फोहोर व्यवस्थापनमा सिंगापुरबाट के सिक्ने ? « Khabarhub

फोहोर व्यवस्थापनमा सिंगापुरबाट के सिक्ने ?



अहिले दिगो रुपमा कसरी फोहोर व्यवस्थापन गर्ने भन्ने बहसको विषय बनेको छ। लामो समयदेखि मुलुकको राजधानी काठमाडौंको फोहोर व्यवस्थापन हुन सकेको छैन। त्यस्तै बेलाबखत सुनिने ‘फोहोरलाई मोहोर’ बनाउने अर्थात् फोहोरबाट पैसा कमाउने कार्यक्रम पनि नारामै सीमित भएका छन्।

महानगरपालिकाले काठमाडौंको फोहोर केही टाढा सिस्डोल र बन्चरेडाँडा लगेर फाल्दै आएको छ। जुन दिगो त छैन नै, यसले पर्यावरण र स्थानीय बासिन्दाको जीवनमा पार्ने नकारात्मक असर पनि उत्तिकै छ।

काठमाडौं आसपास त धेरै जमिन छन्। सिस्डोल प्रदूषित भए बन्चरेडाँडामा फोहोर फालिएला, बन्चरेडाँडा प्रदूषित भए अन्तै कुनै ठाउँमा। तर, दक्षिणपूर्वी एसियाको एकदमै सानो राष्ट्र सिंगापुरलाई यो सुविधा छैन।

त्यसमाथि सिंगापुरको जनसंख्या पनि काठमाडौंको भन्दा धेरै छ। यसअर्थमा सिंगापुरलाई फोहोर व्यवस्थापन गर्न अझ ठूलो चुनौती छ। यो चुनौति हरेक दिन बढ्दै गइरहेको छ।

उदाहरणका लागि सन् १९७० यता सिंगापरमा ठोस फोहोर उत्पादन ७ गुणाले वृद्धि भएको छ। सन् १९७० मा औसतमा दैनिक १ हजार २ सय ६० टन फोहोर उत्पादन हुने गरेकोमा सन् २०२१ मा यो बढेर ८ हजार ७ सय ४१ टनमा पुगेको छ।

वरिपरी समुद्रले घेरिएको सिंगापुरले फोहोर व्यवस्थापन गर्ने काइदाको जुक्ति निकालेको छ। खासगरी सिंगापुरले तीन चरणमा फोहोर व्यवस्थापन गर्दै आएको छ। पहिलो चरणमा फोहोर संकलन, दोस्रो चरणमा फोहोरको उपचार र तेस्रो एवम् अन्तिम चरणमा फोहोरको बिसर्जन।

सिंगापुरले ‘तीन आर’ लाई फोहोर व्यवस्थापनको प्रमुख आधार मानेको छ। ‘रिड्युस’, ‘रियुज’ र ‘रिसाइकल’ तीन ‘आर’ का आधारमा सिंगापुरले फोहोर व्यवस्थापन गर्छ।

पहिलो, रिड्युस अर्थात् आफूलाई चाहिने वस्तुमात्र प्रयोग गर्नु। यसका लागि सामान किन्दा मानिसलाई पुरानो झोला प्रयोग गर्न, भावनामा आएर सामान नकिन्नका लागि किनमेल सूची तयार पार्न र लामो समयसम्म खपत हुने सामान खरिद गर्न, ठिक्क मात्रै खानेकुरा पकाउन, फेरि प्रयोग गर्न सकिने कन्टेनरमा खाना प्याक गर्न सरकारले प्रोत्साहन गर्दै आएको छ।

त्यसैगरी सरकारले विद्यालयमा कुनै सूचनाको फोटोकपी गरेर कागजजन्य फोहोर उत्पादन गर्नुको सट्टा सूचना सूचनापाटीमा टाँस्न, कागजको दुबै पाना प्रयोग गर्न पनि आग्रह गर्दै आएको छ।

दोस्रो हो, रियुज अर्थात् एउटै वा नयाँ उद्देश्यका लागि पुरानो सामानको प्रयोग गर्नु। यसका लागि पुराना बोतल प्रयोग गर्न, फोहोर सफा गर्न वा भुइँ पुछ्न पुराना कपडाको प्रयोग गर्न, साँघुरो हुने कपडा अरुलाई प्रदान गर्न, पुराना किताब नयाँ विद्यार्थीलाई दिन र बिग्रेका इलेक्ट्रोनिक सामानको मर्मत गर्न सरकारले आग्रह गर्ने गरेको छ।

त्यस्तै, पुराना भाँडालाई गमलाको रुपमा प्रयोग गरेर बिरुवा रोप्न, कुहिने फोहोरबाट उत्पन्न हुने मललाई करेसा वा गमलामा प्रयोग गर्न पनि सरकारले नागरिकलाई आग्रह गर्ने गरेको छ।

त्यस्तै, तेस्रो रिसाइकल अर्थात् पुनःप्रयोग गर्नु। सिंगापुरले फोहोरको पुनःप्रयोगलाई अत्यन्त प्राथमिकतामा राखेको छ। सिंगापुरको राष्ट्रिय वातावरण निकाय एनईएका अनुसार सन् २०१९ मा ७२ लाख टन फोहोर उत्पादन भएकोमा ५९ प्रतिशत फोहोरको पुनप्रयोग गरिएको थियो।

सिंगापुरले नागरिकलाई स्रोत मै फोहोरलाई छुट्याउन आग्रह गर्दै आएको छ। सरकारले सुरु गरेको ‘क्याश फर ट्रास’ कार्यक्रमका माध्यमबाट पुनप्रयोग गर्न सकिने फोहोर ल्याएको खण्डमा पैसा दिने व्यवस्था मिलाइएको छ। यद्यपि कोरोना भाइरसको महामारीका कारण यो कार्यक्रम तत्काल स्थगित रहेको सिंगापुरको राष्ट्रिय वातावरण निकाय एनईएले जनाएको छ।

यसबाहेक सिंगापुरमा पुराना स्पोट्र्स जुत्तालाई पनि पुनःप्रयोग गर्ने कार्यक्रम पनि सञ्चिालित छ। डो, बिटी स्पोट्र्स, अल्बा–डब्लूएभ, ठेकाथलन र स्ट्याण्डर्ड चार्टर्डसँगको सहकार्यमा सिंगापुरले ‘गिभ योर युज्ड स्पोट्स शुज अ सेकेण्ड लाइफ’ अर्थात् प्रयोग गरिसकेको जुत्तालाई दोस्रो जीवन दिनुहोस् भन्ने कार्यक्रम गत वर्षको जुलाई महिनाबाट सञ्चालनमा ल्याएको हो।

फोहोर उत्पादनको निगरानी गर्न सिंगापुरमा अर्को कार्यक्रम पनि सञ्चालित छ। ‘म्यान्डेटोरी प्याकेजिङ रिपोर्टिङ (एमपीआर)’ अर्थात् प्याकेजिङको अनिवार्य जानकारी। सिंगापुरमा उत्पादन हुने फोहोरमध्ये एक तिहाइ फोहोर प्लास्टिक र अन्य प्याकेजिङजन्य फोहार हुन्। सिंगापुर सरकारले यस कार्यक्रमअनुसार कुनै पनि सामग्रीको प्याकेजिङ सामग्रीका उत्पादकले प्याकेजिङबारे सम्पूर्ण जानकारी उपलब्ध गराउनुपर्ने प्रावधान रहेको छ। यसअनुसार प्याकेजिङको तौल, प्याकेजिङमा प्रयोग गरिएको पदार्थ (कागज, प्लास्टिक, धातु) लगायतका जानकारी प्रदान गर्नुपर्ने प्रावधान रहेको छ।

उत्पादिन फोहोरलाई व्यवस्थित गर्ने पनि सिंगापुरको बेग्लै शैली छ। संकलकले फोहोरलाई सुरुमा फोहोर व्यवस्थापन केन्द्रमा लैजान्छन्। त्यस्ता केन्द्रमा राखिएका इन्सिनेरेसटर मेसिनले फोहोरलाई उच्च तापक्रममा जलाएर फोहोरको उपचार गर्छन्। वेस्ट टु एनर्जी मेसिन समेत भनिने यस्ता मेसिनले फोहोरको परिमाणलाई ९० प्रतिशतसम्म कम गर्ने बताइएको छ। यस प्रक्रियाबाट विद्युत, ग्यास, खरानी एवम् अन्य अवयवहरु पनि उत्पादन हुन्छ।

फोहोरको उपचार गरेर उत्पादन भएको विद्युतले सिंगापुरको कूल खपतको ३ प्रतिशत पूरा गर्दै आएको छ। त्यसपछि फोहोर जलाएर उत्पादन भएको खरानीलाई टुआस मरिन ट्रान्सफर स्टेशनमा लगिन्छ र अन्तिम विसर्जनका लागि सेमाकु ल्याण्डफिल क्षेत्रमा लगिन्छ। यो ल्याण्डफिल क्षेत्र सन् २०३५ सम्म निरन्तर सञ्चालनमा आउने बताइएको छ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  १२ : ०० बजे

सरकार र अभियान्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति, अनसन स्थगित

काठमाडौँ – विभिन्न माग राखेर आमरण अनसनमा बसेकी नर्स तथा

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका

दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवन – पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुई

आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन

जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम – जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर