ट्रम्पलाई चर्चामा ल्याउने एफबीआईको छापा | Khabarhub Khabarhub

ट्रम्पलाई चर्चामा ल्याउने एफबीआईको छापा

जो आफ्ना हर्कत बिर्सन चाहन्छन्, तर बाइडेन प्रशासन सक्दैन !



काठमाडौँ – अमेरिकी पूर्व राष्ट्रपतिका रुपमा सबैभन्दा खराब कीर्तिमान बनाएका डोनाल्ड ट्रम्प फेरि एकपटक चर्चामा आएका छन् । उनको निवासमा अमेरिकी संघीय जाँचबुझ ब्युरो एफबीआईले छापा हानेपछि फेरि एकपटक ट्रम्प सञ्चारमाध्यममा छाएका हुन् ।

राष्ट्रपति पदमै रहेका बेला अमेरिकी संसद् बाहिर दंगा भड्काएको भन्दै फेसबुक र ट्वीटरले उनको आधिकारिक अकाउन्ट पूर्ण रुपमा बन्द गरिदिएका छन् । यसकारण ट्रम्प बाँकी दूनियाँभन्दा बाहिर रहेका हुन् ।

सामाजिक सञ्जाल प्रतिबन्धका कारण अमेरिका बस्ने ट्रम्प बाँकी विश्वबाट अलग छन् । उनका बारेमा कुनै समाचार बनेमा वा कुनै घटना घटेमा वा उनले बोलेका कुरा मिडियाले समाचार बनाएमा मात्रै ट्रम्पका बारेमा विश्वभरका मानिसले थाहा पाउँछन् । अन्यथा उनी भर्चुअल दूनियाँबाट धेरै टाढा पुगिसकेका छन् । जुन उनकै हर्कतले निम्त्याएको हो ।

यसअघि ट्रम्प आफैँ ट्वीटरकै माध्यमबाट आफूले अमेरिकी राष्ट्रपतिको चुनाव जितेको भनेका थिए । एक समय ट्वीटरकै कारण चुनाव जित्ने हैसियत बनाएका ट्रम्प अहिले फेरि आफ्नै घरमा एफबीआईको छापाबाट समाचारमा आएका हुन् ।

एफबीआईको अनुसन्धानले विकास गरेको ट्रम्प चर्चा
ट्रम्पको फ्लोरिडा राज्यस्थित निवासमा एफबीआईले छापा मारेसँगै नयाँ घटनाक्रम पनि विकास भएको छ । एफबीआईले फ्लोरिडास्थित मार ए लागोको निवासमा छापा मारेपछि ट्रम्पले क्रुद्ध प्रतिक्रिया जनाएका छन् ।

उनले विज्ञप्ति जारी गर्दै आफ्नो निवास ‘ठूलो संख्यामा एफबीआईका एजेन्टहरुको समूहले कब्जा गरेको’ टिप्पणी गरेका छन् ।

सरकारी दस्तावेजबारे अनुसन्धानका क्रममा ट्रम्पको निवासमा एफबीआईले छापा मारेको ठानिएको छ । ट्रम्पले झन् अगाडि क्रुद्ध हुँदै लेखेका छन्, ‘यो हाम्रो राष्ट्रका लागि अँध्यारो समय हो ।’

ट्रम्पको विज्ञप्ति उद्धृत गर्दै बीबीसीले लेखेको छ, ‘यसअघि अमेरिकी राष्ट्रपतिसँग यस्तो व्यवहार कहिल्यै भएको थिएन।’ यसबारे एफबीआई वा अमेरिकी न्याय मन्त्रालयबाट कुनै आधिकारिक टिप्पणी सार्वजनिक भइसकेको छैन ।

एफबीआईले ट्रम्प निवासमा किन छापा हान्यो ?
नाम बताउन नचाहने एक जना अमेरिकी सुरक्षा अधिकारीले सीबीएस न्युजलाई दिएको जानकारीअनुसार स्थानीय समयअनुसार १० बजे छापा मार्नु केही समयअघि ट्रम्पको सुरक्षार्थ खटिएका सिक्रिट सर्भिसको टोलीलाई यसबारे जानकारी गराइएको थियो ।

ट्रम्पको सुरक्षार्थ खटिएका सिक्रिट सर्भिसका एजेन्टहरुले एफबीआईलाई सहयोग गरेको उनले बताए । ट्रम्पको निवासबाट विभिन्न सामानहरु बरामद गरिएको स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अमेरिकामा न्यायाधीशले खोजतलासको पुर्जीमा सही गरेपछिमात्रै संघीय अनुसन्धानकर्ताहरुले कसैको निवासमा पनि छापा मार्न सक्ने प्रावधान रहेको छ ।

खोजतलासको अनुमतिबाट मात्रै आपराधिक मुद्दाको प्रक्रिया अघि नबढ्ने भएपनि एफबीआईजस्ता संघीय कानून कार्यान्वयन निकायहरुले कसैको निजी निवासमा छापा मार्दा गैरकानूनी कार्य गरेको प्रमाण भेटिने सम्भावना रहेको पुष्टि गर्नुपर्ने प्रावधान रहेको बीबीसीले जनाएको छ ।

यद्यपि अमेरिकी इतिहासमा हालसम्म यस्तो किसिमको खोजतलासको पुर्जी नकाटिएको फ्लोरिडाको पाम बिच काउन्टीका राज्य न्यायाधिवक्ता डेभ एरोनबर्गले बताए । उनका अनुसार ट्रम्पको निवासमा छापा मार्ने एफबीआईको कदमले निकै ठूलो महत्व राख्दछ ।

राष्ट्रपतीय अभिलेख ऐन (पीआरए)मा अमेरिकी राष्ट्रपतिहरुले आफ्ना सरकारी कागजातहरु राष्ट्रिय अभिलेखालय (नेशनल आर्काइभ)मा बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

यसबाहेक सरकारी एवम् गोप्य दस्तावेजबारे अरु पनि संघीय कानूनमा विभिन्न व्यवस्थाहरु रहेको बीबीसीले उल्लेख गरेको छ ।

गत फेब्रुअरी महिनामा मार ए लागोबाट नै अमेरिकाको राष्ट्रिय अभिलेखालयले १५ वटा बाकसमा राखिएका दस्तावेजहरु प्राप्त गरेको थियो ।

उक्त निकायले ती बासकमा राष्ट्रिय सुरक्षासँग सम्बन्धित गोप्य सूचनाहरु समेत रहेको कंग्रेसलाई जानकारी गराएको थियो ।

किन पटक पटक ट्रम्प चर्चामा छन् ?
सन् २०२४ मा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेद्वारी दिने चर्चा चलिरहेका बेला एफबीआईले ट्रम्पको निवासमा छापा मारेको हो ।

एफबीआईले निवासमा छापा मारेसँगै ट्रम्पका समर्थकहरु आक्रोशित बनेको बीबीसीे जनाएको छ । उनीहरु ट्रम्पको निवासअघि भेला भएर ट्रम्पको समर्थन एवम् एफबीआईको विरोधमा प्रदर्शन गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा रिपब्लिकन पार्टीका अल्पमत नेता केभिन मकार्थीले भने– ‘मैले धेरै देखिसकेँ । न्याय मन्त्रालयले राजनीतिकरणलाई हतियारको रुपमा प्रयोग गर्ने असहिष्णु स्तरसम्म पुगेको छ ।’

यसैक्रममा फ्लोरिडा राज्यबाट सिनेटमा प्रतिनिधित्व गर्ने रिपब्लिकन सिनेटर मार्को रुबियोले पनि सामाजिक सञ्जाल ट्विटरमा सन्देश जारी गर्दै आक्रोशित प्रतिक्रिया दिएका छन् । उनले ट्विटरमा लेखेका छन्– ‘राजनीतिक प्रतिद्वन्द्वीलाई दमन गर्न राज्य शक्तिको प्रयोग गर्ने कार्य हामीले तेस्रो विश्वमा माक्र्सवादी तानाशाह भएका मुलुकमा मात्रै देखेका थियौँ।’

यता ट्रम्पले भने आफूले सम्बद्ध सबै सरकारी निकायहरुसँग सहकार्य गर्दै आएको बताउँदै ‘आफ्नो निवासमा अघोषित छापा अनावश्यक र अनुचित’ रहेको टिप्पणी गरेका छन् ।

उनले यस घटनालाई आफूलाई पुनः चुनाव लड्न नदिनका लागि मुलुकको ‘न्याय प्रणलीलाई हतियारको रुपमा प्रयोग गरिएको’ एवम् ‘अभियोजन दुराचार’ को संज्ञा दिएका छन् ।

‘यस्तो आक्रमण तेस्रो विश्वका मुलुकहरुमा मात्रै हुन सक्छ ।’ ट्रम्पलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । ‘दुःखद कुरा, अमेरिका पनि यस्तै मुलुक बनेको छ, यसअघि नदेखिएको स्तरमै भ्रष्ट ।’

‘उनीहरुले मेरो दराजमा समेत पहुँच पु¥याए’ उनले भने । एफबीआईले छापा मार्ने बेला पूर्व राष्ट्रपति ट्रम्प न्यूयोर्क सहरस्थित ट्रम्प टावरमा रहेको जनइएको छ ।

ट्रम्पका माइला छोरा एरिक ट्रम्पले राष्ट्रिय अभिलेखालयसँग सम्बन्धित रहेको बताएका छन् । फक्स न्युजसँगको कुराकानीका क्रममा उनले यस्तो जानकारी दिएका हुन् ।

राष्ट्रिय अभिलेखालयका अधिकारीले भने ट्रम्पले गैर कानूनी रुपमा धेरै सरकारी दस्तावेजहरु च्यातिदिएको बताएका छन्। च्यातिएका दस्तावेज गाँसेर मिलाउन टेपको समेत प्रयोग गर्नुपरेको अभिलेखालयका अधिकारीले जनाएका छन् ।

यता ट्रम्पले भने आफूले सरकारी दस्तावेजको दुरुपयोग गरेको भन्ने आरोपलाई ‘फेक न्युज’ को संज्ञा दिएका छन् । त्यस्तै, पाम बिचमा रहेका ट्रम्पका एकजना वरिष्ठ सल्लाहकारले पनि सीबीएसलाई राष्ट्रपतीय अभिलेखसँग सम्बन्धित विषयमा नै एफबीआईले ट्रम्पको निवासमा छापा मारेको बताएका छन् ।

‘यो पीआरएसँग नै सम्बन्धित छ ।’ नाम नबताउने सर्तमा उनले भने ।

छापा मारेको विषय बाइडेनलाई थाहा छैन !

अमेरिकी प्रशासन ह्वाइट हाउसले भने ट्रम्पको निवासमा छापा मार्ने एफबीआईको कदमबारे बाइडेन प्रशासनलाई कुनै जानकारी नरहेको स्पष्ट पारेका छन् । त्यस्तै, राजनीतिक दबाब वा अनुचित कार्यको झल्को नआओस् भन्नाका लागि यस विषयमा ह्वाइट हाउसले न्याय मन्त्रालयका अधिकारीसँग कुनै अन्तरक्रिया नगर्ने बताइएको छ ।

अमेरिकामा तीन महिनापछि मध्यावधि चुनाव हुँदैछ । राजनीतिक रुपमा निकै ध्रुवीकरण भइरहेको अमेरिकामा यो समयलाई राजनीतिक रुपमा निकै संवेदनशील मानिएको छ । यस्तो संवेदनशील समयमा एफबीआईले ट्रम्पको निवासमा छापा मार्नुलाई निकै चासोपूर्वक हेरिएको छ ।

राजनीतिक रुपमा संवेदनशील मुद्दामा अमेरिकी न्याय मन्त्रालयले चासो नदेखाउने यसअघिको परम्परालाई यस घटनाले भंग गरिदिएको बीबीसीका पिटर बोवेसको विश्लेषण छ ।

यता ट्रम्पले भने राजनीतिक पूर्वाग्रहकै कारण आफ्नो निवासमा छापा मारिएको दाबी गर्दै आएका छन् । आफूलाई सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा सहभागी नगराउने उद्देश्यले यस्तो छापा मारिएको उनको बुझाइ छ ।

यस घटनाबारे अझै धेरै विवरणहरु सार्वजनिक हुन बाँकी नै रहेका छन् । तर, ट्रम्पको निवासमा एफबीआईले छापा मारेको घटनाले ट्रम्पका समर्थकहरुलाई आक्रोशित बनाइदिएको छ ।

त्यतिमात्रै होइन, ट्रम्प फेरि अमेरिकी राष्ट्रपतिको चुनाव लड्न चाहन्छन् । तर उनले आफू राष्ट्रपति भएका बेला गरेका धेरै विवादित काम बिर्सिसकेका छन् । जुन एफबीआई बिर्सन चाँहदैन् । त्यसमाथि संसारकै सबैभन्दा शक्तिशाली अनुसन्धान सिस्टम बोकेको अमेरिकी अधिकारी ट्रम्पमाथि आँखा चिम्लिन सक्दैनन् । जसकारण एफबीआईका कारण ट्रम्प बेला बेला चर्चामा आइरहन्छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  १० : ४० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर