आज जेठ २७, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुन १०, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :
ई बेलायती र एक मोरक्कन नागरिकलाई पूर्वी युक्रेनको पृथकतावादी अदालतद्वारा मृत्युदण्डको सजाय
पूर्वी युक्रेनमा रुस समर्थित पृथकतावादी सत्ता चलाइरहेको स्वघोषित ‘डोनेत्स्क जनगणतन्त्र’ को एउटा अदालतले दुई बेलायती र एक मोरक्कन नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको छ । जन युक्रेनको समर्थनमा रुसी फौजविरुद्ध लड्ने दुई बेलायती र एक मोरक्कन नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको रुसी समाचार संस्थाहरूले जनाएका छन् ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार मृत्युदण्ड पाउनेमा बेलायती नागरिकहरु एइडेन अस्लिन र शन पिन्नर तथा मोरक्कन नागरिक ब्राहिम सादुओन रहेका छन् । उनीहरूलाई ‘भाडाका सैनिकको गतिविधि गरेको र सत्ता हत्याउने तथा डोनेत्स्क जनगणतन्त्रको संवैधानिक व्यवस्था विरुद्ध अपराध गरेको’ अभियोगमा दोषी ठहर गरिएको हो । गत फेब्रुअरी २४ मा रुसले आक्रमण थालेपछि युक्रेनी फौजको समर्थन एवम् रुसी फौजविरुद्ध लडिरहेका बेला बेलायती नागरिकहरू पक्राउ परेको बताइएको छ । उनीहरूलाई गत अप्रिल महिनामा मारिउपोल सहरबाट पक्राउ गरिएको रोयटर्सले जनाएको छ । २८ वर्षे अस्लिन तथा ४८ वर्षे पिन्नरका परिवारले दिएका जानकारीअनुसार दुबै जना सन् २०१८ यता युक्रेनमा बसोबास गर्दै आएका थिए ।
त्यस्तै, मोरक्कन नागरिक सादुओनले गत मार्च महिनामा मारिउपोल सहर र डोनेत्स्क क्षेत्रको राजधानीबीच रहेको सानो सहरमा रुसी फौजसमक्ष आत्मसमर्पण गरेका थिए । उनीहरूका वकिलले अदालतको यो फैसलाविरुद्ध पुनरावेदन गर्ने बताएका छन् ।
यता बेलायतले भने अदालतको यो फैलसालाई ‘छद्म न्याय’ भन्दै निन्दा गरेको छ । ‘म एइडन अस्लिन र शन पिन्नरलाई पूर्वी युक्रेनमा रुसी कठपुतलीले सुनाएको फैसलाको निन्दा गर्दछु ।’ बेलायती विदेशमन्त्री लिज ट्रसले सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छिन् । ‘उनीहरु युद्धबन्दीहरू हुन् । कुनै वैधानिकताबिनाको यो छद्म न्याय हो ।’ उनले लेखेकी छिन् । त्यस्तै, बेलायती प्रधानमन्त्री बोरिस जोनसनका प्रवक्ताले पनि आफ्ना नागरिकलाई मृत्युदण्ड दिने रुस समर्थित पृथकतावादीको कदमको निन्दा गरेको रोयटर्सले जनाएको छ । आफ्ना नागरिकलाई पूर्वी युक्रेनका पृथकतावादीले मृत्युदण्डको सजाय सुनाइकोबारे मोरक्कोले भने कुनै टिप्पणी नगरेको रोयटर्सले जनाएको छ ।
भारतमा एकै दिन कोरोना भाइरसका ७ हजार ५८४ नयाँ संक्रमित थपिए
भारतमा पछिल्लो २४ घण्टाको समयावधिमा थप सात हजार ५८४ कोरोना सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । हाल भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३६ हजार २६७ रहेका छन् । यो कूल सङ्क्रमितको शून्य दशमलब शून्य ८ प्रतिशत भएको जनाइएको छ । हिजो कोरोनाका कूल सक्रिय सङ्क्रमित सङ्ख्या ३२ हजार ८९८ रहेका थिए ।
२४ घण्टाको समयावधिमा तीन हजार ७९१ लाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाका कुल सङ्ख्या चार करोड २६ लाख ४४ हजार ९२ पुगेको छ । अहिले कोरोना भाइरस मुक्ति दर ९८ दशमलब ७० प्रतिशत रहेको छ । गत २४ घण्टाको समायावधीमा कोरोना महामारीको कारण २४ जनाको मृत्यु भएपछि पाँच लाख २४ हजार ७४७ जना पुगेका छन् । भारतमा कोरोना शुरु भएदेखि हालसम्म कुल ८५ करोड ४० लाख भन्दा बढी व्यक्तिको परीक्षण भएको छ । भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९४ करोड ७६ लाख भन्दा बढी डोज खोप लगाइएको छ ।
ब्राजिलमा पनि मङ्कीपक्स देखियो
दक्षिण अमेरिकी मुलुक ब्राजिलमा मङ्कीपक्स भाइरसबाट संक्रमित फेला परेका छन् । ब्राजिलको साओ पाउलो सहरमा एक जनामा मङ्कीपक्स भाइरस पाइएको स्थानीय स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
भर्खरै स्पेन र पोर्चुगलको यात्रा गरेका ४१ वर्षीय पुरुषमा सो भाइरस भेटिएको सहरको स्वास्थ्य सचिवालयले एक विज्ञप्तिमा जानकारी दिएको छ । बिरामीलाई हाल एमिलियो रिबास सार्वजनिक अस्पतालमा अलग्गै राखिएको बताइएको छ ।
यद्यपी यसअघि पनि साओ पाउलोमा २६ वर्षीया एक महिलालाई मङ्कीपक्स हो कि भन्ने शङ्कामा अस्पतालमा भर्ना गरेर अनुसन्धान भइरहेको सचिवालयले जानकारी दिएको छ ।
अफगानिस्तानमा भएको बम आक्रमणमा ६ जनाको मृत्यु
अफगानिस्तानमा भएको बम विष्फोटमा परी ६ जनाको मृत्यु भएको छ । दक्षिणी अफगानिस्तानको कान्दाहार प्रान्तस्थित स्पिन बोल्दाक क्षेत्रमा गाडीमा विस्फोट हुँदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मारिनेमा पाँच सुरक्षाकर्मी समेत रहेका छन् ।
घातक आक्रमणको पुष्टि गर्दै स्पिन बोल्दाक जिल्लाका प्रहरी प्रमुख मौलावी मोहम्मद हाशिम महमुदले विगतका युद्धहरूबाट बाँकी रहेका विस्फोटक पदार्थले गाडीमा प्रहार गरिएको थियो । स्थानीय सञ्चारमाध्यम टोलोन्युजले पनि विस्फोटमा एक नागरिक र प्रशासनका पाँच सुरक्षाकर्मीसहित ६ जनाको मृत्यु भएको जानकारी दिएको छ ।
गत वर्ष अगस्टमा तालिबानले अफगानिस्तान कब्जा गरेपछि सडक किनारमा बम विस्फोट र हिंसात्मक घटनाहरू घटेका छन् र तालिवान नेतृत्वको कामचलाउ सरकारले सबै अफगानहरूलाई घर फर्कन र आफ्नो मातृभूमिको पुनर्निर्माणमा हातेमालो गर्न आह्वान गरेको छ ।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा ५ नयाँ सदस्य थपिए
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा ५ नयाँ सदस्य थपिएका छन् । सुरक्षा परिषद्मा इक्वेडर, जापान, माल्टा, मोजाम्बिक र स्वीट्जरल्याण्ड निर्विरोध निर्वाचित भएका हुन् । एक सय ९३ सदस्यीय महासभामा भएको गोप्य मतदानअनुसार इक्वेडरले १९०, माल्टाले १८५, जापानले १८४, मोजाम्बिकले १९२ र स्वीट्जरल्याण्डले १८७ मत पाएका छन् । अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका विषयमा आवाज उठाउन सहज हुने भएकाले १५ सदस्यीय सुरक्षा परिषद्मा निर्वाचित हुन धेरै देशले त्यसलाई ठूलो उपलब्धि एवम् सफलता मान्ने गरेका छन्
विश्वभर युक्रेन युद्ध अहिलेको जल्दोबल्दो विषय बनेको छ । गत फेब्रुअरीमा रूसले युक्रेनमाथि आक्रमण गरेपछि परिषद्ले दुबै देशका कूटनीतिज्ञ एवम् समर्थकहरूलाई भेला गराएर धेरै बैठक गरेको भए पनि शान्तिपूर्ण समाधान गर्न परिषद् असफल भएको छ । परिषद्का कार्यसूचीमा युक्रेनबाहेकका सिरिया र यमनदेखि माली र म्यान्मारका साथै उत्तर कोरिया तथा इरानबाट उत्पन्न आणविक जोखिमका अन्तर्राष्ट्रिय मुद्दा पनि छन् ।इस्लामिक स्टेट र अलकायदाजस्ता चरमपन्थी समूहले सृजना गरेका चुनौती र आक्रमण साम्य पार्न परिषद्लाई कठिनाइ भइरहेको छ ।
भारतमा अर्को महिना राष्ट्रपतीय निर्वाचन हुने
भारतमा अर्को महिना राष्ट्रपतीय निर्वाचन हुने भएको छ । यो वर्ष हुने राष्ट्रपतीय निर्वाचनका लागि भारतीय निर्वाचन आयोगले जुलाई १८ को मिति घोषणा गरेको भारतीय समाचार संस्था इन्डियन एक्सप्रेसले जनाएको छ । निर्वाचन आयोगका अनुसार चुनावसम्बन्धी औपचारिक सूचना जुन १५ मा प्रकाशित गरिनेछ । त्यस्तै, जुन २९ सम्म मनोनयन दर्ता गर्ने समय तोकिएको छ । त्यस्तै, जुलाई १८ मा निर्वाचन हुनेछ भने आवश्यक परेको खण्डमा जुलाई २१ बाट मतगणना सुरु हुने जनाइएको छ ।
साथै मतदान गर्ने बेला कोरोना भाइरसविरुद्ध लागू सबै सतर्कता अपनाइने आयोगले जनाएको छ । भारतीय राष्ट्रपति रामनाथ गोविन्दको कार्यकाल यही २४ जुलाईमा समाप्त हुँदैछ । भारतीय संविधानको धारा ६२ अनुसार राष्ट्रपतिको कार्यकाल सकिनुअगावै नयाँ राष्ट्रपति चयन गर्नुपर्ने प्रावधान रहेको बताइएको छ । भारतमा निर्वाचित प्रतिनिधिहरूले राष्ट्रपति चयन गर्न मतदान गर्ने व्यवस्था छ । यसअनुसार भारतको दुबै सदनका संसद्हरू एवम् सबै राज्यका विधानसभाका जनप्रतिनिधिहरूले राष्ट्रपति चयनका लागि मतदान गर्दछन् ।
युगान्डामा भोकमरी देखा परेको राष्ट्रसंघको भनाइ
अफ्रिकी मुलुक युगान्डामा पनि भोकमरीको समस्या देखा परेको छ । संयुक्त राष्ट्रसंघीय निकायहरूले युगान्डामा पनि भोकमरीको समस्या देखा परेको भन्दै सहयोगका लागि आह्वान गरेका छन् । ती एजेन्सीहरूले युगान्डाका कम्तीमा पनि ५ लाख मानिस भोकमरीको चपेटामा परिसकेका भन्दै उनीहरूलाई सहयोग गर्न आह्वान गरेका बताइएको छ । युगान्डामा रहेका राष्ट्रसंघीय निकायहरूले मुलुकको उत्तरपश्चिमी क्षेत्र कारामोजामा यस्तो समस्या उत्पन्न भएको जानकारी दिएका छन् । सो क्षेत्रमा केही समयदेखिको खडेरीका कारण खाद्यान्नको अभाव भएको जनाइएको छ । त्यहाँ खाद्यान्न अभाव अझै बढ्ने स्पष्ट संकेतहरु देखिएका राष्ट्रसंघीय अधिकारीहरूले बताउँदै आएका थिए ।
युगान्डास्थित राष्ट्रसंघीय अधिकारीहरूले बालबालिकामा कुपोषण, प्रोटिन तथा पोषणयुक्त खानाको अभाव पनि बढ्दै जाने देखिएको बताएका छन् । सरकार र राष्ट्रसंघीय अधिकारीहरूले अहिलेकै अवस्था रही आएमा यहाँ चरम खाद्यान्न अभाव हुने र नागरिकहरू कुपोषणको शिकार हुने अवस्था रहेको चेतावनी दिएका छन् ।
जनवरी ६ मा भएको दंगाबारे ट्रम्पविरुद्ध अमेरिकी संसदीय छानबिन सुरु
सन् २०२१ को जनवरीमा अमेरिकी संसद् भवन क्यापिटोलमा भएको दङ्गालाई लिएर अमेरिकाको संसदीय छानबिन समितिले सार्वजनिक सुनुवाइ थालेको छ । अघिल्लो राष्ट्रपतीय निर्वाचनको परिणाममा असनतुष्टी जनाउँदै तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले सन् २०२१ को जनवरी ६ मा क्यापिटोल भवनमा दंगा मच्चाएका थिए । यस विषयमा जारी सुनुवाइका क्रममा संसदीय अध्यक्ष बेनि थोमसनले उक्त घटनाले दुई सय पचास वर्ष भन्दा पुरानो अमेरिकी संवैधानिक लोकतन्त्रलाई धरापमा पारेको बताए ।
संसदीय समितिमा रहेका प्राय सदस्यहरूले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले दंगा भड्काउन खोजेको आरोप लगाएका छन् । गत वर्ष जनवरी ६ मा ट्रम्पका समर्थकहरूले राष्ट्रपति जो बाइडेनको चुनावी विजय प्रमाणीकरण हुनबाट रोक्न अमेरिकी संसद् भवनमा दंगा मच्चाएका थिए ।
अमेरिकामा फेरि गोलीकाण्ड, मेरिल्याण्डमा तीन जनाको मृत्यु
अमेरिकामा फेरि गोलीकाण्ड मच्चिएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यको स्मिथ्सवर्गमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ । एउटा कारखानामा भएको गोलीकाण्डमा उनीहरूको मृत्यु भएको हो । राज्यका एक सैनिक अधिकारीलाई काँधमा गोली लागेको मेरील्याण्डका गभर्नर ल्यारी होगनले बताएका छन् । आक्रमणकारीले उत्तरी मेरिल्याण्डमा रहेको सोलुम्बिया मेसिन कारखानामा गोली चलाएको थियो । वासिङ्टनको प्रहरी कार्यालयले बाल्टिमोर शहरबाट करिब ७५ माईलटाढा स्मिथ्सबर्गको कोलम्बिया मेसिनमा गोली चलेको बताएको छ ।
गत केही वर्षयता अमेरिकाभर बन्दुक हिंसा बढ्दै गएको छ । कोभिड–१९ महामारीको कारणले आर्थिक र सामाजिक अवरोधहरूदेखि लिएर २०२० को चुनावमा भएको अशान्ति, बढ्दो बन्दुकको बिक्रीका कारण धेरै नरसंहारका घटना भएको बताइएको छ । यो वर्ष देशमा बन्दुक हिंसाका कारण एक हजार ७०० सयभन्दा बढी मारिएका वा घाइते भएका छन् । उक्त अवधिमा अमेरिकामा कम्तिमा एक सय १० गोलीकाण्ड भएका छन् ।
युक्रेनमा दैनिक एक यसदेखि दुई सय सैनिकले ज्यान गुमाइरहेको युक्रेनी अधिकारीको भनाइ
युक्रेनमा दैनिक एक सयदेखि दुई सय सैनिकले ज्यान गुमाइरहेको एकजना वरिष्ठ युक्रेनी अधिकारीले जनाएका छन् । बीबीसीका अनुसार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका वरिष्ठ सल्लाहकार मिखाइलो पोदोलियाकले युद्धको अग्रमोर्चामा दैनिक १०० देखि २०० को बीचमा सैनिकले ज्यान गुमाइरहेको बताएका हुन् । पूर्वी डोनबास क्षेत्रमा रुसी फौजको सामना गर्नका लागि युक्रेनलाई अहिले सयौँ हतियार एवम् सैनिक उपकरणको आवश्यक रहेको समेत उनले बताए । उनले रुससँग शान्तिवार्ता पुनः सुरु गर्न आफ्नो मुलुक तयार नरहेको पनि उनले उल्लेख गरे ।
पूरै डोनबासमाथि नियन्त्रण गर्ने प्रयासमा रहेका रुसी फौजहरूको निरन्तर बमबारीको युक्रेनी फौजले सामना गर्नु परेको बीबीसीले जनाएको छ । रुसी फौजहरूले पारमाणविक अस्त्रबाहेक लगभग सबै प्रणालीबाट हमला गरिरहेको पोदोलियाकले बताए।
प्रतिक्रिया