विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज असार २६, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुलाइ १०, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

अडियो सुन्नुहोस्-

सिन्जो आबेको हत्यापछि कुनै उत्साहबिना जापानमा मतदान

पूर्व प्रधानमन्त्री सिन्जो आबेको हत्यापछि आघात, शोकाकुल र डरबाट मुक्त भइनसकेका मतदाताले बिना उत्साह जापानको माथिल्लो सदनको निर्वाचनमा मतदान गरेका छन् । पूर्वप्रधानमन्त्री सिन्जो आबेको चुनावी प्रचारका क्रममा गोली हानेर हत्या भएको घटनाको छायामा भएको मतदानबाट नेता आबेको सत्तारुढ दल विजययात्रातर्फ अग्रसर भएको देखिएको छ ।

पश्चिमी जापानको प्रहरीले आबेका आरोपित हत्यारालाई थप अनुसन्धानको लागि स्थानीय अभियोजनकर्ताको कार्यालयमा पठाएको छ । क्षेत्रीय प्रहरी अधिकारीले सुरक्षा त्रुटिका कारण आक्रमणकारी गोली प्रहार गर्न सफल भएको स्वीकार गरेका छन् ।

आबेलाई शुक्रबार नारामा गोली हानेका तेत्सुया यामागामीले नेता आबेको राजनीतिक दृष्टिकोणसँग आफ्नो विमति नरहेको तर आबे संलग्न सङ्गठनको अफवाहका कारण घटना भएको अभियोजन अधिकारीलाई बताएका छन् । यसैबीच, आबेको सुरक्षामा कमजोरी रहेको जापानी प्रहरीले स्वीकार गरेको छ । नाराका प्रहरी प्रमुख तोमोआकी ओनिजुकाले भने, ‘सुरक्षामा समस्या भएको कुरालाई नकार्न सकिँदैन । ’

एउटा राजनीतिक कार्यक्रममा एक बन्दुकधारीले आबेमाथि गोली हानेका थिए । यस आक्रमणले जापानलाई गहिरो स्तब्ध बनाएको छ ।यसैबीच, आबेको निधनमा समवेदना प्रकट गर्न अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन सोमबार टोकियो जाने भएका छन् ।

पूर्वप्रधानमन्त्री आबेको मृत्युमा जापानी जनताप्रति शोक प्रकट गर्न विदेशमन्त्री ब्लिन्केनले जापानको भ्रमण गर्ने जनाउँदै विदेश मन्त्रालयले त्यहाँ रहँदा उनले जापानका उच्च अधिकारीहरूसँग पनि भेटवार्ता गर्ने बताएको छ । संयुक्त राज्य अमेरिका–जापान गठबन्धन एशिया–प्रशान्त क्षेत्रको शान्ति र स्थिरताका निम्ति आधारशिला भएको बताउँदै उक्त क्षेत्रमा अमेरिका–जापान गठबन्धन कहिल्यै सुदृढ हुन नसकेको अमेरिकी विदेश मन्त्रालयले स्वीकार गरेको छ ।

इन्डोनेसियाको बालीमा जी २० का विदेश मन्त्रीहरूको बैठकमा भाग लिएर विदेशमन्त्री ब्लिन्केन थाइल्याण्डतर्फ प्रस्थान गरेका छन् । बाली बैठकको क्रममा उनले खाद्य र ऊर्जा असुरक्षा र युक्रेनविरुद्ध रूसको निरन्तर युद्धले अन्तर्राष्ट्रिय व्यवस्थामा परेको प्रतिकूल प्रभावलगायत विश्वव्यापी चुनौतीहरूको सामना गर्न अन्तर्राष्ट्रिय साझेदारहरूसँग काम गर्ने अमेरिकी प्रतिबद्धतालाई दोहोर्‍याएका थिए ।

बालीमा जी २० को बैठकमा भाग लिनुका अतिरिक्त उनले इन्डोनेसियाका विदेशमन्त्री रेत्नो मार्सुदीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । सोही क्रममा उनले जनवादी गणतन्त्र चीनको राज्य परिषद् सदस्य एवम् विदेश मन्त्री वाङ यीसँग पनि भेटवार्ता गरेका थिए । त्यस अवसरमा दुवै देशका विदेशमन्त्रीले विद्वेषपूर्ण अमेरिका–चीन सम्बन्धलाई सुदृढ बनाउने प्रयास गरेका थिए ।

आमने–सामने बसेर गरिने कूटनीतिक वार्ताको विकल्प नरहेको बताउँदै विदेशमन्त्री ब्लिन्केनले आफ्ना चिनियाँ समकक्षीलाई परिणाममुखी एवम् फलदायी वार्ताका निम्ति अमेरिका उत्सुक रहेको जनाएका थिए । पछिल्लोपटक विदेशमन्त्री ब्लिन्केन र चिनियाँ विदेशमन्त्री वाङबीच सन् २०२१ को अक्टोबरमा इटालीको रोममा भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा पनि अमेरिकाले चीनसँगको सम्बन्धलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न सञ्चार सम्पर्क खुला राख्नुपर्नेमा जोड दिएको थियो। उनले अन्तर्राष्ट्रिय नियममा आधारित व्यवस्थालाई कमजोर पार्ने गतिविधि हुननहुने अमेरिकी अभिमत प्रष्ट गरेका थिए ।

थाइल्याण्डमा रहँदा विदेशमन्त्री ब्लिन्केनले प्रधानमन्त्री प्रयुत चान–ओ–चा र उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री डोन प्रमुद्विनाइसँग भेट गर्ने कार्यक्रम छ । उनले एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) आयोजक थाइल्याण्डका कार्यसूचीको सफलता तथा अर्को वर्ष एपेक आयोजना गर्ने अमेरिकी निर्णयलाई कार्यान्वयन गर्नेबारेमा छलफल गर्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

थाइल्याण्डमा स्वास्थ्य, जलवायु सहयोग विस्तार तथा म्यान्माको सङ्कट सम्बोधनलगायत विभिन्न मुद्दाहरूमा सम्बद्ध अधिकारीहरूसँग उनले छलफल गर्नेछन् । अमेरिकी राष्ट्रपतिको एशिया–प्रशान्त रणनीतिलाई अघि बढाउने चाहना र उक्त क्षेत्रको शान्ति, समृद्धि र सुरक्षालाई केन्द्रमा राखेर थाई नेताहरूसँग विदेशमन्त्री ब्लिन्केनले विचारविमर्श गर्ने कार्यक्रम रहेको उक्त मन्त्रालयले जनाएको छ ।

श्रीलंकामा तनाव कायमै

श्रीलंकाका हजारौं प्रदर्शनकारी प्रहरी अवरोध तोडेर राष्ट्रपति गोटाबाया राजापाक्षेको कोलम्बोस्थित सरकारी निवासमा प्रवेश गरेपछि स्विमिङ पुलमा पौडी खेल्नेदेखि लिएर किचनमा भएका खानेकुरा खाएका विवरण सार्वजनिक भएका छन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा आक्रोशित प्रदर्शनकारी राष्ट्रपतिको निवासभित्र छिरेपछि नाराबाजी गर्दै पिएको देखिन्छन् । त्यस्तै, प्रदर्शनकारीहरू किचन भित्र पसेर खानेकुरा खानेकुरा खाएका देखिन्छन् । केही किचनमा ग्यास बालेर खानेकुरा पकाएका थिए ।

राष्ट्रपतिको कम्पाउन्डभित्र छिर्नेबित्तिकै केहीले स्विमिङ पुलमा पौडी खेलेर रमाएका थिए । प्रदर्शनकारी प्रवेश गर्न थालेपछि सुरक्षाकर्मीले राष्ट्रपतिलाई सुटुक्क भगाएर सेनाको मुख्यालयमा लगेको थियो । यसैबीच, श्रीलंकाली राष्ट्रपति गोटाबाया राजपाक्षेले आफ्नो पदबाट यही जुलाईको १३ तारिखमा राजीनामा दिने भएका छन् । उनले श्रीलंकाली संसदका सभामुख महिन्दा यापा अविवर्दनालाई सो कुराको जानकारी गराएका छन् ।

राष्ट्रपति गोटाबायाले शनिबार सभामुख अविवर्दनासँग आफूले जुलाई १३ मा राजीनामा गर्ने जानकारी गराएका सभामुख अविवर्दनाको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । श्रीलंकाका विभिन्न राजनीतिक दलहरूले गरेको मागका आधारमा राष्ट्रपति गोटाबायाले यो निर्णय गरेको जानकारी सभामुखको कार्यालयले प्रकाशन गरेको सो विज्ञप्तिमा जनाइएको छ ।

यसअघि त्यहाँका प्रधानमन्त्री रनिल विक्रमासिंघेले पनि आफ्नो पदबाट राजीनामा दिने बताइसकेका छन् । प्रधानमन्त्री विक्रमासिंघे र राष्ट्रपति गोटबायाले नै पद त्याग गर्नुपर्ने माग यहाँका राजनीतिक दलहरूले संसदमा गरिरहेका थिए । सोही मागका आधारमा उनीहरुले पद त्याग गर्ने निर्णय गरेका बताइएको छ । त्यस्तै, श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवासमा तोडफोड गर्ने सरकार विरोधी प्रदर्शनकारीहरूले दरबारभित्र दशौँ लाख रकम बरामद गरेको दाबी गरेका छन् ।

प्रदर्शनकारीले फेला परेका नोट गन्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । बरामद भएको रकम सुरक्षा निकायलाई हस्तान्तरण गर्ने भनिएको डेली मिरर पत्रिकाले जनाएको छ ।

यसबारेमा सान्दर्भिक तथ्य छानबिन गरी वास्तविक अवस्थाबारे जानकारी दिने अधिकारीहरूले बताएका छन् । सुरक्षा घेरा तोड्दै हजारौँ प्रदर्शनकारी शनिबार राष्ट्रपति निवासमा प्रवेश गरेका थिए । निवासमा प्रदर्शनकारी प्रवेश गर्न थालेपछि राजापाक्षे सुरक्षित स्थानमा भागेका थिए । उनी कहाँ छन् भन्नेबारेमा केही खुलाइएको छैन् । केही विवरणमा उनी सेनाको मुख्यालयमा रहेको बताइएको छ ।

राष्ट्रपतिले १३ जुनमा राजीनामा दिने घोषणा गरिसकेका छन् । प्रदर्शन चर्किएपछि मे महिनामा राष्ट्रपति गोटाबाया राजापाक्षेका जेठा भाइ तथा प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएका थिए । यता भारतीय विदेशमन्त्री एस जयशङ्करले दक्षिणी छिमेकी श्रीलङ्कामा विकसित घटनाक्रमलाई नजिकबाट नियालीरहेको बताउँदै श्रीलङ्का सङ्कटका कारण देशमा शरणार्थी समस्या नरहेको स्पष्ट पारेका छन् ।

दक्षिण भारतका मतदातालाई भारतीय जनता पार्टीको पक्षमा पार्ने प्रयासमा दक्षिणी राज्य केरला भ्रमणमा रहेका उनले भारत सरकारबाट श्रीलङ्कालाई निरन्तर सहयोग भइरहेको तथा थप मद्दतको प्रयास पनि जारी रहेको जानकारी दिँदै उनले श्रीलङ्कालीहरूले आफ्ना समस्या समाधान गरिरहेकाले त्यहाँको वस्तुस्थितिको निरन्तर निगरानी गरिएको र अहिले शरणार्थी सङ्कट नभएको बताए ।

विदेशमन्त्रीको उक्त अभिव्यक्तिले कठिन समयमा भारत कसरी आफ्ना छिमेकीहरूको साथमा उभिएको छ भन्ने झल्काउँछ । अभूतपूर्व राजनीतिक एवम् आर्थिक सङ्कटको सामना गरिरहेको श्रीलङ्कालाई ‘छिमेक पहिलो नीति’ अन्तर्गत कठिनाइबाट पार लगाउन कोलम्बोको अनुरोधलाई भारतले तत्काल सम्बोधन गरेको बताए ।

पूर्वाधार निर्माण र नवीकरणीय ऊर्जाको माध्यमबाट दुई देशबीचको आर्थिक सम्बन्धमा बढोत्तरी भइरहेको जानकारी दिँदै उनले तीन अर्ब ५० करोड अमेरिकी डलर सहयोग गरेको बताए । जीवनदायी औषधि, खाद्यान्न र इन्धन खरिदका लागि उक्त रकम प्रदान गरिएको हो ।

भारत–श्रीलङ्का सम्बन्ध सुमधुर रहेको र त्यहाँका जनतालाई सघाउन सधैँ तत्पर रहेको स्पष्ट गर्दै उनले श्रीलङ्काली जनताप्रति भारतको ऐक्यबद्धता रहेको स्पष्ट गरे । आर्थिक सङ्कट अन्त्य गर्न भारतीय सहयोग जारी रहेको बताउँदै उनले श्रीलङ्काली जनतालाई आर्थिक सहायता, विदेशी मुद्रा सहयोगलगायत सहायता गरिरहेको र बितेका दुई महिनामा २५ टनभन्दा बढी औषधि र चिकित्सा सामग्रीको प्रदान गरेको जानकारी दिए ।

यसैबीच, श्रीलङ्कास्थित भारतका उच्चायुक्त गोपाल वाग्लेले आज श्रीलङ्काका कृषिमन्त्री महिन्दा अमरवीरालाई भेटेर ४४ हजार मेट्रिक टनभन्दा बढी युरिया आइपुगेको जानकारी दिएका छन् । भारत सरकारले ऋण सहयोगअन्तर्गत उक्त मल उपलब्ध गराएको हो । श्रीलङ्काली जनतालाई सहयोग गर्न र उनीहरूको खाद्य सुरक्षा सुनिश्चितताका निम्ति भारत प्रतिबद्ध रहेको र पछिल्लो सहयोग द्विपक्षीय सहयोगको प्रबल प्रतीक रहेको उनले बताए ।

बन्दुकधारीको आक्रमणमा दक्षिण अफ्रिकामा १५ जनाको मृत्यु

दक्षिण अफ्रिकामा रहेको एक बारमा बन्दुकधारीले जथाभावी गोली चलाउँदा कम्तीमा पनि १५ जनाको मृत्यु भएको छ ।दक्षिण अफ्रिकाको सोवेतोमा रहेको ओर्लान्डो इस्ट नामक बारमा केही बन्दुकधारी प्रवेश गरी जथाभावी गोली चलाएको बीबीसीले जनाएको छ ।

आक्रमणपछि बन्दुकधारी घटनास्थलबाट सेतो मिनिबस चढेर फरार रहेको जनाइएको छ । आक्रमणको उद्देश्य अझै यकिन नभइसकेको दक्षिण अफ्रिकी प्रहरीले जानकारी दिएको छ । आक्रमणपछि हाल ९ जना घाइतेको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ । घटनाका पीडितहरू १९ देखि ३५ वर्ष उमेर समूहका रहेको विश्वास गरिएको छ ।

दक्षिण अफ्रिकाको गटेङ प्रान्तका प्रहरी प्रमुख लेफ्टिनेन्ट जनरल एलियास मवेलाले घटनालाई ‘बारमा जाने निर्दोषमाथि क्रुर आक्रमण’ को संज्ञा दिएका छन् । दक्षिण अफ्रिकामा बन्दुकधारीले बेलाबेला गोलीकाण्ड मच्चाउँदै आएका छन् । यस्ता घटनामा प्रायः आपराधिक गिरोहको संलग्नता रहने गरेको छ ।

भारतमा १८ हजार २ सय ५७ नयाँ कोरोना भाइरसका सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टाको समयावधिमा भारतमा १८ हजार २५७ कोरोना सङ्क्रमित थपिएका छन् । हाल भारतमा एक लाख २८ हजार ६९० सक्रिय सङ्क्रमित रहेका छन् । यो कुल सङ्क्रमितको शून्य दशमलब ३ प्रतिशत हो । करिब चार महिनापछि १० दिनयता सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी भएको छ ।

हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३६ लाख भन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । पछिल्लो एक दिनमा १४ हजार ५५३ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २९ लाख ६८ हजार ५३३ पुगेको छ । कोरोना भाइरस निको हुने यो दर ९८ दशमलब ५० प्रतिशत रहेको छ ।

यही समयावधिमा कोरोना सङ्क्रमणमा ४२ को मृत्यु भएको छ । कोरोना शुरु भएबाट हालसम्म यस महामारीको कारण पाँच लाख २५ हजार ४२८ को मृत्यु भएको छ । सो अवधिमा चार लाख ३२ हजार ७७७ कोरोना परिक्षण भएको जनाइएको छ । यहाँ कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८६ करोड ६६ लाख भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ ।

२४ घण्टाको समयावधिमा दश लाख २१ हजार १६४ डोज कोरुनाविरूद्धको खोप लगाइएको सो मन्त्रालयले आइतबार जानकारी दिएको छ । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म कोरोनाविरुद्ध एक अर्ब ९८ करोड ७६ लाख ५९ हजार २९९ डोज खोप लगाइएको छ ।

 

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ९ : १२ बजे

हुन्डी कारोबार रोक्न हङकङस्थित नेपाली व्यवसायीको माग

काठमाडौँ– हङकङका व्यवसायीहरुले रेमिट्यान्स पठाउन आधिकारिक वित्तीय संस्था स्थापनाको माग

प्रतिनिधिसभा : १० मन्त्रालयका शीर्षकमाथि छलफल जारी

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न १० मन्त्रालयका लागि विनियोजित विभिन्न

सात ठाउँको अवरुद्ध सडक खुलाइयो, तीन ठाउँ अझै बाँकी

काठमाडौं– पछिल्लो दुई दिन परेको भारी वर्षापछि बाढी र पहिरोका

एमाले कोशीका सम्पर्क मञ्चका नेतालाई एक वर्षे राजनीतिक प्रशिक्षण 

काठमाडौं– नेकपा एमाले कोशी काठमाडौं सम्पर्क मञ्चले नेता कार्यकर्तालाई पार्टी,

बरहथवामा प्रहरी र स्थानीयबीच झडप, प्रहरीसहित १० जना घाइते

मलङ्गवा – बरहथवा नगरपालिका–४ स्थित खैरवा टोलमा आज बिहान बाटो