विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज जेठ २७, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुन १०, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

ई बेलायती र एक मोरक्कन नागरिकलाई पूर्वी युक्रेनको पृथकतावादी अदालतद्वारा मृत्युदण्डको सजाय

पूर्वी युक्रेनमा रुस समर्थित पृथकतावादी सत्ता चलाइरहेको स्वघोषित ‘डोनेत्स्क जनगणतन्त्र’ को एउटा अदालतले दुई बेलायती र एक मोरक्कन नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको छ । जन युक्रेनको समर्थनमा रुसी फौजविरुद्ध लड्ने दुई बेलायती र एक मोरक्कन नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको रुसी समाचार संस्थाहरूले जनाएका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार मृत्युदण्ड पाउनेमा बेलायती नागरिकहरु एइडेन अस्लिन र शन पिन्नर तथा मोरक्कन नागरिक ब्राहिम सादुओन रहेका छन् । उनीहरूलाई ‘भाडाका सैनिकको गतिविधि गरेको र सत्ता हत्याउने तथा डोनेत्स्क जनगणतन्त्रको संवैधानिक व्यवस्था विरुद्ध अपराध गरेको’ अभियोगमा दोषी ठहर गरिएको हो । गत फेब्रुअरी २४ मा रुसले आक्रमण थालेपछि युक्रेनी फौजको समर्थन एवम् रुसी फौजविरुद्ध लडिरहेका बेला बेलायती नागरिकहरू पक्राउ परेको बताइएको छ । उनीहरूलाई गत अप्रिल महिनामा मारिउपोल सहरबाट पक्राउ गरिएको रोयटर्सले जनाएको छ । २८ वर्षे अस्लिन तथा ४८ वर्षे पिन्नरका परिवारले दिएका जानकारीअनुसार दुबै जना सन् २०१८ यता युक्रेनमा बसोबास गर्दै आएका थिए ।

त्यस्तै, मोरक्कन नागरिक सादुओनले गत मार्च महिनामा मारिउपोल सहर र डोनेत्स्क क्षेत्रको राजधानीबीच रहेको सानो सहरमा रुसी फौजसमक्ष आत्मसमर्पण गरेका थिए । उनीहरूका वकिलले अदालतको यो फैसलाविरुद्ध पुनरावेदन गर्ने बताएका छन् ।

यता बेलायतले भने अदालतको यो फैलसालाई ‘छद्म न्याय’ भन्दै निन्दा गरेको छ । ‘म एइडन अस्लिन र शन पिन्नरलाई पूर्वी युक्रेनमा रुसी कठपुतलीले सुनाएको फैसलाको निन्दा गर्दछु ।’ बेलायती विदेशमन्त्री लिज ट्रसले सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छिन् । ‘उनीहरु युद्धबन्दीहरू हुन् । कुनै वैधानिकताबिनाको यो छद्म न्याय हो ।’ उनले लेखेकी छिन् । त्यस्तै, बेलायती प्रधानमन्त्री बोरिस जोनसनका प्रवक्ताले पनि आफ्ना नागरिकलाई मृत्युदण्ड दिने रुस समर्थित पृथकतावादीको कदमको निन्दा गरेको रोयटर्सले जनाएको छ । आफ्ना नागरिकलाई पूर्वी युक्रेनका पृथकतावादीले मृत्युदण्डको सजाय सुनाइकोबारे मोरक्कोले भने कुनै टिप्पणी नगरेको रोयटर्सले जनाएको छ ।

भारतमा एकै दिन कोरोना भाइरसका ७ हजार ५८४ नयाँ संक्रमित थपिए

भारतमा पछिल्लो २४ घण्टाको समयावधिमा थप सात हजार ५८४ कोरोना सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । हाल भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३६ हजार २६७ रहेका छन् । यो कूल सङ्क्रमितको शून्य दशमलब शून्य ८ प्रतिशत भएको जनाइएको छ । हिजो कोरोनाका कूल सक्रिय सङ्क्रमित सङ्ख्या ३२ हजार ८९८ रहेका थिए ।

२४ घण्टाको समयावधिमा तीन हजार ७९१ लाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाका कुल सङ्ख्या चार करोड २६ लाख ४४ हजार ९२ पुगेको छ । अहिले कोरोना भाइरस मुक्ति दर ९८ दशमलब ७० प्रतिशत रहेको छ । गत २४ घण्टाको समायावधीमा कोरोना महामारीको कारण २४ जनाको मृत्यु भएपछि पाँच लाख २४ हजार ७४७ जना पुगेका छन् । भारतमा कोरोना शुरु भएदेखि हालसम्म कुल ८५ करोड ४० लाख भन्दा बढी व्यक्तिको परीक्षण भएको छ । भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९४ करोड ७६ लाख भन्दा बढी डोज खोप लगाइएको छ ।

ब्राजिलमा पनि मङ्कीपक्स देखियो

दक्षिण अमेरिकी मुलुक ब्राजिलमा मङ्कीपक्स भाइरसबाट संक्रमित फेला परेका छन् । ब्राजिलको साओ पाउलो सहरमा एक जनामा मङ्कीपक्स भाइरस पाइएको स्थानीय स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

भर्खरै स्पेन र पोर्चुगलको यात्रा गरेका ४१ वर्षीय पुरुषमा सो भाइरस भेटिएको सहरको स्वास्थ्य सचिवालयले एक विज्ञप्तिमा जानकारी दिएको छ । बिरामीलाई हाल एमिलियो रिबास सार्वजनिक अस्पतालमा अलग्गै राखिएको बताइएको छ ।

यद्यपी यसअघि पनि साओ पाउलोमा २६ वर्षीया एक महिलालाई मङ्कीपक्स हो कि भन्ने शङ्कामा अस्पतालमा भर्ना गरेर अनुसन्धान भइरहेको सचिवालयले जानकारी दिएको छ ।

अफगानिस्तानमा भएको बम आक्रमणमा ६ जनाको मृत्यु

अफगानिस्तानमा भएको बम विष्फोटमा परी ६ जनाको मृत्यु भएको छ । दक्षिणी अफगानिस्तानको कान्दाहार प्रान्तस्थित स्पिन बोल्दाक क्षेत्रमा गाडीमा विस्फोट हुँदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मारिनेमा पाँच सुरक्षाकर्मी समेत रहेका छन् ।

घातक आक्रमणको पुष्टि गर्दै स्पिन बोल्दाक जिल्लाका प्रहरी प्रमुख मौलावी मोहम्मद हाशिम महमुदले विगतका युद्धहरूबाट बाँकी रहेका विस्फोटक पदार्थले गाडीमा प्रहार गरिएको थियो । स्थानीय सञ्चारमाध्यम टोलोन्युजले पनि विस्फोटमा एक नागरिक र प्रशासनका पाँच सुरक्षाकर्मीसहित ६ जनाको मृत्यु भएको जानकारी दिएको छ ।

गत वर्ष अगस्टमा तालिबानले अफगानिस्तान कब्जा गरेपछि सडक किनारमा बम विस्फोट र हिंसात्मक घटनाहरू घटेका छन् र तालिवान नेतृत्वको कामचलाउ सरकारले सबै अफगानहरूलाई घर फर्कन र आफ्नो मातृभूमिको पुनर्निर्माणमा हातेमालो गर्न आह्वान गरेको छ ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा ५ नयाँ सदस्य थपिए

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा ५ नयाँ सदस्य थपिएका छन् । सुरक्षा परिषद्मा इक्वेडर, जापान, माल्टा, मोजाम्बिक र स्वीट्जरल्याण्ड निर्विरोध निर्वाचित भएका हुन् । एक सय ९३ सदस्यीय महासभामा भएको गोप्य मतदानअनुसार इक्वेडरले १९०, माल्टाले १८५, जापानले १८४, मोजाम्बिकले १९२ र स्वीट्जरल्याण्डले १८७ मत पाएका छन् । अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका विषयमा आवाज उठाउन सहज हुने भएकाले १५ सदस्यीय सुरक्षा परिषद्मा निर्वाचित हुन धेरै देशले त्यसलाई ठूलो उपलब्धि एवम् सफलता मान्ने गरेका छन्

विश्वभर युक्रेन युद्ध अहिलेको जल्दोबल्दो विषय बनेको छ । गत फेब्रुअरीमा रूसले युक्रेनमाथि आक्रमण गरेपछि परिषद्ले दुबै देशका कूटनीतिज्ञ एवम् समर्थकहरूलाई भेला गराएर धेरै बैठक गरेको भए पनि शान्तिपूर्ण समाधान गर्न परिषद् असफल भएको छ । परिषद्का कार्यसूचीमा युक्रेनबाहेकका सिरिया र यमनदेखि माली र म्यान्मारका साथै उत्तर कोरिया तथा इरानबाट उत्पन्न आणविक जोखिमका अन्तर्राष्ट्रिय मुद्दा पनि छन् ।इस्लामिक स्टेट र अलकायदाजस्ता चरमपन्थी समूहले सृजना गरेका चुनौती र आक्रमण साम्य पार्न परिषद्लाई कठिनाइ भइरहेको छ ।

भारतमा अर्को महिना राष्ट्रपतीय निर्वाचन हुने

भारतमा अर्को महिना राष्ट्रपतीय निर्वाचन हुने भएको छ । यो वर्ष हुने राष्ट्रपतीय निर्वाचनका लागि भारतीय निर्वाचन आयोगले जुलाई १८ को मिति घोषणा गरेको भारतीय समाचार संस्था इन्डियन एक्सप्रेसले जनाएको छ । निर्वाचन आयोगका अनुसार चुनावसम्बन्धी औपचारिक सूचना जुन १५ मा प्रकाशित गरिनेछ । त्यस्तै, जुन २९ सम्म मनोनयन दर्ता गर्ने समय तोकिएको छ । त्यस्तै, जुलाई १८ मा निर्वाचन हुनेछ भने आवश्यक परेको खण्डमा जुलाई २१ बाट मतगणना सुरु हुने जनाइएको छ ।

साथै मतदान गर्ने बेला कोरोना भाइरसविरुद्ध लागू सबै सतर्कता अपनाइने आयोगले जनाएको छ । भारतीय राष्ट्रपति रामनाथ गोविन्दको कार्यकाल यही २४ जुलाईमा समाप्त हुँदैछ । भारतीय संविधानको धारा ६२ अनुसार राष्ट्रपतिको कार्यकाल सकिनुअगावै नयाँ राष्ट्रपति चयन गर्नुपर्ने प्रावधान रहेको बताइएको छ । भारतमा निर्वाचित प्रतिनिधिहरूले राष्ट्रपति चयन गर्न मतदान गर्ने व्यवस्था छ । यसअनुसार भारतको दुबै सदनका संसद्हरू एवम् सबै राज्यका विधानसभाका जनप्रतिनिधिहरूले राष्ट्रपति चयनका लागि मतदान गर्दछन् ।

युगान्डामा भोकमरी देखा परेको राष्ट्रसंघको भनाइ

अफ्रिकी मुलुक युगान्डामा पनि भोकमरीको समस्या देखा परेको छ । संयुक्त राष्ट्रसंघीय निकायहरूले युगान्डामा पनि भोकमरीको समस्या देखा परेको भन्दै सहयोगका लागि आह्वान गरेका छन् । ती एजेन्सीहरूले युगान्डाका कम्तीमा पनि ५ लाख मानिस भोकमरीको चपेटामा परिसकेका भन्दै उनीहरूलाई सहयोग गर्न आह्वान गरेका बताइएको छ । युगान्डामा रहेका राष्ट्रसंघीय निकायहरूले मुलुकको उत्तरपश्चिमी क्षेत्र कारामोजामा यस्तो समस्या उत्पन्न भएको जानकारी दिएका छन् । सो क्षेत्रमा केही समयदेखिको खडेरीका कारण खाद्यान्नको अभाव भएको जनाइएको छ । त्यहाँ खाद्यान्न अभाव अझै बढ्ने स्पष्ट संकेतहरु देखिएका राष्ट्रसंघीय अधिकारीहरूले बताउँदै आएका थिए ।

युगान्डास्थित राष्ट्रसंघीय अधिकारीहरूले बालबालिकामा कुपोषण, प्रोटिन तथा पोषणयुक्त खानाको अभाव पनि बढ्दै जाने देखिएको बताएका छन् । सरकार र राष्ट्रसंघीय अधिकारीहरूले अहिलेकै अवस्था रही आएमा यहाँ चरम खाद्यान्न अभाव हुने र नागरिकहरू कुपोषणको शिकार हुने अवस्था रहेको चेतावनी दिएका छन् ।

जनवरी ६ मा भएको दंगाबारे ट्रम्पविरुद्ध अमेरिकी संसदीय छानबिन सुरु

सन् २०२१ को जनवरीमा अमेरिकी संसद् भवन क्यापिटोलमा भएको दङ्गालाई लिएर अमेरिकाको संसदीय छानबिन समितिले सार्वजनिक सुनुवाइ थालेको छ । अघिल्लो राष्ट्रपतीय निर्वाचनको परिणाममा असनतुष्टी जनाउँदै तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले सन् २०२१ को जनवरी ६ मा क्यापिटोल भवनमा दंगा मच्चाएका थिए । यस विषयमा जारी सुनुवाइका क्रममा संसदीय अध्यक्ष बेनि थोमसनले उक्त घटनाले दुई सय पचास वर्ष भन्दा पुरानो अमेरिकी संवैधानिक लोकतन्त्रलाई धरापमा पारेको बताए ।

संसदीय समितिमा रहेका प्राय सदस्यहरूले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले दंगा भड्काउन खोजेको आरोप लगाएका छन् । गत वर्ष जनवरी ६ मा ट्रम्पका समर्थकहरूले राष्ट्रपति जो बाइडेनको चुनावी विजय प्रमाणीकरण हुनबाट रोक्न अमेरिकी संसद् भवनमा दंगा मच्चाएका थिए ।

अमेरिकामा फेरि गोलीकाण्ड, मेरिल्याण्डमा तीन जनाको मृत्यु

अमेरिकामा फेरि गोलीकाण्ड मच्चिएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यको स्मिथ्सवर्गमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ । एउटा कारखानामा भएको गोलीकाण्डमा उनीहरूको मृत्यु भएको हो । राज्यका एक सैनिक अधिकारीलाई काँधमा गोली लागेको मेरील्याण्डका गभर्नर ल्यारी होगनले बताएका छन् । आक्रमणकारीले उत्तरी मेरिल्याण्डमा रहेको सोलुम्बिया मेसिन कारखानामा गोली चलाएको थियो । वासिङ्टनको प्रहरी कार्यालयले बाल्टिमोर शहरबाट करिब ७५ माईलटाढा स्मिथ्सबर्गको कोलम्बिया मेसिनमा गोली चलेको बताएको छ ।

गत केही वर्षयता अमेरिकाभर बन्दुक हिंसा बढ्दै गएको छ । कोभिड–१९ महामारीको कारणले आर्थिक र सामाजिक अवरोधहरूदेखि लिएर २०२० को चुनावमा भएको अशान्ति, बढ्दो बन्दुकको बिक्रीका कारण धेरै नरसंहारका घटना भएको बताइएको छ । यो वर्ष देशमा बन्दुक हिंसाका कारण एक हजार ७०० सयभन्दा बढी मारिएका वा घाइते भएका छन् । उक्त अवधिमा अमेरिकामा कम्तिमा एक सय १० गोलीकाण्ड भएका छन् ।

युक्रेनमा दैनिक एक यसदेखि दुई सय सैनिकले ज्यान गुमाइरहेको युक्रेनी अधिकारीको भनाइ

युक्रेनमा दैनिक एक सयदेखि दुई सय सैनिकले ज्यान गुमाइरहेको एकजना वरिष्ठ युक्रेनी अधिकारीले जनाएका छन् । बीबीसीका अनुसार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका वरिष्ठ सल्लाहकार  मिखाइलो पोदोलियाकले युद्धको अग्रमोर्चामा दैनिक १०० देखि २०० को बीचमा सैनिकले ज्यान गुमाइरहेको बताएका हुन् । पूर्वी डोनबास क्षेत्रमा रुसी फौजको सामना गर्नका लागि युक्रेनलाई अहिले सयौँ हतियार एवम् सैनिक उपकरणको आवश्यक रहेको समेत उनले बताए । उनले रुससँग शान्तिवार्ता पुनः सुरु गर्न आफ्नो मुलुक तयार नरहेको पनि उनले उल्लेख गरे ।

पूरै डोनबासमाथि नियन्त्रण गर्ने प्रयासमा रहेका रुसी फौजहरूको निरन्तर बमबारीको युक्रेनी फौजले सामना गर्नु परेको बीबीसीले जनाएको छ । रुसी फौजहरूले पारमाणविक अस्त्रबाहेक लगभग सबै प्रणालीबाट हमला गरिरहेको पोदोलियाकले बताए।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ८ : ०१ बजे

नेविसंघमा साधारण सदस्यसमेत नरहने गरी कारबाही घोषणा गर्ने होडबाजी 

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा

सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

 काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य कमी आएसँगै त्यसको प्रभाव

थुप्रियो विष्णुमती किनारमा फोहोर (तस्बिरहरू) 

काठमाडौं– विष्णुमती खोलाको किनारमा झण्डै एक महिनाअघि थुपारिएको फोहोर अझै

सामाजिक सुरक्षा कोषमा नजोडिने कम्पनी नवीकरण नहुने, कति सम्भव छ ?

काठमाडौं– सरकारले कम्पनी, संस्था, सहकारी, फर्म वा अन्य संगठित संस्थाले

आईपीओ विवाद : अध्यक्ष भन्छन् ‘दोस्रो बजारमा राम्रा कम्पनी जाउन् भन्नेगरी काम गरेका छौं’

काठमाडौं– पछिल्ला केही दिनयता स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (ईप्पान)का