरीसहित मधेसका उखु किसानले अनुदान उपलब्ध गराउन सरकारसँग माग

इरानमा आक्रमणप्रति विधायकको मिश्रित प्रतिक्रिया : ट्रम्पलाई युद्धको अधिकार नभएको दाबी

वाशिङ्टन – इरानको आणविक केन्द्रमा अमेरिकाले आक्रमण गरेपछि त्यहाँका विधायकको

पर्वतमा १४० रोपनी क्षेत्रफलमा जापानी कटुसखेती

पर्वत– पर्वतमा जनशक्ति अभाव र बाँदर आतङ्कले खेतीपाती गर्न छाडेर

राष्ट्र बैंकको अध्ययन : यस्ता छन् मधेस प्रदेशका आर्थिक चुनौती

काठमाडौं– नेपाल राष्ट्र बैंकले मधेस प्रदेशका केही आर्थिक चुनौती रहेको

अन्तर्राष्ट्रिय सम्बन्धसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछ ।