काठमाडौँ- संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा ५ नयाँ सदस्य थपिएका छन् । सुरक्षा परिषद्मा इक्वेडर, जापान, माल्टा, मोजाम्बिक र स्वीट्जरल्याण्ड निर्विरोध निर्वाचित भएका हुन् ।
एकसय ९३ सदस्यीय महासभामा भएको गोप्य मतदानअनुसार इक्वेडरले १९०, माल्टाले १८५, जापानले १८४, मोजाम्बिकले १९२ र स्वीट्जरल्याण्डले १८७ मत पाएका छन् ।
अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका विषयमा आवाज उठाउन सहज हुने भएकाले १५ सदस्यीय सुरक्षा परिषद्मा निर्वाचित हुन धेरै देशले त्यसलाई ठूलो उपलब्धि एवम् सफलता मान्ने गरेका छन् ।
विश्वभर युक्रेन युद्ध अहिलेको जल्दोबल्दो विषय बनेको छ । गत फेब्रुवरीमा रूसले युक्रेनमाथि आक्रमण गरेपछि परिषद्ले दुबै देशका कूटनीतिज्ञ एवम् समर्थकहरूलाई भेला गराएर धेरै बैठक गरेको भए पनि शान्तिपूर्ण समाधान गर्न परिषद् असफल भएको छ ।
परिषद्का कार्यसूचीमा युक्रेनबाहेका सिरिया र यमनदेखि माली र म्यान्मारका साथै उत्तर कोरिया तथा इरानबाट उत्पन्न आणविक जोखिमका अन्तर्राष्ट्रिय मुद्दा पनि छन् ।
इस्लामिक स्टेट र अलकायदाजस्ता चरमपन्थी समूहले सृजना गरेका चुनौती र आक्रमण साम्य पार्न परिषद्लाई कठिनाइ भइरहेको छ ।