काठमाडौँ– आज दिनभर शेखर कोइराला समूहको भेलाले गरेको निर्णय, भोलिदेखि कांग्रेसको केन्द्रीय समिति बैठक, बाजुराको बुढीगंगा नगरपालिकामा एमाले विजयी लगायतका समाचारहरू शीर्ष स्थानमा रहे ।
यी हुन् आज दिनभरका शीर्ष समाचारहरूः
शेखर कोइराला समूहको भेलाले गर्यो यस्तो निर्णय
सत्तारुढ नेपाली काँग्रेसको शेखर कोइराला समूहले पार्टीको केन्द्रीय समिति बैठकमा पार्टीलाई विधि विधानबाट चलाउनका लागि ध्यानाकर्षण गराउने भएको छ ।
आज काठमाडौंमा बसेको कोइराला समूहको भेलाले पार्टी नेतृत्वले विधि विधानलाइ पालना नगरेको भन्दै यसबारे बैठकमा ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
बैठकपछि कांग्रेस नेता चन्द्र भण्डारीले कांग्रेसले अरुलाई गाइड गर्ने भएकाले सबैभन्दा पहिले आफ्नो विधानलाई पालना गर्नुपर्ने बताए ।
उनले आफूहरुको पार्टीमा कुनै असन्तुष्टि नरहेको र सबैले कांग्रेस भन्ने बित्तिकै कुनै कांग्रेस भनेर प्रश्न सोध्ने अवस्था आउन दिन नहुने बताए । त्यस्तै केन्द्रीय समिति बैठकमा सरकारको समीक्षा, बजेटले पारेको असर, भ्रष्टचारका बारेमा पनि छलफल हुने उनले बताए ।
भण्डारीले स्थानीय तहको समीक्षा गर्दै पार्टीलाई फाइदा हुने गरी मात्रै गठबन्धनभित्र तालमेल हुनुपर्ने धारणा राखे ।
सो समूहले भातृ संगठनका विषयमा पार्टी सभापतिले सवैसँग छलफल गर्ने भनिए पनि अहिलेसम्म छलफल नै नगरेको उल्लेख गरेको छ ।
भोलिदेखि कांग्रेसको केन्द्रीय समिति बैठक
भोलिबाट सुरु हुने नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा निर्वाचनको समीक्षा र भावी योजनाका साथै भातृसंगठनका विषयमा छलफल हुने भएको छ ।
आज पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकले कांग्रेसको केन्द्रीय समिति बैठकको एजेण्डामाथि छलफल गरेको हो ।
केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुने र आगामी निर्वाचनमा गठबन्धनबीचको तालमेललाई प्रभावकारी बनाउने बिषयमा छलफल हुने प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।
भातृ शुभेच्छुक संघ संगठनलाई सक्रिय र गतिशिल बनाउने गरी आवश्यक निर्णय हुने उनले बताए ।
उनले भातृ शुभेच्छुक संघलाई पूर्णता दिने काम पनि छिटै हुने उल्लेख गरे । अहिले पार्टी विधि र पद्धति अनुसार नै अघि बढेको र पार्टी सभापतिले सबैको सहमति जुटाएर निर्णय गर्दै आएको उनको भनाइ छ ।
केन्द्रीय समिति बैठकमा पार्टी सञ्चालन, विधानको कार्यान्वयन तथा सरकारका विषयमा पनि छलफल हुने नेताहरुले जनाएका छन् ।
विदेश विभाग प्रमुख लिउ र परराष्ट्रमन्त्री खड्काबीच भेटवार्ता
चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चओले परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गरेका छन् ।
उनले आज अपरान्ह सिंहदरबार पुगेर परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता गरेका हुन् ।
भेटमा उनीहरुबीच दुई पक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको बताइएको छ ।
विदेश विभाग प्रमुख लिउ चार दिने नेपाल भ्रमणका लागि आज बिहान नै काठमाडौँ आइपुगेका हुन् ।
यो भन्दाअघि जियानचाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर आज अपरान्ह लिउले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् ।
भेटवार्तामा दुई पक्षीय सम्बन्धको बारेमा चर्चा भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
चार दिने भ्रमणका लागि आइतबार बिहान मात्रै चिनियाँ टोली नेपाल आइपुगेको हो । गत जुनमा सीपीसीको विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालेपछि उनले आफ्नो पहिलो विदेश भ्रमण नेपालबाट सुरु गरेका हुन् ।
भ्रमणका क्रममा जियानचाओले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
आगामी निर्वाचनमा गठबन्धन दलबीच नै तालमेल हुन्छः देव गुरुङ
नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले आगामी निर्वाचनमा गठबन्धन दलबीच नै तालमेल हुने बताएका छन् ।
संवाद डबलीले आज काठमाडौंमा गरेको साक्षात्कारमा बोल्दै नेता गुरुङले गठबन्धनबीच राष्ट्रियता र लोकतन्त्रका विषयमा एकमत रहेकाले आगामी निर्वाचनमा गठबन्धन दलबीच नै तालमेल हुने बताएका हुन् ।
उनले गठबन्धनबीचको चूनावी तालमेल परिवर्तन गर्नुपर्ने कारण नदेखिएको जिकिर गरे । गुरुङले राष्ट्रिय र प्रजातन्त्र लगायतका विषयमा विगतमा एमालेले गरेको गम्भीर गल्तीको आत्मसमिक्षा नगरेकाले एमालेसँग सहकार्य हुन नसक्ने तर्क गरे ।
फरक प्रसङ्गमा उनले निवर्तमान अर्थमन्त्री जनार्दन शर्माका बिषयमा छानविन गर्न संसदीय समिति नै गठन भइसकेको अवस्थामा थप टिकाटिप्पणी गर्न उचित नहुने धारणा राखे ।
नेता गुरुङले सबैको सहमतिबाटै नागरिकतासम्बन्धी नयाँ विधेयक सदनमा दर्ता हुने पनि बताए ।
संगठित र योजनाबद्ध रुपमा धर्म परिवर्तन भइरहेको छः कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संगठित र योजनाबद्ध धर्म परिवर्तन भइरहेको भन्दै यसलाई नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् ।
काठमाडौंमा राष्ट्रिय सनातन धर्म संस्कृति महासंघले आज आयोजना गरेको कार्यक्रममा थापाले सनातन धर्म सस्कृतिको रक्षा गर्ने भनी संविधानमा नै उल्लेख भएकाले संगठित र योजनाबद्ध रुपमा भइरहेको धर्म परिवर्तनलाई नियन्त्रण गर्न माग गरेका हुन् ।
उनले अहिले संगठित र योजनाबद्ध धर्म परिवर्तनलाई रोकेर सरकारले आफ्नो कर्तव्य पूरा गर्नुपर्ने धारणा राखे । नेपाल धार्मिक स्वतन्त्रता भएको मुलुक भएकाले आफ्नो इच्छाले गरिएको धर्म परिर्वतनमा राप्रपा नेपालको कुनै आपत्ति नरहेको पनि उनले बताए ।
अध्यक्ष थापाले बहुसंख्यक हिन्दू धर्मावलम्बी भएको नेपालमा धर्मनिरपेक्षको व्यवस्था लोकतान्त्रिक मूल्यमान्यता अनुकुल नहेको धारणा राखे ।
प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको समृद्ध भाषा, संस्कृति र सभ्यताका माध्यमबाट देश तथा विदेशमा राष्ट्रको पहिचान गराउन सफल हुने विश्वास व्यक्त गरेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज काठमाडौंमा आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले भाषा संस्कृतिका सिर्जनात्मक अभ्यासमा योगदान गर्ने सर्जक र स्रष्टाको योगदानको कदर गर्नु राज्यको दायित्व पनि बताए ।
प्रधानमन्त्री देउवाले स्रष्टा र साधकको सम्मानबाट कामको योगदान हुनाका साथै नयाँपुस्तालाई सिर्जनात्मक कार्यमा प्रोत्साहित गर्न मद्दत पुग्ने धारणा राखे ।
उनले पुरस्कृत प्रतिभाका माध्यमबाट आगामी दिनमा राष्ट्रको भाषा, साहित्य र संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गर्दै यस क्षेत्रको विकासका लागि सरकार सदैव सहयोग गर्न तत्पर रहेको बताए ।
मन्त्रालयले विभिन्न नौ विधाका पुरस्कर ४३ स्रष्टालाई प्रदान गरेको छ ।
राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कर, महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार तथा इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार प्रदान गरिएको हो ।
गण्डकी प्रदेशको विनियोजित बजेटले निम्त्यायो विवाद
राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको मापदण्डविपरीत बजेट बनाएपछि गण्डकीमा तनाव भएको छ ।
आयोगले राजश्व बाँडफाँट र आन्तरिक आम्दानीको १२ प्रतिशतभन्दा बढी आन्तरिक ऋण लिन नपाउने व्यवस्था छ । तर गण्डकी सरकारले करिब १४ प्रतिशत ऋण प्रस्ताव गरेको छ ।
१ अर्ब ७२ करोड ऋण लिन पाउनेमा सरकारले २ अर्ब लिएको छ । १ अर्ब आन्तरिक ऋण र १ अर्ब नेपाल सरकारको ऋण प्रस्ताव गरिएकोमा आयोगले नेपाल सरकारको ऋण समेत आन्तरिक ऋण भनेको छ भने प्रदेश सरकारले चाहिँ नेपाल सरकारको ऋण आन्तरिक ऋण नहुने दाबी गरेको छ । प्र
मुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले अवैध रूपमा बजेट ल्याएको आरोप लगाएपछि स्थगित भएको प्रदेशसभा अर्थमन्त्री रामजी बरालको जवाफसँगै अघि बढेको छ ।
उनले यसअघिका बजेटमा समेत उक्त सीमा कुनै सरकारले नटेरेको भन्दै आफूहरूले पनि पूर्व अभ्यासका आधारमा बजेट बनाएकोले त्रुटि नरहेको दाबी गरे । उनले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम पुनः समेट्ने बताएका छन् ।
बाजुराको बुढीगंगा नगरपालिकामा एमाले विजयी
बाजुराको बुढीगंगा नगरपालिकामा मेयर र उपमेयर नेकपा एमाले उम्मेदवार विजयी भएका छन् ।
मेयर र उपमेयर सहित सात वडामा नेकपा (एमाले) विजयी भएको छ । आज सम्पन्न मत परिणाम अनुसार एमालेबाट मेयरका उम्मेदवार रामबहादुर बानियाँले ४ हजार ७ सय ७७ प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिद्धन्द्धी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रंगबहादुर खातीले भने ४ हजार ७ सय ७४ मत ल्याए ।
उपमेयरमा पनि एमालेबाट उम्मेदवार माया देवी खड्का विजयी भएकी छिन् । खड्काले ४ हजार ७ सय २७ मत प्राप्त गर्दा उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसमा उम्मेदवार रिता शाहले ३ हजार ७ सय ५५ मत ल्याएकी छिन् ।
नगरपालिकाका १० वडामध्ये एमालेले सात वडामा जित हात पारेको छ । बाँकी तीन वडामा कांग्रेसले नेतृत्व पाएको छ ।
एमाले वडा नम्बर १, २, ३, ५, ६, ९ र १० विजयी भएको छ भने कांग्रेस वडा नम्बर ४, ७ र ८ मा विजयी भएका छन् । गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा एमाले र काँग्रेसका कार्यकर्ताले मतदानमा धाँधली भएको भन्दै विवाद उत्पन्न हुँदा निर्वाचन स्थगन भएपछि, गत विहीबार पुन मतदान गरिएको थियो ।
कोरोना अपडेट
नेपालमा थप १ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ७ सय पिसिआर परिक्षणका क्रममा १ सय ४ जना र १ हजार ३ सय ४५ पिसिआर परिक्षणका क्रममा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ३१ संक्रमित निको भएका छन् । हाल नेपालमा ६ सय ७८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
देशका विभिन्न स्थानमा ८ जना व्यक्ति मृत अवस्थामा फेला
देशका विभिन्न स्थानमा ८ जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
ओखलढुंगा, झापा, सर्लाही, कपिलवस्तु, धनुषा, खोटाङ, रुपन्देही र कैलालीमा उनीहरु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
ओखलढुंगाको मोलुङ गाउँपालिका–१ करङपाखा भन्ने स्थानको मोलुङखोला र लिपेखोलाको दोभानमा सोही गाउँपालिका–४ बस्ने ४५ वर्षीय प्रेम बहादुर भुजेल शनिबार मृत अवस्थामा फेला परेका छन् ।
झापाको कमल गाउँपालिका–७ भट्टाराई चोक छेउमा रहेको खाली जग्गामा दमक नगरपालिका–७ बस्ने ३० वर्षीय तुलाराम दाहाल शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै सर्लाहीको कबिलासी नगरपालिका–९ सलेमपुरस्थित सडक छेउमा सोही ठाउँ बस्ने ३२ वर्षीय इन्द्रजित ठाकुर शनिबार मृत अवस्थामा फेला परेका छन् ।
कपिलवस्तुको महाराजगंज नगरपालिका–१० मुजाहनास्थित खेतमा सोही ठाउँ बस्ने ३८ वर्षीय धन्नु धोबी शनिबार मृत अवस्थामा फेला परेका छन् ।
धनुषाको धनुषाधाम नगरपालिका–३ सोनापुरस्थित जग्गामा सबैला नगरपालिका–७ लपटोली बस्ने ६० वर्षीय देवलाल यादव शनिबार मृत अवस्थामा फेला परेका छन् ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित शंखु जंगलमा हाल पहिचान नखुलेका अन्दाजी ७० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका–६ पश्चिम पहुनीस्थित तिनाउ नदी किनारामा हाल पहिचान नखुलेकी अन्दाजी २२ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
कैलालीको महोन्याल गाउँपालिका–७ चिप्लेस्थित कर्णाली नदीको किनारामा हाल पहिचान नखुलेका पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
मनाइयो मुस्लिम धर्मावलम्बीको महान पर्व ईद
मुस्लिम धर्मावलम्बीको महान पर्व बकर ईद (इदुल जोहा) आज देशभर मनाइएको छ ।
इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा ईदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ ।
यस अवसरमा देशभरका मस्जिद र ईदगाहमा मुस्लिम धर्मावलम्बीको भिड लागेको थियो । यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ ।
मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ । मक्का मदिना जान नपाउने हजयात्रीले समेत घर घरमै बकर ईद मनाउँछन् ।
आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको वर्तमान अवस्थालाई हेरेर आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी भइरहेको बताएका छन् ।
आज काठमाडौंमा मौद्रिक नीतिबारे नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले मुलुकको आर्थिक अवस्थालाई सुधार गर्ने गरि नीति ल्याउनका लािग टेक्निकल टिमले काम गरिरहेको पनि बताए ।
उनले समग्र अर्थतन्त्रलाई जोगाउनु पहिलो प्राथमिकता रहेको भन्दै यसैमा केन्द्रित रहेर मौद्रिक नीति आउने स्पष्ट पारे । बाह्य क्षेत्रबाट आएको चुनौतीलाई चिर्नका लागि पनि राष्ट्र बैंकले काम गरिरहेको उहाको भनाइ छ ।
गभर्नर अधिकारीले व्यापार गर्दा वातावरण सहज होस भन्नु सामान्य भएको भन्दै मुलुकको अर्थतन्त्रलाई जोगाउनुपर्ने पहिलो दायित्व भएको बताए ।
कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले तरलताको समस्या समाधान गर्न मौद्रिक नीतिले उचित वातावरण तयार गर्ने विश्वास व्यक्त गरे । उनले अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीतिले भूमिका खेल्ने समेत बताए ।
साथै उनले अनुत्पादक क्षेत्रमा जाने ऋणलाई रोक्दा राजस्व प्रभावित हुने भन्दै यसमा सन्तुलित नीति लिनुपर्ने बताए । गोल्छाले तरलता अभावका बीच पनि भएको पुँजीलाई परिचालन गर्न केन्द्रीय बैंक अग्रसर हुनुपर्ने बताए ।
मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका लागि राय, सुझाव माग गरेको छ ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ मा भएको व्यवस्थाअनुसार बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्नका लागि सम्बन्धित सरोकारवालासँग राय, सुझाव माग गरेको हो ।
ऐनको परिच्छेद–५ को दफा ४४ ले मौद्रिक नीति निर्माण तथा कार्यान्वयन गर्ने पूर्ण अधिकार राष्ट्र बैंकलाई दिएको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले इमेलबाट राय, सुझाव उपलब्ध गराउन सूचित गरेको छ ।
पोखरा रंगशालामा आगलागी
पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा खेल चलिरहेका बेला आगलागी भएको छ ।
आज आइतवार खेल चलिरहेका बेला विद्युत शर्ट भएर आगलागी भएको हो । कभर्ड हलभित्र सिक्स ए साइड महिला तथा पुरुष हक्की खेल चलिरहेको थियो ।
आगलागी भएपछि खेल स्थगित भएको छ । पोखरा महानगरपालिकाको वारुण यन्त्रले आगो निभाएको छ । आगलागीबाट के कति क्षति भयो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया